यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

सम्झना वैशाख ११ को : सेनाले कर्फ्यु तोड्नेहरुलाई पहिला त्यता नजानुस् भनेर हात जोड्यो, त्यसपछि बाटो छोड्यो

आज वैशाख ११। लोकतन्त्र दिवस। राजा ज्ञानेन्द्रले सात दल र माओवादीको आन्दोलनको माग अनुसार विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने घोषणा गरेको दिन। तीन दिनमा यो दोस्रो शाही घोषणा थियो। राजाको पहिलो घोषणापछि आन्दोलन झन् चर्किएको थियो। कर्फ्यु तोड्दै प्रदर्शन हुन्थे। त्यस्तै एउटा कर्फ्यु तोडेर आएको जुलुसमा म पनि मिसिएको थिएँ। कालिमाटीमा पुग्दा त्यहाँ सेना तैनाथ थियो। सेनाले त्यहाँ दमन गरेको भए कति जनाको ज्यान जान्थ्यो होला। शायद् म पनि जिउँदो रहन्थे कि रहन्थिनँ शंका छ। तर त्यो जुलुसलाई सेनाका अधिकारीले राम्रोसँग ह्यान्डल गरे। पहिला हात जोडेर कर्फ्यु नतोड्न अनुरोध गरे। बल्खुतिर गइदिनुस् भने। नमानेपछि सेना आफैले बाटो छोडिदियो। त्यतिबेला ३ मेगापिक्सेलको एउटा झुर क्यामेरा थियो मेरो हातमा। लिमिटेड भिडियो खिच्न सक्ने कति पो हो एमबीको कार्ड। त्यसैबाट यो ऐतिहासिक क्षणको भिडियो खिच्दै थिएँ। हेर्नुस् त्यो ऐतिहासिक क्षणको भिडियो।


त्यतिबेलाको ब्लग

कीर्तिपुरबाट आउने जुलुस रत्नपार्क जाने कार्यक्रम बिहानै थाहा पाइसकेको थिएँ। त्यो जुलुस हाम्रै घरबाहिर भएर जान्छ भन्ने लागेको थियो र त्यसै जुलुससितै आज त म पनि कर्फ्युको अवज्ञा गर्छु भन्ने सोच्दै थिएँ। अचानक बाहिर कोलाहलको आवाज आयो। यसो झ्यालबाट हेर्छु त हजारौंको मानवसागर कर्फ्यु तोड्दै कुद्‍दै आइरहेका। हतार-हतार आफ्नो क्यामेरा लिएँ, भ्वाइस रेकर्डर लिएँ र जुत्ता लगाउँदा समय लाग्ने भएकोले चप्पल नै लगाएर बाहिर कुदेँ।

अहो…ऐतिहासिक दृश्य। हजारौंको भीड कलंकीबाट आइरहेको। मान्छे नै मान्छे जताततै। बाबाबा…..!!! त्यसपछि म पनि उनीहरुको साथमा लागेर अगाडि बढेँ। साथमा भाइ पनि थियो। उसले नै भिडियो ब्लगमा देखिने मैले बोलिरहेको दृश्य खिचेर सहयोग गरिदिएको हो।

मलाई गौरव लागिरहेको थियो कि म यस ऐतिहासिक दृश्यको साक्षी बन्दैछु। हिजोको चक्रपथमा मानव सागर प्रत्यक्ष हेर्न नपाउँदा भने निकै दुःख लागेको थियो। सोल्टीमोडदेखि कालिमाटी तरकारी बजारसम्म आन्दोलनकारी नै आन्दोलनकारी थिए। कर्फ्यु भन्ने शब्दलाई नै उपहास गर्ने गरी। महिला, बालबालिका, वृध्दवृध्दा, युवायुवति सबै थिए त्यो जनसागरमा। उनीहरुमध्ये धेरैले चर्का नारा लगाइरहेका थिए। केही भने गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ गीत गाउँदै नाचिरहेका थिए।

त्यो मानवसागरलाई कालिमाटी तरकारी बजारअगाडि सुरक्षाकर्मीले रोकेर राखे। अगाडि प्रहरी थियो। पछाडि सेना थिए- सशस्त्र सेना। जुलुस शान्तिपूर्ण थियो। मुठभेड गर्ने उसको मूड थिएन। बरु नारा लगाउँदै थिए- आर्मी पुलिस दाजुभाइ, सहयोग गरौं हामीलाई। एउटा ट्रक आयो र त्यसबाट केही सैनिकहरु झरे। अनि झरे सेनाको कमाण्ड गरिरहेका अधिकारी पनि। म चिन्दिनँ उनलाई। तर उनले निकै सं‍यम अपनाएका थिए। हात समेत जोरेर हाँस्दै आन्दोलनकारीसित हात पनि मिलाउँदै उनले निकै अनुनय विनय गरे, हामीलाई अप्ठ्यारो पार्ने काम नगरिदिनुस्। केहीले त्यसो भए हामी यहीँ धर्ना बस्छौं भन्दा उनले हुन्छ बस्नुस् भने। तर भीड कहाँ मान्थ्यो र धर्ना बस्न। पछाडि मानवसागरमा मान्छे थपिएको थपियै थिए।

सेनाका ती अधिकारीले बल्खुतिर जानुस् बरु भनेर प्रस्ताव पनि राखे। तर अहँ मानेनन्। आर्मी-पुलिस दाजुभाइ, सहयोग गरौं हामीलाई भन्ने करुण नारा घन्काउँदै रहे उनीहरुले। केहीले भने शान्ति ल्याउनु पर्‍यो भने। केहीले तपाईँहरुको ज्यान बचाउनलाई हामी गोली खान तयार छौं भनेर सुरक्षाकर्मीहरुलाई करुण कुरा सुनाए। सुरक्षाकर्मीहरु पनि मुठभेड गर्ने मूडमा पटक्कै थिएन। उनीहरुलाई पनि मनमा नारा लगाउँ जस्तो भइरहेको होला, तर ड्युटीमा बसेका कारण मलीन अनुहार, अन्यमनस्क भावमा बन्दूक बोकेका थिए।

भीडले मान्दै नमानेपछि र निकै शान्तिपूर्ण रुपमा करुण पुकार गरिरहेपछि सेनाका ती अधिकारीले प्रहरीलाई पछाडि हटन लगाए। त्यसअघि प्रहरीका एक अधिकारीले पनि प्रदर्शनकारीहरुसित हात जोडेर अनुरोध गरेका थिए अगाडि नबढिदिनुस् भनी। प्रहरी पछाडि हटेको देख्दा मलाई अब के गर्न लागेको होला जस्तो लागेको थियो। प्रहरीपछाडि हटेपछि उनले सेनालाई पनि पछाडि हटन भने। बिस्तारै सेनाका जवानहरु हात हल्लाउँदै पछाडि सरे। सेना महेन्द्रको शालिक भएको ठाउँतिर छेउ लागेर बस्यो। अनि खुल्ला बाटोमा आन्दोलनकारीहरु विजयी भावमा कुदे।

यो एक पाटो मात्रै थियो सुरक्षाकर्मीको। ती सेनाका अधिकारीको त स्वयं प्रदर्शनकारीले पनि प्रशंसा गरेका थिए। उनीहरुले मलाई भन्दै थिए- उहाँको अनुहार राम्रोसँग खिचेर राख्नुस् है। भोलिपर्सि लोकतन्त्र आउँदा काम लाग्छ भनेर। तर यो जुलसको पछिल्लो भागलाई भने कलंकीमा नै रोकेर सुरक्षाकर्मीले दमन गरेछ। गोली, लाठी, अश्रुग्यास बर्साउँदा दर्जनौं घाइते भएछन्।

तर कालिमाटीमा भने सेनाको घेरा तोड्दै आन्दोलनकारीहरु अगाडि बढे। टेकुमा पुग्दा मैले एक जना आन्दोलनकारीको हातमा ए फोर कागजमा छापिएका केही कुरा पढ्दै गरेको देखेँ। पूर्ण क्रान्ति केका लागि हो कि के हो त्यस्तै शीर्षक थियो र तलपट्टी हेर्दा माअ‍ोवादीको उपत्यका ब्युरोको वक्तव्य रहेछ। मैले त्यो वक्तव्यको पूरा बेहोरा हेर्न त पाइनँ, तर त्यो भीडमा निकै जनासँग त्यो वक्तव्य रहेछ जस्तो लाग्यो।

जुलुस कतातिर जान्छ भन्ने कसैलाई थाहा थिएन। पछि लाग्दै गयौं हामी पनि। बाटोमा निकै पटक कलंकीबाट एम्बुलेन्सहरु अस्पतालतर्फ लगिँदै थिए। आन्दोलनकारीहरु बाटो भरी रहेका कारण एम्बुलेन्सलाई जान गार्‍हो भइरहेको थियो। तर आन्दोलनकारीहरुले एम्बुलेन्सको साइरन सुन्ने बित्तिकै बाटो छाडिदिन्थे। कुनै एम्बुलेन्सले भने माइकिङसमेत गरिरहेको हुन्थ्यो- साथीहरु, हामी कलंकीबाट घाइते लिएर आइरहेका छौं, कृपया बाटो खुला गरिदिनुहोला भन्ने व्यहोराको।

टेकु पुग्दा चाहिँ अब फर्किउँ कि क्या हो जस्तो लागिसकेको थियो मलाई। तर ऐतिहासिक जुलुसको एक भाग हुनुको गौरव खेर पठाउन मन लागिरहेको थिएन मलाई। त्यसैले अगाडि नै बढेँ। एकजना आन्दोलनकारीसित कुरा गर्दा उनले टुँडिखेलतर्फ जाने हो भनेर भनेका थिए। तर हामी त्रिपुरेश्वरतर्फ आइपुग्दा देख्यौं त्यहाँ ५ ट्रक सेना एउटा बख्तरबन्द गाडीले छेकेको रहेछ बाटो। अगाडि भने जनपथ प्रहरी थिए। त्यसको पछाडि सशस्त्र थिए। हजारौंको मास भए पनि त्यो सार्‍है शान्तिपूर्ण थियो। उसको मुठभेड गर्ने कुनै मूड थिएन। त्यसैले त्रिपुरेश्वरबाट सुन्धारातर्फ नलागी जुलुस सीधै थापाथलीतर्फ लाग्यो।

यो त्यही त्रिपुरेश्वर थियो जहाँ केही बेरअघि मात्रै अन्धाधुन्ध गोली चलाइएको थियो र सयौं घाइते भएका थिए। त्यसको रुप अझै त्यहाँ देखिन्थ्यो। मान्छेका चप्पल, जुत्ता, महिलाहरुका जुत्ता पनि त्यहाँ छरपस्ट देखिन्थे। प्रहरी र सेनाले कर्फ्यु तोडेर आएको भए पनि केही गरिरहेको थिएन। उनीहरुको काम राजदरबारनजिकैका संवेदनशील स्थानमा जुलुसलाई पस्नबाट रोक्नु मात्र जस्तो देखिन्थ्यो। त्यसैले उनीहरु चुपचाप हेरिरहेका थिए।

त्रिपुरेश्वरतिर पुग्दा पानी पर्न थाल्यो। अ‍ोत लाग्ने विचार थियो तर लागिएन। प्रहरी र सेना पनि अ‍ोत लाग्दै थिए।

जुलुस अझै अगाडि बढ्दै माइतिघरतर्फ मोडियो। सेनाको भद्रकालीमा रहेको ब्यारेक र सिंहदरबारतर्फ जाने बाटोमा निकै ठूलो सुरक्षा घेरा थियो। सिंहदरबारतिर जाने ठाउँमा बख्तरबन्द गाडीहरु निकै थिए। यहाँ पनि अगाडि जनपथ, पछाडि सशस्त्र र सबैभन्दा पछाडि चाहिँ सेना देखिन्थे।

बबरमहलसम्म पुग्दा भने निकै पानी पर्न थाल्यो साथमा असिना पनि। क्यामेराको ब्याट्री त डाउन नै भयो। खिच्न पाइएन त्यसपछिका कुरा। अनि अडियो भए पनि लिउँ भनेर लिन थालेँ। त्यो पनि पानीले भिजेर छुट्टी। बबरमहलबाट माथितिर रहेका राजाका कथित महावाणीहरु ध्वस्त पारिएका थिए। मानिसहरु त्यही ध्वस्त पारिएको महावाणीमा एक लात हान्दै उनीहरुको भाषामा ‘ज्ञाने चोर’ प्रति आफ्नो आक्रोश पोख्दै थिए। असिना पानीले छेक्दैन, हाम्रो आन्दोलन रोकिँदैन भन्ने नयाँ नारा पनि बनाए उनीहरुले पानीले निथ्रुक्कै भिजेपछि।

असिना पानी निकै परेपछि भने एक ठाउँमा अ‍ोत लाग्न बसे आन्दोलनकारीहरु। तर फेरि यस्तो पानीले रोकिनु हुन्न भनेर भने केहीले अनि सबै फेरि रुझेर नै हिँडन थाले। नयाँ बानेश्वरमा पुगेपछि प्रहरीले हस्तक्षेप गर्‍यो। प्रहरीले लाठी, अश्रुग्यास र गोलीसमेत चलायो। हामी भाग्यौं। त्यहाँ के पत्रकार, के प्रदर्शनकारी – गोलीले देख्दैन क्यारे कसैलाई। ज्यान जोगाउन भाग्नै पर्‍यो।

हामी भागेर बबरमहल पुग्यौं। अब यहाँ हामी कस्तो असमञ्जस स्थितिमा आइपुग्यौं भने न फर्कनु, न अघि जानु। फर्क्यो भने कर्फ्युमा हिँडिस् भनेर गोली ठोकिदेला भन्ने डर, अगाडि बढ्यो गोली चलिरहेको छ। माससहित फर्कन पाए पनि हुन्थ्यो तर सबै तितरबितर भइसके। धन्न कलंकी हिँड्ने केही मान्छे भेटिए तर उनीहरु मध्ये पनि केही बाटैमा हराए। त्यसपछि भाइ, म र एक जना कलंकीका आन्दोलनकारी दाइ मात्रै भयौं।

निथ्रुक्कै भिजिएको थियो। पानी अझै दर्केर परिरहेको थियो। अनि हामी खोला छेउछेउ हिँडिरहेका थियौं। बाग्मती नदीको त्यो फोहोर बाटो भएर हामी लाग्यौं अगाडितिर। थापाथलीको पुलमुन्तिर अघिको मासबाट तितरबितर भएका केही महिलासहितका आन्दोलनकारी रहेछन्। उनीहरुमध्ये केही कीर्तिपुर, केही बल्खु र केही वाफल जानेहरु रहेछन्। अनि हामी उनीहरुसितै मिसियौं।

अब हामीलाई एउटा दोधार भयो। त्रिपुरेश्वरतिरबाट खोलैखोला जाने बाटो पनि थियो तर त्यहाँको बाटो सार्‍है फोहोर र कताबाट जाने भन्ने यकिन थिएन। अब जानु पर्ने भयो थापाथली पुल पारी सानेपा हुँदै टेकु निस्केर त्यहाँबाट कुलेश्वर जाने। त्यसका लागि थापाथली पुलमा जानु पर्ने थियो। तर पुल वरपर सुरक्षा व्यवस्था कडा थियो। अघि ती दिदीहरुलाई त थर्काए रे- फर्कनुस् भनेर। तर हामी भने ज्यानको बाजी लगाएरै भए पनि त्यहीँबाट जाने निधो गर्‍यौं। अचम्मको कुरा ! सबैभन्दा अगाडि म थिएँ। म बिस्तारै अगाडि बढ्दै थिएँ। पछाडि उनीहरु आउँदै थिए। प्रहरीले केही गरेन। पुलको पाटनतिरको छेउमा केही सेना पनि थिए, उनीहरुले पनि केही गरेनन्। अनि हामी फेरि बाग्मती छेउछाउ हुँदै हिलो फोहर बाटो हुँदै अगाडि बढ्यौं।

त्यहीँ मैले एफएम सुन्दा थाहा पाएँ कि सात दलले २४ घण्टे अल्टिमेटम दिएछ संसद पुनर्स्थापना गर्ने नभए आफैले गरी समानान्तर सरकार बनाउने भनी। त्यहाँबाट हामी राममन्दिर हुँदै सानेपा पुल अनि कुलेश्वर हुँदै काठमाडौं क्याम्पस हुँदै कालिमाटी निस्क्यौं। सरकारले मोबाइल बन्द गरेछ। मोबाइलले निकै सजिलो बनाएको थियो मलाई आन्दोलनको गतिविधि जान्नका लागि अनि एसएमएसहरु पनि राजाको विरोधमा मजा-मजाका आउँथे।

त्यत्रो बाटो रुझेर र हिँडेर आउँदा निकै थकाई लाग्यो र एकछिन सुतेँ। पछि टिभीमा आन्दोलनका दृश्य हेरेँ। ज्यादै निर्मम दमन भएको रहेछ आज।

त्यतिबेला अहिलेको जस्तो इन्टरनेट थिएन। डायल अप इन्टरनेट थियो। त्यस्तो इन्टरनेटमा पनि भिडियो अपलोड गरिन्थ्यो। यो तलको त्यही बेला अर्थात् सन् २००६ मा अपलोड भएको भिडियो


4 comments to सम्झना वैशाख ११ को : सेनाले कर्फ्यु तोड्नेहरुलाई पहिला त्यता नजानुस् भनेर हात जोड्यो, त्यसपछि बाटो छोड्यो

  • madan bajracharya

    ज्ञानेन्द्रको पटमुर्खता नै सबै बिकृतिको मुलकारण हो/ तेस्तो पटमुर्ख राजाले त् सदनको मर्यादा को मान गर्दै सदनको बहुमत कदर गरेर गद्दी समेत त्यागे/ तर चुनावमा उठ्नै नपर्ने, उठेर हारे पनि राजाहौँ मात्रै भन्न बाकि राख्ने औंलामा गन्न सकिने कथित ठुला नेताहरुले “नेपालको समस्याको समाधान नेपालकै माटोमा नखोजी जसरि “आप जसै कहे” भन्ने शैलीमा आफ्नो कोठे सहमतिलाई व्हिप हानेर निर्विकल्प बनाउंदै सत्ताको नेतृत्व गर्ने दल बदले पनि शासन गर्ने बर्ग नबदलिने भागवण्डाको शासन ब्यबस्थालाई ज्ञानेको मुर्खराज सिट पनि दाज्न सकिंदैन/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Shankar

    एस्लाई गौरब को दिन मान्ने कि , नेपालि ले हारेको दिन मान्ने ? नेपालि जनता आफै जागरुक भएर , सचेत भएर गरेको क्रान्ति भए यो फटाह हरुले देश मा रजाइ गर्न पाउथ्यो ? आज आन्दोलन भनम बा क्रान्ति भएको येत्रो समय बितिसक्दा
    १) जताततै भ्रास्ताचार ब्यापक , सरकारी सार्बजनिक जग्गा व्यक्तिको नाम मा , बागमती बिस्नुमति किनार सबै व्यक्तिको नाउमा , ३०-४० किलो सुन लाइ पित्तल बनाए , बाटो मा गरेको पिच ३ महिनामै भत्कने ? खै मेलाम्ची ?

    २) १२ बुदे कहा लेखियो , यो देश को येन्कानुन, र नियम को मस्यूदा काहा लेखियो , युबराज संग्रौला जस्ता बुद्दिजिबि प्रश्न गरिरहेछन ?( हेर्नुस यु टूब )

    ३) निर्मला हत्याकाण्ड को दोसी खै ? तेस्तै सरकारी अस्पताको स्थिति काहा पुग्यो ? अब सामन्य बिरामी हुदा घर , खेत बेच्नुपर्ने समस्या कसरि आयो ?

    ४) बिसाक्त तरकारी बेचिन्छ , जताततै धुवा, धुलो , काठमान्डू मा ठुला ठुला महल बनाउने पैसा काहा बाट आयो ( आनाको ३०- ४० लाख को जग्गा किनेर ?)

    हृशी धमला जस्ता निथल्ले हरुको जगजगी , भारतीय दुत्वावास को देश मा रजाइ , भेडाको छाला वोदेका ब्वासा हरु महिनामा एकचोटी रास्ट्रिय खर्च मा विदेश सयर गर्ने , जाथा भाबि कर ब्रिद्दि , कहिले भू माफियाको लागि पैसा खाएर प्लटिङ्ग खुल्ला , कहिले बन्द |

    पंचायत र बहुदल हुदा मिचेको सिमाना अहिले चै भारतीय ले सिमाना मिचेन? खै त् चोर हरु चू सम्म गर्दैन ?
    बिस्तारै तराइलाइ जनमत संग्रह गरेर , टुक्राउन को लागि तेत्रो नागरिकता वितरण गर्यो , जुन बिबादास्पद छ | बुज्ने , पढेका मान्छे हरुले एस्लाई कसरि बुझ्ने ?
    अथोठ भए गर्न सकिन्छ , कुलमान ले प्रमाणित गरिसके |
    राजनीति नाफाको को ब्यापार रहेछ नेपाल मा बुजेर रबिन्द्र मिश्र मुख मिट्ठ्यायेर आयो |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Kiran Rijal

    कठै बारी सेना ले त हात जोडेर सम्झाउन खोजेको रैछन्त | “हेर, यी बिदेशी का दलाल को पछि नलाग, देश लाइ बर्बाद बनाउन नखोज” | हामी जनता लाइ यी नेता ले भेडा बनाइ हाले, अब के गर्नु |

    तर एउटा कुरा भने निश्चित छ यदि राजा ले बिदेशी को सामु घुडा टेकेर भुटान जस्तो भएर बसेको भए अहिले का यी सबै नेता जेल मा हुन्थिये | राज तन्त्र लाइ कसैले हल्लाउन सक्ने थिएन , तर के गर्नु राजा ले बिदेशी को सामु घुडा टेक्नु भन्दा आफ्नै जनता संग घुडा टेक्न मन्जुर गरे |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • babul

    आँखा रसाएर आयो …..मन पोलेर आयो … नेता हरु देख्दा दिमाग तातेर आयो…………… येस्तै छ मेरो देश ……..

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0