यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

ए, कता मरिस् यस्तो बेलामा ?

शीर्षक पढ्दा गाली जस्तो लाग्छ नि है। तर म र माइसंसारलाई माया गर्नेले इमेलमा राखेको जिज्ञासा हो यो। हुन पनि हो, देशमा यत्रो राजनीतिक उथलपुथल भएको बेलामा माइसंसारमा कुनै ब्लग नै छैन। यो के भा’को ?

‘जिउँदै छु हजुर। मरेको भए जवाफ फर्काउन सक्दिन थिएँ’ जिब्रो निकालेको इमोजी 😛 थपेर इमेलको जवाफ फर्काएँ।

यसो हेर्दा भएको खास केही होइन। कोरोना भाइरसबाट संक्रमित भएको थिएँ सेप्टेम्बर महिनाको अन्तिमतिर। तीन महिना भइसकेछ। एक हप्ता आइसोलेसनमा बसेपछि नेगेटिभ रिपोर्ट आएर घर फर्केको थिएँ।

नेगेटिभ रिपोर्ट आएपछि ‘नेगेटिभ, नेगेटिभ’ भन्दै चिच्याउँदै उफ्रँदै सेल्फी मोडमा खिचेको भिडियो अझै मोबाइलमा छ। बेलाबेलामा हेरेर हाँस्न काम लाग्छ।

खोकी लाग्ने, जिउ दुख्ने र टाउको दुख्ने यी तीन वटा कुराले आइसोलेसनमा बस्दा एकदमै सताएको थियो। जिउ त यस्तो गल्थ्यो कि, हड्डीसम्म यति साह्रो दुख्थ्यो कि, के भन्ने। त्यस्तो अरु बेला भएको थिएन।

टाउको पनि एकनासले दुखेको दुख्यै, दुखेको दुख्यै। सुतिसकेपछि बिहान उठ्दासम्म। सपनामा पनि दुख्ने !

तँलाई मात्र कोरोना भा’छ र ? दुनियाँलाई भएको छ अनि निको पनि भइसकेको छ।

दुनियाँलाई के भयो होला, म जान्दिनँ। मलाई चाहिँ मेरो अनुभव मात्र थाहा छ।

यो तीन महिनाको बीचमा मलाई तीन चार पटक त्यस्तै खालको टाउको दुखाइ भएको छ। अरु बेलाको टाउको दुखाइ पेनकिलरले निको हुन्छ। यो खालकोलाई भने औषधीले पनि छुँदैन।

त्यसबाहेक मैले थाहा पाउने गरी परिवर्तन भएको अर्को कुरा हो- थकान।

नेगेटिभ रिपोर्ट आएर घर फर्कने क्रममा घरको भर्‍याङ चढ्दा पहिलो पटक महसूस गरेको थिएँ- अहो, कति छिट्टै थाकेको, पहाड चढे जस्तो पो भो त।

नोभेम्बर १३ मा पनि ब्लग लेखेको थिएँ- कस्तो ज्याद्रो कोरोना, अझै सताइराछ ! त्यसमा मैले सुन्दरीजल हाइकिङ जाँदा अचेत भएको त्यसपछि खसीको खुट्टीको सुप र बट्टाइँको अण्डा खाएर नाम्चे पुगेको कुरा लेखेको थिएँ।

शारीरिक थकान त त्यसरी खानेकुरा पेलेर हराउँछ तर यो मानसिक थकान हटाउन भने अझै सकेको छैन। पहिले कति धेरै काम गर्न सक्थेँ, कोभिड-१९ लागिसकेपछि त्यति साह्रो दिमाग चल्दैन। जबर्जस्ती गर्न खोज्दा छिट्टै थाकेर केही गर्न/सोच्न नसक्ने अवस्थामा पुग्छु।

पछिल्लो केही हप्ता व्यस्त भएँ। शारीरिक र मानसिक दुवै परिश्रम लाग्ने काम गरियो- रेडियो नेपालमा अनलाइन पत्रकारितासम्बन्धी ४ दिने ट्रेनिङ र लगत्तै डेटा ड्रिभन जर्नलिज्मको ६ दिने ट्रेनिङ। पछिल्लो ट्रेनिङ शारीरिक र मानसिक दुवै धेरै परिश्रम लाग्ने खालको थियो।

ट्रेनिङ चल्दै गर्दा नै प्रतिनिधि सभा विघटनको समाचार आयो।

अघिपछि भए यसकै बीचमा पनि दिमाग चल्थ्यो र केही न केही लेख्न सक्ने हुन्थेँ। तर यस पटक अहँ, सकिनँ। कोभिड-१९ लागिसकेपछि पहिलो पटक शारीरिक र मानसिक दुवै परिश्रम लाग्ने काम यति लामो समय लगातार गरेको थिएँ।

ट्रेनिङ लिँदा सजिलो, दिँदा त निकै गाह्रो हुने रहेछ। तयारीका लागि पनि समय चाहिने।

कति पटक त ठूलो हलमा एक छेउबाट अर्को छेउमा बारम्बार यताउता गर्न पर्दा रिङ्गटा लागे जस्तो समेत भयो। हैट, अति भो यो भनेर रिलाइट पानीमा घोलेर पनि खाइयो।

बुधबार घर फर्किएको म त्यसपछि केही लेख्छु भनेर निकै पटक कम्प्युटर अगाडि बसेँ। तर कहाँ सक्नु! हिजो बल्लतल्ल कोरोनासम्बन्धी मुक्ति अर्यालले लेखेको एउटा ब्लग सर्सर्ती हेरेर पोस्ट गरेँ। त्यति गर्दा पनि कस्तो थाकेको जस्तो भयो।

आज यसो न्युरोडतिर निस्केको थिएँ। त्यहाँ अहिलेको भाइरल छाते सडकको भिड देखेर दङ्ग परेँ। मान्छेलाई कोरोनाको केही डरै छैन। पाइला राख्ने ठाउँ थिएन। तर मान्छे मास्क नलाई नाचिरहेका, पोज दिइरहेका थिए- टिकटक बनाउनै पर्‍यो!

यो भिडमा कसैलाई कोरोना भाइरसको संक्रमण भएको भए उसले कतिलाई सार्ने होला। हामी जस्ता हट्टाकट्टा त बाँचौँला, मलाई जस्तो यस्तो लामो असर अरुलाई नहोला पनि। तर घरमा भएका वृद्ध, दीर्घरोगीहरु त ठूलो जोखिममा पर्ने नै भयो।

यही सोचिरहेको थिएँ, इमेल देखेँ, ‘ए, कता मरिस् यस्तो बेलामा ?’

इमेलमा जिउँदै भएको जनाउ मात्र दिए पनि यति ब्लग लेख्ने जाँगर भने त्यसैले दियो। त्यसैले इमेलमा, फेसबुक मेसेन्जरमा वा ट्विटरको डिएमबाट घच्घच्याएर मलाई ‘मर्न’ नदिनुस् है ! 🙏

यो पनि
कहाँ गरेँ मैले गल्ती : कोरोना भाइरसले ‘झुक्यायो’ कि म झुक्किएँ ?

6 comments to ए, कता मरिस् यस्तो बेलामा ?

  • Krish

    कोरोनालाई केही होइन भन्नेहरुले बुझ्नुपर्ने । कोरोनाबाट अहिलेसम्म बचेकाहरुले सतर्क हुनुपर्ने विषय रहेछ

  • D.B. Nepal

    Take some Bacopa, Gotukola and Ashwagandha supplements for the brain & adrenal support. Also, some B-Complex with zinc and magnesium for few weeks. Good luck and hope you will get well soon.

  • jitu

    Umesh ji, keep up. Get rest. We are missing your posts but health is wealth at this time.

  • देवेन्द्र बस्नेत

    सालोक्यजी मलाई पनि कोरोना भएर निको भएको हो l सारीरिकी थकान हुने काम गर्दा पहिलेको जस्तो सहज हुदैन. तर तपाइँलाइ एस्तो गार्हो बनाएको कारण चाइ pcr रिपोर्ट नेगेटिभ आउने बित्तिकै ट्रेक्किंग जानुभो तेइ भएर होकी. नम्चेको उकालो फिजिकल फीट भएको मान्छेलाई नी गाह्रो hune ठाउँ हो.

    • मलाई शारीरिक गाह्रो खासै भएको छैन। मानसिक थकानको कुरो गरिराछु।

  • Krishna

    सबै कोरोनासित सुरक्षित रहनु होला।