यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?


‘हिमालखबर’मा २१ भदौ २०७७ मा प्रकाशित समाचारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा माइक्रोबायोलोजिष्ट डा. टिष्टा प्रसाईंको भनाई उद्‍धृत गर्दै लेखिएको छ- “अहिले सबैले यात्रा गर्ने क्रममा पनि स्यानिटाइजर बोक्ने गरेको पाइएको छ। आफ्नो कारमा स्यानिटाइजर बोकेर हिंड्दा त्यतिबेला गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्छ। स्यानिटाइजरमा भएको रसायनका कारण आगलागीको जोखिम पनि हुन्छ।”

सामाजिक सञ्जालहरुमा पनि कारभित्र राखिएको स्यानिटाइजरका कारण आगो लागेर कार जलेको दावी गरिएका पोस्टहरु देखिन्छन्। के यो सत्य हो ? हामीले फ्याक्टचेक गरेका छौँ।

हिमालखबरको समाचार नाष्टका दुई जना माइक्रोबायोलोजिष्टद्वय डा. टिष्टा प्रसाईं र समीक्षा कँडेलले नेपाली र विदेशी गरी कुल २२ ब्रान्डका ह्यान्ड स्यानिटाइजरमाथि गरेको अध्ययनमा आधारित छ। यद्यपि समाचारका अनुसार उक्त अध्ययन अझैसम्म प्रकाशित भइसकेको छैन। अप्रकाशित,  स्यानिटाइजरको एउटा मात्रा, प्यारामिटर हेरेर अनुसन्धान गरिएकाले सबै प्यारामिटर हेरेपछि मात्र यकिन गर्न सकिने समाचारमै उल्लेख छ। तर यो अप्रकाशित, पूरा नभइसकेको अध्ययनको समाचार छाप्न भने किन हतार गर्नुपरेको होला। त्यसमाथि बजारमा प्रयोग भइरहेका ४५ प्रतिशत स्यानिटाइजर प्रभावहीन, जीवाणु मार्ने क्षमता कमजोर शीर्षकमा समाचार आएपछि यसले स्यानिटाइजर प्रयोग नगर्न उक्साएको जस्तो देखिन्न र। अहिलेको अवस्थामा अनुसन्धान प्रकाशित भइसकेपछि मात्रै त्यसको नतिजा सार्वजनिक गरेको भए के बिग्रन्थ्यो र!

अब जाउँ मूल विषय तिर। के कारमा राखिएको स्यानिटाइजरका कारण आगो लाग्छ?

स्नूप्सका अनुसार अप्रिल २०२० देखि नै ह्वाट्स एप र टेलिग्राममा ह्यान्ड स्यानिटाइजरको बोतल राखेका कारण कारमा आगो लागेको दावी गरिएका फोटोहरु अमेरिकामा फैलिएका थिए।

मे २१ मा त अमेरिकाको वेस्टर्न लेक्स फायर डिस्ट्रिक्ट अफ विस्कन्सिन दमकलका फेसबुक पेजमा पनि यस्तो सूचना देखिएका थिए। त्यसपछि केही मिडियामा पनि यस्तो दावीसहितका समाचार आएका थिए।

तर पछि भने युएसए टुडे, बेलायतको फूलफ्याक्टलगायतका वेबसाइटहरुले तथ्यजाँच गरी यो दावी गलत रहेको बताएका छन्।

वेस्टर्न लेक्स फायर डिस्ट्रिक्ट अफ विस्कन्सिनको फेसबुक पेजबाट पनि माफी माग्दै पुरानो स्टायटस हटाएर नयाँ राखिएको थियो

 

अमेरिकाको नेसनल फायर प्रोटेक्सन एसोसिएसनले अरु कुनै बाह्य स्रोतको झिल्को बिना आफै तात्तिएर मात्र आगो लाग्न ७ सय डिग्री फरेनहाइट तापक्रम हुनुपर्ने बताएको युएसए टुडेले लेखेको छ।

जबकि नास्टका वैज्ञानिक प्रसाइँले हिमालखबरमा गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म मात्र पुग्ने उल्लेख गरेकी छिन्।

एसोसिएसनले राखेको एउटा भिडियोमा ह्यान्ड स्यानिटाइजरबाट कारमा आगो लाग्ने विषयमा भनिएको छ, आगलागी सुरक्षाको हिसाबले तातो गाडीमा ह्यान्ड स्यानिटाइजर छाड्नु असुरक्षित हुँदैन।

फूलफ्याक्टले डिटोलसित इथानोल आफै आगो लाग्ने (अटो इन्गिसन) हुने तापक्रम कति हो भनेर सोधेको थियो। अल्कोहलसहितको ह्यान्ड स्यानिटाइजरको मुख्य सामग्री यही इथानोल हो। यो अटो इग्निसन हुने तापक्रम ३६३ डिग्री सेल्सियस हो भनिएको छ। फरेनहाइटमा निकाल्दा यो ६८५ डिग्री फरेनहाइट हुन आउँछ। तर यसमा केही डिग्री माथि तल हुनसक्ने पनि भनिएको छ। यो भनेको कार तात्तिँदा हुने तापक्रम भन्दा धेरै माथि हो।

पार्क गरिएको कारभित्रको तापक्रम कति हुन्छ भनेर जर्नल टेम्परेचरमा प्रकाशित सन् २०१८ को एउटा अध्ययनले ९५ डिग्री बाह्य तापक्रम हुँदा ११६ डिग्री फरेनहाइटसम्म ‍‍‍‌औसत तापक्रम हुने देखाउँछ। त्यसैगरी कारका केही भाग जस्तै ड्यासबोर्डको तापक्रम बढेर १६० डिग्री फरेनहाइटसम्म पुग्ने देखाउँछ। तर पनि यो आफै आगो लाग्न चाहिने ६८५ डिग्री फरेनहाइटभन्दा निकै कम तापक्रम हो।

स्नूप्सले गर्मीको दिनमा पार्किङ गरेर राखिएको कारभित्र राखिएको ह्यान्ड स्यानिटाइजरका कारण आगो लागेको कुनै पुष्टि भएको रिपोर्ट फेला नपरेको बताएको छ।

यद्यपि, ह्यान्ड स्यानिटाइजर ज्वलनशील पदार्थ भएकोले आगोको स्रोत नजिकै नलैजान, एकदमै धेरै लिटर कारमा स्टोर नगर्न भने सुझाव दिइएको छ।

निश्कर्ष :  गाडीको तापक्रम बढेर १०५ डिग्री फरेन हाइटसम्म पुग्ने भएकोले त्यसबाट स्यानिटाइजरका कारण आगो लाग्ने जोखिम हुने नास्टका वैज्ञानिकको दावी गलत छ। बाह्य स्रोत बिना आफै स्यानिटाइजर आगो लाग्न ६ सय डिग्री फरेनहाइट भन्दा बढी तापक्रम हुनुपर्छ।

1 comment to के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?

  • डिल्लि

    फेशबुके हल्ला निक्कै घातक हुने गरेको छ । निश्चयनै अल्कोहल वा रक्सी अत्याधिक ताप नभै आफैँ बल्दैन । सामान्य वातावरणीय तापक्रममा १००% शुद्ध रक्सीमा केहीको झिल्को वा आगो नभै आफैँ बल्ने समभावना रहदैन । स्यानिटाइजरमा राखिने रक्सीको मात्रा सामान्यतया ७०% सम्म हुन्छ जुन मात्रामा बोतलको बिर्कौ खोलेरै मात्र वा पोखेर मात्र आगो लगाउन सकिन्छ । तरल ७०% रक्सीमा झिल्कोलेमात्र पनि बल्दैन । तलका तीन बुँदामा अद्ययन के कति भएको छ ?

    १) १०५ वा ११० डिग्री फरेन्हाइटमा मुख्यतया कति गाढा वा न्युनतम कति प्रतिशत अल्कोहल हुँदा बल्न सक्छ ?
    २) बढी तापक्रममा स्यानिटाइजरमा राखेको अल्कोहल वाफमा परिणत हुने सम्भावना कति छ ?
    ३) अल्कोहलको वाफसहितको कारमा बसेर चुरोट खाए वा कार स्टार्ट गर्दा बल्ने सम्भावना कति छ ?

    (पुनःश्चचः ग्यास सिलिण्डर लिक हुँदा कोठामा छिरेर स्विच अन गर्दा साँसदसमेत मरेको धेरै वर्ष बितेको छैन ।)

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)