यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

फोटो कथा : यी विद्यार्थीहरुको सलाम गर्नुपर्ने साहस जो दैनिक ६ घण्टा हिँडेर स्कूल आउने जाने गर्छन्

इलाम सरकारले वर्गीकरण गरेको गरेको दुर्गम जिल्लामा पर्दैन। सुगम जिल्ला नै भए पनि यहाँको महोमाईमा रहेको लोस्से गाउँको विकटता अकल्पनीय छ। अनुमानित ५२ घरधुरी रहेको यो गाउँको मुख्य समस्या सरकारको अनुपस्थिति हो। गाउँपालिका पुग्नको लागि एक दिन हिँड्नु पर्छ। यातायातको अभावले धेरै समस्या छन्। स्वास्थ्य, पिउने पानी, रोजगारी र शिक्षा लोसेको समस्याका केही नमुनाहरु हुन्। पूर्वपश्चिम राजमार्गदेखि ३ घण्टाको पैदल यात्रापछि पुगिने झापाले हेपेको, इलामले नदेखेको गाउँ हो लोस्से। यहाँका १३ जना विद्यार्थी स्कूल पुग्न र फर्कन मात्रै प्रत्येक दिन ६ घण्टा पैदल यात्रा गर्छन्। साथै प्राथमिक तहमा अध्ययन गर्नुपर्ने २५ विद्यार्थी शिक्षाबाट वन्चित छन्। विमल आचार्यको यो फोटो कथा सकारात्मक मनोविज्ञानमा आधारित छ।


लोस्सेको बन्द विद्यालय
यो हो करिब ७ वर्ष पहिले गाउँलेको पहलमा सुरुवात गरिएको लोस्सेको प्राथमिक विद्यालय। अहिले यहाँ पढाइ हुँदैन। किनकि यो बन्द छ। गाउँ घुमेर हेर्दा बाल शिक्षा सुरु गर्नु पर्ने २५ बालबालिका ६ घण्टा पैदल हिँड्न नसक्ने कारणले अहिले शिक्षाबाट वन्चित छन् । विद्यार्थी संख्या सरकारको मापदण्ड अनुरुप नरहेको कारण विद्यालय बन्द भएको हो। शिक्षा नियमावलीको मापदण्ड अनुसार हिमालमा ४०, पहाडमा ४५ र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर १ शिक्षकको व्यवस्था छ। शिक्षा सबैको अधिकार भन्ने नारा त नारा मै सीमित देखिन्छ।


सम्झना तामाङ
सम्झना तामाङ, उमेर १४ वर्ष, प्रत्येक दिन ६ घण्टाको यात्रा तय गरी बाल निकुञ्ज उच्च मा. वि. पुग्छिन्। १० जनाको परिवारमा सम्झना कान्छी छोरी हुन्। कक्षा ९ मा अध्ययनरत सम्झनाको दैनिकी कहालीलाग्दो छ। आर्थिक अभावको कारणले अन्य परिवारका सदस्यहरु गुमनाम सहरमा कतै हराएका छन्। वृद्ध आमाबुबाको आयआर्जनका बाटो भनेको कृषि नै हो। बुबा अनेक बिरामीले थला पर्नुहुन्छ, आमाको उमेर कृषि गर्ने रहेन। उनी प्रत्येक दिन बिहान सबेरै घरमा पालेका बाख्रालाई घाँस लिन जंगल पुग्छिन्, ४५ मिनेट ओराली उकाली गरेर दिनभरको पानी जोहो गर्छिन्। तैपनि उनको अनुहारमा कहिले गलेको झलक देखिँदैन। १० बजे विद्यालय पुग्न उनी बिहानै खाजा बनाउन लागि पर्छिन्। खाजा भने पनि खाना भने पनि त्यही हो। दिनहुँ चिउरा भुटेर खाएको भरमा ३ घण्टा स्कूल जान र फर्कन ३ घण्टा गरी दैनिक ६ घण्टाको पैदल यात्रा तय गर्छिन्। उनलाई पढाउने शिक्षकहरुका अनुसार विद्यालयमा खाजा खाएको कहिले देखेका छैनन्।

पढेर के बन्ने भन्ने प्रश्नको उत्तरमा उनी जवाफ दिन्छिन्- समाजसेवी। लोस्सेको मुहारमा खुसी छर्ने उनको सपना छ।


बिहानीको मेकअप
विद्यालय जानु अगाडि अन्य महिला झैँ उनी आफूलाई तयार गर्छिन्। पुरानो र तल्लो स्तरको ऐना पनि उनको अबोध सुन्दर मुहार लुकाउन असफल रहन्छ। मैले यो फोटो लिँदै गर्दा उनी विद्यालय पुग्ने हतारमा छिन्। उनले खाजा र खाना एकै पल्ट खाइसकेकी छिन्। पारिवारिक चिन्ता छाडी पढ्ने उमेरमा प्रत्येक दिन विद्यालयको सकसपूर्ण यात्रामा अनगिन्ती समस्या झेली अघि बढिरहेकी छिन्।

उनीसँगै ओरालो झर्दै गर्दा आफ्नो अनुभव सुनाइन्, ‘एक दिन विद्यालयबाट एक्लै फर्कँदै गर्दा ६-७ जनाको समूहले (जो रक्सीको नसामा झुम्म थियो) उनको बाटो छेक्यो। डरले उनको सास रोकिएको थियो। धन्न केही भएन।’

उनीसँगै प्रत्येक दिन ६ घन्टाको यात्रा गर्ने अन्य १२ जनाको कथा पनि मिल्दो-जुल्दो छ। असार महिनामा बाटो बीच पर्ने सर्धरे खोलाले बगाएका कथाहरु अनगिन्ती छन्। तथापि उनीहरुको पढाइमा कुनै कमि छैन। आफ्नो गाउँको विकास गर्ने दृढता घटेको छैन।


बाँसको भाटाले बुनेको घर र घाँटीको टाई
नझुक्किनुस्, उनीहरु कुनै ‘बोर्डिङ स्कूल’ जाने तरखरमा छैनन्। विद्यार्थी र अभिभावक आकर्षित गर्न सामुदायिक विद्यालयले प्रयोग गर्ने कसी हो टाई!
बासले बुनेको घरका कथा र कथाभित्रका पत्रहरु मौन छन्। फोटोमा देखिएको सानो भाई अर्पण राई उर्फ दयाहांग राई सुरिलो धुनमा बाँसुरी बजाउन माहिर छन्। उनको बाबा मुटुको बिरामी हुनुहुन्छ। परिवारको आर्थिक अवस्था नाजुक छ। तर ऊ प्रत्येक दिन शिक्षा लिन ६ घण्टा पैदल हिँड्छ। झापाबाट नजिकै रहेको हुँदा पप संस्कृति हावी छ। बाटोमा हिँड्दै ऊ यमबुद्धको गीत गुन्गुनाउँछ, ‘जित्नुभन्दा ठूलो कुरो हिम्मत नहार्नु हो।’


तिर्खा
विद्यालय यात्राको क्रममा घरबाट करिब-करिब दुई घण्टाको दुरीमा दोमुखा (पर्यटकीय स्थल) नजिकको गाउँ पुगिन्छ। जंगल, खोला अनि भिरहरु छिचोल्दै यात्रा गरिरहँदा तिर्खा मेट्ने धारा नजिक विश्राम गर्छन। पानीको प्यास मेटिन नपाउँदै विद्यालय समयमा पुग्ने चटारोले पाइलाहरु रोकिन मान्दैनन्। कस्ट छ, एक दिन हैन प्रत्येक दिन। तर पनि मुहारमा खुसी कम छैन।


सर्धरे खोला
विद्यालय पुग्नुअघि सर्धरे खोला सुसाउँछ। बर्खा याममा खोलाले बडो कष्ट दिन्छ। लोस्सेका १३ विद्यार्थी बाढीको भेल तर्दै विद्यालय पुग्न बाध्य छन। उनीहरु विद्यालय पुग्ने हतारमा छन्, तर बालुवा बीचमा आइदिन्छ। धेरैपल्ट खोलाले बगाएर ज्यान जोखिम हुँदा पनि उनीहरुको केवल एक लक्ष्य हुन्छ- विद्यालय पुग्नु छ, समयमा पुग्नु छ।


अनेक कष्ट झेल्दै उनीहरु विद्यालय पुग्छन् तर गेट खुलिसकेको हुँदैन।

11 comments to फोटो कथा : यी विद्यार्थीहरुको सलाम गर्नुपर्ने साहस जो दैनिक ६ घण्टा हिँडेर स्कूल आउने जाने गर्छन्

  • bal kumar tamang

    उज्यालो मुनिको अध्याँरो.. झापाको दोमुखा माथिको गाउसम्म दुइ घण्टा पैदल आएर अझ स्कुल सम्म को यात्रा गर्ने कुराले मलाई सोच्न बाध्य बनायो. दोमुखा झापा जिल्ला को एक प्रमुख पर्यटकीय स्थल, जुन स्थानमा दिनहु बनावोज गएका आधुनिक बनभाते हरु सुर्खे थैली…. खै…. भन्दै खोजि रहेका हुन्छन .. तिनीहरुले यो लेख पढ़दिये… खोज्नु पर्ने कुरा के रहेछ सायद थाहा पाउने थिए होलान येस्ता लुकेका कथाहरु धेरै छन् बिमल आचार्य ज्यु को प्रयास सहरानिया छ, सम्भंधित निकाय को ध्यान केन्द्रित भैदिए धेरै राम्रो हुने थियो, नीति नियम को कुरा गरेर धेरै नेपाली हरुले आफ्नो आधारभूत हक अधिकार बाट बन्चित बन्नु परिरहेको अवस्था छ.आशा गरौ चाडै यी फाल्तु प्रणाली को अन्त्य हुनेछ …..

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Raju Lama

    yasto lagchha yo desh ma raja maharaja, neta, thula bhanaudako adurdasita ko phal ho yo.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • बिमल

    कति दोष दिनु ? आउनुहोस केही गरौ।
    यो कथा आदि मात्र हो पूरा त तब हुन्छ जब हामीले सुरु गरेको अभियान मानव कल्याणका लागि एकता ले माईधार पढ्न आउने 13 विद्यार्थीका लागि छात्रबाँस र गाउका 25 विद्यार्थीका प्राथमिक बिधालय सुरु गरिन्छ।

    आउनुहोस सहयात्री बन्नुहोस।

    फेसबुकमा United for Philanthropy भन्ने पेज खोजेर हेर्नू होला।

    लेखक/ फोटोग्राफर

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • धोजबीर गोङ्ग्बा

    त्यही जिल्लाबाट प्रधान मन्त्रि र सभाध्यक्ष भैसके| मन्त्रिहरु अनगन्ती| खालि आफ्नो पार्टी र आफ्नो मान्छे नाता गोता प्रति मात्र केन्द्रित छन् ती राजनीतिका खेलवाडीहरु| सानो बिमानस्थल बनाउने कुरा भएको दशकौ भैसक्यो तर झापाका राजनीतिमा सुत्ने उठ्ने खाने अनि सिलगडीमा मुख चुठन जाने खेलवाडीहरुले दिए पो? ईलामका सबैजसो काठमान्डूमा घडेरी बनाएर बसेका छन, नाउँ मात्र इलामे| इलामेलाई जुन बेला आवश्यक पर्यो पारि गइहाल्छन| महोमाया, गोर्खे, धुसेनी, अन्तुतिरको बाटो बनाउने योजना आयोगको सोचाईमा पर्ने होइन, परे पनि कार्यान्वयन हुन् एक पुस्तै पर्खनु पर्ने हुन्छ| काठमान्डूको प्रदुषणपूर्ण वातावरणमा कसले सोचेको छ सम्झना तामांग र अर्पन राई जस्ताको भविष्य?
    यो ब्लग साह्रै घतमा गयो| एक चोटी फेरी सुधरेको पानी अन्जुलिमा लिएर ती हिम्मती बिद्यार्थीहरुको सुन्दर भविष्यको कामना गर्दछु|

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • चुनावको कुरा गर्दैछ सरकार लगायतका स्वार्थी दलहरु ,,, अव भोट माग्न त त्यहाँ जान्छन होला ,, पहिले गाउँमा जसले विद्यालय बनाइदिन्छु भन्छ उसैलाई भोट भन्नु होला , बिद्यालय जाने बाटो अनि खाने पानि तथा अन्य विकासका पूर्वाधारलाइ सम्बोधन गर्ने लाइ मात्र भोट दिनुहोला ,

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

    • Shankar

      अाइडिया काम लाग्दैन । भाेट माग्दा कुन नेताले गरिदिन्न भन्छ हाेला ?

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

      • पहिले जे गल्ति गरे त्यहाका जनता र नेता भनौदा हरुले , अव पनि त्यही गर्दा त के परिवर्तन होला र.. नेतालाई नभनी केहि हुन् नेपालमा ,, थर्काउनु पर्छ नत्र त् त्यहि हो ,,,(कुरो बौद्धिक थर्कानको )

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    मैले सक्ने केही देखिन, खुरुक्क सलाम गरे‌‌ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Shankar

    त्यों गाउँको पनि कुनै कुलांगार सभासद त होलानी ? त्यों चै के गर्दोरहेछ त ?
    की नेपाल बनाऊंन सबैतिर धुर्मुस , सुन्ताली नै चाहिने ?
    नेताहरु चै हक़ र अधिकार को लड़ाई जारी छः भन्दै तन्न काठमांडू माँ घर घडी जोड़ने , सरकार फेर बदल माँ तन्न कमाउने , पैसा बिदेसी ब्याङ्क माँ राख्ने | बेला कुबेला आंदोलन छेड़ने |

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • Ramro article. Can I get the contact number of the school where these children are studying. Want to help.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0