यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

‘मारेर फाल्दा’ पनि किन ‘डुबेर मरेको’ रिपोर्ट आयो : रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार

पोस्टमार्टम रिपोर्ट फेर्न पाइँदैन- पाइँदैन ! पाइँदैन !!

पोस्टमार्टम रिपोर्ट खारेज गर- खारेज गर! खारेज गर!!

डाक्टरहरुलाई फाँसी दे- फाँसी दे! फाँसी दे !!

असार १ गते दिउँसो जाजरकोट जिल्ला अस्पताल बाहिरको स्थिति तनावपूर्ण थियो। पोस्टमार्टम रिपोर्टमा ‘जालझेल’ भएको आरोप लगाउँदै डाक्टरहरुविरुद्ध उत्तेजक नारा लगाउँदै प्रदर्शनकारीहरु अगाडि बढिरहेका थिए।

आक्रोशित प्रदर्शनकारी अस्पतालबाहिर। अस्पतालको गेटभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी। बन्द गरिएको अस्पतालको गेटसमेत खोलेर प्रदर्शनकारीहरु भित्र पस्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरे। प्रदर्शनकारीहरु झन् आक्रोशित भएर ढुंगामुढा गरे। शवगृहमा आगो लगाइयो। प्रदर्शनकारीहरु अस्पतालको मूलगेट मै पुग्न लागेपछि प्रहरीले हवाई फायर पनि गर्‍यो।

ढुंगामुढाका कारण अस्पतालको एक्सरे मेसिन बिग्रियो, शिशा फुटे। प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ केहीलाई चोटपटक लाग्यो।

धन्न कसैको ज्यानै जाने गरी क्षति भएन। तनावपूर्ण स्थिति हेर्दा त्यस्तो हुने सम्भावनासमेत देखिएको थियो।

तपाईँलाई पढ्न अल्छी लाग्छ भने महेन्द्र बमको आवाजमा अडियोमा सुन्नुस्-

यदि तपाईँको समय कम छ र लामो पढ्न सक्नुहुन्न भने संक्षेपमा-

लकडाउनकै बीच रुकुम र जाजरकोट पुगेर फर्किएपछि आफूले देखेका र बुझेका कुरा लेख्ने क्रममा यो चौथो ब्लग हो। पुरानो भागहरु छुटाउनु भएको भए क्लिक गर्नुस् पहिलो, दोस्रो, तेस्रो। साथमा एउटा फ्याक्टचेक। यो भागमा मैले पोस्टमार्टम रिपोर्टको चिरफार गर्ने प्रयास गरेको छु।

– कुटपिट गरेर मारेको भनेर पोस्टमार्टम रिपोर्टमा लेखिएन, जालझेल गरियो भनेर अहिले जाजरकोटमा आन्दोलन भइरहेको छ। असार १ गते आक्रोशित प्रदर्शनकारीहरुले आक्रमण गर्दा अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो। अहिले अस्पताल प्रहरी र सशस्त्र प्रहरीको घेरामा छ।

– शंका उब्जाउने दुई आधार छन्। एक जना डाक्टर भुपेन्द्रप्रकाश मल्ल र सोती गाउँका अभियुक्तहरुबीच नाता पर्ने र उनका बुबाले प्रतिवादीहरुका तर्फबाट बहस गर्दैछन्। अर्को एक डाक्टरको घर भने रुकुममा छ। यही विवाद आउँछ भनेर नै डा. भुपेन्द्रप्रकाश मल्ललाई पोस्टमार्टम गर्न दिइएको थिएन। तर पनि शंकाले लंका जलाएको छ।

– नेपालमा अधिकांश पोस्टमार्टम विज्ञ (एक्सपर्ट) ले गर्दैनन्। सरकारी अस्पतालमा कार्यरत एमबीबीएस डाक्टरहरुले गर्छन्। तर यो रिपोर्ट विज्ञहरुका विचारमा ‘विस्तृत, विचार तथा निश्कर्ष सीधा र स्पष्ट (straightforward) छ। सबै कुरालाई ध्यानमा राखेर निकै सावधानीपूर्वक लेखिएको छ। पोस्टमार्टम रिपोर्ट हेरेका विज्ञले भने, ‘यो रिपोर्टमाथि कुनै एक्सपर्टले प्रश्न उठाउन सक्दैनन्।’ रिपोर्ट विज्ञकै सल्लाहमा लेखिए जस्तो छ।

-पोस्टमार्टम रिपोर्टमा सन्जु विक, टीकाराम नेपाली र गणेश बूढामगरको मृत्युको कारण (Cause of Death) Drowning लेखिएको छ भने नवराज विक, लोकेन्द्र सुनार र गोविन्द शाहीको सम्भावित मृत्युको कारण (Probable Cause of Death) Drowning लेखिएको छ। मृत्युका अरु कारण नखुले र पानीमा शव भेटिए सम्भावित कारण Drowning मान्ने प्रचलन छ।

– अपराध अनुसन्धानका एक अनुभवीले पोस्टमार्टम रिपोर्टमा drowning हुँदैमा त्यसलाई भवितव्य (आकस्मिक घटना, दुर्घटना) नै ठहर नहुने र यस्तो अवस्थामा अन्य परिस्थितिजन्य प्रमाणहरु लागू हुने बताए। ‘मरणासन्न गरेर कुटेपछि बेहोस बनाएर खोलामा फ्याँकेको अवस्था पनि हुनसक्छ। यस्तो अवस्थामा चोटपटकबाट मृत्यु भएको नदेखी डुबेर मरेको देखिन सक्छ।’

– पानीमा डुबेर मरेको हो कि मारेर फालिएको हो पत्ता लगाउन डाक्टरहरुले डायटम टेस्टका लागि सबै शवको अङ्गका नमूना (भिसेरा) प्रहरीमार्फत् पठाएको छ। पानीमा कोही जिउँदै खसेर मरेको हो भने उसले नाक वा मुखबाट श्वास लिन नसकी मुख नाक र अन्य माध्यमबाट पानी शरीर भित्र पस्छ। यही क्रममा डायटमहरु पनि शरीर भरी फैलिन्छ। तर यदि कुनै मानिसलाई मारेर पानीमा फ्यालिन्छ भने डायटमहरु शरीरभित्र प्रसार (सर्कुलेसन) भएको हुँदैन।

-पोस्टमार्टम रिपोर्ट नआउँदै कुटपिटबाट मृत्यु भएको रिपोर्ट आयो भनेर कान्तिपुरमा समाचार लेख्ने रिपोर्टर भीमबहादुर सिंह असार १ को आन्दोलनमा अग्रमोर्चामा रहेको प्रत्यक्षदर्शीहरु बताउँछन्। पत्रकारहरु मात्र हैन वकीलहरुका पनि नेता सिंहको घटनामा ‘यस्तै भएको हुनुपर्छ’ भन्ने आफ्नै ठहर छ र ‘यस्तो हुनुपर्छ’ भन्ने आफ्नै माग पनि रहेको उनको अभिव्यक्तिले देखाउँछ।

कसरी आक्रोश फैलियो?

दोषीलाई कानुनी कारबाही र पीडितलाई न्यायका निम्ति जाजरकोटमा गठित सोती हत्याकान्ड संघर्ष समितिले गर्दै आएको चरणवद्ध आन्दोलनलाई ‘कोरोना संक्रमण फैलन सक्ने कुरालाई दृष्टिगत गर्दै जेठ २६ गतेदेखिका आन्दोलनका कार्यक्रम स्थगित गरिसकेको थियो।

जेठ ३२ गते प्रहरीले यो घटनाको अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझायो। सरकारी वकीलको कार्यालयले त्यही दिन ३४ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतका मुद्दामा सजाय माग गर्दै मुद्दा दायर गर्‍यो।

संघर्ष समितिको एउटा टोली पनि जाजरकोटबाट त्यो दिन रुकुम पश्चिम पुगेको थियो।

अदालतमा दायर गरिएको अभियोग पत्रमा पोस्टमार्टम रिपोर्टबारे पनि उल्लेख थियो। रिपोर्ट अङ्ग्रेजीमा छ। त्यसमा शरीरमा देखिएका चोटपटकहरुको बारेमा उल्लेख छ र ६ जनाकै मृत्युको कारण Drowning अर्थात् डुब्नु लेखिएको छ।

केही मिडियाले योबारे समाचार पनि सोही दिन लेखिसकेका थिए। भोलिपल्ट त झन् धेरै मिडियाले यसबारे समाचार बनाए।

कुटपिट गरेर, मारेर, नदीमा फालेको हुनुपर्नेमा ‘डुबेर मरेको’ पोस्टमार्टम रिपोर्ट कसरी आयो? पोस्टमार्टम रिपोर्टमा जालझेल भयो, शक्तिकेन्द्रहरु लागेर पोस्टममार्टम रिपोर्ट उल्टाइयो- यस्तै आरोपहरु फैलियो। पीडित परिवार आहत हुन पुगे। अनि अरुमा पनि आक्रोशको ज्वाला दन्कियो।

शंकैशंका !


यो घटना रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती औलमा भएको थियो। सबै शवहरु नदीमा फेला परे तर जाजरकोटको सीमापट्टी। त्यसैले शवको मुचुल्का जाजरकोटकै प्रहरीले उठाएको थियो र पोस्टमार्टम गर्न पनि जाजरकोटकै अस्पतालमा लगिएको थियो।

रुकुम र जाजरकोटका पत्रकारहरुबीचै यो घटनालाई लिएर ‘द्वन्द्व’को अवस्था भएको बारे ब्लग लेखिसकेको छु। रुकुमकै सांसद जनार्दन शर्माले संसदमा दिएको अभिव्यक्तिले उच्च राजनीतिक तहबाट चलखेलको शंका उब्जाएको कारण रुकुमपट्टी मुचुल्का उठाएको भए वा रुकुमको अस्पतालमा पोस्टमार्टम गरिएको भए झन् बढी शंका उब्जन सक्थ्यो।

तर जाजरकोटको अस्पतालमा भएको पोस्टमार्टमले पनि शंका निमिट्यान्न पार्न भने सकेन। जाजरकोट अस्पतालका मेडिकल अधिकृत डा. भुपेन्द्रप्रकाश मल्ल र सोती गाउँका अभियुक्तहरुबीच १३ दिने नाता पर्छ। त्यतिमात्र होइन, उनका बुबा भक्तबहादुर मल्ल वकील हुन्। यो मुद्दामा उनले आफ्ना आफन्त (प्रतिवादीहरु) का तर्फबाट बहस गर्दैछन्। यही विवाद आउँछ भनेर नै डा. भुपेन्द्रप्रकाश मल्ललाई पोस्टमार्टम गर्न दिइएको थिएन।

पाँच जनाको हस्ताक्षर भएको पोस्टमार्टम रिपोर्ट हेर्दा पनि उनको हस्ताक्षर देखिन्न।

तर लंका जलाउन सक्ने क्षमता भएको शंका त जसरी पनि उब्जिहाल्छ। अन्नपूर्ण पोस्टमा असार ५ मा प्रकाशित समाचार अनुसार मृतक नवराज विकका बुवा मुनलाल विकले ‘डा. मल्लका नातेदार पीडक पक्ष भएकाले उनले आफू नदेखिएर पोस्टमार्टम रिपोर्ट कमजोर बनाउन खोजेको’ आरोप लगाएका छन्।

यो शंकामा पोस्टमार्टममा संलग्न अर्को एक जना डाक्टर पनि जोडिए। अन्नपूर्ण पोस्ट कै समाचार अनुसार ‘स्वास्थ्य सेवा कार्यालय प्रमुख रहेका डा. सुनील पुन रुकुम निवासी भएकाले ‘उनको षड्यन्त्रमा रिपोर्ट उल्टो बनाइएको’ पीडित पक्षको आरोप छ।

अर्थात् डाक्टर पुनको डा. मल्लको जस्तो नाता पर्ने आरोप छैन। आरोप छ त- रुकुमवासी भएको।

आफन्त नाता पर्ने डा. मल्लले पोस्टमार्टम रिपोर्ट कमजोर कसरी बनाए? त्यसमा उनको भूमिका के थियो? डा. पुनले कसरी षड्यन्त्र गरे भन्ने यथार्थमा भन्दा हल्ला, हुनसक्ला र ‘रे’ का भरमा शंकाका आधारमा आरोप लागेका छन् र शंकाकै आधारमा समाचार पनि लेखिएको छ।

कुटपिट गरेर मारेको पोस्टमार्टम रिपोर्ट किन आएन?

केही समयअघि संसदमा एउटा रमाइलो घटना भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको प्रतिरोधी क्षमता बढी छ भन्ने अभिव्यक्ति दिए। नेपाली कांग्रेसका नेता गगन थापाले नेपालीको प्रतिरोधी क्षमता बढी छ भनेर कसले भनेको भनेर प्रतिप्रश्न गरे।

‘अघि भर्खरै मैले भनेको सुन्नु भएन?’ प्रधानमन्त्री ओलीको जवाफ थियो। उनको जवाफसँगै धेरै सांसदले टेबल ठोकेर समर्थन जनाएका थिए।

‘कसले भनेको’ भनेर वैज्ञानिक प्रमाण माग्दा ‘मैले भनेको’ भनेर हल्का जवाफ दिने कार्यकारी प्रमुख र त्यसैलाई समर्थन गर्ने कानुन बनाउने सांसदहरु भएको देशमा कुटपिट गरेर मरेको हो कसले भनेको भनेर सोध्ने कसले ? साइन्टिफिक रिजन खोज्ने कसले ? साइन्टिफिक रिजन खोज्ने ठाउँ नै पोस्टमार्टम रिपोर्ट हो। त्यसैमा ‘कुटपिट गरेर मारेर फालेको’ हुनुपर्ने ठाउँमा ‘डुबेर मरेको’ भन्ने आएपछि जालझेल भएकै ‘ठहर’ भइसक्यो।

अझ यो केसमा त डाक्टरहरुले पोस्टमार्टम रिपोर्ट बुझाउनुअघि नै कान्तिपुरले आफ्नै ‘पोस्टमार्टम रिपोर्ट’ तयार पारेर प्रकाशित गरिसकेको थियो। त्यसैले कसले भन्यो भन्दा ‘कान्तिपुरले’ भन्ने उपाय पनि छ।

कान्तिपुरले २०७७ जेठ १६ गतेको अंकमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट’ समाचार छापिसकेको थियो। रिपोर्ट भने जेठ २० गते बल्ल तयार भएको थियो।

कान्तिपुरले पोस्टमार्टम रिपोर्ट छापेकै दिन घटनासँग असम्बन्धित तर पोस्टमार्टमका अनुभवी डाक्टरहरुले सामाजिक सञ्जालमा चासो देखाएका थिए। दोलखाको चरिकोट अस्पतालमा कार्यरत डा. अरुण उप्रेतीले ट्विटरमा लेखेका थिए- “आज कान्तिपुरमा ‘पोष्टमोर्टम रिपोर्ट भन्छ: पाँचैको मृत्यु कुटपिटबाट’ भनेर समाचार छापिएछ। डाक्टरले कुटाइले मरेको बनेर लेख्दैनन्। यसरी व्याख्या नगरे हुने। अब गाउँमा हामीलाई पनि कुटपिटले मरेको भनेर लेख्दे भन्ने दबाब आउँछ। मिल्दैन भन्दा गाली धम्की आउँछ। अनि मार्नेसँग मिले भन्छन्।”

अर्का डाक्टर सुमन आचार्यले लेखे, ‘मृत्यु अघि यी यी ठाउँमा यस्ता हतियार (blunt/sharp) को प्रयोगले घाउचोट लागेको” भनेर लेखिन्छ। तर ती चोटले गर्दा नै मृत्यु भएको हो भनेर लेखिदैंन।’

मैले विगत केही दिनमा पोस्टमार्टम गर्ने अनुभव भएका केही डाक्टर, यस्तो कुटपिट/पानीमा शव भेटिएको घटनाको अनुसन्धान गरेका अनुसन्धानकर्मी र फरेन्सिक एक्सपर्टसित कुरा गरेँ र पोस्टमार्टम सम्बन्धी केही पुस्तकहरु पनि अध्ययन गरेँ।

मैले पोस्टमार्टम रिपोर्ट (अभियोग पत्रमा रहेको संक्षिप्त विवरण होइन, अस्पतालले तयार पारेको वास्तविक रिपोर्ट) नै पोस्टमार्टमका अनुभवी र विज्ञलाई देखाएर उनीहरुको विचार बुझेँ।

के हो पोस्टमार्टम?

पोस्टमार्टम भनेको सामान्य अर्थमा मृत्युपछिको जाँच हो। असामान्य मृत्यु (Unnatural death) हुँदा मृत्युको वैज्ञानिक कारण पत्ता लगाउन गरिने परीक्षण नै पोस्टमार्टम हो।

मेडिकल अफिसर हुँदा कयौँ पोस्टमार्टम गरेका डा. अरुण उप्रेतिका अनुसार पोस्टमार्टममा शवको बाहिरी अङ्गको चोटपटक हेरिन्छ र शरीर चिरेर, खोलेर भित्री अङ्गहरुको चोटपटक हेरिन्छ।

यहाँ हामीले ध्यान दिनुपर्ने कुरा के पनि हो भने नेपालमा अधिकांश पोस्टमार्टम विज्ञ (एक्सपर्ट) ले गर्दैनन्। सरकारी अस्पतालमा कार्यरत एमबीबीएस डाक्टरहरुले गर्छन्। सरकारी मुद्दासम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७३ मा ‘शव परीक्षण कार्य (पोस्टमार्टम) सम्भव भएसम्म फरेन्सिक विषयको विशेषज्ञले र त्यस्तो विशेषज्ञ नभएमा तालिम प्राप्त चिकित्सकले गर्नुपर्ने’ उल्लेख छ।

नेपालका मेडिकल कलेजहरुमा थर्ड इयरमा फरेन्सिक मेडिसिन पढाइन्छ। राम्रा कलेजका विद्यार्थीहरुले त फरेन्सिक पोस्टिङ नै भएर प्राक्टिकल नै गर्ने मौका पनि पाउँछन्। केहीले मेडिको-लिगल तालिम पनि पाउँछन्। तर डा. उप्रेतिका अनुसार सबैले यस्तो तालिम लिने मौका पाएका हुन्नन्। विदेशमा पढेर आउने डाक्टरहरुले फरेन्सिक मेडिसिन नपढेका पनि हुनसक्छन्।
पोस्टमार्टम गरेका सबै डाक्टरहरुले दिएको मत एउटै थियो, ‘हामीले दिने भनेको सिम्पल ओपिनियन हो। कुन वैज्ञानिक कारणले मृत्यु भएको हो भनेर हामीले लेख्ने हो।’

मेडिकल अफिसरका रुपमा पोस्टमार्टम गरेको अनुभव संगालेका डा. जगदीश पाण्डेका अनुसार पोस्टमार्टमले मृत्यु यसरी भयो भनेर सूचना दिने हो, यसको आधारमा अनुसन्धान प्रहरीले गर्ने हो।

कस्तो छ पोस्टमार्टम रिपोर्ट?

रुकुमका सिडिओ उपेन्द्रराज पौड्यालले हामी रुकुममै हुँदा जाजरकोट अस्पतालको टिमले पोस्टमार्टम रिपोर्टका लागि काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विज्ञ डा. हरिहर वस्तीसित पनि कन्सल्ट गरिरहेको कुरा बताएका थिए।

मैले यसको भेरिफाइ गर्न पोस्टमार्टम गरेर रिपोर्ट लेख्‍ने अनुभव भएका केही डाक्टरहरुलाई रिपोर्ट देखाएर उनीहरुको विचार जान्न खोजेको थिएँ।

डा. जगदीश पाण्डेका अनुसार यो घटनाको पोस्टमार्टम रिपोर्ट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रयोग हुने खालको रिपोर्ट फर्म्याट हो। ‘रिपोर्ट विस्तृत, विचार तथा निश्कर्ष सीधा र स्पष्ट (straightforward) छ। सबै कुरालाई ध्यानमा राखिएको छ’, उनले भने, ‘यो रिपोर्टमाथि कुनै एक्सपर्टले प्रश्न उठाउन सक्दैनन्।’

त्यसैगरी डा. अरुण उप्रेतिका अनुसार रिपोर्ट ‘निकै सावधानीपूर्वक लेखिएको छ।’

‘सामान्यतया पोस्टमार्टम रिपोर्ट यति विस्तृत हुने गर्दैन’, उनी भन्छन्, ‘पक्कै पनि आइओएमको फरेन्सिक डिपार्टमेन्टका कसैसित सल्लाह गरेको हुनुपर्छ।’

नाम खुलाउन नचाहने पोस्टमार्टम रिपोर्ट लेखिसकेका अन्य केही डाक्टरहरुको पनि लगभग यस्तै विचार थियो, ‘निकै ध्यान दिएर सबै कुरालाई ध्यानमा दिएर विस्तृत रिपोर्ट तयार पारिएको छ। पोस्टमार्टम रिपोर्टबाट योभन्दा धेरै केही आउनेवाला छैन।’

के छ पोस्टमार्टम रिपोर्टमा ?

पोस्टमार्टम रिपोर्टमा सबै ६ जनाकै शरीरमा चोटपटक रहेको उल्लेख छ। नवराज विक, टीकाराम नेपाली र गणेश बूढामगरको शरीरमा ब्लन्ट फोर्स इन्जुरीहरु थिए। लोकेन्द्र सुनार, सन्जु विक र गोविन्द शाहीको शरीरमा पनि बाह्य चोटपटक देखिएको रिपोर्टमा उल्लेख छ।

डा. उप्रेति भन्छन्, ‘सबै मृतकको शरीरमा चोटपटक छ तर त्यही मृत्यु हुने कारणका रुपमा ती चोट छैनन्। त्यसैले drowning नै मृत्युको कारण देखिन्छ।’

मृत्युको कारण र सम्भावित कारण

पोस्टमार्टम रिपोर्टमा सन्जु विक, टीकाराम नेपाली र गणेश बूढामगरको मृत्युको कारण (Cause of Death) Drowning लेखिएको छ भने नवराज विक, लोकेन्द्र सुनार र गोविन्द शाहीको सम्भावित मृत्युको कारण (Probable Cause of Death) Drowning लेखिएको छ।

सरकारी मुद्दा सम्बन्धी नियमावलीको शव परीक्षण प्रतिवेदनको फाराममा मृत्युको कारण (नेपालीमा समेत) लेख्ने ठाउँ राखिएको हुन्छ। तर कतिपय अवस्थामा दोहोरो अर्थ आउने हुन गयो भने नेपालीमा लेखिँदैन। जस्तै Cause of Death मा Hanging छ भने ‘झुण्डिएको’ लेख्नु र ‘झुण्ड्याइएको’ लेख्‍नुमा फरक हुन्छ। झुण्डिएको लेख्दा आफै ‘झुण्डिएको’ अर्थात् ‘आत्महत्या’ बुझिन्छ भने ‘झुण्ड्याइएको’ लेख्दा ‘मारेर झुण्ड्याइएको’ अर्थात् हत्याको अर्थ लाग्छ।

‘एउटै शब्दले निकै अर्थ राख्ने हुँदा शब्द चयनमा निकै ध्यान दिनुपर्ने हुन्छ रिपोर्ट लेख्ने बेलामा’, डा. उप्रेति अनुभवको आधारमा बताउँछन्।

यो पोस्टमार्टम रिपोर्टमा पनि अङ्ग्रेजीमा मात्र Drowning लेखिएको छ। नेपालीमा ‘डुबेको’, ‘डुबाइएको’ केही लेखिएको छैन।

अन्नपूर्ण पोस्टमा पोस्टमार्टम गर्ने एक जना डाक्टरले प्रतिक्रिया दिएका छन्, ‘हाम्रो रिपोर्टमा cause of death मा drowning भन्ने छ। drowning भन्ने बित्तिकै डुबेको भन्ने मात्रै अर्थ लाग्दैन। डुबाइएको भन्ने पनि हुन्छ।’

Probable Cause of Death
यो घटनामा तीन जनाको पोस्टमार्टम रिपोर्टमा सम्भावित मृत्युको कारण (Probable Cause of Death) Drowning लेखिएको छ। यस्तो किन लेखियो त?

पहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मै रहेका अमेरिकी Forensic Pathologist प्रोफेसर ए जे च्यापमानको पुस्तक “Death & Deductions” मा उल्लेख भए अनुसार मृत्युको अरु केही कारण नदेखिए र शव पानीमा भेटिएको भए मृत्युको सम्भावित कारण Drowning घोषणा गरिन्छ।

पोस्टमार्टममा Drowning हुँदैमा हत्या आकर्षित हुँदैन त?

अपराध अनुसन्धानका एक अनुभवीले पोस्टमार्टम रिपोर्टमा drowning हुँदैमा त्यसलाई भवितव्य (आकस्मिक घटना, दुर्घटना) नै ठहर नहुने र यस्तो अवस्थामा अन्य परिस्थितिजन्य प्रमाणहरु लागू हुने बताए।

‘शरीरमा कुटेका चोटपटकहरु छन् भने र कुट्ने को हो भनेर सनाखत पनि भएको छ भने उनीहरुकै चोटका कारण नमरे पनि मर्नुपर्ने अवस्थासम्म पुर्‍याएको वा मर्न बाध्य बनाएको त हो नि’, उनले भने, ‘अदालतले यस्ता प्रमाणहरु पनि हेर्छ, हेर्नुपर्छ।’

अनुसन्धानका अर्का अनुभवी भन्छन्, ‘मरणासन्न गरेर कुटेपछि बेहोस बनाएर खोलामा फ्याँकेको अवस्था पनि हुनसक्छ। यस्तो अवस्थामा चोटपटकबाट मृत्यु भएको नदेखी डुबेर मरेको देखिन सक्छ।’

उनी उदाहरण दिँदै थप्छन्, ‘कुटपिटको चोटपटक नभए पनि कसैले जानाजानी धकेलेर नदीमा खसालेको भए पनि पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण भनेर आउने त drowning नै हो। उसलाई जानाजानी फलानो फलानो मान्छेले खोलामा धकेलेर खसाएको हो भनेर अन्य प्रमाण बटुल्न सके त हत्या मै मुद्दा चलिहाल्छ नि।’

तर प्रहरीको बयानमुखी फितलो अनुसन्धानमा मृत्यु कसरी भएको कारण नै खुलेको छैन। (प्रहरीको फितलो अनुसन्धानबारे अर्को ब्लगमा विस्तृत लेखौँला)

नदीले बगाएका कयौँ शवको अनुसन्धान गरेका एक अनुभवीका अनुसार नबग्ने पानी जस्तै स्विमिङ पुल वा तलाउमा फेला पर्ने शव र नदीमा फेला पर्ने शवको प्रकृति फरक हुन्छ। नदीले बगाएका शवको शरीरमा बगाउने क्रममा चोटपटक लागेको हुनसक्छ। ‘कति लाशको त लुगा नै च्यातिएर नाङ्गै हुन्छ’, उनी भन्छन्, ‘नाङ्गै देख्दा सर्वसाधारणले मारेर नाङ्गै पारेर फालेको अनुमान गर्न सक्छन्। तर बगाउने क्रममा पनि यस्तो हुन्छ। तीव्र गतिको नदीले बगाउने क्रममा ढुंगाहरुमा ठोक्किएर अनुहार जिउमा घाउ भएको हुनसक्छ।’

यो केसमा पनि घेरेर कुटेको ठाउँभन्दा २ देखि २२ किलोमिटर टाढासम्म शव भेटिएका थिए।

डुबेर मरेको हो/हैन पत्ता लगाउन ‘डायटम टेस्ट’

पानीमा डुबेर मरेको हो कि मारेर फालिएको हो पत्ता लगाउन डाक्टरहरुले डायटम टेस्टका लागि शवको अङ्गका नमूना (भिसेरा) प्रहरीमार्फत् पठाएको छ। Drowning बाट भएको मृत्यु निश्चित गर्नका लागि यो एउटा महत्त्वपूर्ण टेस्ट हो, काठमान्डु युनिभर्सिटी मेडिकल स्कूलको डिपार्टमेन्ट अफ फरेन्सिक मेडिसिनका प्रमुख प्रोफेसर आरके शर्माको पुस्तक Fundamentals of Forensic Medicine and Toxicology (Medical Jurisprudence) मा लेखिएको छ।

डायटम भनेको अधिकांश नदी, पोखरी, नहरका पानीमा पाइने एक किसिमको पदार्थ हो। प्राध्यापक शर्माको प्राविधिक भाषामा सिलिका कोटिङ भएको युनिसेलुलर प्लान्टहरु हो डायटम भनेको।


डायटमको चित्र। साभार : प्रोफेसर शर्माको पुस्तक

पानीमा कोही जिउँदै खसेर मरेको हो भने उसले नाक वा मुखबाट श्वास लिन नसकी मुख नाक र अन्य माध्यमबाट पानी शरीर भित्र पस्छ। यही क्रममा डायटमहरु पनि शरीर भरी फैलिन्छ। पानी पसेपछि फोक्सो गह्रुँगो हुन्छ, अक्सिजन मुटुमा जाँदैन। अक्सिजनको सप्लाइ नभएपछि मृत्यु हुन्छ।

प्राध्यापक शर्माका अनुसार डायटमहरु भिसेरा र बोन म्यारो (हड्डीको भित्री लेदो) हरुमा जम्मा भएको हुन्छ। तर यदि कुनै मानिसलाई मारेर पानीमा फ्यालिन्छ भने डायटमहरु शरीरभित्र प्रसार (सर्कुलेसन) भएको हुँदैन।

शर्माको पुस्तकमा उल्लेख भए अनुसार यी नमूनालाई प्रयोगशालामा लगेर सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) बाट हेर्दा डायटमहरु देखियो भने डुबेर मरेको निश्चित हुन्छ। मारेर फालेको अवस्थामा शरीरमा डायटमहरु प्रवेश गर्न पाएको हुँदैन।

नेपालमा सरकारी आधिकारिकता पाएका दुई फरेन्सिक ल्याबहरु प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला दुवैमा यस्तो डायटम टेस्ट हुन्छ।

पोस्टमार्टम गर्ने चिकित्सकहरुले शवहरुको कलेजो र दुवै मिर्गौलाका टुक्रा डायटम टेस्ट र टक्सिकोलोजिकल एनालाइसिसको लागि आमाशयका टुक्रा पठाएका छन्। लोकेन्द्र सुनारको भने भिसेराबाहेक शवसँगै भेटिएको माछा मार्न प्रयोग गरिने सेतो रङको जाली पनि परीक्षण गर्न पठाइएको छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व प्रमुख जीवन रिजाल भन्छन्, ‘डायटम टेस्टको लागि कलेजो र मिर्गौला पठाइएको छ। फोक्सो पठाइएको छैन जस्तो छ।’

‘कलेजोमा मात्रै डायटम नभेटिन पनि सक्छ’, उनी भन्छन्, ‘फोक्सो पनि पठाइएको भए फल्स नेगेटिभ नतिजा आउने सम्भावना न्यून हुन्थ्यो। आशा गरौँ प्रष्ट नतिजा आउँछ।’

कुटाइका कारण मरेको भए कस्तो रिपोर्ट हुन्थ्यो?

पोस्टमार्टम रिपोर्टमा जालझेल भइरहेको आरोप लगाउनेहरुले ‘कुटेर मारेर पानीमा फालेको’ रिपोर्ट लेखिनुपर्नेमा नलेखेर मुद्दा कमजोर बनाइएको आरोप लगाउँछन्।

तर पोस्टमार्टम रिपोर्ट लेखेका डाक्टरहरु भन्छन्, कुटाइबाट मृत्यु भयो भनेर लेख्‍ने नै गरिँदैन। मुड्की हानेर, हात, लातको चोटबाट वा मुढे हतियारको चोटबाट मरेको भए ‘blunt force trauma’ का कारण मृत्यु भएको लेखिन्छ। धारिलो हतियारको चोटले परेको भए ‘sharp force injuries’ लेखिन्छ।

‘कान्तिपुरको समाचार शीर्षकमा जस्तो ‘पोस्टमार्टम रिपोर्टले कुटपिटबाट मृत्यु’ भनेर त्यसरी तोकेर भन्दैन’, उनीहरुले मलाई बताए।

कुटपिटबाट मरेको हो होइन हेर्ने वैज्ञानिक आधारहरु चाहिँ के हुन्छन् त ?

डा. उप्रेतिका अनुसार कुटपिटको कारण मृत्‍यु हुँदा देखिने संकेत यस्ता हुन्छन्-

टाउकोको चोट (Blunt or Sharp Force Injury to Head)
यसमा बाहिरी चोटपटकमा टाउको र अनुहारमा घस्रेको (abrasion), काटेको (Cut Injury) वा च्यातिएको(laceration) चोट वा नील डाम (contusion) हुन्छन्।

त्यसैगरी भित्री चोटहरुमा यस्तो संकेत हुन्छ-
१) टाउकोको छालामुनि रगत जमेको (Scalp hematoma)

२) खप्पर फुटेको (Skull fracture)

३) खप्पर भित्र, दिमागको झिल्ली(meninges) भित्र (Sudural hemorrage) वा बहिर(Epidural hemorrage) रगत जमेको

४) दिमागको तन्तु च्यतिएको (Laceration of Brain Parenchyma) वा तन्तुमा रगत जमेको

त्यसैगरी छातिको चोट (Blunt or Sharp Force Injury to Chest) हुन्छ।

यसमा बाहिरी चोटमा छाती वा ढाडमा घस्रेको (abrasion), काटेको(Cut Injury) वा च्यातिएको (Laceration) चोट वा नील डाम (contusion) हुन्छ।

भित्री चोटहरुमा

१) छातिको छालामुनि रगत जमेको (Chest wall hematoma)

२) करङका हड्डी भाँचिएको (Rib Fracture)

३) छातिभित्र रगत जमेको (Hemothorax)

४) फोक्सोको हावा बाहिर छातिमा भरिएको (Pneumothorax)

५) फोक्सो च्यातिएको(Laceration), फोक्सोमा रगत जमेको(Contusion)

६) मुटु बाहिर रगत जमेको (Cardiac Tamponade)

७) मुटु च्यातिएको(laceration) वा मुटुको मासुमा रगत जमेको (contusion)

८) ठूला रगतका नलीहरु (Aorta and its branches) काटिएको(Transection) वा च्यातिएको (Laceration)

त्यसैगरी पेटको चोटमा
बाहिरी चोट: पेट वा ढाडमा घस्रेको(Abrasion), काटेको(Cut Injury) वा च्यातिएको(Laceration) चोट वा नील डाम (Contusion)

भित्री चोटमा
१) पेटको छालामुनि रगत जमेको (Abdominal wall hematoma)

२) कम्मरको हड्डी भाँच्चिएको (Pelvic Fracture)

३) पेटभित्र रगत जमेको (Hemoperitoneum)

४) किड्नीमा च्यातिएको (laceration) वा काटिएको(cut injury) चोट, किड्नीको तन्तुमा रगत जमेको (contusion), किड्नीको रगतनली च्यातिएको वा काटिएको

५) कलेजोमा च्यातिएको (laceration) वा काटिएको (cut injury) चोट, कलेजोको तन्तुमा रगत जमेको (contusion), कलेजोको रगतनली च्यातिएको वा काटिएको

६) फियो (spleen) मा च्यातिएको वा काटिएको चोट, फियो (spleen) तन्तुमा रगत जमेको, फियो रगत नली च्यतिएको वा काटिएको

७) पेटको ठुलो रगत नली (Abdominal Aorta) काटिएको(Transection) वा च्यातिएको (Laceration)

यस्तो भए मात्र चोटका कारण मृ्त्यु भएको भन्ने निर्क्यौल गरिन्छ। फेला परेका शवहरुमा यस्तो अवस्था देखिन्न।

पोस्टमार्टम रिपोर्टमा दबाब

जिल्लाका अस्पतालहरुमा बसेर पोस्टमार्टम गरेर रिपोर्ट लेखेका थुप्रै अनुभवीहरुले पीडितहरुका तर्फबाट यस्तै लेख्नुपर्छ भनी निकै दबाब आउने बताउँछन्।

पूर्व एआइजी देवेन्द्र सुवेदीले त प्रधानमन्त्री हुँदा बाबुराम भट्टराईले अनामनगरको एउटा आत्महत्याको घटनामा दबाब दिएर निर्दोष बाबु आमा र एसएलसी दिँदै गरेको किशोर छोरालाई अभियुक्तका रुपमा २५ दिन थुन्न लगाएको आरोप सार्वजनिक रुपमै लगाएका थिए

घटना २०६९ सालको हो। अनामनगरस्थित कृष्ण प्रसाईँको पाँच तले घरमा काम गर्ने ३१ वर्षीया सरस्वती सुवेदी दिउँसो घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन्। सुवेदी त्यतिबेला अनुसन्धान विभागमा थिए। प्रहरीको अनुसन्धानले यो घटना आत्महत्या भएको देखायो।

तर महिला अधिकारकर्मीहरूले प्रहरीको अनुसन्धानमा प्रश्न गर्दै आवाज उठाएका थिए। परिवारले शव बुझ्न अस्वीकार गरेको थियो। पोस्टमार्टममा मृत्युको कारण झुण्डिएको (Hanging) देखिए पनि परिवारले दोहोर्‍याएर पोस्टमार्टम गर्नुपर्ने बताएका थिए। दोस्रो पटक पोस्टमार्टम गर्दा पनि झुण्डिएर मृत्यु भएको नै रिपोर्ट आएका थिए।

एक ‘अभियोजनकर्ता’ले झन् मार्मिक कुरा सुनाए। एक महिलाको आत्महत्याको केस थियो। जिल्ला गोप्य राख्‍न भनेकोले नाम खुलाउँदिनँ। अनुसन्धानले पनि त्यस्तै देखाएको थियो। तर पीडित परिवारले चर्को दबाब दियो। दबाब कै कारण हो कि किन हो, पोस्टमार्टम गर्नेहरुले Hanging भनेर नलेखी मृत्युको कारण ‘Undetermined’ लेखिदिए। उनले भने, ‘मैले पोस्टमार्टम गर्नेलाई किन यस्तो लेखेको भनेर सोधेँ। उसले पाँच दिन अघि पोस्टमार्टम गर्न पाएको भए मैले Hanging नै लेख्थेँ होला, मलाई पनि यो Hanging कै केस लाग्छ। तर Undetermined लेखिदिएँ भन्यो।’

अदालतले पोस्टमार्टम रिपोर्टकै आधारमा पुर्पक्षका लागि श्रीमानलाई थुनामा पठाइदियो। पछि श्रीमानले थुनामै आत्महत्या गर्‍यो।

अहिले पोस्टमार्टम रिपोर्टको विरुद्ध जाजरकोटमा आन्दोलन चल्नुको कारण पनि एक त यस्तो रिपोर्टमा के लेखिन्छ भन्ने थाहा नभएर हो भने अर्को हामीले भने जस्तै हुनुपर्छ भन्ने दबाब हो। राजनीतिकरण भएका केसहरु यसै गरी गिजोलिन्छ। नभए यसमा घटनाको कारण- अन्तर्जातीय विवाह नस्वीकार्नु, कारक- लखेटेर कुटपिट गर्ने गाउँलेहरु, परिणाम- ६/६ जनाले ज्यान गुमाउनु परेको स्पष्टै छ। निर्मला प्रकरणमा जस्तो कसले बलात्कार र हत्या गर्‍यो भनेर खोज्नुपर्ने स्थिति नै छैन। तर त्यो प्रकरणमा जस्तो उच्च नेताको प्रभावको शंका भने छ।

अमेरिकामा जर्ज फ्लोइडको पोस्टमार्टम विवाद


पोस्टमार्टम रिपोर्टमा यस्तो विवाद नेपालमा मात्र होइन बाहिर पनि हुने गर्छ। रुकुममा यो घटना भएको दुई दिनपछि अमेरिकामा काला जातिका जर्ज फ्लोइडको प्रहरी अधिकारीद्वारा भएको हत्याको पोस्टमार्टम रिपोर्टमा पनि विवाद भएको थियो।

यो केसमा प्रत्यक्षदर्शीले खिचेको भिडियोमा प्रहरीले घुँडाले गर्धनमा थिचेको र फ्लोइडले मैले श्वास फेर्न सकिनँ भनेको स्पष्ट देखिएको छ। ‘सरकारी पोस्टमार्टम रिपोर्टले निस्सासिएर मरेको हैन भनेर भनेको थियो, तर पछि निजी पोस्ट्मार्टम गराएर हेर्दा निस्सासिएरै मरेको देखियो’ भन्ने धेरैले बुझेका छन्।

तर कुरा त्यसो होइन। फरेन्सिक प्याथोलोजिस्टहरु र मेडिकल एक्सपर्टहरुले दुवै रिपोर्टको निश्कर्ष एउटै रहेको र भन्ने तरिकामात्र फरक रहेको बताएका छन्।

सन फ्रान्सिस्कोका फरेन्सिक प्याथोलोजिस्ट डा. जुडी मेलिनेकले पोस्टमार्टम रिपोर्टमा मान्छेहरु अन्यौलमा पर्नुको कारण मिडिया र पब्लिकले गलत व्याख्या (misinterpretation) गरेको बताउँछन्।

१२ जना फिजिसियनहरुले साइन्टिफिक अमेरिकनमा लेख लेख्दै मेडिकल भाषालाई हतियार बनाएर मिथ्या सूचना फैलाइएकोमा आलोचना गरेका थिए। धेरै मिडियाले समाचार बनाउँदा पोस्टमार्टम रिपोर्टमा “revealed no physical findings that support a diagnosis of traumatic asphyxiation,” and that “potential intoxicants” and preexisting cardiovascular disease “likely contributed to his death.” लेखिएको भनेका थिए।

खासमा यी कोट गरिएका शब्द पोस्टमार्टम गर्ने फिजिसियनको नभएर अभियोग पत्र (चार्जिङ डकुमेन्ट) बाट निकालिएको रहेछ। यो खासमा मेडिकल जानकारीको राजनीतिकरण गरेर व्याख्या गरिएको उनीहरुको ठहर छ।

वास्तवमा फ्लोइडको परिवारले निजी डाक्टरहरु राखेर तयार पारेको रिपोर्ट र Hennepin County Medical Examiner’s Office ले तयार पारेको रिपोर्ट दुवैमा मृत्युको कारण होमिसाइड : अर्काको हातबाट मृत्यु उल्लेख रहेछ।

तर पोस्टमार्टम रिपोर्टको मेडिकल फाइन्डिङ्ग्सलाई गलत तरिकाले चित्रण गरेर कानुनी प्रणाली र मिडियाले गोरा सर्वोच्चतालाई प्रोत्साहित गरेको उनीहरुले लेखेका छन्।

मेडपेज टुडेमा फरेन्सिक प्याथोलोजिस्ट जुडी मेलिनेकले लेखेकी छिन्- कहिलेकाहीँ अटोप्सीले सबै कुरा देखाउँदैन। फरेन्सिक प्याथोलोजिस्टले मृत्युको कारण र मृत्युको तरिका (म्यानर अफ डेथ) अटोप्सीको नतिजा मात्र हेरेर सही रुपमा निर्धारण गर्न सक्दैन। किनभने भित्री अङ्गमा चोट नपुर्‍याइ मान्छेलाई मार्ने अनेक तरिकाहरु छन्। घाँटी र छातीमा थिचेर asphyxia (श्वास फेर्न नसक्ने) गर्नु एउटा त्यस्तै तरिका हो।

सुरुका समाचारमा medical examiner ले घाँटी अँठ्याएर श्वास फेर्न नसक्ने नै बनाएको छैन (asphyxia had been ruled out) भनेर आएको समाचार नै गलत भएको उनी लेख्छिन्।
हेर्ने हो भने Hennepin County Medical Examiner’s Office को सुरुको प्रेस रिलिजमै Cause of death: Cardiopulmonary arrest complicating law enforcement subdual, restraint, and neck compression लेखिएको छ।

र, पछि जारी गरिएको पूर्ण रिपोर्टमा पनि त्यस्तै छ

मुख्य कुरा मिडियाले रिपोर्टिङ गर्दा बिगारेको छ।

अहिले नेपालमा पनि यही भइरहेको छ। सुरुमै ‘कान्तिपुर’ले कुटपिटबाट मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखियो भनेर लेखिदियो। त्यसपछि पोस्टमार्टम रिपोर्टको प्राविधिक कुरा नबुझ्नेहरुलाई कुटेर मरेको किन लेखिएन, डुबेर मरेको किन लेखियो भन्ने पर्‍यो।

समाचार सही बनाउन संवाददाता फिल्डमा?


अझ एउटा अर्को संयोग पनि देखियो। नयाँ पत्रिकामा छापिएको माथिको फोटो यो ब्लगको सुरुमा लेखिएको असार १ गते दिउँसोको हो। पोस्टमार्टम रिपोर्टमा जालझेल भएको आरोप लगाउँदै प्रदर्शनकारीहरुले जाजरकोट जिल्ला अस्पतालको बाहिरी गेट खोलेर भित्र पस्न लाग्दाको यो फोटोमा देखिएका नीलो टिसर्ट र सेतो मास्क लगाउने व्यक्ति कान्तिपुरका जाजरकोट संवाददाता भीमबहादुर सिंह हुन्। उनैले कान्तिपुरमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट’ शीर्षकको फेक न्युज लेखेका थिए।

यो फोटोमा कान्तिपुर रिपोर्टर के गर्दैछन् त? रिपोर्टिङका लागि पनि गएका हुनसक्छन्।

तर प्रत्यक्षदर्शीहरुका अनुसार उनको भूमिका रिपोर्टिङको जस्तो मात्र देखिएको थिएन। त्यो बेला त्यहीँ रहेका मैले कुरा गरेका केहीले अस्पतालको बाहिरी गेट नै उनैले जबर्जस्ती खोलेर प्रदर्शनकारीलाई भित्र बोलाएको आफैले देखेको बताए। उनी प्रदर्शनकारीहरुसित कुरा गरिरहेका, निर्देशन दिइरहेको जस्तो देखिएको भनी प्रत्यक्षदर्शीहरुले बताएको कुरा युट्युबको यो भिडियोबाट पनि प्रष्ट हुन्छ।

सिंह आफैले आफ्नो फेसबुकमा एउटा भिडियो सेयर गरेका छन्।

स्टार टिभी नेपाल नामको युट्युब च्यानलमा राखिएको यो भिडियोमा सिंहले आफै न्यायाधीशसरह बनेर ‘सोती गाउँका जति जना छन्, ती सबै अपराधी हुन्’ भन्ने ठहर गरेका छन्।

त्यतिमात्र होइन सरकारी वकिलको कार्यालयले कस्तो मुद्दा लानु पर्ने, अदालतले कस्तो फैसला गर्नुपर्ने समेत बताएका छन् उनले। ‘पाखामा मारेर बर्बर हत्या गरेर भेरी नदीमा फालेको’ ठहर पनि छ उनको। भिडियोमा ‘हाम्रो माग छ’ मात्र हैन ‘मेरो माग छ’ समेत भनेर आफू पनि आन्दोलनको अग्रमोर्चामै रहेको स्पष्ट पारेका छन्।

त्यसैगरी यो भिडियोमा सिंहले भनेका छन्, ‘हामीले फरेन्सिक ल्याब, त्यो दुनियाँ रिपोर्ट हेर्ने होइन, हामी आफैले बुझ्दाखेरी अनुभवको आधारमा भन्न सक्छौँ नदीमा बगेर अथवा डुबेर मरेको होइन।’

सिंह कान्तिपुरका रिपोर्टर मात्र हैनन्, नेपाल पत्रकार महासंघ जाजरकोट जिल्लाका सभापति पनि हुन्। अर्थात् पत्रकारका नेता। तर उनको परिचय यतिमा मात्र सीमित छैन। उनी वकीलहरुका नेता पनि हुन्। अर्थात् वकीलहरुको छाता संगठन नेपाल बार एसोसिएसन जाजरकोट जिल्लाका अध्यक्ष।

उनले १३ अप्रिलमा आफ्नो फेसबुकमा नयाँ वर्षको शुभकामना भनेर एउटै व्यहोरका दुई वटा शुभकामना सन्देश पोस्ट गरेका थिए- एउटा, पत्रकार महासंघ जिल्ला सभापतिका नाताले, अर्को बार एसोसिएसन जाजरकोटका अध्यक्षको नाताले।

केही वर्षअघिसम्म उनको अर्को एउटा परिचय पनि थियो- स्थायी शिक्षक। तर अहिले उनले राजीनामा दिइसकेका छन्।

आन्दोलनको मोर्चामा रहेका, घटनामा ‘यस्तै भएको हुनुपर्छ’ भन्ने आफ्नै ठहर भएका र ‘यस्तो हुनुपर्छ’ भन्ने आफ्नै माग पनि रहेका संवाददाताले देशको एक प्रभावशाली राष्ट्रिय दैनिकमा समाचार कस्तो लेख्लान् ? के उनले पत्रकारिताको सामान्य एबीसी सिद्धान्त ‍- एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलिटी कायम गर्न सक्लान्? यो प्रश्नको जवाफ पाठकहरुले खोज्‍ने हो।

7 comments to ‘मारेर फाल्दा’ पनि किन ‘डुबेर मरेको’ रिपोर्ट आयो : रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार

  • विकास

    जानाजानी धकेलेर नदीमा खसालेको भए पनि पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण भनेर आउने त drowning नै हो। उसलाई जानाजानी फलानो फलानो मान्छेले खोलामा धकेलेर खसाएको हो भनेर अन्य प्रमाण बटुल्न सके त हत्या मै मुद्दा चलिहाल्छ नि।’ यस घटनालाई पनि त घेरा हालेर कुटपिट गरेका छन यसलाई माथिको अनुसार सीधै हत्या गरेको भन्न सकिन्छ नि कि।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Bam Nepali

    समुदाय र पीडित भावुक हुन पाउछन् । तर, पत्रकारनै भावुक भएर भिड उचालेर केसलाई तथ्य भन्दा भिन्न पार्न लाग्नु दु:खद ! सिंह वकिल मात्रै हुन! न्यायाधीश होइनन् !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ganesh katwal

    कुरा नाताबाद,कृपाबादमा अल्झिएको कुराले उब्जाएको पोस्टमार्ट्म रिपोर्ट माथी सन्काहुनु कुनै नौलोकुरा होइन किनकि सुनियोजित र सावधानि पुर्बक घटनाएएको घटना हुनाले कज अफ डेथ ड्रविङ लेखे पनि मृत्यु भएका ब्यतिको बाहिरी कुरामा देखाइ प्रहरिको,समाजको,बादी, प्रतिबादिको बयान र पोस्टमार्ट्म गर्ने गराइने को प्रकृति लेखाइ बोलाइ मा एउटै कुर वा मिल्दो जुल्दो वा बिल्कुलै फर छ त्यो नै यो केसको प्रकृतिमा लाइअदातले धर्म छाड्नु हुदैन केही फरक पर्दैन ड्रविङ कज ओफ डेथ लेखेर तर फर पर्छ जबकी घाउ,चोटपट लाई बाङोटिङ्गो पारेमा ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Santosh Pradhan

    ओहो कति मिहिनेत गरेर लेखेर सबै कुरा प्रष्ट पारीदिनु भयो| धन्यबाद उमेश दाजु। 🙏🙏🙏

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • राजु आचार्य

    नेताहरुलाइ मात्र दोष दिएर हुन्न । पत्रकार पनि सुध्रनु आवश्यक हुन्छ । पत्रकारिताको सामान्य एबीसी सिद्धान्त ‍- एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलिटी कायम गर्न सक्नु पर्छ । जानकारीका लागि सच्चा पत्रकार उमेस श्रेष्ठलाइ धेरै धेरै धन्यवाद ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • […] सन्दर्भ थाहा नपाउनेले यो के भनेको हो भनेर बुझ्न सक्दैनन्। खासमा भएको के थियो भने कान्तिपुरले २०७७ जेठ १६ गतेको अंकमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट’ शीर्षकमा समाचार छापेको थियो। तर त्यतिबेला पोस्टमार्टम रिपोर्टै तयार भएको थिएन। रिपोर्ट २० गते बल्ल तयार भएको थियो। पोस्टमार्टम रिपोर्टमा drowning अर्थात् डुबेको कारण मृत्यु भएको आएपछि कान्तिपुरको जस्तो रिपोर्ट किन नआएको भनी अस्पतालमा हवाई फायर गर्नुपर्ने गरी आक्रोशित भिडले आक्रमण गरेको थियो। त्यहाँ कान्तिपुरका पत्रकारको भूमिका कस्तो थियो भन्ने पनि यो ब्लगमा लेखिसकेको छु। […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)