यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

‘दाइले खाने, भाउजु रमाउने’ जुस खाएपछि यस्तो भयो


पाल्पामा सबैभन्दा जान मन लागेको ठाउँ थियो रानीमहल। धेरै सुनेको तर जान नजुरेको ठाउँ। त्यसैले साथी टेकनारायण भट्टराईले घुम्न जाने प्रस्ताव राख्ने बित्तिकै रानीमहलले लोभ्यायो र यस पटक त्यो इच्छा पूरा भयो। रानीमहलबारे पछि अर्कै ब्लगमा लेखौँला। पाल्पा जाँदै गर्दा सिद्धबाबाको कुख्यात पहिरो कटेपछि आयो ‘भालेबास’ नामको ठाउँ। एउटा ठूलो भालेको मूर्ति बनाइएको रहेछ त्यहाँ। अनि एउटा पाखोलाई रमाइलो पार्कमा परिणत गरिएको रहेछ। यसका सूत्रधार रहेछन् केशव कार्की। हाम्रो पाल्पा यात्राको क्रममा भेटिएका एउटा फरक पात्रमध्ये एक। सजीवनदेखि बकाइनोसम्मको तेलबाट गाडी चलाउने, स्टन्ट गर्ने लगायतका अनेक गरिसकेका मान्छे। अचेल उनी जुस पनि बेच्दा रहेछन्। त्यही भालेबासको पार्कमा। जुस पनि अचम्म अचम्मका। दुबोको जुस। कहिल्यै सुन्नुभएको छ?

उनी भने दुबोमात्र खाएर बाँचेका जोगीको कथा सुनाउँदै दुबोको जुसको फाइदा सुनाइहाल्छन्। रामदेव शैलिमा। अचेल जमराको जुसको खुब फेसन चलेको छ तर यो दुबोको जुसको कुरा त अहिलेसम्म सुनेको थिइनँ। रामदेव स्टाइलमा दुबोको जुसको फाइदाको कथा सुनियो।

पाल्पा जाँदा हामीले जुस हेर्‍यौँ मात्र। हामीलाई पाल्पा पुग्न हतार थियो। फर्कँदा भने सात बजे बल्ल टुँडिखेलबाट हिँडेको हुनाले भालेबास पुग्दा अँध्यारै भइसकेको थियो। तर हामी पत्रकारको टोलीलाई जुस खुवाउन केशव कार्की पर्खेर बसेका रहेछन्।

खासै इच्छा त थिएन। तर सबैको लहैलहैमा लाग्नै पर्‍यो। हामीलाई खुवाउन एउटा जुस तयार पारिएको रहेछ। के हो यो भनेर सोध्दा उनले हाँस्दै भने, ‘यो दाइले खाने भाउजु रमाउने जुस हो।’

ए अचम्म ! के हो यस्तो दाइले खाने भाउजु रमाउने भनेको !

एकछिन त हामी सबै वाल्ल पर्‍यौँ। पछि पो उनले बोर्डमा लेखेको देखाए। त्यसमा लेखिएको थियो अनेकन फाइदासँगै एउटा फाइदा- यौनशक्ति वृद्धि गर्ने। त्यसैलाई पो उनले दाइले खाने भाउजु रमाउने भनेका रहेछन्।

यो थाहा पाएपछि भालेबास हाँसोले गुन्जियो। अनि सुरु भयो ठट्टाको क्रम पनि। कहिलेसम्म यो रहन्छ, काठमाडौँ पुग्दासम्म यसको असर रहन्छ कि रहँदैन?

पूरै वार्तालाप त खिचिएन तर मोबाइलमा यति चाहिँ कैद भएको छ-

खासमा यो थाकल जुस रहेछ। अहिलेसम्म मैले सुन्दै नसुनेको जुस।

एक गिलास खाएको, त्यति मीठो लागेन। फेरि अर्को गिलास दिइयो, यो चाहिँ थाकल जुसको मिल्कसेक रे। दूध मिसाइएको होला। यो चाहिँ स्वाद ठीकै थियो। पानी अमला पनि राखिएको रहेछ। त्यो पनि एउटा खाएँ। खान त खाइयो, असर पो कस्तो हुने हो। थाहा थिएन परिणाम।

बुटवल कट्ने बित्तिकै देखिन थाल्यो असर। दाउन्नेमा खाना खाने भनेका थियौँ। तर त्यहाँसम्म नपुग्दै एक जना सहयात्रीलाई ट्वाइलेट जान हतार भयो। माइक्रोबसका गुरुजीले पाँच मिनेट थाम्नुस् खाना खाने ठाउँ आइपुग्नै लाग्यो भन्दै थिए। तर उनले थामिनै नसक्ने बताए। मैले सोचेको थिएँ, सर्ट होला। तर होइन रहेछ।

दाउन्ने नपुग्दै ममा पनि असर देखिन थालिसकेको थियो। पेट कटक्क खाइरहेको थियो। खाना खाइसकेपछि ट्वाइलेट गएँ। खासमा पाल्पाबाट हिँड्नुअघि नै लङ ट्वाइलेट गइसकेको थिएँ। तर फेरि पेट दुखेर हैरान।

खाना खाएर दाउन्नेबाट हिँडिसकेपछि झन् असर बढी देखिन थाल्यो। थाकलको जुसले हो कि पानी अमलाले हो कि केको कारण हो थाहा भएन। तर बेलाबेलामा सहनै नसकिएला जस्तो गरी दुख्ने। हैट अरुतिरै ध्यान दिनुपर्छ भनेर ध्यान अन्त लान खोज्छु, सके पो।

मुग्लिङ-नारायणगढ सडकमा जाममा फँस्दा एकातिर आकाश गडगडाइरहेको थियो, पानी परिरहेको थियो, अर्कोतिर आफूलाई सहिनसक्नु थियो। माथिबाट पहिरो खस्ला भन्ने त्राससँगै आफ्नो तलबाट नियन्त्रण गुम्ला भन्ने अर्को त्रास। एक ठाउँमा सुत्नुपर्छ भनेर गुरुजीले गाडी रोकेपछि सहिनसक्नु भएर म हिँडे सडक छेउको झाडीबीच। कस्तो अप्ठेरो। धन्न टेकनारायणसित ट्वाइलेट पेपर रहेछ। खासमा टेकनारायण आफै पनि मुग्लिङको जाममा फँस्दा भिरतिर पसेको रहेछ।

दाइले खाने भाउजु रमाउने जुसका कारण हो कि अरु कुनै कारण हो, हामीलाई यस्तो भएको – पत्तै पाएनौँ।

पछि कलंकीको जाममा बस्नुभन्दा हिँडेर घर जानु वेश भन्दै हिँड्दै गर्दा पनि कम्ता पेटले दुःख दिएन। घर पुगेपछि त्यो दिन यत्तिकै रह्यो। भोलिपल्टबाट मात्र यसको असर हट्यो। त्यो जुसको बयानमा रगत सफा बनाउँछ मात्र हैन पेट सफा पनि बनाउँछ लेखेको भए सार्थक हुने थियो भन्ने लागिरह्यो।

1 comment to ‘दाइले खाने, भाउजु रमाउने’ जुस खाएपछि यस्तो भयो