यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कान्तिपुरका सम्पादकले पत्रिकामा छापिनुअघि नै फेसबुक र ट्विटरमा माफी मागे

नम्बर वान अनलाइन ‘अनलाइनखबर’का सम्पादकले त्रुटि सार्वजनिक हुँदाहुँदै पनि ‘हामी त नम्बर वान, हामीलाई कसले के गर्छ’ पाराले बलमिच्याइँ गरिरहँदा नम्बर वान पत्रिका कान्तिपुरका सम्पादक नारायण वाग्लेले ठीक विपरीत स्वभाव देखाएका छन्।

बिहीबार राति १० बजेर ७ मिनेटमा ट्विटर र १० बजेर ८ मिनेटमा फेसबुकमा नारायण वाग्लेले कान्तिपुरमा छापिएको समाचारका केही अंश गलत भएको स्वीकार्दै त्यसको जिम्मेवारी लिँदै क्षमासमेत मागेका छन्।

के हो विषय?
कान्तिपुरको १९ असार २०७६ बिहीबारको अंकको पेज नम्बर २ मा ‘पूर्वविशिष्टलाई विलासी गाडी’ शीर्षकको समाचार छ। बलराम बानियाँको बाइलाइन रहेको यो समाचारमा ‘मन्त्रिपरिषद्को तजबिजी निर्णयबाट पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई चालक, इन्धन र मर्मत खर्चसहित गाडी, भुटानी शरणार्थी नेतालाई समेत सुविधा’ उपशीर्षक राखिएको छ।

समाचारको मुख्य विषय संसदबाट कानुन बनाएर पूर्व विशिष्ट पदाधिकारीलाई केकस्तो सुविधा दिने लागू गर्नु भनेर सर्वोच्च अदालतले दिएको आदेश पालना नभएको बारे हो।

सरकारले कानुन बनाउन नखोजेको पनि हैन। तर जब जब विधेयक बनेर संसदमा दर्ता हुन्छ तब तब तीव्र विरोध हुन्छ र सरकार विधेयक फिर्ता लिन बाध्य हुन्छ। यसमा कान्तिपुरले नै भूमिका खेलेको बिर्सनु हुन्न।

तीन वर्षअघि कान्तिपुरमै छापिएको समाचार अनुसार, तत्कालीन पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र सुशील कोइरालाका पालामा सरकारले पूर्वपदाधिकारीलाई आजीवन विलासी सुविधा दिन संसद्मा विधेयक दर्ता गरेको थियो। सक्रिय पदीय राजनीतिमा रहेका पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखहरू र राज्यबाट पेन्सन सुविधा पाइरहेका पूर्वप्रधानन्यायाधीशहरूलाई आजीवन मासिक वृत्ति, आवास र चालक तथा इन्धनसहित विलासी गाडी सुविधा दिने तयारीको तीव्र विरोध भएपछि भट्टराई र कोइरालाका पालामा संसद्बाट विधेयक फिर्ता भएको थियो।

तेस्रो पटक २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारले पुन: पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिन विधेयक अघि बढाएको थियो। तर त्यतिबेला पनि तीव्र विरोधका कारण विधेयक पास हुन सकेन।

यस पटक भने कान्तिपुर चिप्लियो। समाचारको एउटा अंशमा लेखिएको थियो-

सरकारले राजधानीमा घर र गाडी भएका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई चालक, इन्धन र मर्मत खर्चसहित विलासी गाडी दिएको छ।

बस्, कुरा यहीँ निर बिग्रियो। किनभने दुई जना पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईले त्यसरी गाडी सुविधा लिएका होइन रहेछन्।

बाबुराम भट्टराईले बिहान ८ बजे नै ट्विट गरे – मिडियाले सत्यतथ्य नबुझी यस्ता भ्रामक समाचार प्रकाशित नगरोस् र गल्ती सच्याओस्।

माधवकुमार नेपालको फेसबुक पेजमा राति ८ बजेतिर यस्तो विज्ञप्ति राखियो –

दिनभर यत्तिकै रह्यो। अर्को दिनको पत्रिका छापिनुभन्दा अघि राति १० बजेपछि कान्तिपुरका सम्पादकले ट्विट गरे-

फेसबुकमा लेखे-

नम्बर वान पत्रिका कान्तिपुरका सम्पादकले यसरी समाचारमा गल्ती भएको स्वीकारी माफी माग्दा उनको उचाइ घटेन। यसै पनि अग्ला वाग्लेको कद अझै अग्लियो। उनले माफी मात्र मागेका छैनन्, भविष्यमा यस्तो गल्ती हुन नदिन के गर्ने भन्ने प्रतिवद्धता पनि जनाएका छन्।

केही वर्ष पहिलेसम्म यस्तो अवस्था थिएन। नम्बर वान पत्रिका कान्तिपुरका पत्रकारहरुलाई एकदम दम्भ थियो। तपाईँहरुलाई याद छ कि छैन कान्तिपुरभित्रको ‘आलु’ काण्ड।

आशिष लुइँटेलको संक्षिप्त स्वरुप ‘आलु’। त्यतिबेला एक नम्बरको पत्रिकाका पत्रकारका दम्भहरुको उदाहरण

… -तिमीहरु भुक्दै गर मलाई मतलब छैन (आशिष लुइँटेल) –
… तर तिमीले नपढे पनि मेरो पत्रिका बिक्छ, तिमीले नपढे नपढ (आशिष लुइँटेल)
… पाठकले सल्लाह दिन पाउँछन् तर, धाकै सही, पत्रकार ज्ञाता/बिसेषज्ञ हुन | (दिनेश वाग्ले)
… हा हा हा | बन्द नगरिएको ट्वीट र गोपनियता ? सबै मिडियाले ट्वीट छाप्छन | (दिनेश वाग्ले)
… गाली र ताली हाम्रो पेशाको भाग हो । हामी हाम्रा १० लाख पाठकका लागि गर्छौ, आधा दर्जन ट्विटर प्रयोगकर्ता को लागि होइन | सरी केटा हो | (आशिस लुइँटेल)
… -आफ्नो क्षेत्रमा असफल हुने हरुले हल्ला गर्छन र जर्नालिजमको कमेन्ट गर्छन .. सरी म सुन्दिन (दिनेश वाग्ले)
-म गज्जबले हाँसिरहेको छु । म किन ट्विटरमा हिरो बन्नु पर्‍यो ?१०लाख भन्दा बढीले मलाई हप्तैपिच्छे पढ्छन् यो ५हजारको बीचमा मलाई कुनै र्‍याल काढ्नु छैन (आशिस लुइँटेल)

यो कान्डलाई पूरा बुझ्न यो पुरानो ब्लग पढ्नुस्।

माथिका भनाईमध्ये दिनेश वाग्लेको ‘पाठकले सल्लाह दिन पाउँछन्, तर, धाकै सही, पत्रकार ज्ञाता/विशेषज्ञ हुन्। डाक्टरलाई बिरामीले उपचार कसरी गर्ने सिकाउँदा त्यो अप्राकृतिक देखिन्छ’ ट्विट अमर छ। त्यो ट्विट डिलिट भइसक्यो, ट्विट गर्ने पनि पत्रकारिता छाडेर अर्कै पेशामा छन्। आठ वर्ष भइसक्यो। तर अझै पनि नेपाली ट्विटेहरुले त्यो ट्विट बिर्सेका छैनन्। यदाकदा पत्रकारहरुलाई व्यङ्ग्य गर्ने क्रममा त्यही शब्द बारम्बार दोहोरिन्छ- ‘धाकै सही, पत्रकार ज्ञाता/विशेषज्ञ हुन्।’ शब्द त्यो भए पनि आशय ‘पत्रकारले केही पनि जानेका छैनन्, यत्राको विशेषज्ञ र ज्ञाता?’ खालको हुन्छ।

यसरी हामी त नम्बर वान पत्रिकाका पत्रकार, हामीले जे भने पनि जे गरे पनि हुन्छ भन्ने खालको दम्भ भताभुंग भएर अहिले आएर सम्पादक आफैले पत्रिका छापिनुअघि नै माफी माग्ने स्थितिमा आएको घटनाले प्रष्ट हुन्छ।

अस्ति कान्तिपुरमा १० वर्ष सम्पादक भएका सुधीर शर्मासँग भेट हुँदा उनले भनेको एउटा कुरा याद आयो- अचेल सम्पादकभन्दा पाठक बाठा छन्। पाठक धेरै अघि पुगिसके, सम्पादकहरु चाहिँ त्यही पुरानै धङधङ्गीमा छन्।

उनी सम्पादक हुँदा अनुजा बानियाँ काण्ड भएको थियो जसलाई उनले गल्ती भयो भनी स्वीकारी माफी मागेका थिए। नेपाली मूलधारे पत्रकारिताको इतिहासमा यस्तो विरलै पाइन्छ। कान्तिपुरमा पहिलो पटक यसरी गल्ती स्वीकार्ने साहस देखाउने कान्तिपुरका सम्पादक उनै थिए। त्यतिबेला आलोचना भए पनि अहिले सम्मान स्वभाविक रुपमा उनैले पाउँछन्, गल्ती नसच्याउनेले भन्दा। अस्ति यो विषयमा कुरा हुँदा पनि उनले भेरिफिकेसन नपुग्दा गल्ती भएको स्वीकारे।

नम्बर वान अनलाइनको दम्भ

तर यता नम्बर वान अनलाइनको दम्भ भने कायमै छ। उतिबेला कान्तिपुर र कान्तिपुरका पत्रकारहरुमा हुने दम्भ अहिले अनलाइनखबरमा सरेको झैँ देखिएको छ।

नम्बर वान अनलाइन अनलाइनखबरका सम्पादक अरुण बरालले यो बीचमा दुई वटा स्टायटस लेखेका थिए। त्यसमध्ये एक थियो

यो स्टायटसको पृष्ठभूमि थियो ८ महिना लगाएर #WhoKilledNirmala सिरिजको ३० औँ भाग लेख्न सकिएपछि पहिलोपोस्टबाट विदा लिँदाको अवस्था।

निर्मला सिरिजको समापनमा साथी सविन ढकाल र मैले यो गहन (डेप्थ) रिपोर्टिङ कसरी सुरु गर्‍यौँदेखि कसरी लेख्यौँ उल्लेख थियो। त्यसैमा हाम्रो निश्कर्ष पनि राखेका थियौँ। पढ्न छुटाउनु भएको भए ३० औँ भाग र सम्पूर्ण अङ्कको लिङ्क पढ्न यहाँ क्लिक गर्नुस्। त्यसमा किन पत्ता लागेन हत्यारा ? उपशीर्षकमा चार वटा कारण लेखेको थिएँ। त्यसमध्ये एक मिडियाको ‘मिसलिड’थियो।

रातको साढे १ बजेदेखि लेख्न थालेर बिहानको ७ बजे टुङ्ग्याएको त्यो रिपोर्टमा मैले लेखेको थिएँ-

सोसल मिडिया विशेष गरी युट्युब र मेनस्ट्रिम मिडियाले घटनालाई ‘मिसलिड’ गर्न प्रमुख भूमिका खेले, स्थानीय मिडियाको त कुरै छाडौँ। ‘क्राउड’लाई ‘र’ इन्फरमेसन भएका युट्युबका सनसनीपूर्ण शीर्षकसहितका भिडियोले दिग्भ्रमित गरे भने बौद्धिक खालका पाठकलाई मूलधारे मिडियाले। दुवैले पुष्टि नभएका हल्लालाई वैधता दिने काम गरे लगातार। यस प्रकरणमा आफ्नो भूमिकाबारे मिडियाको नेतृत्वले महसूसमात्रै गरे पनि धेरै राम्रो हुन्छ।

यो सिरिज लेख्ने क्रममा खोज्दा थुप्रै त्यस्ता समाचारहरु भेटिए। त्यसमा मैले दुई वटा प्रमुख उदाहरण उल्लेख गरेको थिएँ। त्यसमध्ये एक अनलाइनखबरको थियो।

यो किन पनि जरुरी थियो भने निर्मला प्रकरणमा एसपी विष्टका छोरा किरण विष्टलाई मुछ्ने काम सबैभन्दा पहिला कुनै मूलधारे अनलाइन मिडियाले गरेको थियो भने त्यो अनलाइनखबर नै थियो। कसैको बाइलाइन अर्थात् लेखेको कसले हो नखुलाई भदौ ८, २०७५ मा कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’माथि स्थानीयको शंका शीर्षकमा समाचार आएको थियो। पढ्नका लागि लिङ्क।

यो स्टायटसपछि मैले माइसंसारमा अनलाइनखबरका सम्पादकलाई पीडितको प्रश्न – ‘तपाईँले लेखेको जेपिटी न्युजले हाम्रो जीवनमा के असर पार्‍यो, फिल गर्नुभा छ?’ शीर्षकमा ब्लग लेखेको थिएँ। पढ्नलाई क्लिक गर्नुस्। 

त्यही समाचारमा अनलाइनखबरको त्यो समाचारका गल्तीहरु उल्लेख थियो।

तर अनलाइनखबरले गल्ती सच्याएन। उल्टो यसका सम्पादक अरुण बरालले यस्तो लेखे फेसबुकमा-

यो स्टायटसपछि धेरैलाई भ्रम भयो, मैले अनलाइनखबरविरुद्ध नै थेसिस लेखेको पो हो कि भनेर। त्यो भ्रम हटोस् भनेर मैले मेरो थेसिस नै सार्वजनिक गरिदिएँ। पढ्नलाई क्लिक गर्नुस्- अनलाइन पत्रकारितामा अन्तर्क्रिया : मेरो थेसिस पढ्नुस् अथवा डाउनलोड गर्नुस्

गल्ती सच्याउनुको साटो उनले आफ्नो समाचार छापिएको भोलिपल्ट निलम्बित गरिएका एसपी दिल्लीराज विष्टलाई फोन गरेर खण्डन पठाउनुस् भने। विष्टले खण्डन नपठाउने तर तपाईँहरु आफैले छानबिन गरेर तपाईँहरुले लेखेको समाचारका ६ वटा बूँदामा तथ्य के हो भन्ने बारे स्थलगत अध्ययन विश्लेषण र प्रतिक्रिया असार २० गतेभित्र छाप्नुस् भनेर लेखी पठाए।

अनलाइनखबरले त्यो पत्रलाई सम्पादकीय टिप्पणी अर्थात् समाचार सही हो वा हैन भन्ने बारे आफ्नो केही भनाई नराखी किरण विष्टले पठाएको खण्डनमात्र जस्ताको तस्तै छाप्यो असार १६ गते।

मैले फेरि ब्लग लेखेँ- बहस गरौँ : गल्ती हुँदा मिडियाले बन्द कोठामा मात्र स्वीकार्ने कि पाठकसित पनि सार्वजनिक माफी माग्नुपर्ने?

आज असार २० गते हो। के आज किरण विष्टले भने जस्तै समाचारका ६ वटा बूँदामा तथ्य के हो भन्ने बारे स्थलगत अध्ययन विश्लेषण र प्रतिक्रिया प्रकाशित होला त? प्रतीक्षा गरौँ।

3 comments to कान्तिपुरका सम्पादकले पत्रिकामा छापिनुअघि नै फेसबुक र ट्विटरमा माफी मागे

  • Shankar

    नेपाल मा अब माफिमागने मौसम सुरु भएछ | तेरीमा तोरिलाउरे हरु , जरिवाना चै गराउन पर्छ | दण्ड खै ? १४००० मान्छे मार्यो , माफी माग्यो भयो त् ?मि टु चै किन छिर्न सकेनछ नेपाल ?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Suraj Bhade

    Very good in-depth analysis and investigation. Salute to u. Keep up the spirit. 👍👍👍

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Santosh Gautam

    We support you Salokya jyu.
    One of the finest journalist in the country.
    The way you report on the sole basis of facts with substantial research/homework as backup and without any biasness/prejudice to anyone.
    Hats off to you.
    Keep the good works going.

    Regards
    Santosh Gautam

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1