यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

यस्तो छ संशोधन भएको पत्रकार आचार संहिता

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६)

प्रस्तावना : विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवर्द्धन र प्रचलनका लागि पत्रकारिताका सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य–मान्यताका आधारमा पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाई राष्ट्र र समाजको सर्वोत्तम हितका लागि सबै सञ्चारमाध्यम र पत्रकारलाई लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ को दफा ७ को खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले यो आचारसंहिता २०७३ जारी गरेको छ । प्रारम्भिक

१. नाम, प्रारम्भ र विस्तार :

(१) यस आचारसंहिताको नाम पत्रकार आचारसंहिता, २०७३ रहेको छ ।

(२) यो आचारसंहिता तुरुन्त लागू हुनेछ ।

(३) यो आचारसंहिता सबै प्रकारका सञ्चारमाध्यम र पत्रकारलाई लागू हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचारसंहितामा,

(१) “अनलाइन सञ्चार माध्यम” भन्नाले प्रचलित कानूनबमोजिम स्थापना भई पत्रकारिता र सम्पादकीय सिद्धान्त अङ्गिकार गर्दै इन्टरनेटको माध्यमबाट संकेत, चिन्ह, अक्षर, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा विभिन्न बहुमाध्यम (मल्टिमिडिया) को प्रयोगमार्फत समाचारमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्यदृश्यको रुपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्नेे विधि, प्रक्रिया र माध्यम सम्झनु पर्छ ।

(२) ‘अनुगमन उपसमिति’ भन्नाले पत्रकार आचारसंहिता अनुगमन उपसमिति सम्झनुपर्दछ ।

(३) ‘ऐन’ भन्नाले प्रेस काउन्सिल ऐन, २०४८ सम्झनुपर्छ ।

(४) ‘काउन्सिल’ भन्नाले प्रेस काउन्सिल नेपाल सम्झनुपर्छ ।

(५) ‘तोकिए बमोजिम’ भन्नाले काउन्सिलबाट तोकिएको वा तोकिए बमोजिमको निर्देशिका, कार्यविधि समेत सम्झनुपर्छ ।

(६) “पत्रकार” भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्ति बाहेक सञ्चार सम्बन्धी व्यावसाय वा सेवालाई प्रमुख व्यावसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनु पर्दछ ।

(७) “छापासञ्चारमाध्यम“ भन्नाले समाचार तथा विचार प्रकाशन गर्ने पत्रपत्रिकालाई सम्झनु पर्छ ।

(८) “प्रसारण” भन्नाले, इन्क्रीप्ट (encrypt) गरिएको वा नगरिएको, सर्वसाधारण वा निश्चित क्षेत्र वा वर्गका जनताले जानकारी पाउन सक्ने गरी पठाइने श्रव्य वा दृष्य, श्रव्यदृष्य, कार्यक्रम, डाटा वा सूचनालाई रेडियो फ्रिक्वेन्सी, इण्टरनेट प्रोटोकल वा अन्य विद्युतीय वा विद्युत प्रकाशीय माध्यमबाट गरिने प्रसारण सम्झनु पर्छ ।

(९) ‘बैठक’ भन्नाले आचारसंहिता अनुगमन उपसमिति (छापा र विद्यूतीय) का बैठक सम्झनुपर्छ र सो शब्दले अनुगमन उपसमितिद्वारा गठन हुने कार्यदलको बैठक समेतलाई जनाउँछ ।

(१०) ‘व्यवस्थापक’ भन्नाले कुनै सञ्चार प्रतिष्ठानको कार्यसञ्चालनमा अन्तिम निर्णय गर्ने अधिकारप्राप्त व्यक्ति सम्झनुपर्छ ।

(११) ‘सञ्चारमाध्यम’ भन्नाले नेपालमा सञ्चालित छापामाध्यम, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम र समाचार एजेन्सीलाई सम्झनुपर्छ ।

(१२) ‘सदस्य’ भन्नाले प्रेस काउन्सिल नेपालका सदस्य सम्झनु पर्दछ । सो शब्दले पत्रकार आचार संहिता अनुगमन उपसमितिका सदस्यसमेतलाई बुझाउनेछ ।

(१३) “सम्पादक” भन्नाले आमसञ्चार सञ्चालन संस्थाको समाचार वा समाचारमूलक कार्यक्रमको उत्पादन तथा प्रकाशन वा प्रसारण अधिकार र उत्तरदायित्व बहन गर्ने सम्पादक, प्रधान सम्पादक वा समाचार प्रमुख सम्झनु पर्छ ।

(१४) “समाचार समिति” भन्नाले व्यापारिक वा सेवाको उद्देश्यसहित समाचार संकलन, उत्पादन, प्रशोधन, प्रसारण प्रयोजनका साथ संगठित समाचार वितरक संस्था सम्झनु पर्छ ।

(१५) ‘संयोजक’ भन्नाले आचारसंहिता अनुगमन उपसमितिको संयोजक सम्झनुपर्दछ ।

३. व्याख्या गर्ने अधिकार : यस आचारसंहिताको व्याख्या गर्ने अन्तिम अधिकार काउन्सिलमा रहनेछ ।

पत्रकार र सञ्चारमाध्यमको कर्तव्य

४. पत्रकार र सञ्चारमाध्यमले देहाय अनुसार कर्तव्य पालना गर्नुपर्दछ ः

(१) प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन ः पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका निम्ति सदैव सत्य–तथ्य सूचना प्रवाह गर्नुपर्दछ ।

(२) मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान ः (१) पत्रकार तथा सञ्चारमाध्यमले मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र र लिखतहरूले प्रत्याभूत गरेका अधिकार, सिद्धान्त र मान्यताहरूको सम्मान गर्दै लोकतन्त्र, न्याय, समानता, स्वतन्त्रता, समावेशिता, मानवीयता, शान्ति तथा अन्तर्राष्ट्रिय समझदारी र मित्रराष्ट्रहरूबीच भाइचाराको संरक्षण तथा संवद्र्धन गर्नुपर्दछ ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षा र प्रचलनका लागि सदैव सक्रिय एवं समर्पित रहनुपर्दछ ।

(३) पेशागत मर्यादा तथा व्यवहार :

(१) पत्रकार तथा सञ्चारमाध्यमले स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्दछ ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले सूचना वा जानकारीको संकलन र संप्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्दछ ।

(३) पत्रकार तथा सञ्चारमाध्यमले पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैलीको प्रयोग गर्नुपर्दछ ।

(४) सामाजिक दायित्व : पत्रकार तथा सञ्चारमाध्यमले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पु¥याउने गरी सूचना सम्प्रेषण गर्नुपर्दछ ।

(५) सम्पादकीय स्वतन्त्रताको सम्मान :

(१) समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनेछ । सम्पादकीय स्वतन्त्रताको यही सर्वमान्य सिद्धान्त बमोजिम सञ्चारमाध्यम र पत्रकारले कुनै प्रकारको दवाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना संकलन र समाचार, विचार तथा टिप्पणीको प्रकाशन–प्रसारण गर्नुपर्दछ ।

(२) सम्पादकीय स्वतन्त्रताको सिद्धान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमका सञ्चालक र व्यवस्थापकले समाचार संकलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा कुनै प्रकारको हस्तक्षेप वा प्रभाव नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र संवर्द्धन गर्नुपर्दछ ।

(६) सत्य–तथ्य र सन्तुलित सूचना सम्प्रेषण

(१) पत्रकार तथा सञ्चारमाध्यमले सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ । यसरी सम्प्रेषण गर्दा सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनु पर्दछ ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक संजालमार्फत् प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरू सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनु पर्दछ ।

(३) सामाजिक संजालका अन्य प्रयोगकर्ताहरूले प्रकाशन गरेको जानकारी वा विचार/कमेन्टहरूलाई शेयर वा रिट्विट गरी पुन प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरे सरह तथ्यजाँच गरी निष्पक्षतालाई समेत ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ ।

(७) समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण

(१) पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नु, गराउनुपर्दछ ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले विज्ञापनलाई विज्ञापन कै रुपमा र समाचारलाई समाचारकै रुपमा प्रस्तुत गर्नुपर्दछ ।

(३) पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याति, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने तथा आधिकारीकता पुष्टि हुने गरी विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ ।

(८) गोप्य स्रोतको संरक्षण 

(१) समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री उपयोग गर्दा अनिवार्य रुपमा मूल स्रोत उध्दृृत गरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नुपर्दछ । यसरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्दा सहमति वा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको भएमा मूल स्रोतसँग सहमति लिएरमात्र प्रकाशन प्रसारण गर्नुपर्दछ ।

(९) गोपनीयताको हकको सम्मान 

पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको गोपनीयताको हकको सम्मान गर्नुपर्दछ । तर सार्वजनिक हितमा त्यस्तो सूचना वा सामग्री सम्प्रेषण भएमा गोपनीयताको हकको सम्मान प्रतिकूल भएको मानिनेछैन ।

(१०) भ्रमण तथा लेखनवृत्तिमा पारदर्शिता : पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रायोजित भ्रमण तथा लेखनवृत्ति ग्रहण गरी तयार पारिएका सामग्रीको प्रायोजन वा वृत्ति लिइएको बारेमा सोही सामग्रीमा स्पष्ट खुल्ने गरी प्रकाशन वा प्रसारण गर्नुपर्दछ ।

(११) राष्ट्रिय विपदमा संयम : पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्दछ ।

(१२) मत सर्वेक्षणमा सतर्कता : पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्दछ । यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाई प्रस्तुत गर्नुपर्दछ ।

(१३) अन्तर्वार्तामा सजगताः पत्रकारले अन्तर्वार्ता दिने व्यक्तिलाई निजका भनाइहरू कुन सन्दर्भ, माध्यम र प्रयोजनका निम्ति प्रयोग गरिनेछ भन्ने विषयको पूर्व जानकारी दिएर शिष्ट एवं सम्मानजनक रुपमा अन्तर्वार्ता लिनु पर्दछ ।

(१४) गल्ती सच्याउन तत्परता :

(१) पत्रकार तथा सञ्चारमाध्यमले समाचार तथा विज्ञापन सम्प्रेषण गर्दा सार्वजनिक सरोकार र संवेदनशीलतालाई सदैव ख्याल गर्नुपर्दछ । त्यस्ता सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नु, त्रुटि एवं गल्ती भएको जानकारी हुनासाथ यथाशीघ्र सच्याउनु तथा प्रकाशित वा प्रसारित सामग्री असत्य हो भन्ने सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रष्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रसारण गर्नुपर्दछ ।

(२)सामान्यतः कुनै एउटा सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित समाचारको खण्डन पीडित पक्षले सोही सञ्चारमाध्यममार्फत गर्नुपर्दछ ।
तर, सार्वजनिक स्वास्थ्य र सुरक्षा जस्ता संवेदनशील विषयमा तत्काल गम्भीर असर पार्ने अवस्थामा भने अन्य सञ्चारमाध्यम मार्फत् खण्डन, टिप्पणी वा स्पष्ट गर्न सकिनेछ ।

पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने

५. पत्रकार र सञ्चारमाध्यमले देहाय अनुसार कार्यहरू गर्नुहुँदैनः

(१) सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्‍भावमा खलल पुग्ने : पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताविरूद्ध एवं विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।

(२) भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पु¥याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादा प्रतिकूल कार्य गर्नुहुँदैन ।

(३) पत्रकार परिचयपत्र वा प्रेस प्रतिनिधि प्रमाणपत्र वा सञ्चारमाध्यमको अनुमतिपत्रलाई व्यक्तिगत स्वार्थ वा अवाञ्छित काममा प्रयोग गर्नुहुँदैन ।

(४) पत्रकार तथा सञ्चारमाध्यमले संघ, प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध र सामाजिक सद्भावमा गम्भीर असर पार्ने गरी समाचार सम्प्रेषण गर्नुहुँदैन ।

(३) हिंसा, आतंक, अश्लीलता र अपराधलाई प्रश्रय हुने ः पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।

(४) पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा मानवताविरोधी अपराधबाट प्रभावित व्यक्ति  वा पीडित व्यक्तिलाई नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । त्यस्तो अवस्थामा प्रभावित व्यक्तिको सचेत स्वीकृति विना र प्रभावको मूल्यांकन नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित वा निजका तर्फबाट उजुरी दिने व्यक्तिको समेत नाम, ठेगाना र पहिचान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खुलाउनुहुँदैन ।

(५) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख : (१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजीकका व्यक्तिको नाम असान्दर्भिक रूपमा जोडी कसैको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी कुनै पनि सामग्री प्रस्तुत गर्नुहुँदैन ।

(२) यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा सन्दर्भमा प्रभावितको सचेत स्वीकृति र प्रभावको मूल्यांकन विना नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्वीर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नुहुँदैन ।

(६) विभत्स दृश्य र तस्बिर प्रकाशन वा प्रसारण : पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका साथै हत्या, आत्महत्या, बलात्कार, दुर्घटना जस्ता कारणबाट सृजित नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्नुहुँदैन ।

(७) फोटो तथा दृश्यको गलत प्रयोग :

(१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै टिप्पणी वा स्पष्टता विना तस्वीर, भिडियो दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्ने वा असान्दर्भिक हुने गरी सामग्री प्रकाशन वा प्रसारण गर्नुहुँदैन ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले साजसज्जाका क्रममा वास्तविकताभन्दा अलग देखिने गरी नक्कली वा बनावटी किसिमले अलग–अलग फोटोहरू मिलाउन, छाँटकाँट वा तोडमोड गर्नहुँदैन । मोडलिङ वा अभिनय वा रेखाचित्र वा कोलाज गरेर कुनै फोटो वा दृश्य तयार गरिएको खण्डमा पाठक, दर्शक वा श्रोता नझुक्किने गरी सो कुरा स्पष्ट उल्लेख गर्नुपर्दछ ।

(८) पोस्ट डिलिट

(१) अनलाइन सञ्चारमाध्यमले सामग्री सम्प्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न र एकपटक प्रकाशित सामग्री प्रकाशन पश्चात् हटाउन (पोस्ट डिलिट गर्न) हुँदैन । तर असावधानीवश पोस्ट हुन गएका गम्भीर क्षति पुर्‍याउने खालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नुपर्दछ।

(२) प्रकाशित सामग्रीमा प्राप्त हुने असान्दर्भिक, अमर्यादित, अश्लील टिप्पणी वा सामग्रीलाई स्थान दिनुहुँदैन । सम्प्रेषण भएका टिप्पणी वा प्रतिक्रियाको जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमको हुनेछ ।

(९) अनुचित दवाब वा सम्बन्ध

(१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि सामग्री संकलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, प्रायोजक, समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दवाब वा प्रलोभनमा पर्नुहुँदैन।

(२) पत्रकार तथा सञ्चारमाध्यमले समाचारस्रोतसँग पेशागत मर्यादा विपरीत सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहित स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरूपयोग गर्नुहुँदैन ।

(१०) प्रविधिको अदृश्य प्रयोग :

(१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रविधिको अदृश्यरूपमा प्रयोग गर्नु हुँदैन ।

(२) उपदफा (१) बमोजिम सार्वजनिक हितका लागि प्रविधिको गोप्यरूपमा प्रयोग गर्नुपरेमा त्यसरी संकलित सामग्री प्रस्तुत गर्दा पाठक, श्रोता वा दर्शकलाई जानकारी दिनुपर्दछ ।

(११) न्याय निरूपणमा प्रभाव 

पत्रकार तथा सञ्चारमाध्यमले न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रिया वा निर्णयमा प्रतिकूल असर पार्ने गरी कुनै पनि सामग्री सम्प्रेषण गर्नुहुँदैन ।

(१२) पेशागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण :

(१) पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका उपहार वा विशेष सुविधा लिनुहुँदैन ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा, व्यावसायिकता र दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै प्रकारका पुरस्कार वा सम्मान ग्रहण गर्नुहुँदैन ।

(१३) मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर :

(१) पत्रकार तथा सञ्चारमाध्यमले अशक्त, असहाय, अल्पसंख्यक, महिला तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पुर्‍याउन हुँदैन।

(२) पत्रकार तथा सञ्चारमाध्यमले बालबालिका सम्बन्धी सामग्री सङ्कलन तथा सम्प्रेषण गर्दा बाल संवेदनशीलता प्रतिकूल हुने गरी कार्यहरू गर्नुहुँदैन ।

(१४) जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जना : पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नुहुँदैन ।

उजुरी र कारवाही

६. उजुरी र कारवाहीसम्बन्धी व्यवस्था :
(१) कुनै पत्रकार वा सञ्चारमाध्यमले यो आचारसंहिता उल्लंघन गरेमा सोसम्बन्धी उजुरी तथा कारवाही प्रक्रिया देहाय बमोजिम हुनेछ :

(क) कुनै सञ्चारमाध्यममा प्रकासित/प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएको लागेमा सोबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले सम्बन्धित सञ्चारमाध्यममा आफ्नो प्रतिक्रिया वा खण्डन पठाउन सक्नेछ । प्रतिक्रिया वा खण्डन बुँदागत रुपमा स्पष्ट, संक्षिप्त, तथ्यपरक, शिष्ट र मर्यादित हुनुपर्नेछ ।

(ख) खण्ड (क) बमोजिम प्रतिक्रिया वा खण्डन प्राप्त भएपछि त्यसलाई उचित स्थान दिई यथाशीघ्र प्रकाशन वा प्रसारण गर्नु सम्बन्धित सञ्चारमाध्यमको कर्तव्य हुनेछ ।

(ग) खण्ड (ख) बमोजिम सम्बन्धित सञ्चारमाध्यमले प्रतिक्रिया वा खण्डन प्रकाशन वा प्रसारण नगरेमा वा चित्तबुझ्दो जवाफ नदिएमा मर्का पर्ने पक्षले पैंतीस दिनभित्र काउन्सिलमा उजुर गर्न सक्नेछ । म्यादभित्र उजुर गर्न नसकेको मुनासिब कारणसहित उजुर गरेमा काउन्सिलले म्याद नाघेपछि पनि त्यस्तो उजुरी लिन सक्नेछ ।

(२) उपदफा (१)(ग) बमोजिमकोे उजुरीमा देहाय बमोजिमको विवरण र प्रमाण संलग्न गर्नुपर्नेछ :–

(क) प्रकाशित वा प्रसारित सामग्रीको प्रतिलिपि;

तर, उजुरीकर्ताले त्यस्तो विवरण संलग्न गर्न सम्भव नभएको ब्यहोरा उल्लेख गरी दिएको उजुरी मनासिब देखिए काउन्सिल आफैंले सम्बन्धित सञ्चारमाध्यमसँग अभिलेख झिकाई वा काउन्सिलमा रहेको अभिलेखका आधारमा सुनुवाइ गर्न सक्नेछ ।

(ख) त्यस्तो सामग्रीबाट हुन गएको आचारसंहिता उल्लंघन वा पर्न गएको नकारात्मक प्रभावको विवरण;

(ग) सम्बन्धित सञ्चारमाध्यम समक्ष दिएको प्रतिक्रिया वा खण्डनको प्रतिलिपि

(घ) सम्बन्धित सञ्चारमाध्यमले त्यससम्बन्धमा कुनै जवाफ दिएको रहेछ भने त्यसको विवरण;

(ङ) सम्बद्ध अन्य सामग्री वा विवरण ।

(३) उपदफा (१)(क) (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि अविलम्ब खण्डन प्रकाशित नहुँदा आफूलाई अपूरणीय क्षति पुग्ने भनी मर्का परेको पक्ष वा सरोकारवालाले खण्डनसहित प्रेस काउन्सिलमा निवेदन दिएमा काउन्सिलले सो खण्डन प्रकाशन वा प्रसारणका लागि सम्बन्धित सञ्चारमाध्यममा पठाउन सक्नेछ ।

(४) उपदफा (३) बमोजिम प्रतिक्रिया वा खण्डन प्राप्त भएपछि त्यसलाई उचित स्थान दिई यथाशीघ्र प्रकाशन वा प्रसारण गर्नु सम्बन्धित सञ्चारमाध्यमको कर्तव्य हुनेछ । खण्डन प्रकाशन गर्न नसकिने कारण भए सम्बन्धित सञ्चारमाध्यमले आधार र कारणसहित सात दिनभित्र काउन्सिलमा जवाफ दिनुपर्नेछ । जवाफ चित्तबुझ्दो नलागेमा सम्बन्धित सञ्चारमाध्यमलाई खण्डन प्रकाशन, प्रसारण गर्न काउन्सिलले निर्देशन दिन सक्नेछ ।

(५) उपदफा (४) बमोजिम सम्बन्धित सञ्चारमाध्यमले प्रतिक्रिया वा खण्डन प्रकाशन वा प्रसारण नगरेमा वा चित्तबुझ्दो जवाफ नदिएमा यो आचारसंहिता अनुसार काउन्सिलले कारवाही गर्न सक्नेछ ।

(६) उपदफा (१), (२), (३), (४) र (५) जुनसुकै कुरा लेखिएको भए तापनि आरोपित पक्षलाई म्याद÷सूचना पठाउनुपूर्व उजुरीकासम्बन्धमा काउन्सिलले प्रारम्भिक जाँचबुझबाट तत्कालै सच्याउनुपर्ने, खण्डन गर्नुपर्ने वा क्षमायाचना गर्नुपर्ने वा मुनासिब जवाफ पठाउन लगाउने जस्ता आवश्यक निर्देशन सम्बन्धित पत्रकार वा सञ्चारमाध्यमलाई दिन सक्नेछ ।

(७) कुनै सञ्चारमाध्यमले आफ्नो चरित्र, सामाजिक प्रतिष्ठामा गम्भीर चोट पु¥याउन आचारसंहिता गम्भीर उल्लंघन गरी नियतवश समाचार सम्प्रेषण गरेको हुँदा खण्डन मात्र पर्याप्त नहुने भनी मर्का पर्ने पक्षले आधार प्रमाण सहित उजुरी दिएमा छानबीन गरी उजुरीको ब्यहोरा सत्य तथ्य देखिएमा काउन्सिलले सम्वन्धित संचार माध्यमलाई क्षमायाचनाका लागि निर्देशन दिन सक्नेछ ।

(८) काउन्सिलको स्वअनुगमनबाट कुनै सञ्चारमाध्यम वा पत्रकारले राष्ट्रिय सार्वभौमसत्ता , सार्वजनिक हित, शिष्टाचार वा जनसरोकारका विषयमा आचारसंहिता उल्लंघन गरेको पाइएमा छानबीन गरी काउन्सिलले आवश्यक कारवाही गर्न सक्नेछ ।

(९) काउन्सिलले उपदफा (१)(ग) बमोजिमको उजुरी तथा उपदफा (५), (७) र (८) बमोजिमको कारवाहीका सम्बन्धमा सबुत प्रमाण बुझी सामान्यतया तीस दिनभित्र निर्णय गर्नेछ ।

(१०) काउन्सिलले उपदफा (९) बमोजिम निर्णय गर्नुअघि सम्बन्धित विषयमा सबुत प्रमाण बुझ्ने, आवश्यक कागजात र प्रमाण सम्बन्धित पक्षबाट पेश गर्न लगाउने वा निरीक्षण र तत्सम्बन्धी जाँचबुझ गर्ने–गराउने, सम्बन्धित पक्षलाई बोलाई त्यससम्बन्धी सत्य, तथ्य पत्ता लगाउने जस्ता कार्य गर्न सक्नेछ ।

७. कारबाही तथा निर्णय :
(१) यो आचारसंहिताको दफा ४ को पालना नगरेमा वा दफा ५ को उल्लंघन गरेमा वा काउन्सिलको निर्णय वा निर्देशन नमानेमा उल्लंघनको गम्भीरताका आधारमा सम्बन्धित पत्रकार वा सञ्चारमाध्यमलाई काउन्सिलले देहाय बमोजिम एक वा सोभन्दा बढी कुनै पनि कारबाहीको निर्णय गर्न सक्नेछ :

(क) खण्डन प्रकाशन/प्रसारण, भूलसुधार तथा क्षमायाचना गर्न निर्देशन दिने;

(ख) ध्यानाकर्षण वा सचेत गराउने ।

(ग) मूल्यांकन वर्गीकरण प्रकृयाबाट अलग गर्ने, लोककल्याणकारी विज्ञापनलगायत अन्य सुविधाबाट वञ्चित गर्ने वा सूचीकरणबाट हटाउने

(घ) प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने;

(ङ) सरकारी वा कुनै पनि सार्वजनिक निकायका तर्फबाट उपलब्ध गराइने कुनै पनि प्रकारका विज्ञापन वा सुविधाहरू निश्चित अवधिका लागि उपलब्ध नगराउन सम्बन्धित निकायलाई सिफारिश गर्ने;

(च) कुनै पनि सरकारी भ्रमणमा राज्यका तर्फबाट सहभागी नगराउन सम्बन्धित निकायलाई सिफारिश गर्ने;

(छ) गम्भीर रूपमा आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चारमाध्यमलाई थप कारवाहीका लागि नेपाल पत्रकार महासंघ र सम्बन्धित सञ्चारसंस्थामा सिफारिश गर्ने ।

(ज) काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारी, कालोसूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकता अनुसार सार्वजनिक गर्ने ।

२. उजुरीकर्ताबाट प्राप्त खण्डन वा प्रतिक्रिया वा उजुरीमाथि भएको निर्णयलाई सम्बन्धित सञ्चारमाध्यममा काउन्सिलले तोकेको स्वरुप, स्थान वा समयमा प्रकाशन–प्रसारण वा पुनःउत्पादन–वितरण गर्न निर्देशन दिन सक्नेछ ।

३. उपदफा (२) बमोजिम दिइएको निर्देशन पालना नगरेमा काउन्सिलले सम्वन्धित पत्रकार र सञ्चारमाध्यमलाई अवज्ञाकारी, कालोसूचीमा राखी थप प्र्रक्रिया अगाडी बढाउन सक्नेछ । काउन्सिलको निर्देशनलाई तीन पटकभन्दा बढी अवज्ञा गर्ने सञ्चारमाध्यम मूल्यांकन वर्गीकरण नगर्न, लोककल्याणकारी विज्ञापन वा यस्तै अन्य सुविधा निश्चित अवधिका लागि रोक्का गर्न सिफारिस गर्ने वा पत्रकार प्रेस पास रहने प्रकृतिको रहेछ भने प्रेस पास निलम्बित गर्न सम्बन्धित निकायलाई सिफारिस गर्न सक्नेछ ।

४. उपदफा (३) बमोजिम कारवाही भएपछि पनि काउन्सिलको निर्देशन पालना नगरेमा काउन्सिल वा नेपाल सरकार वा सार्वजनिक निकायको तर्फबाट उपलब्ध हुने सुविधाहरु निश्चित अवधिका लागि निलम्बन गर्नुका साथै कुनैपनि सरकारी भ्रमणमा राज्यका तर्फबाट सहभागी नगराउनका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने ।

५. अनलाइन सञ्चारमाध्यममा सम्प्रेषित कुनै सामग्रीले आचारसंहिताको गम्भीर उल्लंघन गरेको ठहर भएमा निश्चित अवधि तोकि त्यस्ता सामग्री नदेखिने गरी रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्न सक्नेछ ।

६. उजुरी वा स्वअनुगमनबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेको देखिन आएमा सो विषयमा सुधार गर्न, आइन्दा त्यस प्रकारका सामग्री सम्प्रेषण नगर्न नगराउन र आचारसंहिता पालनामा सजग रहन ध्यानाकर्षण एवं विषयको गम्भीरताका आधारमा सचेत गराउन सक्नेछ ।

७. काउन्सिलले आवश्यक ठानेमा माथि उल्लेखित बुँदामध्ये एकै पटक दुई वा सोभन्दा बढी कारवाही गर्न सक्नेछ ।

८. काउन्सिलले आवश्यकता अनुसार सम्बन्धित पक्षहरूका बीच मेलमिलाप गराउन सक्नेछ ।

८. कारबाहीका लागि सिफारिश गर्न सक्ने : सरकारी, गैरसरकारी निकायका पदाधिकारी वा अन्य व्यक्तिले प्रेस स्वतन्त्रता वा संविधानप्रदत्त सञ्चारसम्बन्धी हक हनन गरेको उजुरी परेमा वा काउन्सिलको स्वअनुगमनबाट त्यस्तो पाइएमा काउन्सिलले उपयुक्त कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिश गर्न सक्नेछ । कारवाहीको सिफारिश गर्नुअघि सम्बन्धित व्यक्ति वा संस्थालाई सफाइको मौका दिनुपर्नेछ ।

विविध

९. स्वनियमन र स्वमूल्यांकनः (१) प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको अनुकूल हुने गरी प्रत्येक सञ्चारमाध्यमले आफ्ना लागि आचारसंहिता बनाई सोको स्वनियमन र स्वमूल्यांकन गर्नेछन् । यसका लागि संचारमाध्यमले आफ्नो संस्थासंग असम्बद्ध र कुनै स्वार्थ नरहेका स्वतन्त्र विज्ञहरु रहेको सञ्चार स्वनियमन समिति गठन गर्न सक्नेछन् ।

(२) उपदफा (१) बमोजिम गठन भएको समितिले सम्वन्धित सञ्चारमाध्यमको आचारसंहिता निर्माण, गुणस्तर सुधार र प्रभावकारिता कायम राख्न तथा सार्वजनिक जवाफदेहीता पालना गर्न गराउन स्वनियमन र स्वमूल्याङ्कन गर्नेछ । समितिले यससम्वन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुका साथै अभिलेखका लागि प्रेस काउन्सिलसमक्ष पेश गर्नेछ ।

१०. आचारसंहिता अनुगमन उपसमिति गठन गर्न सक्ने : (१) आचारसंहिता उल्लंघनका विषयमा उजुरीको सुनुवाइ र छानबीन गरी आवश्यक निर्णय गर्न काउन्सिलले आचारसंहिता अनुगमन उपसमिति गठन गर्न सक्नेछ ।

(२) पत्रकार तथा सञ्चारमाध्यमले आचारसंहिताको पालना गरे नगरेको सम्बन्धमा आचारसंहिता अनुगमन उपसमितिले आवश्यकता अनुसार काउन्सिलका पदाधिकारी वा काउन्सिलका कर्मचारी वा अन्य तत्सम्बन्धी विषयका विज्ञलाई छानबीन र अनुगमनका लागि खटाउन सक्नेछ ।

११. आन्तरिक आचार संहिता र कार्यविधि बनाउन सक्ने : काउन्सिलले यस आचारसंहिताले गरेको व्यवस्थाको अधीनमा रही काउन्सिलका अध्यक्ष, सदस्य र कर्मचारीहरुका लागि आन्तरिक आचार संहिता बनाइ लागू गर्न सक्ने छ । यसैगरी उजुरी र कारवाहीका लागि यस सम्बन्धी आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

१२. निर्वाचन आचारसंहिताको पालना : प्रेस काउन्सिल नेपालले निर्वाचनका क्रममा पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गर्न सक्नेछ ।

१३. अनलाइन सञ्चारमाध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन–प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्नेछ र प्रकाशित वा प्रसारित भएका सामग्री अनलाइनमा रहिरहने व्यवस्था गर्नुपर्दछ । तर मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक स्वास्थ्य र सुरक्षा, सामाजिक सद्भाव जस्ता गम्भीर असर पर्ने सामग्री हटाउन काउन्सिलले निर्देशन दिन सक्नेछ ।

१४. प्रवृत्तिगत अध्ययन गर्ने : काउन्सिलले सञ्चारमाध्यमको रुपमा अभिलेख नभएका अनलाइन र पत्रकार एवं सञ्चारमाध्यमले प्रयोग गर्ने (सञ्चालन गर्ने) सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको प्रवृत्ति अध्ययन गर्न सक्नेछ । यसरी गरिएको अध्ययनको प्रतिवेदन आवश्यकता अनुसार सार्वजनिक गर्नुपर्नेछ ।

१५. अभिन्न अंग मानिने : यो आचारसंहिता लागू भएपछि काउन्सिलद्वारा पत्रकार तथा सञ्चारमाध्यमका निमित्त जारी गरिने आचारसंहिता सम्बन्धी विशिष्टीकृत निर्देशिकाहरू यस आचारसंहिताको अभिन्न अङ्ग मानिनेछन् ।

१६. खारेजी तथा बचाउ : (१) पत्रकार आचारसंहिता–२०६० (संशोधित तथा परिमार्जित, २०६४) खारेज गरिएको छ ।

(२) पत्रकार आचारसंहिता –२०६० (संशोधित तथा परिमार्जित, २०६४) बमोजिम भए गरेका सम्पूर्ण काम कारबाहीहरू यसै आचारसंहिता बमोजिम भए गरेको मानिनेछ ।

(३) यो आचारसंहिता जारी हुनुपूर्व काउन्सिलमा परेका आचारसंहितासँग सम्बन्धित उजुरीहरूको कारबाही र किनारा यस आचारसंहिता बमोजिम गरिनेछ ।

1 comment to यस्तो छ संशोधन भएको पत्रकार आचार संहिता

  • madan bajracharya

    यसको अन्तिम ब्याखा गर्ने दण्ड दिने पनि काउन्सिलनै हुने/ यसले काउन्सिलले पत्रकार र पत्रकारिता सम्भंदित कुरामा देसमा समानान्तर सरकारनै चलायको जस्तो भयन के? काउन्सिलको निर्णय र कार्यवाही उनीहरुको आन्तरिक कुरो हो/ तर पत्रकारिता पत्रकार भित्रै मात्र हुने गरिने कार्य होईन यसको सिधा असर देस समाज र नागरिकमै पर्छ/ त् गलत पत्रकारिता कस्तोलाई मानिने र गलत पत्रकारिता गर्नेलाई निरुत्साहित र दण्डित कसले कसरि गर्ने भन्ने नियम र कानुन त् संसद बाटै निर्णय हुनु पर्ने होईन?

    पत्रकारिताको पत्रकार समुदाय बिचमात्र असर पर्ने भय कुरा अर्कै हो/ तर पत्रकारिता यस्तो कुरा हो जसको असर कू असर देस समाज र नागरिकलाई परिनै रहेको हुन्छ/ तेसैले पत्रकार र पत्रकारिताको आचार संहिता र दण्ड सजायको ब्यबस्था त् सदन बाटै गरिनु पर्छ/ मेरो बिचारमा काउन्सिलको यो आचार संहिता र दण्ड सजायको ब्यबस्था नेपालको नागरिक अधिकार बादीहरू जनप्रतिनिधिहरु र अधिबक्ताहरुको गम्भीर चासोको बिषय हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0