यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आजदेखि यो लुकाइँदैन, बाधा हटाएर सार्वजनिक देखाइन्छ अजङ्गको श्वेतभैरव, अनि एक हप्ता हुन्छ काठमाडौँमा रमाइलो

हिजोअस्तिसम्म हनुमानढोकाबाहिर तपाईँले यो अजङ्गको विशाल हाथुद्य: (श्वेतभैरव)को मूर्ति छेकिएको देख्नुभएको थियो। तल्लो भागको एउटा काठे बारमात्र हटाइएको हुन्छ। त्यसबाट देखिने मूर्तिको मुख र दाँतमात्रै हो। आज अर्थात् भदौ २४ गते मंगलबारदेखि भने सबै बारहरु हटाइन्छ। यो विशाल मूर्ति बिना अवरोध हेर्न पाउनु हुन्छ। किनकि आजदेखि येँयाः (इन्द्रजात्रा) सुरु हुँदैछ। अबको एक हप्ता काठमाडौँमा यति रमाइलो हुन्छ कि अरु बेला यो मज्जा पाइन्न। 

काठमाडौँको सबैभन्दा रमाइलो चाड येँयाः (इन्द्रजात्रा) आज मंगलबारदेखि सुरु हुन्छ। मंगलबार बिहान ९ बजेर १७ मिनेटको साइतमा हनुमानढोकाको कालभैरव मूर्ति अगाडि यःसिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु हुन्छ। आउने भदौ ३१ गते मंगलबार राति यो ढालेपछि इन्द्रजात्रा सकिन्छ। यो बीचका सात दिन साँझदेखि राति काठमाडौँको मुख्य भाग यति रमाइलो हुन्छ कि बयान गरी साध्य छैन। विभिन्न नाच (महाकाली, ख्याक, लाखे, पुलुकिसि आदि), रथयात्रा र जताततै उल्लासमय वातावरण, हँसिला मान्छे- यही हो इन्द्रजात्राको विशेषता।

इन्द्रजात्राको प्रचलन लिच्छविकालदेखि नै भएको मानिन्छ। इन्द्रजात्रा कै क्रममा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरी जितेपछि यहाँका मानिसहरुले मनाउने इन्द्रजात्रामा आफूहरुको पनि छाप छोड्नका लागि हो कि शायद, उनका छोरा प्रतापसिंह शाहले यो यःसिँ ठड्याउने चलन सुरु गर्न लगाएको! जानकारहरु त्यही भन्छन्। हेर्नुस् १३ वर्षअघि युट्युबमा मैले अपलोड गरेको भिडियो। त्यतिबेला इन्टरनेट स्लो, अहिले जस्तो एचडी भिडियो कसरी अपलोड गर्न सक्नु, डायल अप इन्टरनेट थियो, जसोतसो यतिको क्वालिटीको भिडियो अपलोड भएको थियो-

यःसिं ठड्याउने परम्पराको व्यवस्थापन केन्द्रीय मानन्धर संघले गर्ने गर्छ। उनीहरुले नै कसरी ठड्याउने, कहाँ बाँधेर कहाँ तान्न लगाउने भन्ने निधो गर्छन्। उठाउनका लागि त्यसरी बाँधिएको डोरीलाई उनीहरुले नै माथि नचढी तलैबाट दायाँ-बायाँ के-के हो के-के गरी फुस्काई तल झार्छन्। मानन्धर संघका एक वयोवृध्दले बताए अनुसार, त्यो डोरी कसरी बाँध्ने र माथि नचढी कसरी फुस्काउने भन्ने ज्ञान एउटा टोलका मानन्धरबाहेक अरु कसैलाई हुँदैन।

यसका लागि चाहिने काठ सल्लाघारीको जंगलबाट ल्याइन्छ। काठ सोझो हुनुपर्छ। यसका लागि जंगल पस्ने र रुख खोज्ने काम भदौ १५ गते भएको थियो।

आजै साँझदेखि सात दिनसम्म हनुमानढोका परिसरमा महाकाली नाच, ख्याक नाच, लाखे र सवाभक्कु नाच रमाइलो हुन्छ। त्यसैगरी पुलुकिसि नाच पनि हुन्छ। हात्तीको आकृतिमा भित्र मान्छेहरु बसी नाचिन्छ पुलुकिसि नाचमा। भित्र बस्ने मानिसहरुले नदेख्ने हुनाले यो पुलुकिसि अनियन्त्रित हुन्छ। त्यसैले यो आउँदा मान्छेहरु भागाभाग हुन्छन्। मसाल बोकेको मान्छेलाई यसलाई नियन्त्रण गर्ने प्रयास गर्छ।

हनुमानढोकामा रहेको हाथु द्यः (श्वेत भैरव)को मूर्ति पनि इन्द्रजात्राको बेला मात्रै प्रदर्शन गरिन्छ। साँझ यसको मुखबाट जाँड र समयबजी प्रसादका रुपमा बाँडिन्छ। यो लिन भिडले रमाइलो गर्छ। मासुसहितको चिउरा माग्दै लाः छकु वयेकः समयबजि, वलः वलः पुलुकिसि भन्दै कराउँदै मागिन्छ। ठाउँठाउँमा निःशुल्क यस्तो समयबजि बाँड्ने गरिन्छ।


यही अवसरमा वंघः (इन्द्रचोक) मा रहेको आकाश भैरवको मूर्तिलाई मन्दिरबाहिर प्रदर्शन गरिन्छ। खासमा इन्द्रजात्रा कुमारी जात्रा, इन्द्रजात्रा र भैरव जात्राको संयुक्त रुप हो। त्यसै कारण श्वेत भैरवसँगै आकाश भैरव मात्र हैन टोलटोलमा अन्य भैरवहरु पनि प्रदर्शन गरिन्छन्। इन्द्रको मूर्तिलाई त बाँधेर नै राखिन्छ।

इन्द्रजात्राका महत्त्वपूर्ण दिनः
भदौ २४ गते, मंगलबार- यःसिं ठड्याइन्छ। इन्द्रजात्रा सुरु। साँझ उपाकु यात्रा। स्थानीय भाषामा ‘उपाकु वनेगु’। मृतात्माको चीर शान्तिको कामना गर्दै वर्ष दिनमा जजसको घरमा कसैको मृत्यु भएको छ, ती घरका आफन्तहरु सुगन्धित धूप बाल्दै काठमाडौँ परिक्रमा गर्छन्। कोहीकोहीले दियो पनि बाटोमा राख्दै जाने गर्छन्। अधिकांशले भने धूप मात्रै बाल्छन्। हातमा सुगन्धित धूप लिएर हुलका हुल मानिसको सांस्कृतिक र्‍याली हेर्दा रमाइलै हुन्छ। र त त्यो रुटमा पर्ने घर, बाटो र चोकहरुमा बच्चादेखि बूढासम्मको लाइन हुन्छ, हेर्नलाई। यो चलन लिच्छवी कालदेखिको रहेछ।

भदौ २७ गते शुक्रबार- काठमाडौँ उपत्यकामा इन्द्रजात्राको सार्वजनिक विदा। चतुर्दशी तिथिको यो दिन राष्ट्रप्रमुखको उपस्थितिमा जीवित देवी कुमारी, भैरव र गणेशको रथ यात्रा तलतिर (क्वःने याः) टोलहरुमा हुन्छ। भैरव र गणेश हेर्दा कुमारी जस्तै देखिन्छन् तर उनीहरु बालिका हैनन्, बालक हुन्छन्। रथयात्रा सकिएपछि सेतो मुकुण्डो लगाएको मान्छे राति निस्केर नगर परिक्रमा गर्छन् भने उसको पछिपछि यो वर्ष आफन्त गुमाएकाहरुको परिवार हुन्छ। दागीँको यो परम्पराबारे थप यहाँ छ।

भदौ २८, शनिबार- यो दिन जीवित देवी कुमारी, भैरव र गणेशको रथ यात्रा माथितिरका टोलहरु (थःने याः) मा हुन्छ।

भदौ ३१, मंगलबार– यो दिन नानिचायाः भन्दै फेरि एक पटक रथयात्रा हुन्छ। पोहोरदेखि यो दिन कुमारीको रथ महिलाले तान्न थालेका थिए। यस पटक पनि त्यसैको निरन्तरता हुनेछ। सबै दिनमा रथयात्रा साँझ वसन्तपुरबाट सुरु भएर यात्रा हेरी केही घण्टापछि वसन्तपुर नै फर्केर टुङ्गिन्छ। यो दिन यःसिं ढालिन्छ (साइत भने असोज १ को बिहान ५ बजेर ३५ मिनेट परेको छ) र पराल हानाहान गरी मान्छेहरु रमाइलो गर्छन्। यो जात्रा सकिनुको अर्थ दशैँ सुरु हुन लागेको संकेत पनि हो।

2 comments to आजदेखि यो लुकाइँदैन, बाधा हटाएर सार्वजनिक देखाइन्छ अजङ्गको श्वेतभैरव, अनि एक हप्ता हुन्छ काठमाडौँमा रमाइलो

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)