यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

म्यान्मारमा मोबाइल यति सजिलो भन्ने थाहा थिएन, सिम कार्ड नाङ्ग्लोमा बेचिन्छ

म्यान्मारमा आउनका लागि भिसामा त्यति कडिकडाउ छैन। बर्मा विपश्यना ध्यानलाई पुनर्जीवित गराउने गोयन्का गुरुलाई विपश्यना सिकाउने देश पनि हो। ट्विटरका साहुले समेत केही अघि विपश्यना गरेको यो ठाउँमा खासमा मलाई ध्यान गर्नकै लागि पनि आउने मन थियो। तर यसका लागि मेडिटेसन भिसा चाहिने रहेछ। अरु कुरा पनि मिलेन। त्यसैले यस पटक टुरिस्ट भिसाका लागि मात्र अप्लाइ गरियो। अनलाइनमै भिसा अप्लाइ गर्न मिल्ने सजिलो विकल्प रहेछ। तर दूतावासमै गएर भिसा अप्लाइ गर्दाभन्दा १० डलर महँगो (५० डलर) पर्ने रहेछ। घरैमा बसेर अप्लाइ गर्न मिल्ने भएकोले त्यही विकल्प रोजियो।

भिसा अप्लाइ फाराम भर्दा पो थाहा भयो, पासपोर्टको फोटोसमेत पठाउन नपर्ने, खाली नम्बर र अरु डिटेलमात्रै भरे पुग्ने रहेछ। कति सजिलो !

तर मलाई तत्काल भिसा भने दिइएन। म पत्रकार भएको थाहा पाएपछि जर्नलिस्ट भिसा लिन दूतावासै जानु पर्छ, अनलाइनमा मिल्दैन भन्ने जवाफ आयो। म्यान्मारमा बीबीसी मिडिया एक्सनसित आवद्ध कलेजमा सँगै पत्रकारिता पढ्दादेखिको साथी दीपक भट्टराईले तर्साए मलाई- जर्नलिस्ट भनेर किन भरेको? जर्नलिस्ट भिसामा नआऊ है, झ्याउ हुन्छ। अर्कै लेखेर फेरि अप्लाइ गर।

पछि यहाँ बुझेको विदेशी पत्रकार भनेर थाहा पायो भने त एक जना सिआइडी पछि लाइदिन्छन् रे। पोहोरमात्रै त हो, रोयटर्सका पत्रकारलाई यहाँ सात वर्षको जेल सजाय सुनाइएको।

मैले मेरो नेपालमा पेशा पत्रकारिता हो तर म्यान्मा चाहिँ पर्यटकका रुपमा घुम्न मात्र जान लागेको भनेर स्पष्टीकरण लेखिपठाएपछि बल्ल भिसा दियो। अप्लाइ गरेको भोलिपल्टै भिसा अप्रुभल लेटर इमेलमा पठाइदिने रहेछन्। अनि त्यही प्रिन्ट गरेर यता आउँदा देखाउनु पर्ने रहेछ।

अराइभल फर्म भर्नै नपर्ने

काठमाडौँबाट सिंगापुर हुँदै म्यान्मार जाने प्लेन थियो। काठमाडौँमा प्लेन चढ्ने बित्तिकै सिंगापुरको अराइभल फर्म बाँडिएको थियो। सिंगापुरमा ट्रान्जिट मात्र भएकोले मैले भर्न परेन। तर सिंगापुरबाट म्यान्मारमा ओर्लने बेला भइसक्दा पनि अराइभल फर्म बाँडेनन् त। अचम्म लाग्यो।

यांगुन इन्टरन्यासनल एयरपोर्टमा ल्यान्ड गरेपछि पनि इमिग्रेसनको लाइनमा बस्नु अघि अराइभल फर्म कता राखेको छ होला भन्ठानेर खोजेँ। कुनै कुनामा भेटिनँ। खासमा त्यो भर्नै नपर्ने पो रहेछ। अचेल नेपालबाट बाहिर जाँदा र फर्कँदा पनि नेपालीलाई ‘गमन पत्र’ भर्न नपर्ने बनाइएको छ।

इमिग्रेसनमा एक महिला थिइन्। त्यही इ भिसा अप्रुभल लेटर र पासपोर्ट देखाएपछि पासपोर्टमा छाप हान्दियो, काम सकियो।

नाङ्ग्लोमा पाइन्छ सिम कार्ड

अनि मलाई म्यान्मारमा अर्को अचम्म लागेको कुरा चाहिँ सिम कार्ड। अचेल मोबाइलमात्र बोकेर भएन, गुगल म्याप हेर्न, खोज्न वा यसो कतै हराइहाले सम्पर्क गर्नकै लागि पनि मोबाइल नेटवर्क त चाहिन्छ नै। त्यसका लागि सिम कार्ड नभई भएन।

बर्मा सैनिक शासन भएको देश। इतिहास मेट्न सजिलो हुन्छ भन्दै बर्माको नामै म्यान्मार राखिएको तर्क पनि केहीले गर्छन्। अझै पनि सेनाले पूरै सत्ता छाडेको छैन। रक्षा, गृह जस्ता महत्त्वपूर्ण मन्त्रालयमा नियन्त्रण सेनाकै छ। सेनाको कडा शासनका बेला सिमकार्ड १५ सय, २५ सय अमेरिकी डलरसम्म तिरेर किन्नेहरु रहेछन्।

तर मैले सोचेभन्दा ठीक विपरीत अहिले त सिम कार्ड यति सजिलै त्यहाँ पाइने रहेछ कि नेपालमा पनि त्यति सजिलो छैन। नेपालमा सिम कार्ड लिनका लागि नागरिकताको फोटोकपि वा विदेशी भए पासपोर्ट चाहिन्छ। यत्तिकै चलाउन पाइन्न।

यहाँ नाङ्ग्लोमा पाइन्छ सिम भनेर दीपकले भन्दा जिस्केको जस्तो लागेको थियो। सन् २०१४ मा भारतमा जाँदा साथी देवेन्द्रले सिम कार्ड किनिदिएको भोलिपल्ट बल्ल एक्टिभ भएको थियो। पासपोर्टको फोटोकपि मात्र हैन, देवेन्द्रलाई मोबाइल कम्पनीले फोन गरेर तैँले चिनेको छस् नि भनेर भेरिफाइ गरेपछि बल्ल चलेको थियो।

म्यान्मारमा भने साँच्चिकै सडकको नाङ्ग्लो पसलमै बेचिने रहेछन् सिम। छानेर लिन पाइने। पैसा पनि कतै सस्तो कतै अलि महँगो पाइने रहेछ। खासमा निजी क्षेत्रका टेलिकम भित्रिएपछि यो अभूतपूर्व परिवर्तन भएको रहेछ। नेपाली २० रुपैयाँमा समेत पाइने रहेछ सिम। मेरो भने टेलेनोरको सिम नेपाली ६५ रुपैयाँ जति पर्‍यो। एक जिबी डेटा हुने रहेछ यसमा।

सेना आफैले चलाएको टेलिकम कम्पनीको सिम चाहिँ नेपाली २० रुपैयाँमा नै आउने रहेछ। नेपाली १ रुपैयाँ बराबर यहाँको १० जति हुने रहेछ। यहाँको मुद्रालाई kyats भनिने रहेछ। उच्चारण चाहिँ च्याट्स रे। k लाई च पो रे। त्यही भएर अंग्रेजीमा आङ सान सुकी लेखे पनि खासमा चाहिँ सुची रहेछ उच्चारण।

खासमा नियम चाहिँ सिम दर्ता गर्नु पर्ने नै रहेछ यहाँ पनि। विदेशी भए पासपोर्टसहित र स्वदेशी भए NRCA नम्बरसहित। तर कसैले पालना नगर्ने रहेछ। बिना दर्ता, यत्रो सशस्त्र द्वन्द्व भइरहेको देशमा खुल्लमखुल्ला सिम चल्ने रहेछ। किन्ने बित्तिकै एक्टिभेट हुने पनि। क्राइमको कस्तो डर नभएको। हुने रहेछ त यसरी पनि। अचम्म लाग्यो।

यही सिमकै सहयोगमा मैले मेरो फेसबुक, ट्विटर, इन्स्टाग्राममा यहाँ घुम्दै अपडेट गर्दै गरेको छु। मलाई फलो गर्न सक्नुहुन्छ-
ट्विटर- @salokya
फेसबुक- @mysansar
इन्स्टाग्राम- salokya_mysansar

ए अँ, अनि मेरो म्यान्मारको मोबाइल नम्बर भने +959784530441 हो है ! 🙂

3 comments to म्यान्मारमा मोबाइल यति सजिलो भन्ने थाहा थिएन, सिम कार्ड नाङ्ग्लोमा बेचिन्छ

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)