यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

सरस्वतीलाई सम्झेर

– क्या. जगत नवोदित –

……र हामी पाँच जना अन्जु, महेश, रञ्जना, गणेश र म आफू पढेको स्कुललाई सम्झेर दिक्तेल जाने भयौँ।

म बिहानको पाँच नबज्दै कोटेश्वर चोकमा पुगिसकेको थिएँ। महेशले थाहा दियो- गणेशसँग त्यहाँ आइपुग्न अलि समय लाग्छ। म नजिकैको ठेला गाडामा पाक्दै गरेको चिया तिर लम्किएँ। त्यो मिर्मिरे बिहानीको चियासँगै दुई जना कलिला नानीहरू सँग भेट भो।

“हैन, यति बिहानै तिमीहरू कहाँ हिँडेको?”

मलाई स्वाभाविक जिज्ञासा लाग्यो।

“दिदीको छोराको आठ महिनामा दाँत आएछ- मामालाई राम्रो हुन्न रे त्यसैले भाइले भान्जालाई मिठाई दिएर पूजा गर्न हामी चितवनबाट आएका,” सानी दिदीले फटाफट बोली – अहिले भिनाजु हामीलाई लिन आउनु हुँदैछ यहाँ, त्यसैले कुरी बसेको।

अनि आज त आइतबार तिमीहरूको स्कुल छुटेन? शनिबार आए हुन्थ्यो नि त- मैले आफ्नो कुरा राखेँ।

यो पूजा आजै गर्नुपर्छ रे। भरै पूजा सकेर हामी फर्किहाल्ने हो – भाइले स्पष्ट पारे।

चिया पनि सकियो-भिनाजु पनि आइपुगे। उनीहरू गइरहेको बाटो हेर्दै सोचेँ- यो विश्वास पनि कस्तो? पुरै विरोध गरौँ – विज्ञानले दिन नसकेको कति प्रश्नहरू मसँग पनि छ। पूरै विश्वास गरौँ पनि ठोस प्रमाण पेश गर्न सम्भावना कम। यस्तै अप्ठेरो सोच्दासोच्दै मेरो पनि गाडी आइपुग्यो। अब हामी अञ्जु र रञ्जना आउने ठाउँतिर हुइँकियौँ।

निर्धारित समयभन्दा १५ मिनेट बितिसकेको र फोन पनि नउठेकोले मनमा कतै केही पो भयो कि भन्ने शङ्का भयो। तर धन्य शङ्काले लंका जल्नु पहिले अन्जु र रञ्जना मिठो मुस्कान र उज्यालो अनुहार बोकेर आइपुगे। उनीहरू दुवैको सामान गाडीमा राखेपछि हामी सबै तम्तयार थियौँ- काठमान्डुदेखि दिक्तेलसम्मको यात्राको लागि।

गणेशको गाडी गणेशले हाँक्ने भयो नै, तर उ थाकेमा महेशले हाँक्ने भयो। त्यसैले ऊ अगाडिको सिटमा बस्यो र बाँकी हामी तीन पछाडिको सिटमा। गणेशले भक्तपुरतिर चिल्लो सडकमा पाङ्ग्रा सुलुलुलु चिप्लाउँदा घडीले बिहानको ६ नै बजाएको थिएन। महेशले मलाई फेसबुक मेसेन्जरमा भनेको थियो – हामी जाने सन्डे हो नि। मैले बेरमै भनेको थिए – हामीले फन डे बनाउनु पर्छ।

फन त गर्ने तर कसरी? योजना बनिसकेको थिएन। एक त हामी स्कुलका सहपाठी नै भए पनि यसरी पाँच जना एकसाथ यात्रामा निस्किएको यो पहिलो घटना थियो। यसरी एउटा यात्रामा बाँधिनुको पछाडि एउटै लक्ष्य थियो – आफू पढेको स्कुललाई केही मद्दत गर्ने र हामीलाई पढाउनु हुने गुरुहरूलाई सम्मान अर्पण गर्ने। केही साथीहरूसँग बीचबीचमा छिट्फुट कुराकानी फेसबुकमा भए पनि स्कुले दिन पछिका धेरै कुरा थाहा थिएन।

अन्जु, केही समय पूर्व बेलायतमा स्कुलकै कामको सिलसिलामा आउँदा मैले आफ्नो कामको परिस्थितिले गर्दा भेट गर्न सकेको थिएन। तर मलाई थाहा थियो कि अन्जुले जीवनको कठिनभन्दा कठिन जीवनको मोड पार गरेर, आफूलाई सतिसाल झैँ उभ्याएर – एउटा नमुना स्कुलको स्थापना गरेर राजधानीमा शिक्षाको उज्यालो बाँडिरहेकी छिन्। पहिलो चोटि उनको अक्ष्ररा स्कुल पुग्दा मलाई उनको कर्म देखेर भित्रदेखि गर्व महशुस भएको थियो। महेश, कुनै समयको मेरो मिल्ने बालसखी भएपनि झन्डै एक दशकअघि एक साँझबाट ऊ हराएको थियो मदेखि। भोलि वा अर्को दिन भेट्ने भनेर छुटिएका हामी- खोइ अर्को दिनदेखि उस्ले मेरो फोन नै उठाएन, म खुब चकित थिएँ। कुनै समय गायक हुने सपना बोकेर हिंडेको उ, जीवनसँगको खेलमा अनेक हन्डर ठक्कर सँगालेर पछिल्लो समय व्यापार व्यवसायमा रमिरहेको मलाई थाहा थियो तर उस्को गितार र गलाको धुन मैले नसुनेको धेरै नै भएको थियो। रञ्जना मेरो पहिलो साथी थिइन् जसले स्कूलमा सरमिसहरुलाई सम्मान गर्न दिक्तेल जाउँ है भन्दा मलाई बिना शर्त सहमति जनाएकी थिइन। स्कूले जीवनमा कक्षाकोठाको मनिटर बन्दा होस् या अतिरिक्त कृयाकलाप गर्दा रन्जनाले मलाई साथीको रुपमा मलाई सधैं साथ दिइन्। ६, ७ मा पढ्दा कहिले चिउरा र चाउचाउ बाँडेर खाएको सम्झना अब फर्केर आए हुने थियो लाग्छ। तिनको मित्रवत् भावनाको म सधैं सम्मान गर्छु। गणेश, स्कुलको एक औसत विद्यार्थी भए पनि अहिले ब्यापारमा सबभन्दा अब्बल प्रमाणित गरिसकेको छ। एक सङ्घर्षशील आमाले हुर्काएको छोरा, उस्ले संघर्ष नै गरेर लोभलाग्दो आफ्नो व्यवसायिक कम्पनी चलाइरहेको छ। स्कूलमा पढ्दा गणेशलाई मैले कहिले ब्यापार ब्यब्साय गर्ला जस्तो लागेन, बरु उस्को अङ्ग्रेजीमा रुचि र दख्खल देखेर एक दिन यही विषयको प्रोफेसर होला लाग्थ्यो तर कहाँ सोचाइ अनि कहाँ भाग्यरेखा!

के कुरा कोट्याउँदा कोट्याउँदै हामीले बनेपा, धुलिखेल काटेर भकुन्डेबेशीको ओरालो झर्न थालिसकेका थियौँ। बीपी मार्गको रमाइलो बाटोमा हुत्तिनु अघि चियाचमेना गर्न हामी एउटा होटेलमा रोकियौँ। थाहा भो अन्जुको त्यसदिन व्रत बस्ने दिन रहेछ, त्यसैले केवल चिया र फलफूल खाइन तर बाँकी हामीले त आलुपुरी नै मुत्सठायौ। त्यतिबेला थाहा लाग्यो, रन्जनाले त घर छोड्नु अघि नै नुहाएर, पूजा गरेर हिंडेकी रहिछिन्- अनि पो रहेछ अघि ढिलो भएको कारण त।

अब हामी सामु भोको पेट थिएन, थियो त लामो न लामो लमतन्न बाटो जो घरी तेर्सो पर्थ्यो, घरी उकालो चड्थ्यो र घरी ओराली ओर्लन्थ्यो। हामी अनेक घुम्ती, नदी, खोला तर्दै दिउँसोको मध्यदिनतिर खुर्कोट टेक्न पुग्यौ। हाम्रो सल्लाहले हलेसीमा खाना खान पुगौँ भन्ने भयो। त्यतिन्जेल हामीले आफ्नो परिवार, छोराछोरी, समाज हुँदै देश र विदेशको अनेक कुरा गर्न भ्याइसकेका थियौँ।

हलेसी पुग्नु अनि महादेवको दर्शन नगर्नु- कहीँ यस्तो अनर्थ होला? हामीले होटेलमा खाना तयार गर्न अनुरोध गरिराखेर मन्दिर परिसर गयौँ। अन्जु आफ्नो उद्देश्य अनुरुप मन्दिर भित्र गइन्। बाँकी हामीले बाहिरबाटै भगवानलाई ढोग गर्यौ। फर्केर आएर अन्जुले अनुभव बाँडिन्- ‘मलाई कर्मद्वार पार गर्न निकै सकस पर्‍यो, मेरो कर्म सजिलो छैन।’

मुख्य कुरा द्वार पार गर्यौ – संघर्ष त सबैलाई हुन्छ नै, मैले अन्जुलाई ढाडस दिए।

होटेल फर्कँदा खाना तयार रहेछ तर भनेजस्तो अलि थिएन खाना, न त अन्जुले चाहेकी फुलखाजा नै तिनको लागि थियो। थोरै असहज मन बोकेर हामी दिक्तेल हाकियौँ। बाटो राम्रो बनेको रहेछ, एक सासमा हामी नुन्थला पुग्यौँ र रोकियौँ चिया पिउन। हामीले सम्झियौँ पहिले दिक्तेलदेखि लामिडाँडा आउँदाजाँदा पैदल हिँड्दाको त्यो सास्ती। त्यो सास्तीसँग पनि अनेक नबिर्सने सम्झनाहरु जो हामीले याद गर्यौ, लाग्यो चालीस टेक्दै गरेका हामी पाँचै जनाले पनि समय धेरै चाखिसकेछौँ।

मुढेको ओरालोमा गुड्दै गर्दा गणेशले देखायो उस्को गाउ नेर्पा। मैले ढोगेँ टाढैबाट माझुवागढीकी देवीलाई र मैले सम्मान साथ हेरेँ टेम्केलाई जो एकनास पहिले जस्तै उभिरहेको थियो। मैले देखेँ मेरो मावली गाउँ दोर्पा ठीक त्यो ओरालो र टेम्केको लगभग बीच भागमा। अनि अलिकति बाल्यवस्थातिर गुडुल्किए।

रत्नपार्कको टाउको टेक्दा महेशको पुरानो घरले हामीलाई कता हिँडेको भनी प्रश्न गरेको भान भयो। त्यतिबेलाको एउटा सुन्दर त्यो घर एकदम चकमन्न थियो, कसैलाई पर्खिरहेको जस्तो पनि लाग्यो त्यो घरले । घर अगाडिको क्याम्पस उक्लने बाटोको खाल्टाखुल्टीले चाँही बूढो मानिसका उखेलिँदै गएका दाँतघरको याद दिलायो। मैले महेशको अनुहार पढे- स्पष्ट उस्को आँखामा अतित बगिरहेको थियो। मैले झल्यास सम्झिए- कुनै दिन महेशले त्यही उस्को घरमा लगेर मलाई उस्को आमासँग मेरो साथी भनेर मलाई चिनाएको, उस्को भाइ मनोजले ‘म तिम्रो शहर छोडी टाढा जाँदैछु………..’ भनेर भावुक गीत गाएको अनि उस्ले आफ्नो चङ्गा उडाएर मलाई देखाएको। उफ्, यो सब केही थिएन- सिवाय मात्र सम्झना।

अलि तल झर्नासाथ अन्जुले देखिन् आफ्नो पुरानो घर। त्यही घरको दोकानमा बसेर दोकानमा चक्लेट बेचिरहेकी सानी अन्जु मैले देखेँ। ठीक उनको घर अगाडि भगवती मेडमले हामीलाई घाम तपाएर पढाएको फ्लासब्याक भयो। सुन्तला र बदाम खाएको याद आयो। हो, यही हो राजन सरको घर, हो यही हो वीर बहादुर सरको घर, अरे धेरै घर पो थपिएछ यो लुइँटेलको घर छेउमा त, हो यही हो दिजेन्द्रसँग टेबलटेनिस खेलेको र यही थियो दिनेश शाक्यको आमा कैली दिदीको मिठो सिम्खडा पाउने होटेल भन्दा भन्दै हामी स्कुल पुग्यौ, जतिबेला विद्यार्थीहरु छुट्टी लिएर घर फर्कँदै थिए र घडीले आफ्नो धर्म अनुसार चार बज्नै लागेको संकेत गरेको थियो।

स्कूल छोडेको २४ वर्षपछि स्कूलको लागि केही गरौँ कि भनेर टेक्दै गर्दा स्कूलका अनेक सम्झनाहरु परेड खेल्दै आए। त्यो बेलाका एक तले बिल्डिङ अहिले तीन तले पक्की भवनमा बदलिसकेछ। त्यो बेलाको तीन भागको खेलमैदान अहिले एउटै बनेछ। हामीले पानी खाने धारा खोइ कहाँ हरायो, थिएन, त्यहाँ त पक्की भवन पो बनेछ। स्कूलका प्रधानअध्यापक ध्यानबहादुर राई सरले तातो चिया सँगै न्यानो आतिथ्य दिनुभयो। त्यसपछि सबै सरहरु र मेडमहरुको उपस्थितिमा भोलि हुने कार्यक्रमको रुपरेखाको बारेमा घनिभूत छलफल भयो। त्यो निर्क्यौल गरेर निस्कँदा अँध्यारोले छोपिसकेको थियो – हतार विमला सोल्टिनीको घरमा चिया पिएर, गणेशले गाडीमा हाटडाँडामा छोड्दा रातको सात बजिसकेको थियो। म र दाजु ज्ञान हतार टर्चलाइटको प्रकाशले बाटो पहिल्याउँदै ओरालो लाग्यौँ- घरमा भाउजु पुष्पा र छोरी प्रज्ञाले हेरिरहेको मेरो आगमनको बाटो सम्झँदै।

भोलिपल्ट स्कूल पुग्दा स्कूलको न्यानो माया र स्वागतले हामी लछप्पै भिज्यौँ। स्कूलका लागि केही गर्न भनेर गएका हामी स्कूलले सोच्दै नसोचेको माया दियो। सबै विद्यार्थीहरु हातहातमा माला लिएर लाइनमा हामीलाई स्वागत गर्न बस्नु भएको रहेछ। त्यो विद्यार्थीको लाइन पार गर्दा गला पूरै फूलको मालाले भरिएको थियो। गलामा अझ नअटेर हातमा समेत माला बोक्नु पर्योा। स्कुलको यो आत्मियताले म पुरै निथ्रुक्क भिजे। स्कूलको आँगनमा उपस्थित गुरुहरु, गुरुआमाहरु देख्दा एक पटक म फेरि सानो विद्यार्थी बने मन मनमा।

पहिलो चरणको कार्यक्रममा बेलायतबासी स्कुलका पूर्वविद्यार्थीहरुबाट स्कूलको धुलोरहित प्राङगण तयार गर्न जम्मा भएको सहयोग रकम मैले औपचारिक रुपमा हस्तान्तरण गर्नुथियो। जुन घडी मैले मेयर दीपनारायण, उपमेयर विणा, बिव्यास अध्यक्ष जय सर र बिद्यालयका प्रधानअध्यापक ध्यान सरलाई एक साथ सहयोग रकम हस्तान्तरण गर्न पाए, एउटा मिठो अनुभूतिले छोप्यो – अव्यक्त अनुभूति जो जीवनपर्यन्त रहनेछ। आफूले दिनरात काम गरेर कमाएको पसिनाको मूल्य अलिकति जोगाएर स्कुलको खातिर सहयोग दिने सबैलाई मैले सम्झिए, त्यसमा पनि विशेष संयोजक डा. प्रमोद र कोश जम्मा गर्न भूमिका खेल्नु हुने खगेन्द्र दाइलाई उहाँहरुको योग्दानको खुलेरै सबैलाई बताए।

दोस्रो सत्रमा हामीले हाम्रा आदरणीय गुरुहरुको सम्मान र अक्षय कोशको घोषणा गर्नुथियो – जहाँ अन्जुले कार्यक्रमको अध्यक्षता गरिन्, रन्जनाले सबैलाई स्वागत गरिन्, महेशले कार्यक्रम माथि बोल्यो, गणेशले कालान्तरसम्मको हाम्रो योजना सँगै अक्षय कोशको घोषणा गर्योण र मैले कार्यक्रम उद्घोषण गरेँ। त्यो बीचमा हामीहरुले गुरुहरुको सम्मान गर्यौँलI पवन सर सम्मानित हुनु भएपछि भावुक बन्नुभयो। हरि सर, शिवनारायण सर, जानुका मेडम, जय सर, गोविन्द सर, काजी सर, शिवहरि सर, कृष्ण सर, राजकुमार सर, नुरकाजी सर र चन्द्र सर सबै नै धेरै खुशी हुनुभयो। नुरकाजी सरले त कार्यक्रम पछि भन्नु नै भयो – “मैले धेरै सम्मान पाएँ। तर विद्यार्थीबाट पाएको यो सम्मान पहिलो र विशेष हो।“

हाम्रो लागि यो कुरा सुन्नु नै ठुलो उत्प्रेरणा थियो – लाग्यो हामीले सही काम गरेछौ। जो सरहरु, मेडमहरु उक्त कार्यक्रममा आउन सक्नु भएन- हामीले धेरै याद गर्यौ। दिक्तेलमै भएका धेरै साथीहरुको उपस्थितिले पनि त्यो कार्यक्रममा धेरै नै मद्दत पुग्यो। बिमला, रेश्मा, गोबिन्द, दिनेश, काजी, कल्पना र राधा सबै सबैको कुनै न कुनै सहयोग हाम्रो लागि महत्वपूर्ण थिए। त्यस सँगै जोडीएर दीपेन्द्र भाई र उनका साथीहरुले अक्षय कोशमा कदम मिलाएर अघी बढ्ने जो काम गरे- सो काम सबैलाई अनुकरणीय थियो । काठमाडौँमा अहोरात्र खटिएर कार्यक्रम सफल बनाउन भूमिका खेल्ने कृष्ण होस् या समर्थन र सहयोग गर्ने चन्डिका, दिजेन्द्र, भक्त, तिलक, पुष्प, मन्जु, होम र अरु साथीहरु जस्तै बेलायतका जय, योन्तेन र निरकला उता जापानबाट दीपेन्द्र अनि अमेरिकाबाट युवराज, प्रमिला र वसन्त र सिङ्गापुरबाट होम, बाल्जित र नवीन आदि सबैलाई हामीले याद गर्यौ। के गर्ने कर्मले आफ्नो बाटो पछाउने पर्ने नत्र त सबैलाई एक्साथ भेट्न मन थियो नि त्यो सरस्वतीको परिसरमा- धेरै वर्ष अघि स्कूल पढ्दा जस्तै।

आफ्नो मन्तब्यको क्रममा मेयर दीपनारायण र उपमेयर बिनाबाट जे जस्तो सहयोग र हातमा हात, साथमा साथ मिलाएर हाम्रो प्रयासलाई अघि लैजाने वचनवद्दता भयो, यदि कार्यान्वयन भयो भने पक्कै अब हामीलाई चाहिएको राजनीतिक नेतृत्वको लागि उहाँहरु सही ब्यक्तित्व हुनुहुन्छ भन्ने लागेर आयो। अन्जुको मिठो मन्तब्य जहाँ हाम्रो कार्यक्रमको पूरै साङ्गोपाङ्गो कुरा बौद्धिक रुपमा प्रस्तुत भएको थियो, सँगै औपचारिक कार्यक्रम सकियोI त्यसपछि महेशले गाएर सबैलाई नचाउन भुलेन, साँच्ची भन्ने हो भने उसको गायनले त्यो दिन चटनी कै काम गर्यो अन्तमा।

सरहरु, मेडमहरु अनि साथीहरुसँग फोटो खिचेर स्कूलको चियापानसँगै हामीले बिदा माग्यौँ। अघिको उत्साहित अनुहार – अविनारायण दाइ निराश अनुहार लिएर भारी मनले बिदाइ बोल्दै हुनुहुन्थ्यो। स्कुलको परीचर अबीनारायन दाई २४ बर्ष अघीकै झै देखेर खुशी लाग्यो, मैले भने पनि तपाईं त पहिले भन्दा अझै पो जवान देखिनु भएको छ।

भारी खुट्टा टेक्दै स्कुल बाहिर निस्कदा काजी सरको आगनमा पुग्यौ। अन्जु त अंकलहरुको मायाले बाधिएर आफ्नो पुरानो घर बाम्राङ कट्टी लागिहालिन तर हामी चार चाँही काजी सरको दलिनमै पसेर स्वादिलो सुन्तला मजाले खायौ। काजी सर जो हामी पड्दाताका लाग्थ्यो, उहा जस्तै विद्यार्थीलाई सिकाउने सबै गुरुहरु हुन सके त अहा ! उहाले पढाउन बाहेक कुनै राजनीतिमा हुने खेलहरुमा भाग लिएको कहिले थाहा भएन, र मैले भने पनि सर, तपाईं चाँही जहिले तेस्तै रहनुहोस् है। अनी दुर्घट्नाले कृष्ण सरको घर आगलागी हुँदा, हामीले सक्ने सानो मद्घत गरेका थियौ। मनमा यसै खुशी लागेर आयो, जब सर को घर बन्दै गरेको हामीले देख्यौ। सरको घरमा सुन्तलाको केस्रा केलाउदै माटिकोरेको खेल्मैदान नियाल्यौ, पहिलेको भवन कुनै थिएन – बस केही मान्छेहरु फुट्बल खेलिरहेका थिए।

साँझको खाना प्रधानअध्यापक ध्यान सरको बिशेष निमन्त्रणामा होटेल सगरमाथामा हामीले लियौ – करेलाको जरा दुई दुई पटक सम्म थपेर त्यसै खाएनौ बल्की स्कुलको कार्यक्रम राम्ररी समापन भएको अवसरमा खुशीले पनि खायौ। छुटिने बेला चन्द्र सरको निम्तो पुरा गर्न नसक्दा मन अफ्टेरोमा परेको थियो तर मैले गर्न सक्ने केही थिएन- मेरो ठुल्दिदी इमान माइतिको मायाले मलाई घण्टौ कुरिरहनु भएको थियो।

तेस्रो दिन अर्थात काठमान्डौ फिर्ने दिन- बिहानै हतारोले समाइ हाल्यो। साथी कल्पनाको घर टेक्ने अघिल्लो दिनको वाचा सब भन्दा पहिले पुरा गर्यौ अनी साथी प्रकाश जो सिङ्गापुर बाट छुट्टीमा अघिल्लो साँझ दिक्तेल आएथ्यो – उ सँग लामो समय पछी छोटो आत्मियता साट्यौ। अनी मेयर ज्युको चिया खाने निम्तो स्वीकार्दै शुभदिन होटेल पुग्यौ। आफ्नो ब्यस्ततालाई बन्द गर्दै हामीलाई समय दिनु भयो- मेयर ज्युको यो महानता सम्झन्छु म। छुट्ने बेलामा यती कामना भयो – उहाको सपना जस्तै बन्न सकोस नगरपालिका र हामी गर्ब गर्न सकु हाम्रो नगरपालिका प्रती।

हतार हतारमा हामी हिड्दै गर्दा रन्जनाले घरको ढोकानै बन्द गर्न भुले कि भनेर मलाई शन्का ब्यक्त गरिन- हिरामोती केही त छैन होला नि घरमा, मैले अलिकती मजाक गरे! अब हतारो मै बिमला सोल्टिनी र नुरकाजी सरसँग बिदा माग्यौ, केही सुर्को मिठो चिया सँगै शिवहरी सर र दिदी सँग बिदाइको हात हल्लायौ, सहोदर दाजु ज्ञान सँग बिदाइको गला मिलेपछी गूडदै जादा अन्जना मेडम सँग सन्जोगबस भेट भो। उहा धेरै बर्षपछी भेटेकोले होला, बुढोउलीले छुदै लगेछ भन्ने लाग्यो। त्यती नै बेला कुनै समयकी मेरो विद्यार्थी, अहिलेकी नामी गणित शिक्षक रशालाई भेट्दा एकै चोटि खुशी र गर्ब लाग्यो। रत्नपार्क छोड्ने बेला जीवन दाइले केही कुरामा असन्तुष्टि जाहेर गरे पनि हामी सबैलाई शुभयात्राको शुभआशिस दिएर बिदाई गर्नु भयो। दिक्तेल छोड्नु अघी हामी अन्तिम बिसौनी स्वरुप सहपाठी काजीको घरमा पस्नु थियो। माथि चढ्दा दिक्तेल क्याम्पसको देब्रेतिर पर्ने उनको फर्म देखे पछी उनको कर्मको प्रसम्सा नगरि रहनै सकेनौ। उनले आफ्नै बगैचामा फलेको अर्गानिक किवी चखाए, घरकै एकदम स्वादिस्ट दही पनि पिलाए। हामीले थपी खादा पुरै ठेकी नै पो रितायौ होला भनेर गणेशले शन्का गर्दा – यति ५ जना साथीलाई त ४ दिन सम्म पाल्छु भनेर ढुक्क भनिदिए। हुर्किसकेका आफ्ना नानीहरु काजिले चिनाउदै गर्दा मैले आफ्नो साढे तीन बर्से छोरा जेकोप सम्झिए । साथी प्रतीको यो माया खोइ कुन शब्दले ब्यक्त गरौ काजी, तिम्रो फर्ममा फेरी आएर दही खाने मन छ है।

दिक्तेल छोड्दै गर्दा घाम बिस्तारै छिपिदै जादै थियो- पुष महिनाको छोटो दिनहरुमा हामी जानुपर्ने बाटो लामो थियो। अब बाटोमा हामीले कार्यक्रमको समिक्षा गर्यौ। समिक्षा भन्दा बेशी एकअर्का बिच बुझ्न, जान्न बाँकी सन्दर्भमा छलफल गर्यौ। अन्जुले महेश, गणेश र म सँग जान्न चाहेको कुरा हलेशी नपुग्दै प्रस्ट भयो I गणेशले म सँगको बादल सुन्कोशी नकाट्दै हटेर गयो। अब फेरी हामी आआफ्नै जीवन कथामा हरायौ। सबैको भोगाइ सुनेपछी मैले मन मनमा भने रन्जना तिमी जती साथीको रुपमा सहयोगी छौ, त्यो भन्दा बेशी समाजसेवामा पनि समर्पित छौ। गणेश तिमी यो जमानाको एउटा साचो प्रेमी हौ, तिम्रो प्रेम कथामा एउटा अमर उपन्यास लेख्न वा राम्रो चल्चित्र बन्न सक्छ। महेश तिमी असल छोरा मात्र हैन, धेरै महान दाई हौ र नै मनोज भाईले मायाले दिएको नयाँ आई फोन बोकेर हिंडेका छौ। अन्जु तिमीलाई त म के भनु- शायद सतिसाल हौ तिमी जो सँग समस्याहरु डराएर भागछन। सानो छदाको सानो मिठो भुलहरु, जस्तै आफ्नै पसलको केही पैसा आमाबाबाले थाहै नपाई, सुटुक्क लिएर आफुलाई मन परेको केही गर्ने देखी लिएर जीवन बाच्नुको डर्लाग्दो संघर्शले नै आजको अन्जु तिमी बनेकी छौ। परिबेशले जसरी पकाएको छ तिमीलाई र नै तिमी आज समाजमा उज्यालो प्रकाश बनेर देखिदै जादैछौ।तिमीले आफ्नो यात्रा निरन्तर राख्न सके, यस्तो लाग्छ कुनै दिन तिमी कहिले ननिभ्ने ज्योति शिक्षाको क्षेत्रमा बन्नेछौ।

काठमान्डौ छिर्दा रातले डेरा जमाइ सकेको थियो। रन्जना र अन्जुलाई घरमा छोड्दा घडीले ८ हानिसकेको थियो। म बस्ने ठाउँ एकातिर, महेश र गणेश जाने अर्कोतिर भएकोले मलाई घर सम्म पुर्याइमागेर उनिहरुलाई अरु अबेर गराउन चाहिन र म पूर्ववत कोटेश्वर चोकमै ओर्लिए। मनमा झल्यास लाग्यो – हामी ५ जना साथीहरु फेरी सँगै यात्रा गर्ने अवसर समयले कहिले देला ? शायद जीवन भर नहुन पनि सक्छ, तर त्यस्तो नहोस् मनमा भएर आयो। ट्याक्सीमा घर जादै गर्दा कुन्नी कुन सन्जोगले हो, भर्खरै के कुराले मिडियामा समाचार बनिरहेका गाएक रामकृष्ण ढकालको आवाज घन्किरहेको थियो :
यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु……….

हो, सबै साथीहरु छुटेर, बाँकी म एक्लै हिँडिरहेको थिएँ।

1 comment to सरस्वतीलाई सम्झेर

  • Ranjit Sargam

    Enjoy reading this travelogue memo. Great writing Jagatji. Look forward reading more articles from you.