यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

काठमाडौँमै मध्यरातमा फाँसी दिएर दिनभर रुखमा झुण्ड्याइएको त्यो दिन


आज काठमाडौँको टेकुमा ८० वर्ष पुरानो इतिहास दोहोर्‍याइयो। नागरिक आन्दोलनका क्रममा नाट्यकर्मीहरुले यो इतिहास दोहोर्‍याएका थिए। अहिले त नेपालमा कसैलाई पनि फाँसी दिइँदैन। तर विक्रम संवत् १९९७ मा त्यहाँको एउटा रुखमा एक जनालाई झुण्ड्याएर मारिएको थियो। उनलाई अहिले हामी शहिद शुक्रराज शास्त्रीको नामले चिन्छौँ उनको नाम शुक्रराज जोशी थियो। संस्कृत भाषामा शास्त्री उत्तीर्ण गरेकाले उनलाई ‘शास्त्री’ भनिएको रे। अहिले शहिद सप्ताह मनाइँदैछ नेपालमा। त्यसो त अहिले शहिदहरु थुप्रै भइसके। तर शहिद भन्ने बित्तिकै धेरैलाई याद आउने चार जनामा उही दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नै हुन्।

शुक्रराजलाई फाँसी दिइएको बेलाको कुरा सुन्दा जिउ नै सिरिङ हुन्छ। भद्रगोल जेलबाट लहरीमा राखी मृत्युदण्ड दिने ठाउँसम्म पुर्‍याउँदा शुक्रराजले ठूल्ठूलो स्वरमा गीताका श्लोकहरू वाचन गर्दै आएका थिए। राति १० देखि ११ बजेको बीचमा टेकु पचलीमा ल्याइपुर्‍याउँदासम्म उनले पाठ गरिनै रहेका थिए। यसैबीच एउटा सिपाहीले ‘के कराइरहेको ?’ भन्दा उसलाई हकार्दै शुक्रराजले भनेका थिए– ‘मर्ने बेलामा पनि पाठ पढ्दै मर्न नपाइने?’

लहरीबाट ओरालेपछि मृत्युदण्ड दिनका लागि खटाइएका जनरल नरशमशेरले शुक्रराजलाई सोधे– ‘तेरो अन्तिम इच्छा के छ?’

उनले आफ्नो अन्तिम इच्छा बागमतीमा नुहाउने र गीता पाठ गर्ने रहेको बताए। बागमतीमा नुहाएर गीता पाठ गरिसकेपछि उनी आफै आफ्नो घाँटीमा पासो लगाउन अगाडि बढे। आफैले आफ्नो घाँटीमा पासो हालिसकेपछि झुन्ड्याउन बसेको पोडेलाई आरफ्नो नाडीमा बाँधेको घडी फुकालेर दिँदै भने– ‘धेरै दुःख नहुने गरी एकै पटकमा झुन्ड्याइदेऊ है।’

तर उनी झुन्डिन तयार भइरहेकै बेला सडकमा केही पर २०–२५ जनाको हूल पेट्रोमेक्स बालेर आउँदै गरेको थियो।

विद्रोही जनताको हूल शुक्रराजलाई फाँसीबाट बचाउन आए भन्ठानेर नरशमशेरलगायत सिपाही तथा पोडेहरू भागे, तर त्यो समूह खासमा नेवारको गुठीको भोज खाएर फर्केको पो रहेछ।

त्यो समूह गइसकेपछि नरशमशेरहरू त्यहीँ आइपुगे, तर शुक्रराज भने जस्ताको तस्तै त्यहीँ उभिइरहेका थिए। यदि चाहेको भए त्यहाँबाट उनी भाग्न सक्थे होलान्। आफ्नो हातले आफै फाँसी लगाएर उनले मृत्युवरण गरे। मृत्युवरणअघि उनले भनेका थिए– ‘जुद्धशमशेर आज मेरो प्राण लिन उद्यत छ तर म मर्दिनँ, मेरो आत्मा अमर छ। यो नश्वर देह मातृभूमिको सेवाका लागि अर्पण गर्न पाउनु मेरो ठूलो सौभाग्य हो।’

शुक्रराजको मृत्युदण्डपछि उनको लाशलाई भोलिपल्ट दिनभर पचली टेकुमै झुन्ड्याइयो। सबैले त्यस दृश्यलाई देखून् र राणाको विरोधमा चूँसम्म पनि कोही नबोलुन् भन्ने धारणा राणाहरूको थियो।

त्यतिखेर प्रजापरिषद्का सदस्य हरिकृष्ण श्रेष्ठलगायतका बन्दीहरू भद्रगोल जेलमा थुनिएका थिए। उनीहरूलाई जेलर सुनुवार कप्तानले माघ ९ गते बिहानै टेकु पचलीतिर हेर्न भने। ‘हेर्दा त शुक्रराजको सेतो कपडाले छोपिएको लास यताउता हावामा हल्लिरहेको थियो’, हरिकृष्ण श्रेष्ठ भन्छन्– ‘त्यस बेला जेलर सुनुवार कप्तानले शुक्रराज झुन्ड्याएको दृश्य हेर्न लगाउँदै हेर् तेरो साथीको गति हेर्, शुक्रराजको गति हेरिस्, कस्तो हुँदोरहेछ? भने।’

‘हामीलाई त्यो दृश्य देखेर आश्चर्य लाग्यो, ह्दयमा चोट लाग्यो, हामी त बोल्न पनि सकेनौं’

मृत्युदण्डअघि शुक्रराजलाई अन्तिम भेटस्वरूप उनकी बहिनी चन्द्रकान्ता मल्ल आएर सगुनस्वरूप फूलमाला लगाइदिएकी थिइन्। शुक्रराजको लास झुन्डिएको ठाउँमा आएर रूखको परिक्रमा गर्दै उनका बुबा माधवराज जोशीले छोराको मृत्युवरणप्रति गर्वका साथ भनेका थिए– ‘छोरा हुनु त यस्तो पो, मेरो मात्र होइन, देशकै इज्जत बढाइस् तैंले।’

शुक्रराजलाई झुन्ड्याएको भोलिपल्ट साँझ राणाका सिपाहीहरू शुक्रराजको बाङ्गेमुढाको घरमा आए र प्रयागराजलाई ‘तेरा माइला बाबुको दाहसंस्कार गर्न हिँड्’ भने। उनले जसले मारेको हो उसैले दाहसंस्कार गरोस् भन्दा उनलाई सिपाहीहरूले घोक्र्याउँदै टेकु पचली पुर्‍याए। तर प्रयागराजका साथमा कोही थिएनन् र उनकै चोकको गोपाल मास्केलाई साथ दिन अनुरोध गरे।

‘गोपाल भाइ, म मेरा बाबुलाई बोक्न त सक्छु, मसँग हिँड भनी अनुरोध गरें’ –प्रयागराजले रुँदै भने। उनले आँसु पुछ्दै अगाडि भने– ‘सिपाहीले डोरी काट्यो र बागमती र विष्णुमतीको दोभानमा पु¥याए“। माघको जाडो थियो, तर दाहसंस्कार जमिनमा होइन पानीमा गर्न लगायो। म पनि युवा थिएँ, कम रिस उठेन।’

पानीमा दाउरा राखेर दाहसंस्कार गरिसक्दा रातको अढाइ बजेको थियो। तर दाहसंस्कारको बेला पनि राणाका सिपाहीहरूले उनलाई ‘ए काठा ज्यापू अझै सकेको छैन?’ भन्दै बारम्बार हप्काइरहे। त्यतिखेर शुक्रराजको मलामीका रूपमा प्रयागराजसित केवल गोपाल मास्के थिए भने १५–१६ जना सिपाहीहरू दाहसंस्कारस्थलमा तैनाथ थिए। प्रयागराजले शुक्रराजको दाहसंस्कार गरेको बागमती र विष्णुमतीको दोभानलाई शहीद शुक्रघाट नामकरण गरियोस् भनी महानगरपालिकासित अनुरोध गरेका थिए।

(२०५८ सालमा प्रकाशित ‘साधना’बाट)

2 comments to काठमाडौँमै मध्यरातमा फाँसी दिएर दिनभर रुखमा झुण्ड्याइएको त्यो दिन

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)