यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

क्वारेन्टिनको रहर आयो बरी लै, तर मापदण्ड?

-रविन्द्र सुवाल-

अहिले देशमा कोरोनाको महामारी फैलिरहेको छ। यसमा विभिन्न क्षेत्र र तहले आफूले सक्ने काम गरिरहेको छ। तर यो महामारी अन्य विपद् भन्दा फरक छ। यस विपद्‍मा कसैको हेल्चक्रयाईँ वा हिरोइज्म (Heroism) बन्ने लालसाले समाज र देशले ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ। यहाँ प्रसंग क्वारेन्टिन (हाम्रोमा क्वारेन्टाइन लेख्ने चलन छ। खास उच्चारण चैँ क्वारेन्टिन हो) बनाउने रहरलाई लिन गइरहेको छु।

सरकारले चीनको वुहानबाट नेपाली ल्याई खरिपाटीमा क्वारेन्टिनमा राखेको कामलाई सबैले प्रशंसा गरेका थिए। शायद यही सिकाइले होला, हरेक गाउँपालिका, नगरपालिका र अन्य संस्थालाई क्वारेन्टिन बनाउने रहर चलेको।

नेपाल सरकारले क्वारेन्टिन मापदण्ड २०७६ जारी गरेको छ। यहाँ क्लिक गरी हेर्नुस्। यस मापदण्डमा क्वारेन्टिनको परिभाषा यस्तो छ, “कुनै रोगको संक्रमणको फैलन सक्ने अवस्थालाई आंकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटेलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्क वा छुट्टयाई तोकिएको स्थान वा घरमा १४ (चौध) दिनसम्म अलग्गै राखिने अवस्था जनाउँछ।”

यसै मापदण्डमा क्वारेन्टिन स्थल बनाउन विभिन्न मापदण्ड तय गरिएको छ। तर के सबैले यो मापदण्ड अनुसार क्वारेन्टिन स्थल बनाएका छन् त? तल, अनलाइन र राष्ट्रिय पत्रिकामा प्रकाशित क्वारेन्टिन स्थलका फोटोहरु हेर्नुस्।


तस्वीर १, स्रोत: नेपालखबर


तस्वीर २, स्रोत: गोरखापत्र २०७६-१२-१३

तस्विर आफै बोल्छ, सरकारको मापदण्ड पूरा भएका छन् कि छैनन्।

पहिलो फोटोमा दुईजना सेलिब्रिटी उभिएका छन् र उहाँहरुको पछाडि कुनै स्कूलको दुईवटा डेस्क मिलाएर जवर्जस्ती वेड बनाइएको छ। दुईवटा बेन्चको बस्ने भाग जोडिएको छैन। बीचमा केही अस्थायी वस्तु राखेर छोपिएको छ। यस्तोमा मान्छे कसरी सुत्न सक्छन्? त्यस्तै धारा भएको सानो पानीकोे ड्रम राखिएको छ। त्यसमा हात धुने हो भने हात धोएको पानीको निकास कता हो ? न तल बाटा नै छ। सुत्ने ठाउँमा हात धुँदा कतिको सो स्थान hygienic होला?

त्यस्तै दोस्रो फोटो विशलेषण गर्ने हो भने एउटै कोठामा छ वटा भन्दा बढी बेड राखिएको छ। जबकि सरकारी मापदण्डले स्पष्ट एक कोठामा अधिकतम तीन जना राख्ने भनेको छ र स्नान गृह हुनुपर्ने भनेको छ। एक बेड र अर्को बेडबीचको दूरी मुश्किलले दुई फिट होला। यसमा मापदण्डले ३।५ फिट भनेको छ। सुत्ने कोठामा हात धुनु कतिको hygienic हुन्छ, सबैले बुझ्ने विषय नै हो।

जथाभावी क्वारेन्टिनले झनै जोखिम

संक्रमणको जोखिम कम गर्न क्वारेन्टिन स्थलमा राख्नु पर्ने हो तर जथाभावी क्वारेन्टिन स्थलमा जबर्जस्ती क्वारेन्टिनमा राख्दा जोखिम कम होइन उल्टो बढाउँछ। अनाहकमा जोखिममा नपरिने व्यक्ति पनि जोखिममा पर्छ। उदाहरणको लागी दुबईबाट आएका व्यक्तिहरु र भारतबाट आएका व्यक्तिहरु १४, १४ दिन सम्म एकै ठाँउमा राख्दा कुनै कुनै सम्पर्क र लसपस अवश्य पनि हुन्छ। यदि दुबईबाट आएको व्यक्तिहरुमा संक्रमण छ तर भारतबाट आएकोमा थिएन भने क्वारेन्टिन स्थलमा बसेकै कारण भारतबाट आउने व्यक्तिहरुमा संक्रमण फैलिने भयो।

मापदण्डको समीक्षा आवश्यक
विभिन्न विदेशी संचार माध्यमले social distancing को दूरी दुई मिटर हुनपर्ने भनेर प्रचार प्रसार गरिरहेका छन्। हालको मापदण्डले करिब एक मिटरको दुरी कायम गर्नुपर्ने भनेको छ। त्यस्तै ६ जनाको लागि एउटा शौचालय भनेको छ। होम क्वारेन्टिन बस्दा शौचालय अलग हुनपर्ने भनेको छ। तथा अन्य अव्यवहारिक बूँदाहरु छन जुन परिमार्जन गर्दा राम्रो हुन्छ। क्वारेन्टिन अनुगमन र सुपरिवेक्षण समिति उल्लेख छ। तर मूल्यांकन कसले, कसरी गर्ने हो, त्यो थाहा छैन।

अन्त्यमा, सरकारले क्वारेन्टिनमा नबस्नेलाई कारबाही भनेको छ। तर मापदण्ड विपरित क्वारेन्टिन बनाउनेलाई छुट भन्न खोजको हो त?

Comments