यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

जाडो भयो भनेर ग्यास हिटर चलाउनुअघि लाख पटक सोच्‍नुहोला है !


एक हप्ता भयो, माइसंसारमा केही अपडेट नभएको। तपाईँहरुमध्ये केहीले सोध्नु पनि भयो इमेल र मेसेन्जरमा। ठ्याक्कै एक हप्ताअघि शनिबार एउटा गम्भीर दुर्घटना भयो। यो साता त्यसै कारण अस्पतालहरुमा बिताउनु पर्‍यो। लागेको थियो, यो व्यक्तिगत कुराहरु यहाँ नलेखौँ। तर पछि फेरि सोचेँ, लेख्दा यो दुर्घटनाबाट शिक्षा लिएर अरु सतर्क हुन सक्छन्। अघिल्लो शनिबार साँझ पौने ६ बजेतिर जे भयो, त्यसको एउटा प्रमुख कारण यो माथिको फोटोमा देखिएको एलपिजी (ग्यास) जोडेर बाल्ने हिटर थियो। ठ्याक्कै के भयो, थाहा भएन। तर यो ग्यास लिक भएर हुनसक्छ, कोठाभित्र आगो लाग्यो जहाँ बहिनी, ज्वाइँ (इन्जिनीयर दम्पति) र १६ महिनाको भान्जा पनि थियो।

ग्यास सिलिन्डर जोडेर बाल्ने हिटर अहिले निकै चलेको छ शहरबजारतिर। त्यस्तै हिटर बालेर उनीहरु कोठाभित्र बसेका रहेछन्। त्यो शनिबार अलि जाडो बढेको थियो। बच्चा कोठाबाहिर जाने डरले होला, लक गरेछन् कोठा। हिटर बिग्रेको रहेछ। त्यही दिन बनाएर लगेका पनि रहेछन्।

शायद् ग्यास सिलिन्डरबाट हिटर जोड्ने पाइपमा फेरि केही खराबी भयो कि भन्ने अनुमान। लिक भएको ग्यासले कसरी हो आगो टिपेछ। ढोका छेउमै आगो बलेछ। कोठामा कार्पेट लगाइएको थियो। आगोले झट्टै टिप्‍ने खालको। त्यहाँ पनि आगो सल्किहाल्यो होला।

आजभोलि शहरबजारका घरमा सुरक्षाका लागि झ्यालमा ग्रिल लगाउने चलन छ। त्यस्तो ग्रिल कति घातक पनि हुन्छ भन्ने यही दुर्घटनाले देखियो। ग्रिल नहुँदो हो त झ्यालको शिशा फोरेपछि त्यहाँबाट निस्कन सकिन्थ्यो। फलामे ग्रिलले त्यो सम्भव भएन।

घटनाको तीन दिनपछि मुचुल्का उठाउन आएका प्रहरी भन्दै थिए- ग्यास लिक हुँदा प्रेसरले झ्याल ढोका सहजै खोल्न नसक्ने गरी लक पनि हुनसक्छ। आगो लाग्दा ढोका खोलेर बाहिर जान नसक्नुमा ढोका छेउमै आगो दन्कनु कारण थियो कि प्रेसर लक त्यो थाहा भएन।

हाम्रा घरहरुमा विदेशमा जस्तो फायर अलार्म हुँदैन। नत्र आगो लाग्ने बित्तिकै धेरैलाई थाहा भइसक्थ्यो। यो घटनामा भने कोठाभित्रबाट ज्वाइँसहितले ‘गुहार…गुहार…’ भनेर कराउँदा समेत तल कोठामा बस्नेहरुले ‘चोर…चोर…’ कराएको जस्तो पो सुनेछन् र उल्टो ढोका लगाएर बसेछन्।

घरमा नभए पनि नजिकैको पसल र लाम्पाटीको होन्डा सर्भिस सेन्टरमा फायर एक्स्टिङगुइसर थियो। तर आपतकालमा कसैको दिमाग त्यसमा गएनछ। न कसैले त्यहाँ गएर छिटो ढोका फोडेर उनीहरुलाई निकाल्न नै सके।

आगो धेरै दन्कन थालेपछि बाबु, आमा र छोरा कोठाको खाटमा बच्चालाई जोगाएर बसेको प्रत्यक्षदर्शीले देखेका रहेछन्। सोमबार प्रहरीले मुचुल्का उठाउने क्रममा कोठाभित्र पसेर हेर्दा खाट जलेको थिएन। तर खाटमाथिको पर्दा खरानी भएको थियो। धेरै सामान जलेका थिए र कोठा धुँवाका कारण कालो भएको थियो। उनीहरुलाई आगोले हैन रापले पोलेको थियो।

धन्न छिमेकमा एक जना विदेशबाट फर्किएका एक साहसी व्यक्ति रहेछन् जसले ब्ल्याङ्केट पानीमा भिजाएर त्यसलाई ओढेर ढोका फोरेर तीनै जनालाई बाहिर निकालेछन्। त्यतिन्जेल कालिमाटीबाट प्रहरी पनि आइसकेको थियो। प्रहरीले नै भ्यानमा राखेर बहिनी र ज्वाइँलाई सहिद मेमोरियल अस्पताल पुर्‍याएछन्। बच्चालाई भने छिमेकी मध्ये कोहीले कलंकीकै नजिकको अस्पताल भनी नेपाल नेसनल हस्पिटल पुर्‍याएछन्।

शनिबार अलि छिट्टै अफिसबाट फर्किएको थिएँ। घर छिर्ने गल्लीमा प्रहरी र भिड देख्दा अनौठो लागेको थियो। पछि पो थाहा भयो, हाम्रो घर छेउमै डेरा गरी बस्ने बहिनी ज्वाइँको कोठामा पो आगो लागेको रहेछ। झसङ्ग भएँ। त्यति सिरियस घटना होला भन्ने ठानेको थिइनँ। जब बूढीलाई लिएर स्कूटरबाटै सहिद मेमोरियल अस्पताल पुगेँ, तब पो थाहा भो। ज्वाइँ पीडाले चिच्याइरहनुभएको थियो। नर्सहरुले घाउमा मलम लगाउँदै थिए। बहिनी पनि नजिकै अर्को बेडमा। पर्दा लगाएको हुनाले देखिनँ।

५० प्रतिशत जलेको भन्ने कुरा गरे त्यहाँका नर्स र डाक्टरहरुले। तुरुन्तै आइसियुमा राख्नुपर्ने भने। मैले भने यसअघि नै सहिद मेमोरियलको आइसियु कस्तो हुन्छ भोगिसकेको थिएँ। कता लाँदा ठीक हुनसक्ला भनेर मैले केही साथीहरुलाई फोनबाटै सोधेँ। पहिलोपोस्टमा स्वास्थ्य सम्बन्धी रिपोर्टिङ गर्ने सागर बुढाथोकीलाई सोध्दा बर्नको राम्रो त कीर्तिपुर अस्पतालमा हुन्छ भने। तत्काल लगिहाल्न पनि भएन, आइसियु खाली छ कि छैन पनि थाहा पाउनु पर्‍यो। केही साथीहरुलाई फोन गर्दै सोध्न लगाएँ।

पाँच महिनाजति अगाडि यही भान्जालाई थर्मसको तातो पानीले पोल्दा पनि मैले अस्पताल लगेको थिएँ। त्यतिबेला बहिनीले एक जना डाक्टरसँग कुरा गरेको याद थियो मलाई। यस्तो आपतको बेला ठ्याक्कै त्यो डाक्टरको याद आयो मलाई। डाक्टर ध्रुव। तर फोन नम्बर थिएन। बहिनीको डुम्रेका रहेका आमाबुबालाई फोन गरेपछि बल्ल नम्बर पाइयो। फोन गरेँ। उनले पनि कीर्तिपुर अस्पताल नै लग्ने सल्लाह दिए।

पुलिस केस थियो। त्यसैले पुलिसको पनि अनुमति लिनु पर्थ्यो। अस्पतालमा आएका पुलिसलाई अस्पताल सार्न लागेको बताएँ। अस्पतालले आफ्नो बिल क्लियर नभई बिरामीलाई रिफर गरेर नपठाउने रहेछ। साथमा पैसा थिएन। पैसा घरबाट मगाउन्जेल रिफरको कागजात बनाउन लगाइयो।

उता, सानो बच्चा कलंकीकै नेपाल नेसनल अस्पतालको आइसियुमा थियो। त्यहाँ रातभर डाक्टर नहुने रहेछ। इन्हेलेसन इन्जुरी भएको नभएको थाहा नभएको त्यहाँका डाक्टरले बताए। कीर्तिपुर अस्पतालका एक जना डाक्टरको नम्बर मेसेज बक्समा आइपुगेको थियो। कुरा गरेँ। बच्चालाई पनि कीर्तिपुर अस्पताल नै लैजाने कुरा भयो। ज्वाइँका काका आइपुगेका थिए अस्पतालमा। उनैलाई बच्चा कीर्तिपुर अस्पताल ल्याउने जिम्मा दिएर हामी फेरि सहिद मेमोरियल अस्पताल लाग्यौँ।

अस्पताल सार्न लगभग तयारी भइसकेको थियो। तर एउटा समस्या आइलाग्यो। दुई वटा एम्बुलेन्स चाहिने, एउटा मात्र तयार रहेछ। अर्को एम्बुलेन्सको ड्राइभरै रहेनछ। हाम्रो ड्राइभरले पनि नमिल्ने रहेछ। सुरुमा ज्वाइँलाई सार्ने भयो। तर सार्न कठिन हुने रहेछ। बेडबाट तन्नासहितै उचालेर स्ट्रेचरमा राखी त्यहाँबा फेरि उचालेर एम्बुलेन्सको स्ट्रेचरमा राख्नुपर्ने। फेरि एम्बुलेन्स पनि कस्तो ! एउटा लाइट पनि नभएको- मोबाइलको लाइट बाल्नुपर्ने गरी अँध्यारो। एउटा अक्सिजन सिलिन्डर भने रहेछ।

कलंकीबाट कीर्तिपुर अस्पतालसम्म लैजाँदा ज्वाइँ पटक पटक ‘चहर्‍यायो,’ ‘पोल्यो’ कराइरहेका थिए। एम्बुलेन्सका ड्राइभरले सुरुमा भनेको सिकेर मैले बाटो भरी ‘नआत्तिनुस् है, अब आइपुग्नै लाग्यो अस्पताल, आत्तिनु हुन्न है। अब राम्रो उपचार हुने अस्पताल पुग्न लाग्यौँ भनिरहेँ।

ज्वाइँलाई ल्याएको केही समयपछि बहिनीलाई पनि एम्बुलेन्सबाट ल्याइयो। केही समय इमर्जेन्सीमा राखेपछि आइसियु लगियो।

यही बीच फेरि अर्को आपत आइलाग्यो। अस्पतालमा दुई वटा मात्र भेन्टिलेटर रहेछ। बच्चाको भेन्टिलेटर रहेनछ। इमर्जेन्सीमा केही उपचार गरेपछि उनलाई डाक्टर ध्रुवले भक्तपुरको सिद्धि मेमोरियल अस्पताल लगे। यता आमा र बुबाको त्यही रात सर्जरी भयो र भेन्टिलेटरमा राखियो। आमा र बुबा कीर्तिपुरमा भेन्टिलेटरमा, बच्चा भक्तपुरमा भेन्टिलेटरमा।

भोलिपल्ट उपचारमा संलग्न डाक्टरहरुले परिवारलाई गम्भीर अवस्थाको बारेमा जानकारी गराए- ४०+ प्रतिशत डिप बर्न भएको, आगोको राप श्वास नलीबाट फोक्सोसम्म गएको लगायतका अन्य कुराहरु। जोखिमहरु। सम्भावनाहरु र आशाहरु।

बर्नको दक्षता भएको कीर्तिपुर अस्पताल

कीर्तिपुर अस्पतालबारे धेरथोर थाहा थियो। तर पोलेको उपचारका लागि यो दक्ष अस्पताल भएको कुरा आफूलाई परेपछि मात्रै थाहा भयो। एसिड पीडितहरुको उपचार पनि यहीँ हुने गरेको रहेछ। छाला दान पनि यो अस्पतालले स्वीकार गर्ने रहेछ। मदनकृष्ण र हरिवंशले मृत्युपछि छाला दान गर्ने वाचा गरिसकेका रहेछन्।

हामी नेपालीलाई आइसियुमा रहेको बिरामीलाई पनि भेट्न जानु पर्ने हेर्न जानु पर्ने बानी। प्रवेश रोकेर आइसियु म्यानेजमेन्ट चाहिँ यहाँ गर्न नसकिएको रहेछ भन्ने त्यहाँ बस्दा लाग्यो। हतारमा कीर्तिपुर अस्पताल ल्याउने भनी गरिएको डिसिजन उचित रहेछ। कतिपय अस्पतालले त बर्न केस स्वीकारै नगरी सीधै यही अस्पतालमा रिफर गर्ने समेत रहेछ। पछि पो थाहा भयो।

आगोले पोल्दाको उपचार

अरु बेला थाहा नभएको, वास्ता नभएको कुरा आफैलाई परेपछि थाहा भयो। आगोले पोल्दाको उपचारमा पहिलो ६ घण्टा निकै क्रिटिकल हुने रहेछ। यसरी पोल्दा शरीरको पानी गुम्ने रहेछ र त्यसको म्यानेजमेन्ट सलाइन पानीले गर्नुपर्ने रहेछ। कति प्रतिशत शरीर जलेको छ, त्यो र बिरामीको वजन हेरी एउटा सूत्र लगाएर हिसाब गरी पहिलो ६ घण्टामा त्यति पानी दिनु पर्ने रहेछ। सुरुको अस्पतालमा लग्दा र त्यहाँबाट कीर्तिपुर अस्पतालमा सार्दा त्यो म्यानेजमेन्ट हुन सकेनछ। अर्थात् जति पानी दिनुपर्ने हो, त्यति दिन सकिएनछ। थाहा नभएर।

एयर एम्बुलेन्सको धन्दा

केही डाक्टर साथीहरुसहित हामीले बेटर अप्सन खोज्ने क्रममा मुम्बईको नेसनल बर्न सेन्टर लैजान सकिने सल्लाह पाएका थियौँ। त्यसका लागि एयर एम्बुलेन्स जरुरी हुने। आइतबारको दिन हामीले एयर एम्बुलेन्स खोज्ने क्रममा थाहा पायौँ- यो त ठूलो दलालीको धन्दा रहेछ। पैसा पनि साह्रै महँगो ४० लाखसम्म भन्ने रहेछन्। दलालहरुको हुलबाट मान्छे खोज्न एकदमै गाह्रो हुने रहेछ। नेपालमा एउटा पनि एयर एम्बुलेन्स रहेनछ। सबभन्दा नजिकको भारतको दिल्लीबाट रहेछ। महँगो पर्ने उत्तिकै। इन्जिनीयर दम्पति भएका कारण इन्जिनीयरिङ संघसंस्थाहरुले सहयोग रकम पनि जुटाएका थिए। तर केही डाक्टर साथीहरुबाटै तत्काल मुम्बई लैजानु प्राक्टिकल नहुने सुझाव आएपछि बहिनीका अमेरिकामा रहेका भाइ र बहिनी नआउन्जेल त्यसलाई स्थगित राख्यौँ।

र, संघर्ष सफल भएन

कीर्तिपुर अस्पताल बर्नको राम्रो उपचार हुने अस्पताल भए पनि यहाँ डायलासिस भने नहुने रहेछ। यो अभाव हामीलाई निकै खट्कियो। बुधबार हामीलाई ज्वाइँको डाइलासिस गर्न लैजानु पर्ने खबर दिइएको थियो। त्यही रात १ बजे भेन्टिलेटरमा जीवनसितको संघर्षमा पराजित भए पुष्करराज जोशी।

त्यसपछिको स्थिति बयान गर्न मिल्ने छैन। केही नभनी अघिल्लो दिनै महेन्द्रनगर, कञ्चनपुरबाट बोलाइएका वृद्ध भइसकेका बाबु र आमाले आर्यघाटमा एक्कासी कान्छो छोराको शव देख्नुपर्दाको स्थिति कसरी पो बयान गर्नु ! श्रीमती र नाबालक छोरा भेन्टिलेटरमा संघर्ष गरिरहेका बेला आगोका कारण जीवनसितको संघर्षमा पराजित भएपछि वृद्ध बाबुले दागबत्ती दिई आगोमै खरानी पारेको दृश्यको बयान पो कसरी गर्नु !

भान्जा प्रयान अहिले भेन्टिलेटरबाट निस्किसकेका छन्। अब इन्फेक्सनबाट जोगाउन सके उनको अवस्था खतरामुक्त छ। उनकी आमा, सडक विभागमा इन्जिनीयरका रुपमा कार्यरत बहिनी अप्सरा श्रेष्ठ अझै मेडिसिटी अस्पतालको आइसियुमा भेन्टिलेटरमा छिन्। उनलाई हामी सबैको स्वास्थ्य लाभको कामना, प्रार्थनाको समेत खाँचो छ।

होस गरौँ

सहरमा धेरै मृत्युको कारण मोटरसाइकल र स्कूटर दुर्घटना हो। त्यसो भन्दैमा दुई पाङ्ग्रे सवारी साधन नै नचलाउने, नबस्ने भन्ने कुरा भएन। विमान दुर्घटना हुँदैमा विमानमै नबस्ने भन्ने कुरा पनि भएन। तर ग्यास हिटर चलाउँदा खेरी कम्तिमा सुरक्षाको उपाय चाहिँ अपनाउँ है। यति लामो गन्थन लेखिसकेपछि मेरो तपाईँहरुलाई अनुरोध यही छ। सोच्नुस् र पूर्व तयारी गर्नुस्। कोठामा केही भइहाले आपतकालीन उपाय के के छन्? कतै तपाईँको झ्यालमा पनि ग्रिल त छैन? छ भने आगो लागे वा अन्य केही आपतकालीन अवस्था आइलागे के छ उपाय? के हुन सक्ला, सोच्नुस् है।

29 comments to जाडो भयो भनेर ग्यास हिटर चलाउनुअघि लाख पटक सोच्‍नुहोला है !

  • रविराज दंगाल

    साह्रै दुखद समाचार | हार्दिक समवेदना !

    उपचाररत् आमा र बच्चा दुबैलाई शीघ्रातिशीघ्र स्वास्थ्यलाभ होस् | हृदयदेखि नै शुभकामना र प्रार्थना !

    जनचेतनाका लागि लेख लेख्नुभएकोमा धन्यवाद |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • बासु

    उमेशजी,
    यो दुखद घटनाकोलागी तपाईप्रति मेरो हार्दिक समवेदना छ | बालक र आमाको स्वास्थ्यमा यथाशिघ्र सुधार आओस भन्ने पनि कामना गर्छु |
    यस्तो दुखद घडीमा पनि तपाईंले जनहितको बारेमा सोचेर चेतनामूलक यो ब्लग लेख्नु भयो | आशा छ, धेरैले यसबाट ज्ञान लिनेछन् | तपाईंको यो सत्कार्य प्रशंसनीय र सह्रानीय छ |
    फेरि पनि मेरो समवेदना तथा कामना स्विकार्नु होला |

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • वल

    अत्यन्त दुखद| हार्दिक समवेदना| अहिले उपचारार्थका लागि शीघ्र स्वास्थ्यलाभको कामना र प्रार्थना|

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • यम थापा

    सारै दु:खद खबरले मर्माहत बनायो मृतक प्रती हार्दिक समबेदना घाइतेहरु लाई सिघ्र स्वास्थ्य लाभको कामना

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Gyanendra Acharya

    umesh jee, we are so sorry to know this sad news. we wish quick recovery of baby’s health. our thought and deep condolences to those departed souls. RIP.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • देबेन्द्र बस्नेत

    सालोक्ये जि, तपाई को ब्लग दिनको एकपटक सधै हेर्छु । येत्तिका दिन अपडेट नहुदा कि बाहिर हुनुहुन्छ कि बिरामी हुनुहुन्छ भन्ने सोचेको थिए। सारै दुख लागेको छ। मृत आत्माको चिर शान्तिको कामना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना।
    नेपालमा ब्यापारीहरुले कुनै पनि सामान बेच्दा राम्रो पक्ष मात्रै जानकारी गराउछन। शम्भाब्य जोखिम को जानकारी कहिले गराउदैनन या उनिहरुलाइ नि थाहा हुदैन।
    मेरि बहिनी पनि पाँच बर्ष अघि आजकै दिन ग्यास गिजरमा नुहाउदा बाथरुममा निशासिएर आफ्नो ज्यान गुमाउन पुगेकी थिइन ।

    हाम्रो देशमा जिबन सारै सश्तो छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • Raju Adhikari

    Very sad news. Heart felt condolences to bereaved family.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Bapu

    अत्यन्तै दुखद घटना घटेछ । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोकसम्तप्त परिवार तथा आफन्तजनलाई यस दुखद घडीमा ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन् । साथै घाईतेजनहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Sharad

    दु:ख लाग्यो! समबेदना सालोक्यजी!
    – शरद

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Bishnu Subedi

    अत्यन्तै दुखद घटना घटेछ । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोकसम्तप्त परिवार तथा आफन्तजनलाई यस दुखद घडीमा ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन् । साथै घाईतेजनहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • jitu

    दुखद घटना, अप्सरा र पुस्करको बैकुण्ठ मा बास होस् |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • sahas

    यो विपतको बेलामा समबेदना प्रकट गर्न चाहन्छु र शीग्र स्वास्थ लाभको कामना गर्छु |

    नेपालको संबिधानले स्वास्थ लाइ नागरिकको मौलिक हकको रुपमा ब्याख्या गरेपछि पनि किन हाम्रो समाजमा स्वास्थ प्रति अझै सम्म पनि बिमा वा अन्य बैकल्पिक व्यवस्था छैन ? युरोप को कुरा छाडी दिउ स्वास्थ्य को लागि अत्यन्त्र नराम्रो बिकसित देश भनि प्रख्यात अमेरिका सम्म पनि स्वास्थ बिमा छ र त्यो बापत पहिले बिरामीको उपचार हुन्छ अनि मात्र बिमा पछाडिको रकम किस्ता बन्दीमा भुक्तानी गर्नु पर्ने हुन्छ |(इंडियाको बारेमा थाहा भएन [बिशेष गरि दक्षिणी इंडिया बारे]) यदि बिरामीले त्यो रकम भुक्तानी गर्न सक्दैन भने उसले विभिन्न सस्थाबाट त्यसको भुक्तानी गर्न सक्छ |

    हामी भन्न त समाज बाद को खुबै कुरा गर्छौ (साम्यवादको कुरा छोडौ) तर नागरिकको मौलिक हक को पनि राम्रो व्यवस्था छैन यो देशमा | खोक्रो आदर्शको कुरा छोडी दिउ न्युनतम व्यवस्थाको लागि पनि केहि गर्न सकिन्दैन भने |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Priksha

    Even gas water heater which is used in bathroom is very dangerous. Once my sister was having bath and she is unconscious and luckily mom suspected and we broke the door she was near death when we took her to hospital we came to know there are so many people who die because of this water heating system in bathroom so even gas water heating system in bathroom is very dangerous.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Gopal Gurung

    Just wish “the lesson was learnt in a defferent circumstance”. My Heartfelt condolences to the bereaved and may the God be with grieving family at this difficult hour.

    May the recovery be a speedy one, of those injured ones….

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sunil, London

    हृदय विदारक घटना हुन पुगेछ, यो खबरले अति नै मर्माहत तुल्यायो ! नहुनु पर्ने कुरा हुन पुग्यो , मृत आत्माको चिर शान्तिको कामना का साथै घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ! साथै यस प्रकारको हिटर र gas boiler प्रयोग गर्ने सबै जनालाई यो घटना बाट केहि सिक्न अनुरोध गर्दछु !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ratna Thapa

    बढो नराम्रो समाचार पढियो, सालोक्य जी, हामि चाहिं नया समाचार आर्टिकल आउँन कति ढिलो भनेर गनगनाउन्दै कमेन्ट लेख्यौं, क्षमा गर्नु होला; यस्तो आफत आइ परेको रहेछ तपाईं र आफन्तलाई; | हुने हुनामी मेटिन्दैन रहेछ, ज्वाई सापको आत्माको चिरशान्तिको कामना गर्दछु | छोरालाइ शीघ्र स्वास्थ्य लाभ होस् | तपाइंको लेखले हिटर बाल्नेहरुलाई राम्रै चेतावनी दिएको छ भने हामीलाई चाहिं हाम्रो देशको राजधानीको अस्पताल, एम्बुलेन्स, आइ सी यू, उपचार र दिक्कलाग्दो समस्याबारे यथार्थ ज्ञान पनि भयो | अर्को कुरा, यस्तो डिजिटल युगमा र ठुल्ठुला उपलव्धि बखान गर्ने आइटी फर्महरुले अब तुरुन्तै नया प्रोजेक्ट शुरु गर्नु पर्ने देखिन्छ, त्यो के भने नेपाली गूगल | नेपाल राष्ट्रभरीको सर्च एंड फ़ाइण्ड सूचनाहरुको सेवा उपलव्ध भए खोजेको बेलामा डाक्टर, उनको सम्पर्क फोन नम्बर, अस्पतालहरुको लाइभ अवस्था, आदि आदि भेटिए कसैको ज्यान बच्ने छ भने समय र पैसा पनि बच्ने छ | NTC ले केही वर्ष अघी त्यस्तो अवधारणा निकालेको थियो जस्तो लागेको थियो, तर वर्षे पिछे हाकिम फेर्ने चक्करमा फसेको त्यसले केही गर्न सकेन | ल्याण्डलाइन फोन होस् वा मोबाइल फोनहोस् त्यसको itemised call डिटेल त अहिले सम्म दिनु सकेन उपभोक्ताहरुलाई |
    अन्तमा तपाइंलाई आइ परेको दुखद घडी सम्झेर दुक्ख र समवेदना व्यक्त गर्दछु |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • PC

    अत्यन्त दुखद र कहालीलाग्दो खबर | तपाइको आफन्त पर्नु भएछ, निकै दुख: लाग्यो | अरु त के नै गर्न सकिन्छ र, हार्दिक समबेदना ब्यक्त गर्न बाहेक | मृतात्माको चीर शान्तिको कामना | बहिनी र भान्जाको पूर्ण स्वास्थ्यलाभ होस् यहि कामना |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Amrit Koirala

    dear salokya,
    My condolences.
    Bahini ra bhanja ko lagi ptarthana gardai chaun.
    Thank you for taking time to caution many of us.
    We feel with you.

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • कस्तो दुखद घटना घटेछ! मृतक को आत्मा को चिर शान्ति !

    नेपालमा घरहरुमा fire alarm system नहुदा यो समस्या भयो. नत्र त कम्तिमा नि छिमेकीहरुको गुहार त पाइन्थ्यो.

    एस्तो घटना अरु कसैकोमा पनि घटना सक्छ. पहिले नै साबधान हुनु जरुरि छ. सालोक्य सरको यो लेखले ठुलो शिक्षा दिएको छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • सरोज

    अत्यन्त दुखद् घट्ना , हो हामी इन्जिनीयर साथी हरु ले असोसिएसन मार्फत केहि सहयोग पनि जुटाएका थियौ तर भाबी लेखा सर लाइ बचाउन सकिएन , दिदी भान्जा को सिघ्र स्वास्थ लाभ को कामना

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • नेपाली हृदय

    साह्रै दुख लाग्यो ! शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ! बिधि को बिडम्बना भनौ कि के भनौ ……..यी हरफहरु पढ्दा आफ्नै हृदय चहर्यायो …… “यो घटनामा भने कोठाभित्रबाट ज्वाइँसहितले ‘गुहार…गुहार…’ भनेर कराउँदा समेत तल कोठामा बस्नेहरुले ‘चोर…चोर…’ कराएको जस्तो पो सुनेछन् र उल्टो ढोका लगाएर बसेछन्।”

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • arjun

    सारै दुखद घटना घटेछ , हार्दिक समबेदना . अब बच्चा र आमाको शिघ्र स्वास्थ्य लाभ होस् भनि भगवान पशुपति नाथ संग प्रार्थना गर्दछु .

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • SUSHIL

    दुखद घटना घटेछ, अनि काठमाडौँका छिमेकीहरु….

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • प्रविण कुमार के.सी.

    अत्यन्तै दुखद घटना घटेछ । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोकसम्तप्त परिवार तथा आफन्तजनलाई यस दुखद घडीमा ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन् । साथै घाईतेजनहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • विष्णुप्रसाद गौतम

    महत्वपूर्ण जानकारीको लागि धन्यवाद। त्यो दुर्घटनाबारे जानकारी भएर पनि कसरी भयो भन्ने जान्न साह्रै मन लागेको थियो, थाहा लाग्यो र तपाईंकै बहिनी पो भन्ने थाहा पाउँदा फेरि थप दुःख लाग्यो। बहिनी र भाञ्जाको शीघ्र स्वास्थ्य लाभको कामना।
    “बिल भुक्तान नगरी केही गर्न धरी नदिने” अस्पतालको व्यथा मैले पनि एकपटक भोगेको छु। त्यस्तो बेला त नरकलोकका आततायी दैत्यहरूकै झल्को पाइन्छ। स्वास्थ्यमा व्यापारीकरणको मार एउटा कुरा हो तर यस्तो नारकीय दुष्चक्रबाट मुक्ति पाउने केही न केही प्रतिवन्धात्मक व्यवस्था त गर्नै परेको छ। अस्पताल भनेको ज्यान बचाउन जाने ठाउँ हो कि कसैको केही हजारको लागि ज्यान बन्धकीमा राखेर मृत्यु अँगाल्न जाने ठाउँ?

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Shankar

    सारै दुखद घटना घटेछ , हार्दिक समबेदना | मान्छेले सतर्कता अपनाए धेरै गर्न सक्छ | तैपनि पाइलै पिछे मानिस दुर्घटना को खतरा मा बाचेको हुन्छ | कतिका लागि उसको जन्म नै दुर्घटना जस्तो लाग्छ |
    सबारी साधन मा दुर्घटना हुने भएर बिमा न गरि चलाउन पाइन्न, मानिस मर्ने प्राणि भएकोले आफन्त को बिजोग न होस् भनेर जिबन बिमा पनि गर्छ , तर पनि अचम्म यो छ नेपालि नेताहरु कहिले मोर्नु न पर्ने जस्तो गरेर एक पछि आर्को रास्ट्र घात गरेको स्पस्ट देख्न सकिन्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • harihar sharma

    हाम्रो मा emergency exit भन्ने चिज नै हुन्न .
    दुख लाग्यो .

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • madan bajracharya

    दुखद घटना/ सहयोग र उपचार होईन मात्र सहानुभाव मात्रै पाउन सक्ने हामि अ…../ दुर्घटना बिना कारण हुँदैन; मेरो बिचारमा त् आकस्मित र भवितव्य भन्ने केहि पनि हुँदैन सबै कुनै न कुनै कमजोरीकै कारणले दुर्घटना हुन्छ/ ग्यासको शिलिंदर पड्केर धेरैको ज्यान गईसक्यो घाईते र अपाङ्ग भैसक्यो/ कारण सबैलाई थाह छ ग्याश शिलिन्दर जत्ति सुरछित हुनु पर्ने थियो त्यो छैन, नागरिकको जिउ ज्यान सिट सम्भंदित कुरामा पनि व्यक्तिले लाभको निमित जे पनि गर्दै आयको छ; तर तेस्तालाई कानुननै लाग्दैन/ धेरै अघिको कुरा होईन हामीले सुने पढेकै कुरा ग्याश शिलिन्दरको धन्दा गर्ने गराउने सिन्डिकेटको संदस्यले लामो समय देखि गैरकानुनी तरिकाले कामै नलाग्ने ग्याश शिलिन्दरको पिंध फेर्ने गर्दै आयको थियो/ तापनि उसलाई केहि सजाय नै भयन/ कानुन नलाग्ने राजा हुने ब्यबस्था फालेर अपराधीलाई कानुन नलाग्ने ब्यबस्था रोज्यौं/
    यहि ब्यापारी यहि ब्यबस्था हो भने अब हामि यस्तो दुर्घटना बात सुरछित हुने हो भने सके सम्म ग्यास प्रयोग नै नगर्ने हो/ तेस्को लागि सरकारले नै बिकल्प दिन सक्नु पर्छ/ दिन सक्दैन भने:
    ०१. ब्यबशाईक यातायातको साधन बिस बर्ष तोके जस्तै ग्यास शिलिन्दरको पनि प्रयोग गर्न सक्ने अवधि तोक्नु पर्छ/
    ०२. यातायातको साधन को परिछ्यन गरायर तेस्मा पास भयको स्टिकर राख्ने पर्ने गरे जस्तै हरायक ग्याश शिलिंदरमा पनि तेस्तै ब्यबस्था गर्नु पर्छ/
    ०३. ग्याश शिलिन्दरमा कमजोरी भयकोले दुर्घटना भयमा ग्याश शिलिंदरको ब्यबशाही जिम्मेवार हुने कानुन बन्नु पर्छ/

    हाम्रो देसको अस्पतालको बारेमा कुरा गर्नुको कुनै अर्थनै छैन/ अब पोलेको घाउको उपचारको बारेमा “पत्र्याउनुस नपत्याउनुस” जस्तै कुरा/ काठमान्डू को १७ वडा टोलमा भाई तवा भन्ने नकर्मी थियो उहाले नराम्रो सिट पोलेको घाउको उपचारको निमित मल्हम बनाई दिन्थ्यो र त्यो मल्हमले पोलेको घाउ आस्चर्य जनक तरिकाले छिटै निको बनाउथ्यो र दाग पनि मिताईदिन्थ्यो/ त्यो औषधि प्रयोग नगर्ने १७ वडामा सायद कुनै छैन नै होला/

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)