यतिबेला सामाजिक संजालमा एउटा ट्रोल भाइरल बनेको छ । भाइरल बनेको तस्बिर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहको हो ।
भाइरल हुने व्यक्ति धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल हुन् । उनले उद्घाटन समारोहमा टेबलमाथी चढेर सलामी लिएका थिए । सलामी लिएको तस्बिर सार्बजनिक भएपछि उनी सामाजिक संजालमा ट्रोलको सिकार बनेका छन् ।
उनी ट्रोल बनेको समाचार आज अधिकांस अनलाइन संचार माध्यमले कभर गरेका छन् ।
मेयरको तस्बिर भाइरल भएसंगै वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका कैलालीबाट निर्वाचित राजपाका निलम्बित संसद रेशम चौधरीको इस्यु ओझेलमा परेको छ । मेयरको तस्बिर भाइरल हुनुअघि चौधरीलाई खुट्टामा नेलले बाँधेर उपचार गरिएको भन्दै चौतर्फी बिरोध भएको थियो ।
चौधरीको मानब अधिकार हनन् भएको भन्दै सामाजिक संजाल तातिएको थियो । तर टेबल चढेर सलामी दिईएको मेयरको तस्बिर सार्वजनिक भएपछि सामाजिक संजाल यहि बिषयमा केन्द्रित भएको छ । चौधरीको इस्युले सामाजिक संजाल तात्नुअघी गुठी विधेयकले सामाजिक संजाल तताएको थियो । त्यसअघि इटहरीका मेयर द्वारिकालाल चौधरीको बिषय सामाजिक संजालमा चर्चामा थियो । यसरी एकपछि अर्को बिषयले सामाजिक संजाल तातिईरहेको छ ।
एउटा बिषय सकिन नपाउँदै अर्को बिषय सामाजिक संजालमा चर्चामा आउंछ । जसको कारण बहस हुनुपर्ने बिषय संधै निस्कर्षमा नपुगी ओझेलमा पर्ने गरेको छ । त्यसोत: यतिबेला प्रहरीद्वारा सर्लाहीमा बिप्लबका कार्यकर्ता कुमार पौडेलको इन्काउन्टरको बिषयमा बहस हुनुपर्ने हो । किनकि प्रहरीले पौडेल मुठभेडमा मारिएको बताएपनि लासको अवस्था हेर्दा त्यस्तो देखिन्न । यो घटनामा पनि प्रहरीले आफ्नो फेक इन्काउन्टरलाई निरन्तरता दिएको बुझ्न सकिन्छ ।
त्यस्तै , कंचनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्षदिन हुन् लाग्दा पनि हत्यारा पत्ता नलागेको बिषयले सामाजिक संजाल तताउनुपर्ने थियो । तर निर्मला पन्तको बिषयलाई लिएर सामाजिक संजाल आजकल सुनसान छ ।
बहस हुन् लायक यस्ता बिषय दर्जनौं छन् । तर यी र यस्ता बिषय लाई अन्य बिषयले ओझेलमा पार्छन् । यसको मतलब मेयरले सलामी लिएको बिषय तथा गलबन्दी बोलको गीतलाई लिएर गायक प्रकाश सपुत र शम्भु राई बिचको झगडाको बिषयमा बहस गर्नुहुन्न्न भन्न खोजेको कदापी होइन । यस्ता बिषयमा सभ्य बहस हुनुपर्छ । तर प्रकाश सपुत र शम्भु राइको विवाद जातिवादमा गएर उत्कर्षमा पुगेको छ ।
तर के अहिले सामाजिक संजालमा यी बिषयमा बौद्धिक बहस भएको छ त ? बहसमा प्रयोग हुने भाषा र आरोप-प्रत्यारोपले कुनै जात/धर्म/ सम्प्रदायलाई सम्मान गरेको छ त ? सामाजिक संजालको बहसलाई हेर्दा लाग्छ , बहस गर्नलायक स्तरीय बिषय नै छैन यो समाजमा । बिषय स्तरीय भएपनि भाषा नै स्तरीय छैन यो समाजमा ।
अहिले यो बिषयलाई यहीं थाँती राखौं र सलामी लिएका भाइरल मेयरको प्रतिक्रिया सुनौं ।
आफुँ सामाजिक संजालमा बदनाम हुँदा निक्कै नमज्जा लागेको मेयरले प्रतिक्रिया दिएका छन् । उनले आफुँबाट गल्ती भएको भए क्षमा माग्ने पनि बताएका छन् । आयोजकले नै खेलाडीलाई सम्मान गर्न सलामी दिनुपर्छ भनेपछि आफुँले सलामी दिएको उनको प्रतिक्रिया छ ।