यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अमेरिकामा बाघलाई कोरोना भएपछि वन्यजन्तु जोगाउन नेपालमा के छ तयारी?

राजु आचार्य


सन् २००८ मा ब्रन्ङस चिडियाखानामा खिचिएको बाघको फाइल तस्वीर। हाल यही चिडियाखानामा रहेको बाघमा कोरोना भाइरस देखिएको छ।

गत मार्च १६ देखि सर्वसाधारणको लागि बन्द गरिएको ब्रन्ङस चिडियाखाना एकाएक चर्चामा आयो। अमेरिकाको न्यूयोर्कस्थित सो चिडियाखानामा रहेको ४ वर्षीय पोथी बाघ कोरोना भाइरस संक्रमित भयो भन्ने खबरले विश्वव्यापी स्थान पायो। सो बाघको नाम नाडिया हो। ७ वटा बाघ र सिंहमा गरिएको परीक्षण पछि सो नतिजा आएको थियो। मानिसबाट वन्यजन्तुमा सरेको यो नै सम्भवतः पहिलो अभिलेख थियो। यसअघि चीनमा वन्यजन्तुबाट मानिसमा सरेको विश्वास गरिन्छ। विश्व स्वास्थ्य सङ्गठन र सम्बन्धित चिडियाखानाले अनुसन्धानलाई तीव्रता दिएका छन्।

क्याम्ब्रिज विश्वविद्यालयका भेट्नेरी डाक्टर सारह क्याड़ीले यो घटनालाई अनौठो मानिन् र भनिन् ‘सो बाघले मानिसमा देखिने जस्तै लक्षण देखाएको थियो। चिडियाखानामा काम गर्नेहरू बाघको नजिक गएर पनि काम गर्दैनन्। कसरी सर्‍यो होला?’

संरक्षणकर्मीहरुले गुरिल्ला, चिम्पान्जी, ओरान्गओटनहरुलाई यो भाइरसले असर गर्न सक्ने भनेर चिन्तित छन्। वनमा रहेका बाघको संख्या ४ हजारभन्दा कम भएकोले बाघमा महामारी फैलिए घातक हुनसक्छ।

अमेरिकामा यस्तो घटना भएकै दिन भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले विशेष सूचना जारी गरी सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराएको छ। आफ्ना संरक्षण क्षेत्रका वार्डेनहरुलाई तुरुन्तै टास्क समूह गठन गर्ने, मानिसको आवागमन बन्द गर्ने, संक्रमित वन्यजन्तु भेटे तुरुन्त उपचारको व्यवस्था गर्ने जस्ता १० निर्णयहरू गरेको छ।

नेपालमा के छ तयारी ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकृत विष्णुप्रसाद श्रेष्ठ भन्छन् ‘कोरोनाको सम्भावित असर न्यूनीकरण गर्नको लागि सरकारले पर्यटक र अन्य आगन्तुकहरुलाई सबै संरक्षित क्षेत्रमा प्रवेश बन्द गरेको छ। सरकारको लकडाउन घोषणासँगै सदर चिडियाखाना मार्च २० बाट बन्द गरिएको छ।’

उनले थपे ‘हामीले सबै कर्मचारीलाई सतर्क रही काम गर्न भनेका छौँ।’ उनले संरक्षित क्षेत्रमा थप अनुगमन गरिएको जानकारी पनि गराए। उनी भन्छन् ‘यो संवेदनशील समय हो, त्यसैले चोरीशिकारीका घटना रोक्नको लागि पनि अरू बेला भन्दा थप श्रोत र जनशक्ति सहित अनुगमन तीव्र पारिएको छ।’

जुलोजिकल सोसाइटी अफ लन्डनको नेपालस्थित कार्यालयका व्यवस्थापक डा. हेमसागर बराल भन्छन् ‘यतिखेर तस्कर र सिकारीहरू सक्रिय हुन् सक्छन्। पूर्ण रूपमा संरक्षित क्षेत्रहरू बन्द गर्न अप्ठ्यारो हुन्छ। बाघ बाहेक अन्य वन्यजन्तु संरक्षणको लागि पनि नियमित अनुगमन आवश्यक हुन्छ।’ उनी भन्छन् ‘घर पालुवा हात्ती लगायत अन्य साना वन्यजन्तुहरूमा समेत कोरोनाको असर हुन् सक्छ।’

नेपालमा वन्यजन्तुमा कोरोना भए नभएको बारेमा हाल सम्म कुनै पनि परीक्षण गरिएको छैन। यस सम्बन्धमा वरिष्ठ वन्यजन्तु विशेषज्ञ प्रा. करनबहादुर शाह भन्छन्,‘सरकारले जे गरेको छ त्यो नै उत्कृष्ट हो यतिखेर।’ उनी थप्छन् ‘अहिलेलाई मानिसको परीक्षण र इलाजलाई बढी प्राथमिकता दिनु पर्‍यो। यदि भविष्यमा अमेरिकाबाहेक अन्यत्र पनि वन्यजन्तुमा कोरोना भाइरस देखियो र मानिस जस्तै वन्यजन्तु पनि मर्न थाले भने हामीले पनि ध्यान दिनुपर्ने हुन्छ। त्यस बेलाको अवस्था अझ खतरनाक हुन्छ किनभने वन्यजन्तुबाट पनि मानिसमा यो रोग सर्न थाल्छ। यदि धेरै देशहरूमा वन्यजन्तुमा पनि यो रोग देखियो भने यो भाइरस हावाबाट पनि सर्छ भन्ने कुरा ठोकुवा गर्न सकिन्छ।’

काठमाडौँस्थित सदर चिडियाखानाका प्रमुख डा. चिरञ्जीवी प्रसाद पोख्रेल अमेरिकाको घट्नाले आफूलाई चिन्तित बनाएको बताए। उनले भने ‘अहिलेसम्म चिडियाखानाका बाघ लगायत कुनै पनि वन्यजन्तुमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। तर यदि देखियो भने हामी परीक्षण गर्न सक्छौँ। नमूना सङ्कलनको लागि वन्यजन्तुलाई बेहोस बनाउनु पर्ने हुन्छ।’


काठमाडौँको सदर चिडियाखानामा सन् २०१० मा खिचिएको फाइल तस्वीर

Comments