यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

भागरथी प्रकरणमा ‘उत्तम दाइ’लाई हिरो बनाउँदा मिडिया चुकेका पक्ष

सबभन्दा पहिला आजका राष्ट्रिय दैनिक हेरौँ। यो आजको ‘अन्नपूर्ण पोस्ट’को मुख्य समाचार हो। ‘भाइ पर्नेबाट भागरथीको हत्या’ शीर्षकको समाचारमा सात कोलमको ब्यानर न्युज राखिएको छ। एकछेउमा ‘यसरी सफल भयो अनुसन्धान’ भनेर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीको ‘हुटि फोटो’ सहितको समाचार छ भने सम्पादकीय भनेर ‘प्रहरीको अब्बल अनुसन्धान’  शीर्षकको एक झलक पनि राखिएको छ।

पत्रकारिताको प्राविधिक भाषा नबुझ्नेलाई अलि बुझ्न सजिलो बनाइदिउँ है- ब्यानर न्युज भनेको पत्रिकाको नाम जसलाई मास्ट हेड भनिन्छ त्यसको मुनि रहेको बायाँ छेउदेखि दायाँ छेउसम्म समेटिएको ठूलो समाचार हो।

हुटि फोटो भनेको चाहिँ धेरैले नबुझ्लान्। यो न्युजरुममा प्रयोग हुने चल्तीको शब्द हो, जुन गुगलमा खोजेर भेटिन्न। यसको अर्थ हो- हुलाक टिकट जत्रो सानो फोटो 🙂

अब हिजोका केही अनलाइन मिडियाका समाचार पनि हेरौँ। यो नेपाललाइभले लेखेको समाचार जसको शीर्षक छ- भागरथी हत्या : फरक–फरक बयानको ‘क्लु’ले डाेर्‍याएको सफल अनुसन्धान

अनि सेतोपाटीको यो समाचार हेरौँ जसको शीर्षक छ- ‘निर्मलाको केसमा जस्तो अनुसन्धान नहोस् भनेर सुरूदेखि नै बैतडी आएँ’स्थानीयले डिआइजी सुवेदीलाई आज फूलमाला लगाएर विदाइ गरे।

अनलाइनखबरको यो समाचार पनि हेरौँ जसको शीर्षक छ- दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !

यति धेरै मिडियाले अप्रत्यक्ष रुपमा जे लेखेको छ, त्यो चाहिँ यो न्युजले प्रष्ट रुपमा शीर्षकबाटै देखिने गरी लेखेको छ-

आयोमेलको यो समाचारमा लेखिको छ- भागरथी हत्या प्रकरणका ‘हिरो’ उत्तम सुवेदी : कसरी सफल भए मिसनमा?, कस्ता छन् उनका सफल अपरेशन

मिडियाका यी समाचारहरुबाट के बुझिन्छ त ?

यी समाचारहरु पढ्ने पाठकहरुले सामान्य रुपमा बुझ्ने कुरा यी हुन्-

– भागरथीको हत्या भाइ नाता पर्ने केटाले नै गरेको ठहर नै भइसक्यो। (अन्नपूर्ण पोस्टको हेडलाइन हेर्नुस्)

– प्रहरीको अनुसन्धान सफल भइसक्यो (सफल भएको घोषणा गर्ने समाचारहरु अन्नपूर्ण पोस्ट, नेपाललाइभ)

– डिआइजी उत्तमराज सुवेदी ‘हिरो’ हुन्। ‘सुपरम्यान’ हुन्। उनकै कारण यो अनुसन्धान वा भनौँ मिसन सफल भएको हो। (आयोमेल, सेतोपाटी र अनलाइनखबरका समाचार पढ्नुस्)

हो चाहिँ के त ?

सबभन्दा पहिला अपराध अनुसन्धान र अभियोजनको प्रक्रिया बुझ्नु पर्‍यो। क्राइम रिपोर्टरको समाचार लेख्ने रिपोर्टर, सम्पादन गर्ने सम्पादक र छाप्ने मिडियाले प्रहरीको क्षेत्राधिकार के हो, सरकारी वकिलको क्षेत्राधिकार के हो? न्यायालयको काम के हो भन्ने बुझ्न जरुरी हुन्छ।

सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी उत्तमराज सुवेदीले हिजो पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषामा समेत मिडियाले ध्यान नदिएको देखियो। उनले जारी अनुसन्धानलाई असर नपर्ने गरी ‘अनुसन्धानको प्रारम्भिक विवरण’ सार्वजनिक गर्न लागेको भनेका थिए। अर्थात् यो विवरण मात्रै हो  जसको लिगल भ्यालु नहुने सम्भावना पनि हुन्छ।

प्रहरीको अनुसन्धानको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको भए त्यो औपचारिक हुन्थ्यो र त्यसले लिगल भ्यालु राख्थ्यो।

प्रहरीको काम भनेको अनुसन्धान गरेर फलानो फलानो मान्छेले फलानो फलानो कसुर गरेको देखिन आएकोले फलानो फलानो ऐन अनुसार फलानो फलानो सजाय गर्दा उपयुक्त हुन्छ भनी प्रस्तावित राय सुझावसहितको प्रतिवेदन बनाएर सरकारी वकिलको कार्यालयलाई बुझाउने हो।

त्यसको आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र बनाएर अदालतमा दर्ता गर्ने हो। प्रहरीको प्रस्तावित राय सुझावसहितको प्रतिवेदन चित्त बुझेन भने सरकारी वकिलले त्यसलाई उल्ट्याएर नयाँ अभियोग पत्र बनाउन पनि सक्छ। अथवा चित्त नबुझेको भए त्यसमा थप घट पनि गर्न सक्छ। अथवा मुद्दा चलाउन नपर्ने भनेर निर्णय पनि गर्न सक्छ।

अभियोग लगाएर अदालतमा मुद्दा दायर भएपछि बल्ल त्यो व्यक्ति अभियुक्त हुन्छ र थुनछेकको बहस हुन्छ। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय अदालतले गर्छ। प्राप्त प्रमाणका आधारमा पक्ष र विपक्षको बहस सुनेर न्यायाधीशले अभियोग पुष्टि हुन्छ कि हुँदैन भन्ने निर्णय गर्छ। अभियोग पुष्टि भएपछि त्यो व्यक्ति अपराधी हुन्छ, नहुने भए सफाई पाउँछ। सुरु अदालत जिल्लाको हुन्छ। त्यहाँको फैसलाविरुद्ध उच्च अदालतमा जान सकिन्छ। उच्च अदालतको फैसला चित्त नबुझे सर्वोच्च जान सकिन्छ।

हिजो सार्वजनिक गरिएको ‘प्रारम्भिक अनुसन्धान विवरण’ मात्रै हो। अहिलेसम्म त अनुसन्धानै सकिएको छैन। अभियोग पत्र नै दायर भएको छैन। तर यहाँ त फलानोले नै हत्या गरेको हो भनेर हत्यारा र बलात्कारी नै ठहर गर्ने खालका समाचार मिडियामा आइसके। अनि त्यही अनुसार मानिसले फलानोले गरेकै हो अथवा फलानोले गरेको हुनै सक्दैन भनेर आ-आफ्नो विचार बनाइसके।

अझ रमाइलो त, अनुसन्धान सफल भएको घोषणा नै मिडियाले नै गरिसक्यो।

अनुसन्धान सफल कति बेला हुन्छ? जब त्यो अनुसन्धान अनुसार अभियोजन भएर अदालतले अभियुक्तलाई सजाय तोक्छ।

महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार बलात्कारका ३१८४ वटा कूल मुद्दामा १०१० वटामा मात्रै कसुर कायम भएको छ। हत्या (कर्तव्य ज्यान) का १ हजार ४०५ मुद्दामा ४३० मुद्दामा मात्रै कसुर कायम भएको छ। अर्थात् बाँकी ठूलो संख्याका मुद्दाहरु कि सफाइ पाएका छन्, कि फिर्ता भएका छन्। यसले अनुसन्धान सफल हुन नसकेको संख्या पनि ठूलो रहेको देखाउँछ।

अनुसन्धानै नसकिई अनुसन्धान सफल भएको घोषणा गर्न मिडियालाई किन हतार भएको हो?

प्रहरीले सार्वजनिक गर्ने बित्तिकै अपराधी?

हाम्रो समाजमा मात्र हैन हाम्रो मिडियाकर्मीमा नै पनि प्रहरीले आरोपी सार्वजनिक गर्ने बित्तिकै अपराधीको रुपमा व्यवहार गर्ने गरेको देखिन्छ। माथि अन्नपूर्ण पोस्टको समाचार शीर्षक हेर्नुस् त- भाइ पर्नेबाट भागरथीको हत्या। हत्या गरेको भनेर त प्रहरीले त अनुसन्धानमा देखिएको भनेर दावी गरेको पो हो त। अहिलेसम्म त प्रहरीले अनुसन्धानसमेत सकाएको छैन। अनुसन्धान सकाएर प्रस्तावित रायसहितको प्रतिवेदन बुझाएपछि सरकारी वकिलले मुद्दा दायर गरेपछि पो अभियुक्त हुन्छ त। अहिलेसम्म त आरोपी मात्र हो। अदालतले अभियोग पुष्टि हुने आदेश गरेपछि बल्ल अपराधी हुन्छ।

त्यसैले अहिले समाचार लेख्दा त प्रहरीको दावी छ भन्नुपर्‍यो, प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार भन्नुपर्‍यो। यही अपराधी हो जस्तो गरी समाचार र शीर्षक राख्न त भएन नि।

सुगा हुन् क्राइम रिपोर्टर ?

‘गोपी कृष्ण कहो’ भन भनेर बोल्न सिकाएपछि सुगाले त्यही बोल्छ।

के हाम्रा क्राइम रिपोर्टर पनि सुगा हुन् र प्रहरीले जे सिकायो, त्यही बोल्नुपर्ने ?

हिजोको भागरथी प्रकरणको समाचारमा मात्र होइन, अरु घटनाका पनि सबै समाचारहरु हेर्नुस् त- प्रहरीले जे भन्यो, त्यही लेख्यो। कतिपय कुरा प्रहरीले बोल्न मिल्दैन, अनि प्रहरीले सिकाएको, भनेको कुरा स्रोत भन्दै ठोक्दै। सामान्य भन्दा सामान्य कुरामा पनि स्रोत भन्दै प्रहरीकै बोली।

प्रहरीले झुटो पनि बोल्न सक्छ भन्ने चेत नेपालका क्राइम रिपोर्टरहरुमा कहिले आउने हो?

मलाई साथी केपी ढुंगानाले सुनाएको एउटा घटना खुबै घत लाग्छ।

एक पटक एउटा घटना (कुन घटना भनेर सार्वजनिक नगरौँ होला) मा प्रहरीले प्रेस कन्फ्रेन्स गरेर अपराधी र अर्को व्यक्तिको संवाद (लिखित रुपमा) सार्वजनिक गरेको थियो। केपीलाई त्यो संवाद कहाँ पढेको कहाँ पढेको जस्तो लागेछ। ठ्याक्कै यही हो भनेर ठम्याउन गाह्रो भयो तर हैन यो त पहिला कतै पढिसकेको जस्तो लागिरह्यो। पछि खोज्दै जाँदा उनले त्यो संवाद ‘बब्लु श्रीवास्तवका अधुरा ख्वाब’ बाट हुबहु नक्कल गरिएको भेट्टाए।

प्रहरीले आफ्नो अनुसन्धानलाई विश्वसनीय बनाउन विभिन्न ‘स्टोरी’हरु फालेर प्रोपोगान्डा कै एउटा रुप गर्न खोज्छ। निर्मला प्रकरणमा ३० सिरिजको डेप्थ रिपोर्टिङ गर्ने क्रममा प्रहरीका उच्च पदाधिकारीहरुसित सम्पर्क भयो। नत्र त म क्राइम रिपोर्टिङ गरिराखेको मान्छे पनि होइन। उनीहरुले मसित कुरा गर्ने क्रममा हो हामी त्यसो गर्छौँ भनेर स्वीकारेका छन्। भलै त्यो असल नियतका लागि गरिने भन्ने उनीहरुको स्पष्टीकरण हुन्छ। तर पनि प्रहरीले भन्ने सबै कुरा सधैँ सही हुन्न भन्ने चेत त हुनुपर्‍यो नि। जे भनेको त्यही लेखेर रिपोर्टर आफू प्रयोग हुने कि क्रिटिकल रुपमा त्यसलाई हेरेर क्रस भेरिफाइ गरेर यति कुरा चाहिँ सही भनेको रहेछ, यति बढाइ चढाइ गरेछ अनि यति नभएको कुरा थपेछ भनेर खोज्ने ?

पछिल्लो समयमा रवि लामिछाने-शालिकराम प्रकरणको मुद्दामा प्रहरीले गरेको अनुसन्धान उदाहरणका रुपमा लिन सकिन्छ। खासमा त्यसमा प्रहरीले लगाएका कुनै पनि आरोप पुष्टि भएनन्। शालिकरामको आत्महत्याका लागि रवि लामिछाने जिम्मेवार हुने कुनै पनि प्रमाण पेश गर्न सकिएन जसका कारण चितवन जिल्ला अदालतले यो मुद्दालाई खारेज गरिदियो। यो त एउटा चर्चित केसको उदाहरण मात्र। प्रहरीले हाकिमको वा नेताको वा जनताको दबाबमा यसरी थुप्रै केसहरु अभियोजनका लागि लगेको उदाहरण छ। प्रहरीले भन्ने सबै कुरा गीता, बाइबल वा कुरान जस्तो हुँदैन, राज्यले कानुनको दुरुपयोग पनि गर्न सक्छ, निर्दोषलाई थुन्न पनि सक्छ भन्ने चेत हाम्रा क्राइम रिपोर्टरमा हुन जरुरी छ।

तर फेरि त्यसो भन्दैमा निर्मला प्रकरणमा जस्तो हल्ला र रेको भर परेर फलानो अपराधी हुनै सक्दैन भनेर आन्दोलन गर्दा हुने नतिजा पनि हामीले देखिसकेकै हौँ। भेरिफाइ भन्ने चिज त्यही भएर त चाहिएको हो। जे भन्यो त्यही लेख्न त पत्रकार किन चाहियो र, टाइप गर्न जानेको जसले पनि सक्छ नि। पत्रकारिता भन्ने विशिष्ट पेशा किन चाहियो र, जसले पनि लेख्न सक्छ नि।

मलाई लाग्छ अभियोग पत्र तयार नभएसम्म क्रिटिकल रुपमा हेरेर त्यसबारेमा लेख्नु भनेको प्रहरीको अनुसन्धानलाई नै सघाउने काम हो। अनुसन्धान बलियो भए न अभियोजन सफल हुन्छ र दोषीले अदालतबाट सजायँ पाउँछन्। अनुसन्धानै फितलो गर्ने, त्यही अनुसन्धानलाई वाहवाह गर्ने अनि अदालतले पर्याप्त प्रमाण नभेट्टाएर छाडिदियो भने त त्यसको के अर्थ रह्यो र। अदालतमा अभियोग पत्र दर्ता भएपछि त्यसमा लिइएका आधार हेरेर कता चुकेको भनेर रिपोर्टिङ गर्न सकिन्छ।  

अनुसन्धानमा असर पर्छ भन्दिनँ भन्ने, खुसुखुसु चैँ सूचना दिने? 

भागरथीको घटनामा निर्मला प्रकरणमा भन्दा मिडिया धेरै संवेदनशील भएको पाएँ मैले। तर प्रहरी भने जति हुनुपर्ने हो त्यति संवेदनशील हुन सकेको देखिनँ। घटनास्थल सुरक्षा, उच्च पदाधिकारी घटनास्थलमा जाने आदिमा प्रहरी संवेदनशील भएकै हो। तर अरु कुरामा पनि त्यो संवेदनशीलता देखिनु पर्थ्यो।

यो केसमा प्रहरीले सार्वजनिक रुपमा अनुसन्धानमा असर पर्छ भनेर केही पनि भनेन आधिकारिक रुपमा। तर खुसुखुसु अनेक स्टोरीहरु चाहिँ फालिरह्यो मिडियामा। मंगलबार राति आशंकित एक सरकारी कर्मचारीलाई महेन्द्रनगरबाट नियन्त्रणमा लिएको समाचार चुहाइयो। तर बुधबार अकस्मात् एउटै स्कूलमा पढ्ने केटोले हत्या गरेको समाचार आयो। केही घण्टाको फरकमा आशंकितमा यति ठूलो ट्विस्ट एन्ड टर्न कसरी हुनसक्छ? कसैले खोजेन।

अझ अपराधीले मोबाइलको कल लग डिलिट गरेको जस्ता वाहियात सूचना पनि चुहाइए। ती सूचनालाई समाचार बनाउनेलाई सामान्य प्राविधिक ज्ञानसम्म नभएको देखियो। मोबाइलमा कल लग डिलिट गरेर हुन्छ के? सिडिआर (कल डिटेल रेकर्ड) बाट देखिँदैन भन्या? अनि टेक्निकल अनुसन्धानबाट आरोपी घटनास्थलमा भएको देखिन्छ भनियो। कम्तिमा क्राइम रिपोर्टरले त्यस्तो गाउँमा सेल आइडी र ल्याक आइडी एउटै हुन्छ कि त्यो घटनास्थलको छुट्टै अर्को ठाउँको छुट्टै हुन्छ? त्यति बुझ्न पर्दैन?

अझ उसको बाउले आफ्नो नातेदारलाई बलात्कार गरेकोले बदला लिन बलात्कार र हत्या गरेको, घचेटेर भीरबाट खसालेको, लखेटी लखेटी जबर्जस्ती गरेर हत्या गरेको आदि व्यहोराका स्टोरीहरु पनि प्रहरीले नै मिडियामा फ्याले। आधिकारिक रुपमा चाहिँ अनुसन्धानलाई असर पर्छ भनी केही जानकारी नदिने, अनि खुसुखुसु परस्पर बाझिने खालका नानाथरीका सूचना चैँ  मिडियामा चुहाउने?

पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखियो भनेर समाचार आए। पोस्टमार्टम रिपोर्टमा के लेखिन्छ र त्यसलाई कोट गरेर कस्ता समाचार बन्छन् भन्ने बारे रुकुम घटनामा मैले एउटा विस्तृत ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्-  ‘मारेर फाल्दा’ पनि किन ‘डुबेर मरेको’ रिपोर्ट आयो : रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार

पोस्टमार्टम गरेको अनुभव भएका डाक्टरहरु पोस्टमार्टममा हत्या भएको, बलात्कार भएको लेखिँदैन भनेर भन्दा भन्दा थाक्ने अवस्थामा पुगेका छन्। पोस्टमार्टम रिपोर्टमा त मृत्युको सम्भावित कारण र शरीरको स्थिति लेखिने हो। यो केसमा पनि डा. अरुण उप्रेतीले मिडियालाई सजग गराउँदै ट्विट लेखेर केहीलाई त सच्याउन समेत लगाए।

तर डिआइजी उत्तमराज सुवेदीले नै बीबीसीमा अन्तर्वार्ता दिने क्रममा पोस्टमार्टम रिपोर्टमा ‘रेप पनि भएको आएको छ’ भनेका थिए।

अनुसन्धानको क्रममा रहेको विषयमा यसरी पहिले नै बोलिदिँदा अब बलात्कार गरेको स्वीकार गरेको छैन आरोपीले भनेर प्रहरीबाटै मिडियामा दिइएका जानकारीले कस्तो असर पार्छ? कन्फ्लिक्टिङ कुरा भएन? फेरि रेप भएको भनेर भनिसकेपछि  भजाइनल स्वाब डिएनएका लागि पठाइएको छ । त्यसमा त भेटिनु पर्‍यो वीर्य, पुरुष क्रोमोजोम। त्यो भेटिएन भने के हुन्छ? हाम्रो प्रहरीको ल्याबको हालत थाहा छँदैछ। अपराधी पहिचानमा भन्दा पनि छुट्न सघाउने अनुसन्धान हुन्छ प्रहरीको ल्याबबाट। गोदामचौरको केस, अखिलका नेताको केस, निर्मलाको केस कसैको डिएनए मिलेको छैन। यसमा पनि डिएनए नमिले के हुन्छ हालत? मिल्यो भने चाहिँ प्रमाण मान्ने, नमिल्यो भने प्रमाण मान्दिनँ भनेर वैज्ञानिक अनुसन्धानलाई जोक बनाउन पाइन्छ?

भन्दै नभनेको कुरा कान्तिपुरमा

अब आजको कान्तिपुर दैनिक हेरौँ-

मुख्य समाचार बक्स बनाएर  ‘प्रहरीले सार्वजनिक गर्‍यो भागरथी हत्याका आरोपित’ मुख्य शीर्षक राखिएको छ। समाचारमा लेखिएको छ-

जिल्ला प्रहरी कार्यालय बैतडीमा भएको पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले भनेको भन्दै यी विवरण लेखिएका हुन्। तर त्यो पत्रकार सम्मेलनमा बलात्कार गरेको कुरा उनले भनेकै छैनन्। त्यो पत्रकार सम्मेलनको भिडियो लाइभमा  टिभी अन्नपूर्णको फेसबुकमा मैले पनि हेरेको हुँ। यसको युट्युबमा पूरै नभए पनि यहाँ पनि छ।

पत्रकार सम्मेलनमै उपस्थित बैतडीका पत्रकार लोकेश साउदलाई पनि मैले फेसबुकमा सोधेँ। उनले पनि जवाफ दिए, कहाँ त्यसो भन्नु डिआइजी सुवेदीले !

मैले फेरि उनले के भनेका रहेछन् भनेर सुनेँ। उनले बोलेको जस्ताको तस्तै यस्तो रहेछ, ‘भागरथीलाई सडकभन्दा तल धकेलिदिएको र बलजफ्ती नियन्त्रणमा लिई घटनास्थलमा पुर्‍याई दुवै हातले घाँटी अँठ्याई मारी पाइन्टसमेत घुँडासम्म फुकाली करणी गर्न लाग्दा…उसले चाहिँ आफूले…अ….त्यसपछि चाहिँ त्यत्तिकै छाडेको भन्ने अहिले प्रारम्भिक भनेको छ। तर अनुसन्धान त्यसमा जारी छ। ‘

भनेपछि यो भन्दै नभनेको कोट कान्तिपुरमा कसरी आयो? पत्रकार सम्मेलनमा नभनी अलग्गै भनेको भए त्यो खुलाउनु पर्थ्यो। त्यो पनि खुलाएको छैन। अनि पत्रकार सम्मेलनमा नभन्ने, खुसुखुसु रिपोर्टरलाई चाहिँ भन्ने कुरा पनि त मिलेन होला नि डिआइजी जस्तो पदमा भएको व्यक्तिले।

यता कान्तिपुरले बलात्कार पनि आरोपीले स्वीकारिसकेको समाचार लेख्यो भने उता नेपाल समाचारपत्रले भने यस्तो समाचार लेख्यो-

मिडियाले हत्यारा हो बलात्कारी होइन भनेर शीर्षकमै ठहर गरिसकेछ नि बाब्बै !

एउटै पत्रकार सम्मेलनको यसरी फरक फरक स्टोरी आउँदा सामान्य पाठकले के बुझ्लान् ? कहाँ चुक्यो कम्युनिकेसनमा प्रहरीको नेतृत्व? सिरियसली रिभ्यु गर्नुपर्छ कि पर्दैन ?

‘उत्तम दाइ’लाई हिरो बनाउने कि सम्पूर्ण प्रहरी संगठनलाई?

हाल सुदूरपश्चिम प्रहरीको नेतृत्व गरिरहेका डिआइजी काठमाडौँ बेस भएर क्राइम रिपोर्टिङ गरिरहेका धेरै पत्रकारहरुका ‘उत्तम दाइ’ हुन्। काठमाडौँ प्रहरी प्रमुख हुँदा दाइ र भाइहरुको सम्बन्ध राम्रोसँग जोडिएको हो।

निश्चय पनि डिआइजी सुवेदीले यो केसलाई गम्भीर रुपमा लिएकै हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा नबसी बैतडीमै बसेर उनले अनुसन्धानको मनिटरिङ गरे। त्यहीँ हुँदा उनले प्रत्यक्ष निर्देशन पनि दिन पाए।

तर मैले नबुझेको कुरा चाहिँ यी ‘दाइ’हरुलाई फूलबुट्टा भरी भरी शब्द लेखेर जबर्जस्ती हिरो बनाउनु पर्ने किन? हो, डिआइजी सुवेदी भावी आइजीका प्रवल उम्मेदवार हुन्। तर त्यसो भन्दैमा दाइलाई हिरो बनाउने हो कि प्रहरी संगठनलाई? खासमा यो घटनाको अपराध अनुसन्धानको प्रमुख जिम्मेवारी अर्कैको हुन्छ- जिल्ला प्रहरी कार्यालय बैतडीका मुद्दा शाखाका इन्स्पेक्टर अनुसन्धान अधिकृत हुन्छन्। क्रेडिट पाउने हो भने बैतडीका प्रहरीले यो केसमा क्रेडिट पाउनु पर्ने हो। अनुसन्धानमा ठूला दर्जाका दाइहरुले भन्दा साना दर्जाका प्रहरीहरुले धेरै योगदान गरेका हुन्छन्। व्यक्तिलाई हिरो नबनाई प्रहरी संगठनलाई हिरो बनायो भने पद्दति पनि बस्ने हैन र? मिडियाले उचाली उचाली हिरो बनाएका आइजी सर्वेन्द्र खनालले अवकाश पाउँदासम्म कस्तो छवि बनाए पनि स्मरण गर्ने कि!

‘ओभर ड्रामाटाइज’ किन गर्नु !

पाठकका रुपमा क्राइम रिपोर्टिङहरु पढ्दा मलाई के लाग्छ भने सामान्य स्टोरीमा पनि ओभर ड्रामाटाइज गरिन्छ। त्यसै त समाचारमा तथ्य कम हुन्छ। जानकारी पनि कमै हुन्छ। त्यसमाथि जबर्जस्ती ड्रामाटाइज !

अनलाइनमा क्राइम स्टोरीहरुमा भिजिटर धेरै तानिन्छन्। त्यसैले क्लिकका लागि पनि कसले बढी ड्रामाटाइज गर्ने भन्ने प्रतिस्पर्धै चल्छ। पत्रिकाहरुमा भने राम्रो स्पेस पाउनका लागि समाचारलाई अनावश्यक ड्रामाटाइज गरिन्छ।

डिआइजी सुवेदीले पत्रकार सम्मेलनमा अनुसन्धानलाई असर नपर्ने गरी मात्र विवरण दिन्छु, योभन्दा बढी दिन्न भन्दाभन्दै पनि परिवारका नातेदारलाई बलात्कार गरेको बदला लिएको भन्ने समाचार खोजी खोजी हाल्नु एक्सक्लुसिभ र एक्स्ट्रा कन्टेन्ट हुन्छ र ? नबुझेको कुरा।

त्यस्तै प्रहरीले आरोपीको नाम कतै पनि सार्वजनिक गरेको छैन। प्रहरीले सार्वजनिक नगरेको आरोपीको खोजी खोजी नाम र फोटो निकालेर छाप्नु कुन इथिक्स अनुसारको काम भयो, त्यो पनि अनौठो नै छ। अदालतमा अभियोग पत्र नै दायर भइसकेको भए त अर्कै कुरा। यहाँ त अनुसन्धान नै सकिएको छैन, फलानोले नै गरेको हो भनेर अदालतबाहिरबाटै दोषी ठहर गर्ने काम किन हुन्छ।

प्रहरीको आधिकारिक समाचार बुलेटिनमा आरोपीको उमेर १६ वर्षको भनिएको छ। यदि उनी १६ वर्षका हुन् भने प्रहरीले त्यसरी नकाब लगाएर पनि सार्वजनिक गर्न मिल्दैन। बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष भन्दा कम उमेरकालाई हिरासतमा राख्न नपाउने, निगरानी कक्षमा राख्नुपर्ने कानुनी प्रावधान बनाएको छ। मुद्दाको सुनुवाई पनि बाल अदालतमा गर्नुपर्छ। परिचय गोप्य राख्नुपर्छ। यहाँ त मिडियाले खोजी खोजी नाम र फोटो हालेका छन्।

किशोरले बयान दिएको हैन, कबुलनामा

मार्नेले मारेको हो भनिसक्यो, तिमीहरु किन जान्ने भएको भनेर पनि केही मानिसले सोसल मिडियामा लेखिरहेको देखियो। यसमा बुझ्नुपर्ने कुरा के हो भने अहिले अनुसन्धान नसकिसकेको हुनाले किशोरले भनेको भनिएको कुरा बयान होइन। त्यो त कन्फेसन अर्थात् कबुलनामा मात्रै हो। त्यो पनि प्रहरीले यस्तो भन्यो रे भनेर गरिएको दावी हो।

जबसम्म सरकारी वकिलसामु बयान हुँदैन, तबसम्म त्यसलाई बयान भनिँदैन। नेपालको सन्दर्भमा प्रहरीले आरोपीलाई यत्तिकै आफूलाई मन लागेको कुरा लेखेर साइन गर्न लगाएका उदाहरण पनि भेटिन्छन्। अदालतमा गइसकेपछि आरोपीलाई आफ्नो कुरा राख्न लगाइन्छ। त्यतिबेला यस्ता मानिसहरुले आफूले त्यसो नभनेको भनेर इन्कारी बयान पनि दिन्छन्। तर दरिलो प्रमाणले साथ दियो भने साबिती बयान नै आवश्यक हुन्न। इन्कारी बयान भए पनि अन्य प्रमाणहरुले उही दोषी हो भनेर इङ्गित गर्‍यो भने दोषी नै ठहर भइहाल्छ।

अदालतमा इन्कारी बयान दिन्छन् भनेर अचेल प्रहरीले कन्फेसनको भिडियो बनाउने गरेको पाइन्छ।

यो केसमा त कन्फेसन पनि राम्रोसित भएको जस्तो देखिन्न। यहाँ मैले त्यो किशोर दोषी नै होइन, हुनै सक्दैन भनिरहेको छैन। अनुसन्धान गर्नेलाई उही हो दोषी भन्ने लाग्यो होला विभिन्न कारणले। त्यही कारणको क्लुलाई टेकेर थप अनुसन्धान गरी प्रमाण जुटाएपछि बल्ल आरोपी भनेर पक्रेर सार्वजनिक गरेको भए हुने हो। तर यो केसमा त सार्वजनिक गर्न नाराबाजी, अनेकन दबाब र राजनीतिकरणले पनि काम गर्‍यो होला।

प्रारम्भिक विवरणको आधारमा त्यही किशोरले घटना गराएको भनेर पुष्टि गराउन निकै गाह्रो पर्नेवाला छ। त्यो देखिन्छ प्रष्टैसित।  तर त्यसरी क्रिटिकल्ली नहेरिकन अनुसन्धानै सफल भयो भनेर समाचार लेख्ने, दाइलाई हिरो बनाउन हतार गरिहाल्ने काम चाहिँ  अहिलेलाई नगरिदिए हुने हो। खासमा यो क्राइम रिपोर्टरले अभियोजनको पाटो थाहै नपाएको हो कि थाहा पाएर पनि थाहा नपाएको जस्तो गरेको हो? बुझ्न सकिएन।

अर्को पाटो किन आउँदैन ?

क्राइम रिपोर्टिङ मलाई खट्किएको अर्को पक्ष हो- रिपोर्टरहरु पूर्ण रुपमा प्रहरी स्रोतसँग निर्भर हुनु। अहिले यो बैतडीको केसमा मात्र होइन, अरु चर्चित अन्य केसहरुको पनि रिपोर्टिङहरु हेर्नुस् तपाईँले फूर्सदमा। अथवा भविष्यमा हुने याद गर्नुस्। सबैमा आरोपित पक्राउ परिसकेपछि आरोपितको भ्वाइस सून्य हुन्छ। उसको पक्षको पाटो पनि आउनु पर्ने होइन र? 

अपराध अनुसन्धान र अभियोजनको पक्षमा प्रहरीसँग सरकारी वकिलको कार्यालय पनि जोडिएको हुन्छ। तपाईँले देख्नुभएको छ अपराधका घटनाको समाचारमा  जिल्ला न्यायाधिवक्ताको कोट गरेको? विरलै देखिन्छ। सामान्यतया हेर्दा देखिन्न। किन इग्नोर गरिरहेका हुन्छन् त यो पक्षलाई? (यसअघि जिल्ला सहन्यायाधिवक्ता लेखेकाेमा सच्याएँ। जिल्लामा जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता हुन्छन्।)

त्यसैगरी आरोपीले पनि अदालतमा बहसका लागि निजी वकिल राखेका हुन्छन्। तपाईँले देख्नुभएको छ- उसँग तपाईँको पक्षको दावी विरोध के हो भनेर सोधेर समाचार लेखेको? 

खासमा हुनुपर्ने के हो? सोध्न पर्दैन?

हाम्रा रिपोर्टिङहरु पूर्ण रुपमा एक पक्षीय हुन्छन्, एकाङ्की हुन्छन्। राज्यले जे बोल्यो, त्यही सही हुन्छ। जेलमा ३० प्रतिशत निर्दोष थुनिएका हुन्छन् रे भनिन्छ। यति नै भनेर त कसैले रिसर्च गरेको भए पो। हचुवामा भए पनि ३० प्रतिशत भनेर दावी ठोकिन्छ। ठ्याक्कै प्रतिशत नआए पनि ठूलो संख्यामा निर्दोष जेलमा हुन्छन्। यो खासमा अर्को पाटोबाट हामीले बहस गर्दै नगर्ने, गर्न नै नचाहने कारणले हो कि ?

सोच्नुपर्ने कुरा

बैतडीमा प्रहरीले अनुसन्धान गरिरहेको छ। निर्मला प्रकरणमा डेप्थ रिपोर्टिङ गरेको र दावी, हल्लाहरुको भेरिफाइ गरेको भएर मलाई यसबारे जति धेरै ज्ञान छ, बैतडीको घटनाबारे छैन। मिडियामा आएका कुराहरु मात्र हेरिरहेको छु। कतिपय अवस्थामा अनुसन्धानकर्ताको ब्रह्मले पनि अपराधी यही हो भन्ने लाग्न सक्छ। त्यसपछि क्लुहरु भेटिन्छन्। त्यसैमा टेकेर अनुसन्धान थप विस्तृत हुन्छ। अनि प्रमाण जुटाइन्छ र अभियोजन गरिन्छ।

अहिलेलाई यो घटना अनुसन्धानकै चरणमा छ। लाग्छ, प्रहरीले दबाबमा हतार गरेर प्रारम्भिक विवरण सार्वजनिक गर्‍यो। धेरै कुरा अझै क्लियर हुन बाँकी नै छ। त्यतिन्जेल यही अपराधी हो, यो हुनै सक्दैन भन्न जरुरी छैन। अहिलेको विवरण जति मात्र भयो भने यसले अपराध पुष्टि गर्न गाह्रो पर्नसक्छ।

यहीँ निर सोच्नुपर्ने कुरा के हो भने जसरी निर्मला प्रकरणलाई विपक्षीहरुले राजनीतिक इस्यु बनाए, र, यो इस्युलाई पनि नेकपाको बदलिँदो परिवेशमा एक पक्षले जसरी उठाएका छन्, त्यसको दबाबमा परेर कतै हतारमा देखाउने नाममा गलत अभियोजन गर्न त खोजेका छैनन्? अथवा यसैलाई अर्को पाटोबाट हेर्दा विपक्षीहरुले सही अभियोजनलाई पनि गलत देखाउने नाममा राजनीति गर्ने प्रयास त गरिरहेका छैनन्?

पत्रकारको भूमिका यहीँ निर देखिनु पर्ने हो। यी दुवै अतिवादबाट बचेर बीचबाट फ्याक्टमा टेकेर समालोचनात्मक रुपमा चिजहरुलाई हेरेर र विश्लेषण गरेर पो रिपोर्टिङ गर्ने हो त, नटुङ्गिएको अनुसन्धान सफल भयो भनेर दाइहरुलाई हिरो बनाउँदै जाने काम त जसले पनि गर्न सक्छन् नि, कि कसो ? 🙂

6 comments to भागरथी प्रकरणमा ‘उत्तम दाइ’लाई हिरो बनाउँदा मिडिया चुकेका पक्ष

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)