यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कोरोना काल : हुनेखानेको चलेकै छ हुँदाखानेको बेहाल

-एलिजा हुमागाइँ, जर्मनी-

नेपाल, दक्षिण एसियाको एक भूपरिवेष्टित राष्ट्र। नेपालको ग्रामीण परिवेशको एक उदाहरण दिएर नेपाललाई चिनाउने हो भने हरेक चाडवाडमा मुखियाको मुख ताक्नुपर्ने गरिब किसान जस्तो। मुखियाको मुख ताक्न त उसले परिश्रम गरेको छ, राष्ट्र सङ्घ वा विश्व स्वास्थ्य सङ्गठनको मुख ताक्न नेपालले के गरेको छ? गाउँ नै गाउँले भरिएको, गरिबीको निम्न रेखा भन्दा मुनि बसेर जीविकोपार्जन गरिरहेका लाखौँ घरपरिवार, वर्षैपिच्छे आउने दैवी प्रकोप। कमाएर खान ठाउँ नभएकाहरूलाई झनै गाह्रो, यसै विरक्तिएर खाडी पसेको देशको युवा जनशक्ति। अलिकति हुने खाने र मध्यमवर्गीय घरानाका सन्तान युरोप, अस्ट्रेलिया अनि अमेरिका। हुनेखानेको त कोरोना संक्रमण कालमा पनि चलेको छ, कि भकारीमा धान छ, कि बैङ्क मा बैङ्क ब्यालेन्स। बिचरा हुँदा खानेहरूको को छन्? न कुनै संघसंस्था न देशमा सरकार, श्रीपेच नलगाएका राजाको तानाशाह मात्र देशैभरी। एक जनाले ज्याला मजदुरी गरेर पुरै परिवारको जिम्मेवारी उठाउनुपर्ने कैंयौं परिवारहरू छन्, ती माथि निर्मम राज गर्ने अन्धो सरकार मात्र।

चाइनामा यो भाइरसको संक्रमण फैलिरहँदा नेपालले तयारी सुरु गरिसक्नुपर्ने थियो, गरेन, ठिक छ। विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गर्‍यो, सरकार त कानमा तेल हालेर बसेको छ। विश्वलाई नै एउटा “ग्लोबल भिलेज” भनिने समयमा हामी जिइरहेका छौँ, त्यसमाथि चाइना, इन्डिया दुई शक्तिशाली छिमेकी, तीसँगको खुला नाका, भाइरसको संक्रमण बुझ्नलाई अध्ययन पुगेन भनौँ भने विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई रातो घेरामा राखेकै थियो, विश्वमा हाहाकार मच्चिइसकेको थियो, र पनि देश अझै शून्य तयारीकै अवस्थामा थियो।

भर्खरै अङ्ग प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री सरकार चलाइरहेकै छन्, जनतामा सूचनाको कमी भएको छ, आधिकारिक समाचार बाहिर ल्याउने माध्यम फेसबुक, जनता सबै पत्रकार। अफवाह र झुट फैलँदा फैलँदा कुनै पनि जानकारीको, समाचारको आधिकारिकता र जवाफदेहिता कसले बोक्ने यो अब कुनै व्यक्ति वा संस्थामा निहित नभएर हरेक जनताको फेसबुके भित्तोमा निहित रह्यो। यसरी फेसबुक चलाएर लकडाउन कटाउन सक्ने परिवार त छँदै छन्, ज्याला मजदुरी गरेर भारी बोकेर परिवार पाल्नेहरूको आवाज को बनिदिन्छ? महानगरमा त महान् महान् हरूको मात्रै जीविका चल्छ, महानगरमा इट्टा र सिमेन्ट जोडेर जमिनमा एउटा आकार दिन नसकेकाहरूको खासमा जिन्दगीको पनि कुनै आकार छैन, थाहा छ कि छैन अन्धो सरकारलाई? विश्व महामारी हो, खेलवाड गर्ने न कुरा हो, न शब्द हो, देश अझै यसैगरी चल्न खोज्ने हो भने, देश मा भयावह स्थिति आउने अड्कल जसले पनि काढ्न सक्छ। भूकम्प पछि ठडिन नसकेका कैंयौं घरहरू अब भासिएका छन्,देशको राजनैतिक र आर्थिक सङ्कटकाल मा पलायन भएकाहरू लोप भए भने एउटै मान्छे भित्र यति नकारात्मक सोच कसरी भन्ने प्रश्न उठ्ला , पहिल्यै बयान दिन्छु, यत्रो विश्व महामारीलाई ढाकेर देशमा राजनैतिक तहल्का मच्चाउनु प्रधानमन्त्री जस्तो गरिमामय पदको कत्रो बेइज्जत हो। यो सङ्कटको पोखरीबाट जनतालाई पार गराउने जिम्मा कसको हो? जवाफदेहिता कसको? यो देश कसको हो?यो सत्ता कसको हो?देशलाई कसले चलाइरहेको छ? देश कता जाँदै छ? लकडाउनका नियमहरू छन्, कानुन छ, देशमा अदालत छन्, देशमा वकिल छन्, देशमा छन्, देशमा सज्जन छन्, तर देशमा किन विधिको शासन छैन? प्रधानमन्त्री राहत कोषले के-के गर्‍यो, देशले कुन कुन देशहरूसँग समन्वय गरेर महामारीका बिरामीहरूको उपचार गर्ने तयारी गरेको छ? लकडाउन लम्ब्याउनु मात्रै हाम्रो आजको आवश्यकता होइन, हामीले यसपछि बाँच्ने नेपालको खाका आजै कोर्नु जरुरी छ।

सरकारले लकडाउनको बेला आर्थिक र सामाजिक पाटोलाई बढी ध्यान र सहयोग दिनुपर्ने स्थिति छ, राजनैतिक तरङ्गहरूले एकै छिन मात्रै हुन् होहल्ला गराउने गरिबीको निम्न रेखा मुनि बस्ने परिवारलाई पार्टी एकता र विभाजनका अध्यादेशले चुलो बालिदिँदैनन्। सङ्कटमा परेकाहरू को सही पहिचान गरेर गाँस, बाँस र कपासको व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व हो भने जनताहरूको यो नैसर्गिक अधिकार हो।कोरोना र यसले गर्दा असर परेका व्यक्ति,पेसा, संस्थालाई सूक्ष्म अध्ययन गरेर उनीहरूको अस्तित्व बचाउ गर्न सरकारले आज पाइला नचाले कोरोना सङ्कटकाल पछिको समय धेरै व्यक्ति र संस्थाहरूलाई फेरि आफ्नो नयाँ अस्तित्व र पहिचान बनाउन समय लाग्नेछ भने त्यसको ठाडो असर देशको अर्थतन्त्रमा गएर देखिनेछ। नत्र, यो महामारीका बखत जनताको स्वास्थ्य र गाँस बाँसमा सहयोग नगरी आफ्नो राजनैतिक स्वार्थ पुरा गर्न यो समयको फाइदा उठाउनेलाई जनताले कदापि भुल्नेछैनन्।

1 comment to कोरोना काल : हुनेखानेको चलेकै छ हुँदाखानेको बेहाल