प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको एक समूहलाई लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। आजै राति उनीहरुको राष्ट्रपति कार्यालयमा शपथ ग्रहण पनि भयो। यो विषयमा जानकारी दिन त्यहाँबाट जारी गरिएको विज्ञप्तिमा संविधानको धारा नै गायब छ।
विज्ञप्तिमा ‘नेपालको संविधान बमोजिम’मात्र लेखिएको छ। संविधानको कुन चाहिँ धारा चाहिँ लेखिएको छैन। पहिले पहिले भए मन्त्रिपरिषद् पुनर्गठन हुँदा धारा नै उल्लेख हुन्थ्यो।
उदाहरणका लागि वैशाख ३१ गतेको यो विज्ञप्ति हेर्नुस्-
त्यतिबेला धारा ७८ को उपधारा १ अर्थात् संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने प्रावधानअनुसार मन्त्री बनाइएका माओवादीबाट आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतलाई सर्वोच्चको आदेश अनुसार मन्त्री पदबाट हटाउन बाध्य हुनुपरेको थियो।
त्यसैले अहिले संविधानको धारा नै उल्लेख नगरी मन्त्रिपरिषद् पुनर्गठन भनेर विज्ञप्ति आयो। खासमा धारा ७६ को उपधारा ९ अनुसार हुनुपर्ने हो। त्यो धारामा यस्तो लेखिएको छ- राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ ।
तर अहिले प्रतिनिधि सभा भंग गरिएको अवस्था छ, राष्ट्रिय सभाबाट मात्रै मन्त्री राख्न मिलेन।
खासमा अहिलेको मन्त्रिपरिषद् पुनर्गठन संविधान अनुसार नै छैन। भएको भए संविधानको धारा लेखिन्थ्यो।
शपथ ग्रहणमा चाहिँ धारा कोट गरिएको छ फेरि त्यही विज्ञप्तिमा। नियुक्तिमा धारा छैन, शपथमा धारा। क्या अचम्म !
को को भए मन्त्री ?
आज जम्मा तीन जना उपप्रधानमन्त्रीसहित १५ जना मन्त्री बनाइएका हुन्। त्यसमध्ये पनि मुख्य केही मन्त्रालयहरु जस्तो गृह, रक्षा आदि प्रधानमन्त्री आफैले राखेका छन्-
1. केपी शर्मा ओली प्रधानमन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; गृह; रक्षा; वन तथा वातावरण; सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि
2. विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ
3. रघुबीर महासेठ उपप्रधानमन्त्री परराष्ट्र
4. राजेन्द्र महतो उपप्रधानमन्त्री शहरी विकास
5. शरतसिंह भण्डारी मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई
6. कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
7. अनिलकुमार झा मन्त्री खानेपानी
8. शेरबहादुर तामाङ मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
9. लक्ष्मणलाल कर्ण मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
10 बसन्तकुमार नेम्वाङ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
11. लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
12. बिमलप्रसाद श्रीवास्तव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
13. उमाशंकर अरगरिया मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
14. चन्दा चौधरी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
15. एकवाल मियाँ मन्त्री युवा तथा खेलकुद
16. चन्द्रकान्त चौधरी राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई
को-को मन्त्री हटे?
उपप्रधानमन्त्री ईश्वर पोखरेल (उनको रक्षा मन्त्रालय केही अघि खोसिएको थियो। उनी बिना विभागीय थिए)
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली (उनको ठाउँमा रघुवीर महासेठलाई ल्याइएको छ)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठी (उनको ठाउँमा शेरबहादुर तामाङलाई ल्याइएको छ। यसअघि पनि उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए। बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने विवादास्पद अभिव्यक्तिका कारण उनले राजीनामा दिनुपरेको थियो। पहिले उनी माधव नेपाल समूहमा लागे पनि पछि गुट परिवर्तन गरी ओली पक्षमा आएका थिए।)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल (उनको ठाउँमा उमाशंकर अरगरियालाई ल्याइएको छ)
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल (उनको ठाउँमा कसैलाई ल्याइएको छैन)
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी (उनको ठाउँमा विमलप्रसाद श्रीवास्तवलाई ल्याइएको छ)
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ (उनको ठाउँमा कसैलाई ल्याइएको छैन)
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफे (उनको ठाउँमा लक्ष्मणलाल कर्णलाई ल्याइएको छ)
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना (उनको ठाउँमा कसैलाई ल्याइएको छैन)
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले (उनको ठाउँमा कसैलाई ल्याइएको छैन)
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो (उनको ठाउँमा चन्दा चौधरीलाई ल्याइएको छ)
युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ (उनको ठाउँमा एकवाल मियाँलाई ल्याइएको छ)
त्यस्तै तीन जना राज्यमन्त्रीहरु : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत, शहरी विकासका रामवीर मानन्धर र उद्योग, वाणिज्य तथा आपूर्तिका विमला वि.क. पनि हटाइएका छन्।
ओलीले नहटाएका मन्त्रीहरु
ओलीले आफ्नो पुरानो मन्त्रिपरिषद्बाट नहटाएका चार मन्त्रीहरु निम्न हुन्-
अर्थमन्त्री विष्णु पौडेल (थमौती भएर उपप्रधानमन्त्रीसमेत भएका छन्)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ
कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ