यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

भालेपोथी त छुट्टिन्न, भ्यागुतोको बिहे गरेर पानी पर्ने र डिभोर्स गरेर रोकिने हुन्छ कहीँ?


यही साता त हो, फेसबुकमा एउटा फोटो निकै भाइरल भयो। फोटोमा पानी परेकोले रोक्न भ्यागुताको डिभोर्स गरिएको व्यहोरा लेखिएको नेपाली कागजसँगै दुई वटा भ्यागुता देखिन्छ। त्यसको केही अघि असार लागिसक्दा पनि पानी नपरेकोले मोरङमा भ्यागुताको बिहे गरिएको खबर भाइरल भएको थियो।

प्राध्यापक करनबहादुर शाहलाई यस्तो समाचार देख्यो कि मरीमरी हाँसो उठ्छ। ‘विवाह चिप्ले भ्यागुताको गर्ने अनि डिभोर्स खस्रे भ्यागुताको गरेर नि हुन्छ !’ हर्पेटोलोजिस्ट शाहले ठट्टयौली पारामा भने, ‘भाले पोथी पनि छुट्याउन सकिन्न, अनि कसरी पानी पर्ने र रोकिने हुन्छ !’


खानको लागि प्रयोग गरिने चिप्ले भ्यागुता। यसलाई पाहा पनि भनिन्छ

अनि किन यिनीहरुको विवाह गरिन्छ त?

एउटा कथा चलिआएको छ उहिले बाजेको पालादेखि। त्यसमा भनिन्छ- एक पटक पानी नपरेपछि गाउँलेहरूभगवान् इन्द्रसँग बिन्ती गर्न पुगेछन्।

भगवानले भने ‘तिम्रो क्षेत्रको भ्यागुतोले नमागे सम्म म पानी दिन्न। जाऊ तिमीहरू गएर तिनलाई खुसी बनाऊ।’

यसपछि मानिसहरुले भ्यागुताको विवाह गर्न थालेछन्। यो परम्परा भारत, बङ्गलादेश र नेपालमा अभ्यास गरिन्छ। भ्यागुता खुसी भए पछि भगवान् इन्द्र पनि खुसी हुन्छन् र पानी पर्छ भन्ने विश्वास गरिन्छ।

तर भ्यागुताले कराएपछि पानी पर्ने हैन कि पानी पर्न लागेको थाहा भएपछि भ्यागुता कराउने हुन्।

प्राध्यापक शाह भन्छन्, ‘भ्यागुताहरू वातावरणप्रति संवेदनशील हुन्छन्। यिनले हावामा भएको पानीको बारेमा अनुमान गर्न सक्छन्। धेरै ठाउँमा पानी पर्नु अघि भ्यागुताहरू कराएको, बसेको ठाउँबाट बाहिर निस्केको देखिएको छ।’

‘विवाहको लागि नै सही, यदि भ्यागुता समातियो भने यसले के देखाउँछ भने भ्यागुता सहजै भेटियो। पानी पर्ने सम्भावना बढ्यो। विवाह पछिको घट्नाहरुपछि पानी परेको पनि छ। तर यो संयोग मात्र हो।’

भ्यागुतालाई दोष

बूढापाकाहरू ‘भ्यागुताको धार्नी’ भनेर अप्ठ्यारो काम वा पूरा नहुने कामलाई सङ्केत गर्छन्।

कोही धेरै बोले ‘के भ्यागुताले झैँ ट्वार ट्वार कराएको’ भनेर पनि व्यङ्ग्य गरिन्छ। स्वर राम्रो नभए पनि भ्यागुतालाई नै दोष लगाइन्छ।

झगडा गर्दा एकले अर्कालाई भन्ने वाक्य यस्तो पनि हुन्छ ‘धेरै निहुँ नखोज है , पाहा (खाइने प्रजातिको भ्यागुता) पछारे जस्तै पछार्चु अनि चाल पाउलास्!’

कोही मानिसहरू बाहिरी संसारबारे अनभिज्ञ भए ‘हेर त कुवाको भ्यागुता जस्तो, केही थाहा छैन यसलाई’ भनेर व्यङ्ग्य कसिन्छ।

दैनिक जीवनमा भ्यागुतासँग सम्बन्धित यी कुराहरू तपाईँले पनि सुन्नु भएकै होला। माछा माछा भ्यागुता भन्ने त उखानै छ। यसले पनि माछा राम्रो र भ्यागुता नराम्रो भन्ने प्रस्ट पारेको छ। तर यसरी खिसीट्युरी गरेको भ्यागुताको भूमिका भने निकै राम्रो रहेको छ। भ्यागुताको जति उछित्तो काढे पनि यिनको उपस्थिति मानवको अस्तित्वको लागि अनिवार्य जस्तै छ।

भ्यागुता के हो ?

भ्यागुता एउटा उभयचर वर्गको प्राणी हो अर्थात् यो पानी र जमिन दुवै ठाउँमा बस्न सक्छ। भ्यागुताको बच्चाहरूलाई चेपागाँडा भनिन्छ। यिनीहरू फुलबाट निस्किएपछि पानीमा नै बस्छन्। बिस्तारै खुट्टा निस्कन्छ र भ्यागुता बन्छन्। नेपालमा यिनीहरू ४१०० मिटर सम्मको उचाइमा अभिलेख गरिएको छ। यिनीहरू मांसाहारी जीव हुन्। यिनीहरूलाई खस्रे र चिप्ले गरी दुई समूहमा छुट्टयाइएको छ। तर भ्यागुता शब्दले चिप्ले, खस्रे, पाहा सबैलाई प्रतिनिधित्व गर्दछ।

नेपालमा ५३ जातिका उभयचरहरु पाइन्छन्। उभयचर अन्तर्गत भ्यागुता, निवित्, सालमण्डर, कैसीलियन आदि पर्दछन्। नेपालमा करिब ५१ प्रजातिका भ्यागुताहरू मात्र पाइन्छन्। संसारभर यिनका ४८०० प्रजातिहरू अभिलेख गरिएका छन्।

यिनीहरू वन, घाँसे मैदान, खेतबारी, पोखरी, सिमसार क्षेत्र, खोल्साहरूमा बस्न मन पराउँछन्।


खस्रे भ्यागुता : नेपालमा पाउने भ्यागुताहरु विषालु छैनन्।

यसको महत्त्व के छ ?

यसको छालाले वातावरणमा भएको विषाक्त रासायनिक कुराहरूलाई सजिलै छुट्ट्याउन सक्छ । त्यसैले यसको शरीरलाई वातावरणको सूचक पनि भनिन्छ । वातावरण स्वस्थ भए नभएको यिनको उपस्थितिले अनुमान गर्न सक्छौँ ।

चेपागाँडाले सडे गलेको पात, पानीभित्र मरेको जनावर र माछाको विष्टा उपभोग गर्ने गर्दछन् जसले गर्दा पानीको सफाइमा मद्दत पुर्‍याउने गर्दछन् ।

वयस्क भ्यागुताले माकुरा, किरा, फट्याङ्ग्रा, निशाचर पुतली आदि खाने गर्दछ । साथै यिनले वर्षमा करिब १००० वटा लामखुट्टे, झिँगा खान्छन् । भ्यागुतालाई किसानको मित्र पनि भनिन्छ । यसले खेतबारीमा रहेको विभिन्न खालको बाली नष्ट गर्ने किरा-फट्याङग्रा खाई बाली-नाली बचाउनमा सहयोग गरेको हुन्छ । यिनीहरू नहुने हो भने यो संसार किरा-फट्याङ्ग्राले मात्रै भरिन्थ्यो होला ।

विभिन्न चराले भ्यागुतालाई खानाको रूपमा मन पराउँछन् । स्तनधारी जीवहरू पनि यिनमै भर पर्छन् । सर्प र माछाहरू पनि यिनकै भरोसा रहन्छन् ।

अध्ययनको लागि यिनको प्रयोग
विज्ञानका विद्यार्थीहरुले भ्यागुतालाई चिरेर अनुसन्धान गर्छन् । यिनको शरीरको अध्ययनबाट अन्य जीवहरूको बारेमा थाहा पाउन सकिन्छ । यिनका भित्री अङ्गहरू सजिलै देखिने र यिनीहरू सजिलै भेटिने हुनाले पनि यिनको प्रयोग हुन् थालेको हो । यसक्रममा लाखौँ भ्यागुताहरू मारिने, केमिकलमा राख्ने तथा व्यापार हुने गर्दछ।

यिनको उमेर कम हुने भएकोले यिनमा गरिएको प्रयोग/अध्ययनको नतिजा छिट्टै थाहा पाउन सकिन्छ । त्यसैले पनि यिनको प्रयोग बढी भएको हो ।

नेपालमा मात्रै करिब ५० हजार देखि १ लाखसम्म भ्यागुताहरू विद्यार्थीहरुले आफ्नो अभ्यासको लागि प्रयोग गर्ने अनुमान गरिएको छ । अमेरिकामा मात्र करिब ६० लाख जीवजन्तुहरू अनुसन्धानको लागि मारिन्छन् , जसमध्ये भ्यागुता धेरै हुने गर्दछन् ।

यिनको प्रयोग

खाने प्रजातिलाई पाहा भनिन्छ । यिनको अवैध सिकार र व्यापार समेत धेरै हुने गरेको छ । सुत्केरी हुँदा छिटो शक्ति प्राप्त गर्न पाहाको माग बढी हुने गरेको छ ।

विज्ञानले यिनलाई नमारी यिनको शरीरबाट निकालिएको Peptides नामको प्रोटिन क्यान्सर सेलको बृधि रोक्न सहयोगी हुने तथ्य पत्ता लगायका छन् । भ्यागुताको छालामा रहेको Peptides ले रक्त कोषिकाको बृधिलाई नियन्त्रण गर्न सक्छ भन्ने प्रमाणित भएको छ ।


अध्ययनको लागि मात्र नभई नेपालमा बर्सेनि ठुलो मात्रामा यिनको सिकार समेत हुने गरेको छ।

भ्यागुता सम्बन्धी केही रमाइला जानकारीहरू

० यिनीहरू २ देखि ४० वर्ष सम्म बाँच्छन् । औसतमा १०-१२ वर्ष ।

० पेरुमा पाइने रानीटोमिया इमिटेटर नामको भ्यागुताले जीवन साथी फेर्दैनन् ।

० संसारभरि पाइने भ्यगुताहरु मध्ये १७० थरिका विषालु हुन्छन् । ‘गोल्डेन विषालु भ्यागुता’को शरीरमा ८ जना सम्म मानिस मर्ने बिख रहेको हुन्छ । तर नेपालमा पाइने कुनै पनि भ्यागुताहरू विषालु छैनन् ।

० संसारको सबैभन्दा ठुलो भ्यागुता जाईन्ट स्लिपेरी हो । नाकको टुप्पो देखि पछिल्लो भागसम्म ३२ सेमी र तौल करिब ३.२ किलो सम्म भेटिएको छ ।

० पपुवान्युगिनियामा संसारको सबैभन्दा सानो भ्यागुता पेड़ोफाईरिनेको पाइन्छ जसको लम्बाई ७.७ मिलिमिटर मात्र हुन्छ ।

० अस्ट्रेलियाको कुइन्सल्याण्डमा भ्यागुताको उपचारको लागि ‘Frog Safe’ हस्पिटल खोलिएको छ ।

० भ्यागुताले छालाको माध्यमबाट पानी सोस्ने भएकोले पानी पिउने गर्दैनन् ।

० भ्यागुताले एक पटकमा ४ हजारसम्म फुल पार्छन् ।

० भ्यागुताले आफ्नो उचाइ भन्दा २० गुना माथि सम्म उफ्रन सक्छन् ।

० भ्यागुताले औसत हप्तामा एक पटक आफ्नो छाला फेर्ने गर्दछन् । त्यसरी निस्किएको छाला आफैले खाने गर्दछ ।

० भ्यागुताको समूहलाई सेना पनि भनिन्छ ।

० धेरै जसो भ्यागुताको माथिल्लो दाँतहरू हुन्छन् जुन चबाउनका लागि नभई आहारलाई निल्नु अघि समाउनका लागि प्रयोग गर्दछ ।

० यिनीहरू आँखा बन्द नगरी सुत्छन्।

० यिनीहरू नुनिलो पानी भएको वा समुन्द्री क्षेत्रमा बस्दैनन्।

० यिनीहरूले राती पनि आँखा देख्छन्। एकै ठाउँ बसेर लगभग चारैतिर (पछाडि अलि कम) देख्न सक्छन।

अन्तमा

प्राध्यापक शाहले भने जस्तै ‘पहिलाको तुलनामा केही युवाहरूले भ्यागुताको अध्ययन र संरक्षण पहल गरे पनि यिनीहरू माथि परेको चुनौती धेरै नै छ। सबै सरोकारवालाहरू विशेष गरी सरकारी चासो नभएसम्म यिनको संरक्षण सम्भव छैन।’

अध्ययनको लागि मात्र नभई नेपालमा बर्सेनि ठुलो मात्रामा यिनको सिकार समेत हुने गरेको छ।

यस्तो उपयोगी र सहयोगी वन्यजन्तुलाई माछा माछा, भ्यागुता भनेर अपमान नगरौं है!

1 comment to भालेपोथी त छुट्टिन्न, भ्यागुतोको बिहे गरेर पानी पर्ने र डिभोर्स गरेर रोकिने हुन्छ कहीँ?

  • प्रेम न्यौपाने

    जानकारी मुलक लेख ! धन्यवाद – लेखक र प्रकाशक् दुबै लाई

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0