यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

प्रधानमन्त्री भाषण गर्दै ठिक्क, उनकै गृहजिल्लामा न्यानो कपडा बाँड्दै ज्ञानेन्द्र र हिमानीको ‘व्यङ्ग्य’


समृद्ध नेपाल, सुखी नेपालीको नारा घन्काएका प्रधानमन्त्री केपी शर्मा ओली अचेल आफै दुःखी हुनपुगेका छन्। त्यसैले दिनदिनै आफ्नै पार्टीका अर्को समूहका नेताहरुलाई व्यङ्ग्यात्मक गाली गर्दै भाषण गर्न व्यस्त छन्। भाषण मात्रै गर्नुपर्दा पनि सुरक्षाले हैरान पार्छ। काठमाडौँमा कार्यक्रम गर्दा कालो गलबन्दी, कालो मास्क लगाउनेलाई निषेध गरियो। हिजो धनगढी पुगेर भाषण गर्दा ‘निर्मलाको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउनेलाई पक्रन पर्‍यो।

उता, उनकै गृहजिल्ला झापामा भने आज पूर्व राजपरिवार राहत वितरण गर्दै गरेको अवस्थामा भेटिए।

१२ वर्षमा खोलो फर्कन्छ भन्थे, पूर्वराजा ज्ञानेन्द्रलाई पनि अहिले त्यस्तै भइरहेको होला। १२ वर्षमा प्रधानमन्त्री कालो मास्क र कालो गलबन्दीसित डराउनु पर्ने अवस्था आइरहँदा ज्ञानेन्द्र भने प्रधानमन्त्रीकै गृहजिल्लामा ढुक्कसँग बच्चाहरुलाई अङ्गालो मार्दै बसेको पो देखियो। प्रम ओलीलाई ‘निर्मलाको बलात्कारी खै?’ भन्ने प्रश्न लेखिएको टिसर्टले नै तर्साउँदो रहेछ। तर ज्ञानेन्द्रलाई त ‘वीरेन्द्रको परिवारको हत्यारा खै?’ भनेर सोध्लान् भन्ने डर पनि नलाग्दो रहेछ कि क्या हो। फेरि उनको कार्यक्रममा कसैले त्यस्तो प्रश्न लेखिएको टिसर्ट पनि नलगाउने रहेछ।

१२ वर्षअघि सडकमा कति चर्का नारा लाग्थे उनीविरुद्ध। अहिले चुप बस्दा क्या हाइसन्चो भएको होला उनलाई। केही गर्न पनि नपर्ने, लोकप्रियता पनि बढेको बढ्यै। सडकमा उनलाई पुकार्दै आउ देश बचाउ भन्दै लागेका नारा सुन्दा कहिलेकाहीँ त उनलाई पनि लाग्दो हो- ह्या बित्थामा के जानु, देश बनाउनु भन्या त त्यस्तै हो, बेकारमा कसैको चित्त बुझाउन सकिने होइन। बरु चुप बस्दा नै आनन्द।

हुन पनि अहिले राज्यसत्ता सबै अरुले चलाइरहँदा निस्फिक्री घुमेर केही नगर्दा उनको लोकप्रियता जति बढेको छ, अहिले केही भूमिकामा भएको भए त्यस्तो पक्कै हुने थिएन। नेपाल जस्तो देशमा गर्नेले नै अपजस पाउने हुन्। नगर्नेलाई केही हुन्न।

शनिबारको कार्यक्रम भने रणनीतिक रुपमा पनि रोचक थियो। कार्यक्रम भएको ठाउँ झापा प्रधानमन्त्रीको गृहजिल्ला। त्यो पनि उनका बुबा राजा महेन्द्रले बस्ती बसाएको ठाउँ। कार्यक्रम आयोजना गरेको थियो- बुहारी हिमानीको नाउँमा खोलिएको हिमानी ट्रस्टले।

त्यहाँ ज्ञानेन्द्र, बुहारी हिमानी र नाति ह्रदयेन्द्र पुगेका थिए। सिंहदेवी आधारभूत विद्यालयका ६५ जना विद्यार्थीलाई विद्यालय पोशाक ज्याकेट र पोसिलो खानेकुरा र अनि ३० जना विपन्न तथा अपाङ्गता भएका जेष्ठ नागरिकलाई स्लिपिङ ब्याग हिमानी र ह्रदयेन्द्रले वितरण गरेका थिए।

खासै ठूलो राहत होइन यो, तर समृद्ध र सुखी नारा घन्काएर कुर्सीको लडाइँमा हुँदाखाँदाको झण्डै दुई तिहाई बहुमत भएको प्रतिनिधि सभा संविधानमै नभएको धारा प्रयोग गरेर भंग गरेर गालीको भाषणबाजी मात्रै गर्नेलाई भने ठूलै व्यङ्ग्य हो।

व्यापारी भएकोले ज्ञानेन्द्रले आफ्नो नाफाको धेरै अंश यसरी बाँड्न लोभ गरेका होइनन् भने यतिबेलासम्म हिमानी ट्रस्टले थुप्रै उदाहरणीय काम गरेर यो भन्दा निकै बृहत् रुपमा वाहवाही कमाइसकेको हुन्थ्यो। तर स्थापना भएको थुप्रै वर्ष (१० वर्ष भइसक्यो) भइसक्दा पनि यो ट्रस्ट यस्तै खुद्रामसिना काममा मात्रै लागिरहेको देख्न सकिन्छ जुन पूर्व राजपरिवारको भएको सम्पति, देशव्यापी समर्थकहरुको नेटवर्क, नेताहरुको नालायकीका कारण बढ्दै गरेको लोकप्रियताका तुलनामा ‘हात्तीको मुखमा जिरा’ मात्रै हो।

तर बुझ्नेले बुझे हुन्थ्यो- व्यङ्ग्य गर्न नानाभाँती टुक्का जोडेर मञ्चमा कुर्लिरहनै पर्दैन, यसरी पनि गतिलै व्यङ्ग्य हुने रहेछ!

(फोटो साभार : हिमानी ट्रस्ट)

*यसअघि एभिन्युज टेलिभिजनको वेबसाइटबाट साभार गरिएको भनिएको फोटो उमाकान्त खनालले देशसञ्चारको लागि खिचेको फोटो परेकोमा क्षमा माग्दै हटाइएको छ।

Comments