यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कसले पाउला यसपालि मदन पुरस्कार? नौ पुस्तकको सूची सार्वजनिक

नेपाली साहित्यको सर्वाधिक चर्चित पुरस्कार मदन पुरस्कार यो वर्ष कसले पाउला? फेरि चर्चा सुरु भएको छ। मदन पुरस्कार नेपाली पुस्तक जगतमा एउटा त्यस्तो पुरस्कार हो जुन अधिकांश समयमा विवादमा आउँछ। तर त्यही पुरस्कार पाउन लेखकहरु मरिहत्ते गर्न भने छाड्दैनन्। यो पुरस्कार, पुरस्कार पाएको पुस्तकको चर्चा पनि निकै हुन्छ। ‘मदन पुरस्कार प्राप्त कृति’ भनेर लेखेपछि पुस्तकको बिक्री पनि ह्वात्तै बढ्छ।

पुस्तक बिक्रीको व्यवसायिक पाटोलाई सघाउने गरी मदन पुरस्कार गुठीले परार एउटा निर्णय गरेको थियो– वैशाखको अन्त्यसम्ममा १० वटा पुस्तकको श्रेष्ठ सूची तयार पार्ने र सार्वजनिक गर्ने। तर यो वर्ष पनि १० पुस्तकको सूची सार्वजनिक भएन। पोहोर पनि सात वटा किताबको सूचीमात्र सार्वजनिक भएको थियो।

कुन कुन पुस्तक यस पटक श्रेष्ठ सूचीमा पर्न सफल भएको छ त?

छाउघर (उपन्यास) – राज सरगम

सुदूरपश्चिममै जन्मिएका लेखक सरगमले त्यहाँको समाज र छाउघरको पुरातन प्रथाबारे चासो लागेरै उपन्यास लेखेको बताएका छन्। सुदूरपश्चिमको सामाजिक प्रथा छाउपडीमाथि लेखिएको उपन्यास ‘छाउघर’ फाइनप्रिन्टले बजारमा ल्याएको हो।

दोहाको सिधा उडान (नियात्रा)- जय छाङ्छा

लामो समय कूटनीतिक सेवामा रहेका छाङ्छाले पछिल्लो पटक खाडी मुलुक कतारमा बिताएका वर्षहरूलाई ‘दोहाको सीधा उडान’ मा पस्केका छन्। दुई वर्षभन्दा केही महिना बढी कतारमा बिताएका छाङ्छाले ती अवधिमा कतारका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरू घुमेर त्यो देशको जनजीवन, संस्कृति र आरोहअवरोहलाई नजिकबाट मात्र नियालेनन्, आफ्नो पसिना पोख्न ४५ डिग्रीको मरुभूमिमा पुगेका नेपाली कामदारहरूका दुःख, कष्ट र समस्याहरूलाई पनि केलाउने काममा खर्चिए उनले । ती सबै प्रसंगहरूलाई छाङ्छाले एक–एक गरी केलाएका छन्। पुस्तक साझा प्रकाशनले बजारमा ल्याएको हो।

म स्त्री अर्थात आइमाई (कविता) – सीमा आभास

‘म स्त्री अर्थात् आइमाई’ कवितासंग्रहको शीर्षक नै एक सशक्त नारी रूप हो सीमाको। प्रत्येक शब्दलाई तर्क दिएर पुष्टि गर्नु उनको अर्को सामर्थ्य हो। समाजले हेलित ठानेको अझ उच्चारण नै नगरे हुन्थ्यो भन्ने ‘आइमाई’ शब्दको बारेमा उनको धारणा छ– संस्कृत भाषाअनुसार आइमाई भनेको सभ्यता बुझाउने आर्य शब्दको स्त्रीलिंगी रूप हो। आर्यते पुज्यते शब्दबाट आदर गरिने शब्दका रूपमा आर्य शब्द बनेको छ। आर्य शब्दको अर्थ सभ्य हुन्छ। र, आइमाई शब्द आर्य शब्दबाट बनेको छ। सभ्य आचरण भएकी नारीलाई आइमाई भनिन्छ। यसरी हेर्दा सीमालाई खोज तथा अनुसन्धान गर्ने कविका रूपमा पनि पाउन सकिन्छ। प्रस्तुत संग्रहमा ३७ कविता छन्। शीर्ष कवितामा एउटी आइमाईको चरित्रबाट आमआइमाईको चोखो, बृहत् र सम्मानित तस्बिर उतारिएको छ। पुस्तक मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो।

प्रतिनायक (कथा संग्रह) – हरि अधिकारी

कहिले ‘मदन पुरस्कार पाउने किताब ८० प्रतिशत झुर हुन्छन्’ भनेर त कहिले ‘९५ प्रतिशत किताब घाँस-पराल हुन्छन्’ भनेर तर्क गर्ने हरि अधिकारीको ‘प्रतिनायक’लाई शिखा बुक्सले बजारमा ल्याएको हो । प्रतिनायकमा विभिन्न समयमा लेखिएका १५ वटा कथा छन्।

शुक्रराज शास्त्रीको चस्मा (कथा) – राजेन्द्र पराजुली

राजेन्द्र पराजुली नेपाली कथा लेखनमा स्थापित नाम हो। चालीसको सुरुवाती दशकदेखि कथा लेख्दै आएका उनका चार कथा संग्रह (विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स र शुक्रराज शास्त्रीको चस्मा), ‘अनायिका’ उपन्यास र ‘भ्रष्ट संवेदना’ कविता संग्रह प्रकाशित छन्।  राजनीतिक विषयवस्तु समातेर त्यसभित्रको विकृति, विसंगति र नेताहरुको प्रवृत्तिको भण्डाफोर गर्न माहिर पराजुलीको कथा संग्रह हो, ‘शुक्रराज शास्त्रीको चस्मा’। घटना र चरित्रचित्रणमा बढी ध्यान दिने उनका कथाका पात्रहरु यथार्थ र सजीव लाग्छन्।  यस संग्रहमा २० ओटा कथा  संग्रहित छन्|  पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा (अनुसन्धान) – पुरुषोत्तमलोचन श्रेष्ठ

विनोदराज शर्माद्वारा प्रकाशित यो पुस्तक अनुसन्धान विधाको हो। लामो समयदेखि इतिहास र संस्कृतिको अध्ययन र अनुसन्धान गर्दै आउनुभएका प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठ हालै इतिहास रत्न सम्मानबाट सम्मानित भएका छन्।  नितान्त दुर्लभ मानिने चट्टानलेख, गुहालेख एवं अन्य सम्पदाहरू यस अघि पत्ता लागेको थिएन वा भनौं हाम्रा विद्वान्हरूको ध्यान त्यतातिर गएन । चाँगुको नाकैमुनि रहेको कालिका गुफातिर पनि गएन । उनका लागि किताबका पाना भन्दा पनि यत्रतत्र छरिएर रहेका सम्पदा खुला आकाशमुनिका खुला किताबका खुला पाना हुन् । ती पानाहरू पढ्न स्थलगत अध्ययन नगरी सुखै छैन । कहिलेकाहीँ उनका साथमा मेरा विद्यार्थीहरू पनि पछि लागेर आउँछन् । यसरी दुर्लभ कुराहरू वा भनौं अग्रणी महत्वका कुरा पत्ता लाग्छन् । कोठाभित्रको अध्ययनले यी विश्व–सम्पदा पत्ता लाग्दैनन् । यसरी यस अघि पत्ता नलागेका अग्रणी महत्वका दुर्लभ सम्पदा पत्ता लगाएर उनले चट्टान अभिलेख र अन्य सम्पदा (२०६७) र त्यसैगरी हालै गुहा, गुहालेख, गुहाचित्र र अन्य सम्पदा नामक अन्वेषणात्मक ग्रन्थ लेखेका कारण जोशी रिसर्च इन्स्टिच्यूट,ललितपुरले उनलाई इतिहास–रत्नको सम्मान प्रदान गरेको हो ।

तपन (उपन्यास) – शरद पौडेल

उपन्यासकार शरद पौडेलको तेस्रो उपन्यास हो ‘तपन’। चर्चित उपन्यास ‘लिखे’का स्रष्टा पौडेलको यो उपन्यास ‘लिखे’कै दोस्रो भागका रूपमा पाठकबीच आएको हो। पौडेलका यसअघि ‘लिखे’, ‘सीमानावारि सीमानापारि’ गरी दुई उपन्यास प्रकाशित भइसकेका छन्। उनका गीति नाटक र गीतसङ्ग्रह पनि प्रकाशित छन्। यो उपन्यास साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो।

धृतराष्ट्र (खण्डकाब्य) – घनश्याम कँडेल

प्राध्यापक घनश्याम कँडेलको तेस्रो खण्डकाव्य ‘धृतराष्ट्र’ ऐरावती प्रकाशनले बजारमा ल्याएको हो। अनुष्टुप छन्दमा रचिएको खण्डकाव्यमा ‘कृतज्ञान ज्ञापन’, ‘अन्धत्व चेत’, ‘संवेदनाहीनहरूप्रति’, ‘सत्तास्वप्न’, ‘स्वप्नभङ्ग’, ‘अप्रत्यासी राज्यप्राप्ति’, ‘युद्धको त्रासदीपछि’, ‘समाहार’ शीर्षकका काव्य रचना छन्। कँडेलका यसअघि ‘देवयानी’, र ‘विश्वामित्र–मेनका’ खण्डकाव्यसँगै कविता, समालोचना गरी ११ कृति प्रकाशित छन् । 

साह्रै थोरै कविता लेख्नेभित्र पर्छन्, नवराज। लगभग एक वर्षअघि नुवाकोटबाट प्रकाशित हुने ‘रूपायन’मा छापिएका ‘बुबा’ र ‘पेटभित्र फक्रिएको सूर्य’ उनका सुरुवाती चरणमा छापिएका कविता हुन्। पछि ‘कान्तिपुर’मा प्रकाशित ‘सगरमाथाको गहिराइ’ले उनको परिचय झन् दरियो। उनको कविता लेख्ने शैली नै अजीबको छ। फ्रेम, थिम, इस्यु र स्ट्रक्चर पनि उनी दिमागमै तयार पार्छन्, अनि ऊर्जा पर्खेर बस्छन्। यसको अर्थ हो रोजीरोटीका लागि ‘ओलम्पिया वर्ल्ड कलेज’को टिचिङबाहेक उनको सबै समय कविताकै हो। यस्तै ताल हो भने ‘साहिँला बाजेको फेमिली टर्चर’ यी युवा कविले पनि भोग्नुपर्ने खतरा आउन सक्छ। कविता लेखेर पाउनुभन्दा गुमाउनु बढी हो भन्ने लाग्दो हो परिवारका सदस्यलाई कविको ‘अन्टसन्ट’ व्यवहार झेल्नुपर्दा। उनी हरपल कवितैकविता सोच्छन्, र त जन्मिन्छन् विम्बै विम्बका ती सुन्दर र खिरिला कविता। उनको यो कविता संग्रह फाइन प्रिन्टले बजारमा ल्याएको हो।

अहिलेसम्म क-कसले पाए?
वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो।

वि सं २०७३ : ऐना – रामलाल जोशी
वि सं २०७२ :- ख़ुशी विजयकुमार पाण्डे
वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी – राधा पौडेल
वि.सं. २०७०: दमिनी भीर – राजन मुकारुङ
वि.सं. २०६९: सेतो धरती – अमर न्यौपाने
वि.सं. २०६८: जीवन काँडा कि फूल – झमक घिमिरे
वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद
वि.सं. २०६६: एक हातको ताली – युवराज नयाँघरे
वि.सं. २०६५: अन्तर्मनको यात्रा – जगदीश घिमिरे
वि.सं. २०६४: छापामारको छोरो – महेशविक्रम शाह
वि.सं. २०६३: राधा – कृष्ण धारावासी
वि.सं. २०६२: पल्पसा क्याफे – नारायण वाग्ले
वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली
वि.सं. २०५९: अभिनव संस्कृति कोष – हरिराम जोशी
वि.सं. २०५८: नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५७: अतिरिक्त अभिलेख – दिनेश अधिकारी
वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५५: विसर्जन – लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ
वि.सं. २०५३: सही शब्द – विनोदप्रसाद धिताल
वि.सं. २०५२: सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान – शरदचन्द्र शर्मा भट्टराई
वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) – डा. भवेश्वर पंगेनी
वि.सं. २०४९: पागल बस्ती – सरुभक्त
वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल
वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका – डा. राजेश गौतम
वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति – दौलतविक्रम विष्ट
वि.सं. २०४५: उत्सर्ग – राजेश्वर देवकोटा
वि.सं. २०४४: लिच्छवि संवत्‌को निर्णय – नयनराज पन्त
वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा
वि.सं. २०४२: प्रत्यागमन – कञ्चन पुडासैनी
वि.सं. २०४०: अलिखित – डा. धुवचन्द्र गौतम
वि.सं. २०३९: माधवी – मदनमणि दीक्षित
वि.सं. २०३८: नदी किनाराका माझी – मोहन कोइराला
वि.सं. २०३७: नरसिंह अवतार – जगदीशशमशेर राणा
वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल. करुणाकर वैद्य
वि.सं. २०३५: घामका पाइलाहरू – ध. च. गोतामे
वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२: आगत – भवानी भिक्षु
वि.सं. २०३०: लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य
वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – इश्वरवल्लभ
वि.सं. २०२८: कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजङ्गबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा
वि.सं. २०२७: बेलाइततिर बरालिँदा – ताना सर्मा
वि.सं. २०२५: मङ्गली कुसुम – धर्मराज थापा
वि.सं. २०२५: टिपन-टापन – पारसमणि प्रधान
वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्म बहादुर देवकोटा
वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन : प्याज – शंकर लामिछाने
वि.सं. २०२३: मानव महाकाव्य – मोदनाथ प्रश्रित
वि.सं. २०२३: स्रष्टा र साहित्य – उत्तम कुँवर
वि.सं. २०२२: शिरीषको फूल – पारिजात
वि.सं. २०२१: वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे
वि.सं. २०२१: प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१: नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल
वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा
वि.सं. २०२०: नैषधीय चरित – कोमलनाथ अधिकारी
वि.सं. २०१९: आमाको सपना – गोपालप्रसाद रिमाल
वि.सं. २०१८: नयाँ सडकको गीत – रमेश विकल
वि.सं. २०१७: विस्फोट – भीमनिधि तिवारी
वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी
वि.सं. २०१६: महाकवि देवकोटा – नित्यराज पाण्डे
वि.सं. २०१५: उद्यान – गङ्गाविक्रम सिजापती
वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४: मृत्तिका उद्योग – करुणाकर वैद्य
वि.सं. २०१४: मन – लीलाध्वज थापा
वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी
वि.सं. २०१३: जनरल भीमसेन थापा – चित्तरञ्जन नेपाली
वि.सं. २०१३: हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी

5 comments to कसले पाउला यसपालि मदन पुरस्कार? नौ पुस्तकको सूची सार्वजनिक

  • राज नेपाल

    मदन पुरस्कारको खुंखार बिरोध गर्ने २ जना थिए ! हरि अधिकारी र कृष्ण अविरल ! यसपटक गुठीले हरि अधिकारीको तल्लोस्तरको किताबलाई ९ जनाको सुचिमा राखेर र अविरल प्रकाशक भएको कविता संग्रहलाई पनि ९ जनाको सुचिमा राखिदिएर मुखमा घाँस हालिदिएको छ !
    अहिले उनीहरु नै लाज नमानी र्याल काढीरहेका छन् ! यी २ का पुस्तकले पुरस्कार पाउने हैनन् ! यिनीहरुको स्तर जांच मात्र गरेका हुन् ! अविरल त खासै बोलेका छैनन ! हरि अधिकारी भने दिउँसै सपना देखिरहेका छन् !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • arjun dahal

    DHARAA should be in the list. upset

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Kopil Dahal

    यो पटकको मदन पुरस्कार डा. नवराज लम्सालको धरा महाकाब्यले पाउनुपर्ने हो । तर अचम्म । लम्सालले मदन पुरस्कार गुठीमा पुरस्कारको दाबी गरी दिक्षित बन्धुको पाउमा पुस्तक चढाएनन् की के हो ? सर्ट लिष्टमा पनि परेन त उनको महाकाव्य । नेपाली साहित्यमा महाकाव्यले मदन पुरस्कार नपाएको कति वर्ष भयो हँ ? जानकारी पाम हजूर ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Dr. Banita Thapa

    मदन पुरस्कार पाउने किताब ८० प्रतिशत झुर हुन्छन् र मदन पुरस्कार कमल मणि दिक्षित को बक्सिस हो भन्ने हरि अधिकारीले पनि दिक्षितको पाउमा दुइ प्रति पुस्तक छ चढाएछन, नेपालीहरु सबै पाखण्डी हुन्. नपाउञ्जेल एउटा कुरा पाए अर्कै कुरा, अब हेर्नुछ पुरस्कार पाए भने अधिकारीले लिन्छन कि लिदैनन?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Someone who is already famous will get that prize no matter whether his book worthy or not ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0