यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

गथां‍मुगः भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन


मंगलबार काठमाडौँ उपत्यकामा गथांमुगः चाड मनाइँदैछ। यो दिन फलामको औँठी, लैँचा (मेहन्दी) लगाइन्छ र भूतको पुत्ला जलाइन्छ। आजको रात तन्त्रमन्त्रको कुविद्या सिक्नेहरु औँलामा मैनबत्ती बालेर आउँछन् भन्ने कथा ठूलाले सुनाउँदा सानोमा खुब डर लाग्थ्यो। भूतप्रेतको कुरा अहिले अलि अपाच्य लागे पनि यो हाम्रो परम्पराले स्वीकारेको विषय हो। पश्चिमी संस्कृतिमा पनि भूतप्रेतकै हालोइन पर्व मनाउने गरिन्छ। जापानको बोन फेस्टिभलमा पूर्खाको आत्मालाई सम्झने गरिन्छ। यही गथां‍मुगः चाड बारे विनय राजोपाध्यायको जानकारीमूलक ब्लग

गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरिन्छ, जुन सहि होइन। किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ। उ अन्तै कतैको देवता नमान्ने नास्तिक हो। सायद ऊ भारत, काशीको हुनुपर्छ किनकि त्यहाँ कर्णघण्टा भन्ने पोखरी छ र नजिकै घण्टाकर्णको मुर्ति पनि छ। त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ।

रुद्रायमल तन्त्रको कथामा रहेको घण्टाकर्णलाइ तानतुन पारेर काठमाडौं उपत्यकाको संस्कृतिमा मिलाएर हेरिँदा त्यस्तो देखिएको मात्र हो। कुनै बेला नेवार शब्दलाई सञ्चार माध्यमले आफुखुशी उल्था गरी नेवार भाषामा गँ भनेको घण्टा र था भनेको बजाउने वा अड्केको र मुगः भनेको हयामर यानेकि घन मानेर यो गथांमुगः भनेको घण्टा बजाउने हो र यो घण्टाकर्ण सँग नै सम्बन्धित चाड हो भनी फुकिदियो। जस्ले गर्दा यो भ्रम श्रृजना भएको हो। आज पनि यही कुरालाई नजिर बनाई आफ्नो मौलिक परम्परालाई पाखालगाई त्यसैलाई नै अँगीकार गरी बस्न त भएन नि। जबकि यो चाडको नाम गथांमुगः हो गँथामुगः होइन।

वास्तवमा गथांमुगः भनेको दोबाटो, चौबाटो, चोक इत्यादी हो। किलागः, प्यंगःथां, नौमुगः, चिकंमुगः,प्यङ्गःथां आदि टोलको नामको अन्तिममा आएका यस्तै गः, थां, मुगःले पनि यो कुराको पुष्टि हुन्छ।

रोपाइँको बेला मरे पनि काजकिरिया नहुने

परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो। यहाँ उब्जनी मनग्ये हुन्थ्यो। खेती किसानी सबै भूमिमा गर्न त्यो बेला जनसंख्या कम भएको कारणले असम्भव प्रायः थियो। घाम, पानी, असिना, हावा, हुरी केही नभनी खेती किसानी सबै भूमिमा गर्नु मुश्किलको काम थियो। केही गरी फसल बिग्रेमा वा खेती किसानी गर्न नपाएमा बर्षभरीको लागी अन्न पुर्‍याउन सकिंदैन थियो र अन्न संकट हुन सक्थ्यो। त्यसैले यो काम मरीमरीकन जसरी भए पनि यहाँका किसानहरुले गर्नु नै पर्दथ्यो। भनिन्छ रोपाँइको बेला घरमा कोही ब्यक्ति मरे देखि त्यस लाशको शतगती समेत नगरी रोपाँइ नसकेसम्म सुकुलमा बेरी एक कुनामा थन्क्याउँदै सबै परिवार रोपाँइमा नै ब्यस्त भइरहन्थ्यो र रोपाँइ सकिसके पछि मात्र त्यस लाशको शतगति काजक्रिया गरिन्थ्यो ऊ बेला। त्यसैले यस रोपाँइ गर्ने कार्यलाई नेपाल भाषामा सिन्हां ज्याः भनि भनिन्छ।

सिन्हांको अर्थ मरेर र ज्याःको अर्थ काम भन्ने हुन आउँछ। अर्थात मरीमरीकन जसरी भए पनि गर्नुपर्ने काम। साँच्चै यो सिन्हां ज्याः गर्नु भनेको आफ्नो जिउ ज्यानै फालेर गर्नु पर्ने काम थियो। मरीमरीकन जसरी भए पनि जे गरेर भएपनि गर्नु नै पर्दथ्यो यो काम। नत्र त वर्षभरी राज्यमा अन्न संकट पर्न सक्थ्यो। अनि भोकमरी लाग्न सक्ने सम्भाबना एकदमै थियो। माटो सम्याउनु, डल्ला फोर्नु, सिंचाईको लागि कुलो खन्नु आदि इत्यादि किसानी काम गर्नु भनेको साधारण काम होइन। यो त एकदमै बलिया बलवानहरुले मात्र गर्न सक्ने काम थियो।

भूत भित्र्याउने चलन

तर राज्यमा सबै मान्छेहरु बलवान हुँदैनथिए त्यसैले यस्तो काम गर्न भूतको साधना नगरी सम्भव थिएन। यस्तो काम गर्न भूतको साधना गरी मान्छेमा भूत चढाई यो काम फत्ते गर्नु पर्दथ्यो। प्रत्येक सिन्हा ज्याः भन्दा पहिले अक्षय तृतिया भन्दा एक दिन अघि भूत दुकायगु भनी शहरमा भूतलाई भित्र्याउने काम हुन्थ्यो। अनि यो भूत चढाएको मान्छेको सहायताले सिन्हा ज्याः सजिलै गर्न सकिन्थ्यो।

सिन्हा ज्याः सकि सकेपछि यो भूतहरुको कुनै कामै थिएन। त्यसैले यिनीहरुलाई भगाउनु पनि जरुरी थियो किनकि साधारण मान्छेले भन्दा भूत चढेको मान्छेले एकदमै बढी त काम गर्दथ्यो तर एकदमै धेरै धेरै नै खाना पनि खान्थ्यो। त्यसैले यी भूतहरुलाई वर्षभरी नै पाली राख्न त असम्भव प्रायः थियो। यसै कारणले गर्दा भूतहरुलाई भगाउनु अत्यन्तै जरुरी थियो। भूतहरुलाई सिन्हां ज्याः सकी सके पछि याने कि भूतहरुबाट चाहिने जति काम लिइसकेपछि यिनीहरुलाई श्रावण कृष्ण चतुर्दशी अर्थात दिल्लागा चह्रे गथांमुगः चह्रेको दिन तान्त्रोक्तविधिपूर्वक भगाइन्थ्यो।

गथांमुगः भनेको भूतहरु बस्ने सामूहिक ठाउँ हो। जुन छ्वासः(क्षेत्रपाल, चौबाटो) हो। त्यसैले यस दिन आ-आफ्नो टोलको छ्वासमा नर्कट बाँसको तीन मुठालाई उठाएर बिहानैदेखि चौबाटोहरुमा ठड्याउँथ्यो। अनि घरघरबाट भूत भगाएको स्वरुप पुतलीहरु बनाई त्यसमा झुण्ड्याउन पठाइन्थ्यो। त्यस नर्कट बाँसको मुठामा डरलाग्दो भूत वा भूतनीको आकृति बनाई, टाँसी, एक जनाको शरीरमा मनपरी लेखी, एउटा दहीको भेगुतमा त्यस हेरचाह गर्नेलाई पेट टन्न भइकन दही चिउरा खुवाई, “ॐ शान्ति जय नेपाल आजु जय हा……” भन्न लगाउँदै, त्यही खाली दही भेगुतमा पैसा माग्न लगाई, हेरचाह गर्न लगाइन्छ र साँझ साँझ परे पछि टोलवासीहरु सबै मिलि त्यसमा विभिन्न तान्त्रिक पुजा गरी दहि चिउरा खुवाई एक मुठा पराल बाली त्यस नर्कटको झ्याङ्गलाइ तीन पल्ट परिक्रमा गर्न लगाई ढाली त्यसैमा त्यो मान्छेलाई बस्न लगाई टोलवासीहरु सबै मिली तानी खोलामा लगी मिल्क्याई बगाउने काम गरिन्छ। खोलामा बगाइसकेपछि ती तान्ने सबै मुख धोई घर फर्कने चलन छ।

भूतसँग भेट

यस दिन भूतहरु संग यताउति जहिँ तहीँ भेट हुन सक्ने भएकोले सबैले अनिबार्य रुपका फलामको औंठी लगाउनु जरुरी थियो नत्र त त्यो ब्यक्तिलाई भूतले दुःख दिने सम्भाबना धेरै थियो। भनिन्छ फलाम धारण गरेको ब्यक्तिलाई भूतले दूःख दिंदैन। बेलुकि पख सबैको घरमा भूत फेरि भित्र आउला भनी ढोका ढोकामा तीन खुट्टे किल्ला ठोकी बिशेष पूजा गरी तारण लगाउने काम हुन्छ। यसपछि घरको मुल ढोका बन्द गरी त्यो रात कोही पनि बाहीर जाँदैन’थ्यो। यस दिन यस प्रकारले भूत भगाई घरमा शुद्ध गर्दा खेरी घरमा बास बसि रहेको भूत प्रेतहरु पनि भागेर जान्छ भन्ने जन बिश्वास छ। यस प्रकार गर्ने घर शुद्धिलाई गथांमुगः ब्यंकेगु भनेर भनिन्छ। यदि सिन्हा ज्या नसकेको भए सिन्हाज्या सकीसके पछि मात्र सो घरमा गथांमुगः ब्यंकेगु गर्ने चलन पनि छ।

तन्त्रशक्ति सशक्त पार्ने दिन

यस दिन यसरी भूत प्रेत पिशाचहरु सबैलाई नगर बाहिर धपाई पठाउने भएकोले कुबिद्या-बोक्सी बिद्या) सिक्न चाहनेहरु, तान्त्रिकहरु मशानमा गई भूतहरुलाई लोभ देखाई फकाई वशमा लिई आफ्नो स्वार्थ सिद्ध गर्नुको साथसाथै आफ्नो तन्त्र शक्तिलाई अझै शशक्त गर्दथे। भनिन्छ बोक्सी विद्यामा तव मात्र पूर्ण पारङ्गत भएको मानिन्छ रे जब कोही बोक्सी सानो भई करुवाको माथिको मुखवाट छिरी टुटीबाट सकुशल बाहिर आउन सक्दछर त्यस्तै अजङ्गको पिपलको रुखलाई आफ्नो हत्केलामा राखी उल्ट्याउन सक्दछ। यस्तो अलौकिक क्षमता हासिल गर्न तान्त्रिक तथा बोक्सीहरु यस दिन आफ्नो बोक्सी बिद्यालाई अझै तिखार्न अवश्य पनि मसानमा रहेको शक्तिपीठमा पुग्दछ। त्यसैले यस गथांमुगः चह्रेको रात बोक्सीहरु आफ्नो बोक्सी बिद्यालाई बढाई अझै शक्तिशाली हुन मसानको शक्तिपीठमा गई साधना गरी बस्दथे। यस बेला उनीहरुले कुनै ब्यक्तिको बली भोग दिन सो ब्यक्तिको हंस (आत्मा) तानी कुचोको पुच्छर राखी, चार खुट्टाले टेकाई खसि बोकालाई जस्तै लघारी डोरीले बाँधी मसानको शक्तिपिठमा घिच्याउँदै लगी गोलको मासु, बालुवाको चिउरा बनाई खुवाई बली दिंदा रहेछन्। भनिन्छ कि यस्तो बलि आफ्नै लोग्नेको दिन सके देखि त्यो बोक्सी जस्तो शक्तिशाली अरु कोही पनि हुन सक्दैन अरे। यसरी हंस तानेको ब्यक्ति छ महिना भन्दा बढि जिउँदो रहन पनि सकिंदैन अरे भन्ने हाम्रो समाजमा विश्वास रहिआएको छ। यस प्रकारको चित्रहरु हामीले देउपाटनको जयबागीश्वरको मन्दिरमा र पाटनको मुःचुकः स्थित म्वमदु द्यः (छिन्नमस्ता)को भित्तामा पनि देख्न सक्छौँ।

यस दिन उनीहरु यस ठाउँमा मध्य रातमा आउँदा र जाँदा आफ्नो औंलालाई मैनबत्ति जस्तै बाली वाटो नै उज्यालो बनाउँदै खुट्टा जमीन भन्दा केहीमाथी हावामा टेकि आउँदछ जस्ले जति वटा औंला बाली आउँदछ उनीहरु त्यत्तिकै जान्ने रहेछ भन्ने पनि यस् बाटै जान्न सकिन्छ। कतिपय मानिसहरु त यस्ता बोक्सीहरुलाई ठीक् गर्नु पर्दछ भन्दै मशान जाने बाटोमा ढुकी बसी यस्ता आउनेहरुलाई सास्ती गर्नेहरु पनि छन्। यसरी ढुकी बस्नेहरुमा तान्त्रिकहरु पनि हुन्छन् जस्ले त यस्ताहरुलाई तारण राखी सास्ती गर्दछन् तर सास्ती गर्ने भन्दा सास्ती खाने बलिया अनि शक्तिशाली भएदेखि त उल्टो उनीहरुलाई नै सास्ती गरी भगाएर तन्त्रशक्तिले कहाँ कहाँ पुर्‍याई दिन्छन् जस्ले गर्दा ति व्यक्ति रात रात भर घर फर्कने बाटो खोज्दै ठिक्क हुन्छन्। यसरी अल्मलिने अनुभव पाएका बुढापाकाहरु आज पनि भेट्न सकिन्छ।

यस गथांमुगःको मध्यरात भूत प्रेतको साधना गरे चाँडैनै तन्त्र विद्या सिकिने जन बिश्वास पनि छ। हुनत भुतप्रेतको कुरा आजकालको युवा पिँढीलाई अपाच्य होला तर हाम्रो पूर्खाले यस्लाई स्वीकारेको छ। यो नेपाल मण्डलको आफ्नै परम्परा हो, संस्कृति हो। आफ्नो मौलिक संस्कृतिमाथि गर्व गर्न सिकौं। कृपया गथांमुगःलाई घण्टाकर्ण भनी बुझाउने काम नगरौं। अझ कसैकसैले त गथांमुगःलाइ यो चाडको नाम नै बिगारी गठे मङ्गल पनि भन्ने गरीन्छ। यो त पूरा विकृति हो। गथांमुगःलाई बाह्य सांस्कृतिक आक्रमणबाट जोगाऔं। (साभारः विनय राजोपाध्यायको ब्लग)

6 comments to गथां‍मुगः भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन

  • Thank you 🙂

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Mahila ko aakriti ko gathanmuga ko barema kehi Thaha chha kasailai?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • One of the Finest Painting is this even far more better than picasso.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • संस्कृति जोगाउनु पर्छ ,

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Very interesting read!!! Thanks for the article and yes hami ktm ka purana raithaney “खें चा” haru le yes chad lai गठेमंगल bhantheu. Sayad newari bhaasa ma sahi tarika le pronounce garna najanera hola!!! Tara newari bhaasa ramro bolney mera family ka kati paya member haru le chai ramro sanga pronounce gareko tha chha!!!Baba le tyo din authi lyaunu bhayena office bata farkida bhaney ruwabaasi hunthyo !!! I miss those days and festival!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sanil maharjan

    Dherai ramro jankari…
    Arko post ma dekhen then as gathemangal which was not the right word.. sayed yestai aru le hamro parampara lai beglai parivasit garna thaleka xan..
    ny way very nice post..

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0