यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

MySansar Exclusive: खोज (भाग २)

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ बजारमा आएको धेरै भएकै थिएन, माइसंसारमा प्रकाशन गर्ने अनुमतिसहित पूरै पुस्तकको सफ्टकपि पठाउनुभएको थियो। लेखकले अनुमति दिए पनि म आफैले यहाँ राख्‍न धेरै समय लिएको हुँ। बीचमा ‘सोच’ जस्तो यसलाई पनि अडियोमा नै प्रस्तुत गर्ने कि भन्ने पनि तयारी भएको थियो। तर त्यो तयारीले मूर्त रुप लिन सकेन र ढिलै भए पनि पुस्तकको अंश गत सातादेखि हरेक आइतबार राख्न थालेको छु। पहिलो भाग यहाँ।

सञ्जीवनी
-कर्ण शाक्य-
अरूहरूका निमित्त बाँच्नु सजिलो छैन। क्यान्सरबाट मेरी पहिली श्रीमती र छोरीको देहावसान भएपछि म आठ–दस वर्षसम्म यो क्षेत्रमा अन्तरात्माबाटै लागेको थिएँ। क्यान्सर रोगी र उनीहरूका आफन्तसित पीडा र दुःख कम गर्न जानी–नजानी मैले काउन्सिलिङको काम गरेको थिएँ। पछि यसले मेरो दिमागमा एउटा प्रतिकूल असर पार्न थाल्यो। अकस्मात राति दुई बजे निद्राबाट झसङ्ग बिउँझिने, मनमा अनायास डर लाग्ने, अनि एकैछिनमा चिटचिट पसिना आउने हुन थाल्यो। काठमाडौँमा यो मानसिक समस्याबारे मैले कुनै साइक्याट्रिक डाक्टरहरूसित छलफल गर्दा अर्कै हल्ला हुन्छ भनेर अमेरिकाको हवाइ जाँदा मानसिक रोगका एकजना डाक्टरसित जाँच गराएँ।

सबै कुरा सुनेपछि डाक्टरले बीचैमा ‘आइन्दा अब कुनै पनि बिरामी र बिरामीका परिवारहरूलाई सरसल्लाह दिने काउन्सिलिङको काम नगर्नू’ भनी सल्लाह दिए। वास्तवमा कसैको दुःख र पीडाबारे कुरा गर्ने पनि एउटा प्रक्रिया र प्रविधि हुँदो रहेछ। बिना ज्ञान कसैको दुःख साट्न लाग्यो भने यसले दूरगामी असर पार्दो रहेछ। वास्तवमा के भएको रहेछ भने जब म कुनै बिरामी र उसका परिवारलाई ढाडस दिन खोज्छु, त्यो बेला उनीहरूको दुःखद पीडाका अंश मेरो दिमागका कोशकोशमा गएर सुटुक्क बस्दा रहेछन्। पछि जब पीडाका धेरै कथाहरू दिमागमा थुप्रिन्छन्, अनि त्यसलाई धान्न नसकेर कहिलेकाहीँ मध्यरातमा त्यो पीडाले तर्साउँदो रहेछ।

कैयौँचोटि मेरा परिवारका सदस्यहरूले मलाई भनेका छन्, ‘अब भयो, जेजति गर्न सक्नुहुन्थ्यो, गर्नुभयो। अब तपाईले जिन्दगीको अर्को धार सुरु गर्नुपर्‍यो।’ दोस्रो विवाह गरेपछि क्यान्सरसम्बन्धी समाजसेवाबाट संन्यास लिने विचार मैले पनि गरेको थिएँ। किनभने जुन बेला म क्यान्सरको कुरो गर्छु, त्यो बेला मेरो मनभित्र बितेका भावनात्मक एवम् मार्मिक लहरहरूमा म बग्ने गर्छु। त्यसरी अतीतका सम्झनाहरूमा हराउँदा सायद मेरी दोस्री श्रीमतीको मनमा अवश्य पनि असजिलोपन र अप्ठ्यारोपन अनुभव भएको हुन सक्छ। किनभने कुनै पनि श्रीमतीलाई आफ्ना श्रीमान्को अरूसितको सम्बन्ध स्वीकार्न सजिलो हुँदैन, चाहे त्यो अर्की आइमाई मेरै पहिलेकी श्रीमती नै किन नहोऊन्।

मनमा यस्ता खालका संवेदनशील व्यावहारिक कुराहरू आए पनि मैले क्यान्सरसम्बन्धी समाजसेवाको क्षेत्रलाई छोड्नै सकिनँ र यस क्षेत्रमा लागेका मेरा अन्य मित्रहरूले पनि मलाई छोड्न दिएनन्। खास गरी मेरा अत्यन्त प्रिय मित्र दिवाकर राजकर्णिकार, जो अहिले नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष हुनुहुन्छ, उहाँ मलाई क्यान्सरसम्बन्धी हरेक कार्यक्रमहरूमा सहभागी बनाइरहनुहुन्छ। यस क्षेत्रमा निरन्तर लागिरहेको हुँदा यस रोगबारे ममा धेरै जानकारी पनि भइसकेको छ। डाक्टरले जस्तै यो रोगको प्रतिकारात्मक एवम् उपचारात्मक पक्षसमेत मैले विस्तृत रूपले जान्ने मौका पाएको छु।

तीन वर्षपहिले बैङ्ककको बुम्रुङग्राड अस्पतालबाट मेरो प्रोस्टेटमा क्यान्सर नभएको रिपोर्ट दिइएको थियो। छ महिनापछि रगत जचाउँदा PSA मा फेरि बढोत्तरी भएको देखियो। त्यसपछि मैले क्यान्सरबारे अरू थप जानकारी लिन खोजेँ। लोग्नेमान्छेको रगतमा PSA बढी देखियो भने यसले ट्युमरको सङ्केत गर्छ। मलाई थाहा छ, साठी वर्ष नाघेपछि थुप्रै मानिसलाई प्रोस्टेटमा पिसाबसम्बन्धी अनेक रोगहरू हुन सक्छन्। साधारणतया रगतमा PSA बढी हुनासाथ क्यान्सरको शङ्का गरिन्छ। तर कतिपय साथीहरू PSA बढी हुँदाहुँदै पनि केही नगरीकन डरले होला सायद त्यसै बसिरहन्छन्। यसरी बस्न हुन्छ भनेर त भन्न सकिन्न, तर भन्छन् मानिस प्रोस्टेटको क्यान्सरले मर्दैन रे ! किनभने यो कति ढीलो बढ्छ रे भने भविष्यमा उसलाई प्रोस्टेटको क्यान्सरले सताउनुभन्दा पहिले नै बुढेसकालका अन्य रोगहरूले उसलाई सताउँछन् रे !

तर क्यान्सरसम्बन्धी ज्ञान र चेतनाले मलाई त्यसै चुपचाप बस्न दिएन। मैले आफ्नो रोगबारे विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय डाक्टरहरूसित सरसल्लाह लिने काम गरिरहेँ। यसै क्रममा दुई वर्षपहिले म फेरि बैङ्ककको बुम्रुङग्राड अस्पतालमै पुगेँ र मेरो पहिलेकै डाक्टरलाई जचाएँ, बोन स्क्यानिङ गराएँ, केही देखिएन। पेटको अल्ट्रासाउन्ड गराएँ, केही भेटिएन। मुत्रद्वारमा डाक्टरले औँला घुसारेर जाँच गरे, त्यहाँ पनि कुनै असाधारण सङ्केत देखिएन। तर PSA भने घट्तै घटेन। प्रोस्टेटसम्बन्धी बेल्जियमका विश्वविख्यात डाक्टर आइन मार्गरेटले त भने पनि, ‘अब केही धन्दा मान्नुपर्दैन, रक्तपरीक्षण गर्ने काम छोडिदेऊ, आरामले बस, मासु धेरै नखाऊ, एक्सरसाइज गर र क्यान्सरको चिन्ता छोड।’

मलाई पनि लाग्यो, अब त्यसरी नै जिन्दगी बिताउनुपर्ला ! तर कहाँ हुन्छ ! एकचोटि क्यान्सरको शङ्का लागेपछि त्यसका बारेमा निर्क्योल त गर्नैपर्‍यो ! शङ्कैशङ्कामा जिन्दगी आरामले बाँच्न सकिँदैन। एकचोटि सत्य थाहा पाएपछि जे हुन्छ, देखा जाएगा। जिन्दगी बिताउन धेरै गाह्रो त हुँदैन ! बैङ्ककका डाक्टरले फेरि प्रोस्टेटको बायोप्सी गर्ने सल्लाह दिए। बायोप्सी गर्न खोजेको थिएँ, तर पहिलेजस्तै इन्फेक्सन हुन्छ होला भन्ठानेर मैले बैङ्ककमा बायोप्सी गर्न मानिनँ र काठमाडौँमा फर्केर दिल्लीमा गई एउटा राम्रो डाक्टरकहाँ बायोप्सी गराउने विचार गरेँ। मेरा जेठा छोरा सुनील मसँग रिसाए, ‘यस्तो राम्रो अस्पताल छोडेर अब कहाँ नेपाल र इन्डियामा बायोप्सी गर्ने ! यहाँसम्म आइसकेपछि यहीँ गर्ने नि ! अब कहाँ फर्कने !’

छोराले जबर्जस्ती गरे पनि मैले मानिनँ र नेपालमै फर्किएँ। काठमाडौँ आएपछि मेरी श्रीमतीले अमेरिकामा आफ्ना माइती भएका हुँदा त्यहीँ गएर उपचार गर्ने कुरा गरिन्। त्यो पनि मैले मानिनँ। नमान्नुको पनि कारण छ। त्यो के भने अमेरिकामा मेरो एउटा मित्र छ डा. स्टिभ स्टिभेन्स। ऊ युनिभर्सिटी अफ म्यासाच्युसेट, युम्यासको समाजशास्त्रको प्राध्यापक हो। उसलाई पनि प्रोस्टेटको क्यान्सर भएको थियो। सात वर्षपहिले बोस्टन सहरको एउटा उच्चस्तरीय अस्पतालमा शल्यक्रिया गरेको थियो। शल्यक्रियापश्चात घाउ नै राम्ररी निको नभईकन तीन दिनमै पेटमा पाइप र पिसाब सङ्कलन गर्ने प्लास्टिक ब्यागसमेत झुन्ड्याई उसलाई डिस्चार्ज गरेर घर पठाइएको थियो। अपरेसनको टाँका नकाटेसम्म उसले अस्पतालमै बसेर उपचार गर्न खोजेको थियो। तर ‘इन्सुरेन्स पोलिसी याने’ बीमासम्बन्धी नियमले नदिएपछि घरैमा बसेर उपचार गर्नुपर्ने बाध्यता भयो। घर गएको तीन दिनपछि नै पाइप्ाबाट आउनुपर्ने पिसाब बन्द भएछ। उसलाई परेको पीरमर्का मलाई सुनाउँदा यस्ता समस्याहरू नेपालमा मात्र होइन, अमेरिकामा पनि हुँदा रहेछन् भन्ने कुरा थाहा पाइयो। विदेशीहरू त बच्चैदेखि स्वतन्त्र जीवनशैली बिताउने भएका हुँदा यस्ता समस्याहरूलाई उनीहरू सहजै लिन्छन्, तर टाउको मात्र दुख्यो भने पनि
परिवारको सहानुभूति चाहिने हामी नेपालीहरूका लागि त्यो त्यति सजिलो हँुदैन। जब अमेरिकामा स्टिभजस्ता विशिष्ट स्थानीय बासिन्दालाई त त्यस्तो आपत पर्न सक्छ भने हामीलाई त्यहाँ कस्तो हालत हुन्छ होला?

पैसा बढी खर्च हुन्छ भनेर अमेरिकामा उपचार गर्न नचाहेको होइन। कहिलेेकाहीँ हामीलाई अपर्झट आपतविपत् आइपर्दा हतारिएर हामी त्यस्तो निर्णय गर्छाैं जसका कारण हामीले पछि पछुताउनुपर्ने हुन्छ। क्यान्सर रोग लाग्यो भने यस रोगलाई एकचोटि मात्र उपचार गरेर पुग्दैन। एकचोटि मात्र उपचार गरिने भए त जहाँ पनि गइन्थ्यो होला। तर समय–समयमा स्वास्थ्य–परीक्षणका लागि विदेशमा धाइरहनुपर्छ। कतिचोटि जाने? भिसा चाहियो, डलर साट्नुपर्‍यो, परिवार र आफ्ना सबै उद्योग–व्यापारलाई छाडेर महिनौँँ–महिनासम्म बाहिर बस्नुपर्‍यो। स्वास्थ्य–उपचारका निमित्त विदेश जाँदा सम्पूर्ण परिवारका सदस्यको र आºनो पनि मन स्थिर हुँदैन। बिरामी शरीर बोकेर विदेश जाँदा शारीरिक, मानसिक र आर्थिक तनाव खप्नु सजिलो कुरो होइन। विदेशमा बसी उपचार गराउँदा बिरामीलाई घरको सम्झनाले सताउँछ र सम्पूर्ण परिवारलाई पनि विदेशमा बिरामीलाई के भइरहेछ भन्ने डर–त्रासले सताउँछ। त्यसैले मैले या त नेपालमा या भारतमा स्वास्थ्य–उपचार गर्ने निर्णय गरेँ। अन्तमा मैले दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा बायोप्सी गर्ने विचार गरेँ। कथम्कदाचित् क्यान्सर भएको थाहा पाइयो भने पनि त्यहीँ शल्यक्रिया गरेर उपचार गर्ने मनसाय बनाएँ।

दिल्ली जान टाढा पनि छैन। हवाइजहाजको टिकट पाइएन भने रेलबाट पनि जान सकिन्छ। भारतको कुनै पनि सहरमा उपचार गर्न जाँदा एक्लै पनि जान सकिन्छ र केही पैसाको व्यवस्था गर्न सकियो भने सम्पूर्ण परिवारलाई समेत लिएर जान सकिन्छ। योभन्दा आरामदायी उपचार के हुन सक्छ?

म सबै परिवार र काम गर्ने मानिसहरूलाई समेत लिएर दिल्लीमा उपचार गर्न गएँ। दिल्लीको रोहनीस्थित राजीव गान्धी अस्पतालका डाक्टर सुधीर रावलसित अनुमति ९ब्उउयष्लत्कभलत० लिएर भेट्न गएँ। चालीस–पैँतालीस वर्षका, अग्ला, हेर्दैमा डाक्टर भन्न लायकका व्यक्ति रहेछन् उनी। कुरा गर्ने धेरै कम, तर रोगका बारेमा उनको ज्ञान धेरै राम्रो रहेछ। पन्ध्र–बीस मिनेट कुरा गरेपछि मेरो मनमा लाग्यो यही डाक्टरसित म बायोप्सी गराउँछु र क्यान्सर रहेछ भने पनि यही डाक्टरको हातबाट शल्यक्रिया गराउँछु।

रोगको उपचारका निमित्त डाक्टरलाई विश्वास गर्न सक्नुपर्छ। आशा र विश्वासविना रोगको उपचार गर्न सकिँदैन।

बैङ्ककमा बायोप्सी गराउँदा अति नै नराम्रो किसिमले इन्फेक्सन भएको हुँदा राम्ररी विचार गरिदिनका निमित्त मैले डाक्टर रावललाई अनुरोध गरेँ। डाक्टर रावलले बायोप्सी गर्नुभन्दा एक दिनअगाडि नै अस्पतालमा भर्ना गराएर सुरुदेखि नै एन्टिबायोटिक इन्जेक्सन दिएपछि मात्र बायोप्सी गर्ने विचार गरे ताकि इन्फेक्सन हुने सम्भावना एकदमै कम रहोस्। डाक्टर रावलकै उपस्थितिमा अन्य दुईजना डाक्टरले मेरो प्रोस्टेटमा इन्जेक्सनको ट्युब घुसारे र दस–पन्ध्र ठाउँबाट सूक्ष्म तरिकाले बायोप्सीका लागि मासुहरू निकाली जाँच गर्न पठाए। बायोप्सीको नतिजा ४८ घन्टापछि आउँदो रहेछ। बायोप्सीपश्चात् म अस्पताल छाडेर पनि जान सक्थेँ। तर मैले रिपोर्ट नआउन्जेलसम्म अस्पतालमै बस्नका लागि डाक्टरसँग अनुरोध गरेँ। यस्तो अवस्था के अमेरिकामा सम्भव थियो? भइहालेको भए पनि के अलिअलि पैसाले त्यस्तो व्यवस्था मिलाउन सकिन्थ्यो?

दुई दिनपछि डा. रावलले अस्पतालको मेरो कोठैमा आएर बायोप्सीको रिपोर्ट दिए। त्यो बेला म एक्लै खाटमा सुतिरहेको थिएँ। जब मैले बायोप्सीको रिपोर्ट हेरेँ, मेरा आँखा सबैभन्दा पहिले ‘कार्सिनोमा’ भन्ने शब्दमा गइहाले। यसको मतलब हो मेरो प्रोस्टेटको कुनै कुनामा क्यान्सर सुटुक्क लुकेर बसिरहेको रहेछ। रिपोर्ट हेर्दाहेर्दै मलाई भगवान्सित साह्रै रिस उठ्यो। यही रोगले बीस वर्षपहिले मेरी श्रीमतीलाई लग्यो, मेरी जवान छोरीलाई लग्यो। विगत बीस वर्षदेखि म यही क्षेत्रमा मन, वचन र कर्मले सेवा गर्दै आएँ र एउटा मान्छेले जेजति गर्न सक्छ, यस क्षेत्रमा मैले काम गरेँ। आखिर मलाई नै किन फेरि यो रोग लागेको? वास्तवमा त्यो बेला मेरो मन शून्य थियो, कुनै खास डर त थिएन तर खालि भगवान्सँग रिस उठिरहेको थियो।

त्यही बेला छोरा सुनील अस्पतालको कोठामा टुप्लुक्क आइपुगे। सायद उनको मनमा एउटा अन्योलपूर्ण त्रासदीको आँधी उठिरहेको थियो। अनुमतिविना नै ‘यो के हो?’ भन्दै उनले मेरो हातबाट बायोप्सीको रिपोर्ट झ्वाट्ट लिएर हेरे। मैले छोरालाई केही भनिनँ। केही भन्ने शब्द पनि आएन। छोरो आत्तिएला भन्ठानेर मैले जबर्जस्ती मुखमा कृत्रिम मुस्कान ल्याउन खोजेँ। तर त्यो बेला मैले आºनो चेहरामा कुनै परिवर्तन ल्याउन सकिनँ। उनको मनभित्रको बेचैनी मैले अनुभूत गरेँ। रिपोर्टमा जब उनले ‘क्यान्सर’ शब्द लेखेको देखे, उनी केही बोल्न सकेनन्। एकटक रिपोर्टलाई तलमाथि हेर्दै गए। म पनि उनीसँग केही बोलिनँ। साँच्चै भन्ने हो भने त्यस क्षणमा मैले आºनोभन्दा पनि आफ्नो छोराको विषम मानसिक स्थितिलाई सम्भि्करहेको थिएँ। छड्के आँखाले बीच–बीचमा म सुनीललाई हेर्दै थिएँ। उनको आँखा रसाइसकेको थियो। तर उनी आँसु झर्नबाट रोक्न कोसिस गरिरहेका थिए। के बोल्ने, के नबोल्ने ! उनले केही ठम्याउन सकेनन्। अन्तमा मनभित्रको पीडालाई रोक्नै नसकी ‘हत्तेरी ! यो के भएको?’ भन्ने शब्दहरू उनको मुखबाट अनायास निस्किहाले। जब उनका आँखाभित्र रोकिएर टलपल भइरहेको आँसु टपक्क खसेर लगाइरहेको चस्माको सिसामा पर्‍यो, अनि उनी कुनै शब्द नबोली खुरुक्क अस्पतालको कोठाबाट बाहिर निस्किए।

छोराको आँखाबाट झरेको आँसुको एउटा थोपोले मेरो मनमा ठूलो हलचल ल्यायो। एकैचोटि मेरो शून्य दिमागमा एउटा परिवर्तन आयो। मैले पितृत्वको भावनाको स्पन्दन र स्पर्श अनुभव गरेँ। क्षणभरमै मेरो मनलाई एउटा अत्यन्त मार्मिक चिन्तनले झक्झक्यायो र लाग्यो अब मैले मेरो परिवारका निमित्त बलियो हुनुपर्छ। त्यसपछि भगवान्प्रतिको रिस तुरुन्तै हरायो र मनभित्रको अन्तरकुन्तरमा रहेका डर–त्रासयुक्त विचारहरू पनि न्यून भएर गए। मैले आफ्नो सम्पूर्ण मनमस्तिष्क एउटै कुरामा केन्द्रित गरेँ। कसरी बलियो हुने? अब के हुन्छ होला? कति बाँच्ने हुँ? जस्ता कुनै पनि कुरामा ध्यान गएन र डर पटक्कै लागेन। बरू एउटै कुरा सोचेँ, ‘अब मैले कसरी आफूलाई सम्हाल्ने? कसरी आफूलाई बलियो पार्ने? ताकि मेरो परिवारले चिन्ता नलेओस्।’ सुनील अस्पतालको बाहिर कुनै कुनामा बसेर आँसु झारिरहेका थिए होलान् वा आफ्ना साथीहरू र डाक्टरहरूसित मेराबारे कुरा गरिरहेका थिए होलान्, तर मचाहिँ एक्लै खाटमा बसेर आफूले आफैँलाई सम्हाल्ने र आफूले आफैँलाई बलियो पार्ने तरिकाहरू खोज्न थालेँ।

आँखा चिम्लेर सबैभन्दा पहिले मैले सोचेँ, ‘मेरा बुबाको ५७ वर्षमा देहावसान भएको थियो। म अब ६३ वर्ष पुगेँ। बुबाभन्दा बढी त ५ वर्ष बाँचेको छु म।’ यसरी आफूलाई बलियो पार्न खोजेँ। मैले फेरि सोचेँ, ‘आम नेपाली जनताको ५०–५५ वर्षमा देहावसान हुन्छ। मैले १३ वर्षको जिन्दगी बोनसका रूपमा बाँचेको छु, किन पछुताउने?’ फेरि आफूले आफैँलाई ढाडस दिएँ। आफूलाई बलियो बनाउने प्रयासमा मैले विचार गरेँ, ‘मेरा सबै परिवारको सामाजिक र आर्थिक स्थिति राम्रै छ, खान–लाउन पुग्छ, परिवारका कुनै पनि सदस्य बदमास छैनन्, बेइमान छैनन्, दुर्व्यसनी छैनन्, रक्सी पिउँदैनन्, रन्डीबाजी गर्दैनन्, कसैको उधारो खाँदैनन्, आफ्नो पारिवारिक व्यवसाय सफलतापूर्वक चलाइरहेका छन्, र आफ्नो कर्तव्य–कर्म पालना गरी जिन्दगीलाई सुचारु रूपले चलाइरहेका छन्। देशको अवस्था राम्रो भयो भने अरू सात पुस्तासम्म उनीहरूलाई खान–लाउन पुग्छ। कान्छी छोरी पनि १७ वर्ष नाघिसकी। ऊ पढाइमा चुस्त छे र उसको भविष्य पनि राम्रै हुन्छ भन्ने कुरामा म निर्धक्क छु। यसमा पनि मैले केही चिन्ता लिनुपर्ने आवश्यकता छैन।’ त्यसपछि, एउटा जिम्मेवार नागरिकका हैसियतले मैले गर्न बाँकी के छ? त्यो कुरा म सोच्न थालेँ। आफूले आफैँलाई बलियो पार्न आफ्नो आत्मबल बलियो पार्नुपर्ने रहेछ। आत्मबललाई बलियो पार्न स्वाभिमान हुनुपर्दाे रहेछ र स्वाभिमानी बन्न हामीले आफूलाई गौरवान्वित हुने काम पनि गर्नुपर्दा रहेछ।

मैले गर्व गर्नुपर्ने कुरा के छ भनी म खोतल्न थालेँ। पहिले मैले आफ्नो होटलका बारेमा सोचेँ। तीन–चारवटा होटल छन्, अलिअलि धनसम्पत्ति कमाइएको छ। तर मैले त्यो धनसम्पत्तिको आडमा आफूलाई गौरवान्वित बनाउन सकिनँ। पैसा त सबैले कमाउँछन्, स्म्ाग्लिङ गरेर कमाउँछन्, ठगेर कमाउँछन्, कुकर्म गरेर पनि कमाउँछन्। धनसम्पत्तिले मात्र के गर्छ? के गर्ने त्यो धनसम्पत्तिले? जिन्दगीको मूलधन पैसा मात्र होइन रहेछ। मरेपछि त त्यसलाई पनि छाडेर जानुपर्दाे रहेछ। त्यस बेला कुनै पनि धनसम्पत्ति र वैभवको माया, मोह र लालसा आएन। त्यति मात्र होइन, यो धनसम्पत्तिले मलाई गौरवान्वित र स्वाभिमानी बनाउन सकेन।

मैले फेरि स्वाभिमानको पोखरीमा आफ्नो अस्तित्व खोज्न थालेँ। गौरवको महसुस गर्न जिन्दगीमा आफूले गरेका काम कुराहरू सोच्न थालेँ। एकचोटि लाग्यो आफूले पुर्‍याएको योगदानको कुरा गर्दा अहम्पना र घमन्ड हुन खोज्ला। तर मलाई लाग्यो आफ्नो क्रियाकलापप्रति कहिलेकाहीँ घमन्ड पनि हुनुपर्दाे रहेछ मान्छेमा। सरल भाषामा हामी घमन्ड शब्द प्रयोग गर्छौँ, तर कूटनीतिक भाषामा यसलाई स्वाभिमान पनि भन्न सकिन्छ। आफूले आफैँलाई स्वाभिमानी बनाउने क्रममा मैले अस्पतालको खाटमा बस्ताबस्तै आँखा चिम्लेर तीस वर्षपहिले चितवनमा पहिलो राष्ट्रिय निकुञ्ज स्थापना गर्दाका क्रियाकलापहरू सम्झेँ। असनको एउटा सानो गल्लीमा जन्मेर देशका अनकन्टार दुर्गम क्षेत्रहरूमा पैदल घुमेका कष्टपूर्ण दिनहरू याद गरेँ। स्याल कराउने ठाउँ ठमेलमा पर्यटन–विकासका लागि गरेको औद्योगिक प्रयासलाई स्मरण गरेँ। अन्नपूर्ण क्षेत्रका उकाली–ओरालीमा जैविक विविधता अध्ययन गरेर संरक्षण र विकासको अवधारणा तयार गरेको अनि क्यान्सर अस्पतालदेखि नेपाल भ्रमणवर्ष र केशरमहलको स्वप्नबगैँचासम्मको विकासयात्रासम्ममा आफूले गरेका केही ठोस योगदानहरू सम्झेँ।

मेरो अन्तरात्मामा एउटा आभास भयो — मैले जिन्दगीमा केही न केही त गरेकै रहेछु, र यसले मनमा सन्तोष जगायो। आफ्नो जीवन–इतिहास पल्टाउने क्रममा मैले आफ्नो मनभित्र एउटा तराजु पनि बनाएँ जसको एउटा भागमा आफूले आफैँलाई राखेँ र तराजुको अर्काे भागमा अर्काे एउटा कर्ण शाक्यलाई राख्न खोजेँ। तुरुन्तै मैले अर्को कोही पाइनँ तराजुको अर्का भागमा राखेर जोख्न। नेपालमा अथाह धनसम्पत्तिका मालिकहरू छन्। धेरै धन भएका धनाढ्यहरू छन्। तर श्रमजीवी भएर उद्योग सञ्चालन गर्ने र समाजलाई ठोस योगदान पुर्‍याउनेहरू त्यति धेरै पाइनँ। भाषणैभाषण गरेर नेता बन्ने पनि धेरै छन्, तर भाषणअनुसारको काम गर्ने मान्छे त्यति धेरै छैनन्। यहाँ धेरै सपना देख्नेहरू छन्, तर सपनालाई साकार पार्नेहरू कम छन्। दार्शनिक कुरा गर्नेहरू धेरै छन्, तर दर्शनलाई व्यवहारमा उतार्नेहरू कम छन्।

मलाई आश्चर्य लाग्यो — आशा र निराशाको पिङमा झुलिरहेको अवस्थामा मसित भएको भौतिक धनले मलाई स्वाभिमानी बनाउन सकेन, तर समय–समयमा आफूसित भएको सीमित स्रोत र साधनलाई परिचालन गरेर परिवारमा, समुदायमा, समाजमा र राष्ट्रमा सानातिना कामहरू गरी केही हदसम्म योगदान दिन सकेकोमा मैले आफूलाई सन्तुष्ट पाएँ र त्यही सन्तुष्टिले मलाई विस्तारै गौरवान्वित र बलियो पनि बनायो।

जिन्दगीको मूल्याङ्कन लम्बाइले होइन, गहिराइले गर्ने हो। जिन्दगीको सार गहिराइमा पाइन्छ। सयवर्ष मूल्यहीन जिन्दगी बिताउनुको के अर्थ? जिन्दगी
अर्थपूर्ण भयो भने छोटै समय जिउनुमा पनि मजा आउँछ। मोतीराम भट्टको ३० वर्षमा देहावसान भयो, नेपोलियनले अल्पायुमा नै संसारलाई जिते। परजीवी भएर १०० वर्ष बाँच्नुको के सार? त्यही बेलादेखि मैले आफूलाई बलियो पार्ने कोसिस गरेँ र आज पनि त्यो आत्मबल, आत्मविश्वास र स्वाभिमानले केही हदसम्म मलाई बलियो बनाइरहेको छ। वास्तवमा आत्मबल र स्वाभिमान नै जिन्दगीको सबभन्दा ठूलो सञ्जीवनी हो।

जब आफ्नो मन बलियो भयो, मेरो मुहारबाट डर गायब भयो। म हाँस्न सकेँ, खुला दिलले कुरा गर्न सकेँ र आफ्ना छोराछोरी र श्रीमतीलाई पनि
आफूलाई क्यान्सर लागेको कुरो स्पष्ट भन्न सकेँ। जब मैले आफ्नो भावनालाई स्पष्ट व्यक्त गरेँ, क्षणभरका निमित्त मेरो परिवारलाई केही मानसिक कष्ट अवश्य भयो। तर मलाई थाहा थियो, उनीहरूले पनि वास्तविकतालाई स्वीकार्नेछन् र विस्तारै उनीहरू पनि बलिया हुँदै जानेछन्। मलाई अलि बढी कठिन मेरी कान्छी छोरीलाई आफूलाई लागेको क्यान्सरको खबर दिँदा भयो। अस्पतालकै टेलिफोनबाट मैले कान्छी छोरीलाई आफ्नो मेडिकल रिपोर्टबारे खुलस्त रूपमा तर क्यान्सर शब्द उच्चारण नगरीकन विषयवस्तुलाई घुमाइफिराई बताउन खोजेँ। तर जब छोरीले सिधासिधा प्रश्न गर्न लागिन्, स्पष्ट जवाफ दिन मलाई साह्रै

गाह्रो भयो। क्यान्सर एउटा यस्तो शब्द हो जो अहिलेको आधुनिक र विकसित समयमा पनि उच्चारण गर्न हिच्किचाइन्छ। भन्नेलाई पनि भन्न गाह्रो हुन्छ र सुन्नेलाई पनि सुन्न।

क्यान्सर रोगमा सबभन्दा गाह्रो क्षण हो ‘क्यान्सर लाग्यो’ भन्नु। हरेक बाबुका निमित्त छोराछोरीको मन सधैँ कमलो हुन्छ। मैले पनि कान्छी छोरीको कमलो मनमा ठेस पुग्न जाला भनेर घुमाइफिराई कुरा गरिरहेको थिएँ। तर आत्माको आत्मासित कुरा हुन्छ। कुरालाई जतिसुकै बङ्ग्याए तापनि त्यसको मर्म लुकाउन सकिँदैन। टेलिफोनको अर्काे छेउमा मैले आङ्खनी छोरीको मुख नदेखे तापनि उनको मुहारमा आएको मनोव्यथालाई म स्पष्टै अनुमान गरिरहेको थिएँ। जब छोरीले मलाई प्रश्नमाथि प्रश्न सोधिन्, आखिर मैले वास्तविक तथ्यलाई लुकाउन सकिनँ र पछि विस्तारै स्पष्ट रूपमा भनेँ, ‘छोरी ! ड्याडीको प्रोस्टेटमा क्यान्सरको लक्षण देखियो। तर तिमीले डराउनुपर्दैन। यो भर्खर–भर्खरको भएको हुँदा यसलाई उपचार गरेर निको पार्न सकिन्छ।’

छोरीलाई ढाडस दिँदै मैले फेरि भनेँ, ‘प्रोस्टेटको क्यान्सर निको पार्न अस्ााध्यै सजिलो छ र विज्ञानले यसका लागि उपचारका धेरै प्रक्रियाहरू पनि विकास गरिसकेको छ।’ टेलिफोनबाट मैले छोरीको कुनै आवाज सुनिनँ। मलाई थाहा भयो उनी स्तब्ध भएकी छन् र अवश्य पनि आवाजलाई दबाएर लुकाएर रोइरहेकी छन्। पछि छोरीले अङ्ग्रेजी भाषाबाट रोकिई–रोकिई ‘ड्याडी, टेक केयर अफ योरसेल्फ’ भन्दै टेलिफोन तुरुन्तै राखिदिइन्। कान्छी छोरीसँगको टेलिफोन वार्तालाप धेरै कष्टदायी थियो। अगाडि जेठा छोरा सुनील बसिरहेका थिए। टेलिफोनवार्तापश्चात् मेरो आँखाबाट आउने आँसुलाई मैले रोक्न सकिनँ। केही क्षणमै सुनीलका आँखा पनि रसाउन थालिहाले। तर मलाई थाहा थियो मेरो परिवारले यसलाई स्वीकार्दै जानेछ र भोलिको समय त्यति गाह्रो हुने छैन।

प्रोस्टेटमा जब क्यान्सर भेटियो, मैले त्यही बेला विदेशमा गएर प्रोस्टेटको शल्यक्रिया नगर्ने विचार गरेको थिएँ। बायोप्सीपश्चात डा. सुधीर रावलले तीन हप्तापछि शल्यक्रिया गर्ने समय दिए। बायोप्सी गर्नासाथ अपरेसन गर्न नहुने रहेछ। बायोप्सीको घाउ निको भएपछि मात्र अपरेसन गर्नुपर्ने हुँदा तीन हप्तासम्म अब कसरी उपचार गर्ने भन्नेबारेमा परिवार र साथीहरूसित छलफल गरेँ। प्रोस्टेटको क्यान्सरलाई वास्तवमा तीन किसिमले उपचार गरिँदो रहेछ : पहिलो श्ाल्यक्रिया, दोस्रो रेडियोथेरापी र तेस्रो हार्माेनथेरापी। तीनवटै उपचारका प्रक्रियाहरूबाट हुने फाइदा र बेफाइदाबारे मैले मूल्याङ्कन गरेँ र अन्तमा मेरो

प्रोस्टेटको स्थिति राम्रो देखिएको हुँदा शल्यक्रिया नै गरेर ºयाँकियो भने पछिसम्म क्यान्सर नदोहोरिने सम्भावना बढी भएको हुँदा शल्यक्रिया गर्ने नै विचार गरेँ।

कुनै पनि कडा रोगको उपचार गर्दा, खास गरी शल्यक्रियाजस्तो प्रविधि अपनाउँदा हामीले यसका बारेमा विस्तृत जानकारी त अवश्य पनि लिनुपर्छ। तर जानकारी लिने क्रममा के गर्ने के नगर्ने भनेर अल्मलिइरहनु पनि हुँदैन। आफूमा विश्वास जगाउनैपर्छ। हरेक दृष्टिकोणबाट मनमा आशा जगाएर र आफूलाई उपचार गर्ने डाक्टरलाई विश्वास गरेर मेरा लागि यही प्रविधि राम्रो हो भनी ठोकुवा गरी उपचार गर्न सकियो भने मलाई लाग्छ यसले धेरै फाइदा पुर्‍याउँछ। मैले पनि त्यही गरेँ।

जब शल्यक्रिया गर्ने कुरा उठे, छोराहरूले बैङ्कक वा सिङ्गापुरमा शल्यक्रिया गर्न जोड दिए। तर मैले मानिनँ। मैले डा. रावलमाथि विश्वास गरेँ र दिल्लीमा नै शल्यक्रिया गर्ने निधो गरेँ ताकि मलाई कुनै आर्थिक, सामाजिक, मनोवैज्ञानिक र पारिवारिक तनाव नहोस्। यो निर्णय लिन मलाई सजिलो भएन। सायद विदेशमा गएर उपचार गर्न सक्ने मान्छे ठानेर होला धेरै साथीभाइले अनेक सरसल्लाह दिए। केही समय त बाबु र छोराहरूको विवादै भयो। छोराहरूको डर थियो पैसा बचाउन बाबुको उपचार महँगो अस्पतालमा गराएनन् भन्लान् कि भन्ने। हो, बैङ्कक र सिङ्गापुरका अस्पतालहरू सुव्यवस्थित छन् र त्यहाँका उपकरण पनि अत्याधुनिक छन्। तर स्वास्थ्यको उपचार मेसिन र उपकरणबाट मात्र गरिँदैन, डाक्टरको दिमागले पनि गर्नुपर्छ। तसर्थ मैले आङ्खनै देश नेपाल वा हिन्दुस्तानका डाक्टरहरूमा नै भर पर्ने विचार गरेँ। किनभने उनीहरू विदेशी डाक्टरहरूभन्दा कम दिमाग भएका छैनन्।

दिल्लीमै उपचार गर्ने हो भने एपोलो अस्पतालमा शल्यक्रिया गराउने हो कि भनी सल्लाह पनि दिए, ताकि क्यान्सर भएको कुरो अरूलाई थाहा नहोस्। तर मैले राजीव गान्धी क्यान्सर अस्पतालमै जून महिनाको १४ तारिखमा शल्यक्रिया गराउने निधो गरेँ। आफूलाई क्यान्सर लागेको कुरो लुकाउन चाहिनँ। यतिमात्र होइन आफूलाई क्यान्सर भएको विषयमा लेखहरू लेखेर विभिन्न पत्रपत्रिकामा छपाएँ। डरसित भागेर मान्छेले कहाँ लुक्ने? भाग्यो भने डरले झन् लखेट्छ। बरू डरसित डटेर मुकाबिला गर्न सकियो भने आत्मबल बलियो हुन्छ।

आफ्नो क्यान्सर रोगबारे मैले आफ्ना परिवार, इष्टमित्र र साथीभाइहरूलाई विनाहिच्किचाहट खुलेर भनिसकेको हुँदा मलाई अरूसित कुरा गर्दा त्यती अप्ठ्यारो परेन। रोगलाई लुकाएर या यसबारे बोल्न डराएर अरूलाई केही नभनेको भए मलाई हरदिन हरपल जीन्दगी बिताउन गाह्रो हुने थियो। जब म कसैसित कुरा गर्थे‘, एक न एक दिन त उसले अवश्य थाहा पाउने थियो मलाई क्यान्सर लागेको कुरा। अनि जब म ऊसित कुरा गरिरहेको हुने थिएँ, ऊ केही नबोलीकन आँखाबाट मलाई दया र मायाको भावनाले हेरिरहेको हुने थियो, जुन मलाई स≈य र सजिलो हुँदैनथ्यो। आफूलाई कसैले दयाको पात्र बनाउने कुरा सोच्नै सक्तिनँ। जब कसैलाई पहिल्यै थाहा हुन्छ मलाई के भएको छ, अनि ऊसित कुरा गर्दा धेरै सजिलो हुन्छ। आज मलाई कसैसित कुरा गर्दा कुनै सङ्कोच र अप्ठ्यारो पर्दैन र यसले मेरो आत्मबल बलियो बनाउँछ।

आत्मबल बलियो भएपछि खुलेर वार्तालाप गर्न सकिन्छ, भावनाहरू अभिव्यक्त गर्न सकिन्छ, अनि मुहार नै हँसिलो पारेर कुरा गर्न सकिन्छ। जब मसित कुरा गर्ने व्यक्तिले मेरो मुहारमा कुनै चिन्ताको सङ्केत देख्तैन, उसलाई पनि मसित कुरा गर्न धेरै सजिलो हुन्छ। यही आत्मबलका कारण मलाई बाँच्न धेरै सजिलो भएको छ।

आखिर मैले १५ दिनपछि वि.सं. २०६३ जेठ ७ गते डा. सुधीर रावलकै हातबाट शल्यक्रिया गर्ने निर्णय गरेँ। राजीव गान्धी क्यान्सर अस्पतालमा प्राइभेट कोठा दुई–तीन्ावटा मात्रै रहेछन्। सामाजिक ट्रस्टबाट सञ्चालन गरिएकोले यसमा सबै कमन वार्डहरू मात्रै रहेछन्। प्राइभेट वार्ड लिन धेरै गाह्रो पर्ने भएको हुँदा मैले भारतीय राजदूतावासबाट पत्र लिएर ट्रस्टका अध्यक्षसँग कुरा गरेको थिएँ र बल्लबल्ल अस्पतालको एक मात्र भी. आई. पी. कोठा बुक गर्न सकेको थिएँ।

जुन बेला मेरो शल्यक्रिया भयो, त्यो बेला मेरो परिवारका सबैजना मेरै साथमा थिएँ : दुई छोरा, छोरी अनि श्रीमती। मेरा मित्र दिवाकर राजकर्णिकार पनि सँगै हुनुहुन्थ्यो। सबैको अपार माया र ढाडस पाएकोले अपरेसन गर्न जाँदा मनमा कुनै डर–त्रास भएन। आफू पनि हँसिलो मुहारले अपरेसन थिएटरतिर गएकाले कसैको मुहारमा कुनै टेन्सन भएन। उनीहरूको मुहारमा टेन्सन नदेखेपछि मलाई पनि टेन्सन भएन। मैले बेलायत वा अमेरिकामा गएर शल्यक्रिया गरेको भए के मेरो परिवारका सबै सदस्यहरू र मेरा साथीहरू सँगै हुन्थे होलान् त? हदसेहद भइदिएको भए मेरा एउटा छोरा र श्रीमती मसित हुन्थे होलान्। अपरिचित समाजमा कडा रोगको उपचार गर्न जाँदा बिरामीलाई भन्दा पनि बिरामीकुरुवाहरूलाई ठूलो आघात पुग्छ। अन्ततोगत्वा यसले बिरामीलाई नै मानसिक दबाब दिन्छ। खास गरी घरको मुली बिरामी भइदियो

भने मुलीले परिवारको मानसिक, शारीरिक र आर्थिक कठिनाइमा पनि ध्यान दिनुपर्छ। यस्तो दबाब खप्न सजिलो हुँदैन। यो त भुक्तभोगीलाई मात्र थाहा हुन्छ।

शल्यक्रिया गर्न झन्डै दुई घन्टाजति लाग्यो होला। तीन–चार घन्टासम्म होसै आएन। जब आई. सी. यू. मा मेरो आँखा खुल्यो, मैले स्पष्ट रूपमा केही देखिनँ। रक्सी खाएको मान्छे झुलेजस्तो झुलझुलाहट थियो। कहिले के–के सुन्ने, कहिले नसुन्ने। जब मलाई पूरा होस आयो, त्यो बेला मेरो पेटको दायाँ–बायाँ पाइप जडान गरी पिसाब सङ्कलन गर्न रबरका ब्यागहरू झुन्ड्याइएको पाएँ। घाउ त धेरै दुखेन, तर दिसा–पिसाबले च्याप्ने र यताउता चल्न नहुने अवस्थाले गर्दा अत्यन्तै असजिलो अनुभव भइरहेको थियो। कस्तो विडम्बना ! वर्षमा ३६५ दिन हुन्छ, तर दुई दिनको अस≈य पीडाले नै वर्षको सम्पूर्ण लामो समयलाई ठ्याम्मै बिर्साइदिन्छ। दुःख र पीडाका क्षणहरू पलपल गरी कसरी विस्तारै बित्दा रहेछन्, त्यस्तो बेलामा मात्रै थाहा हुँदो रहेछ। अपरेसनको टाँका ननिकालेसम्म चौध दिनसम्म म अस्पतालमै बसेँ। अस्पतालमा बसुन्जेल पिसाबले च्याप्ने र आउँजस्तो लाग्ने असजिलो पीडाले चौबीसै घन्टा सताउन थाल्यो। सुत्ने औषधिले पनि छोएन। पहिले विपश्यना गरेको अनुभवबाट ध्यान गरेर पीडालाई नियन्त्रण गर्न खोजेँ, तर कहाँ सक्नू ! ध्यान गरेर एकचित्त हुन खोज्दा पीडा झन् अस≈य हुँदो रहेछ।

पेटमा जडान गरेको पाइप ननिकालेसम्म अर्थात् दुईहप्ता म अस्पतालमै बसेँ। एक हातले पाइप र अर्काे हातले ब्याग समात्दै म विस्तारै–विस्तारै वार्डमा ओहोरदोहोर गरिरहन्थेँ। अस्पतालको लबीमा मात्र ओहोरदोहोर गरिरहँदा दिक्क लागेपछि हरियो घाँसमा खुट्टा टेक्न रहर लागेर म एक दिन मेरी श्रीमतीका साथ अस्पतालको बगैँचामा डुल्न गएँ। बगैँचाको एउटा कुनामा एकजना लोग्नेमान्छे र एउटी आइमाई बसिरहेका थिए। उनीहरूसँगै एउटा टिनको बाकस, रातो प्लास्टिकको झोलामा केही मालसामान र दोलाइँ भएको एउटा पोको थियो। नेपालीजस्ता लागेका हुँदा मैले उनीहरूलाई ‘के तपाईँहरू नेपालबाट आउनुभएको हो?’ भनी सोधेँ। अन्दाजी ५५–६० वर्षका ती मान्छेले ‘हो हजुर, हामी भैरहवाबाट आएका, हाम्रो घर पाल्पाबाट दुई–तीन कोस टाढाको गाउँमा पर्छ’ भने। भैरहवाका डाक्टरले उपचार गर्न दिल्ली जाऊ भनेका हुँदा छोरालाई लिएर दुवै लोग्नेस्वास्नी पहिलोपल्ट दिल्ली आएका रहेछन्। छोराचाहिँ डाक्टरको समय माग्न रिसेप्सनमा सोधपुछ गर्न गएका रहेछन्। बाबुचाहिँलाई पेटको क्यान्सर भएको रहेछ। लोग्नेस्वास्नी दुवैलाई थाहा रहेछ क्यान्सर भन्ने रोग कडा छ भनेर। तर उनीहरूलाई त्यो रोगका बारेमा विस्तृत जानकारी रहेनछ।

उनीहरूसित भलाकुसारी गर्दागर्दै बिरामी मान्छेका छोरा पनि त्यहीँ आइपुगे। मलाई नमस्कार गर्दै उनले ‘हजुर पनि यहाँ उपचार गर्न आउनुभएको?’ भनेर सोधे। उनीहरू दुईदिन पहिले दिल्ली आई रेलवे–स्टेसनसँगैको एउटा होटलमा बसेपछि त्यही दिन झिटिगुन्टा बोकेर ट्याक्सीबाट राजीव गान्धी क्यान्सर अस्पतालमा आएका रहेछन्। मैले उनीहरूलाई भनेँ पनि, ‘किन त्यति महँगो पैसा तिरेर ट्याक्सीबाट आउनु भएको? दिल्लीको कनाट प्लेसबाट अस्पतालसम्म आउन त ट्रेन छँदैछ नि ! ट्रेन सस्तो पनि छ र चाँडो पनि आइपुग्छ।’ तर उनीहरूले दिल्लीका बारेमा के थाहा पाउनु ! जिन्दगीमा पहिले कहिल्यै आएका भए पो !

त्यो बिरामी मान्छेको गला सुकिसकेको थियो, आँखामा कुनै चमक थिएन। श्रीमतीचाहिँको मुहार हेर्दा उनलाई एउटा अत्यास, अन्योल र भयले सताइरहेझैँ देखिन्थ्यो। उनी हामीसँग हाँस्न खोज्थिन्, तर हाँस्न सक्तिनथिन्। बोल्न खोज्थिन्, तर बोल्न सक्तिनथिन्। छिनछिनमा उनी आºनो बिरामी लोग्नेको हात सुमसुम्याउन पुग्थिन्। अनि माया भरिएको आँखाले आºनो लोग्नेको मुख ताकिरहन्थिन्। लोग्ने–स्वास्नीको त्यो आन्तरिक र मर्माहत व्यथालाई महसुुस गरेर मेरो मन चिसिइरहेको थियो। तर आºनो भावनालाई प्रकट गरिरहेको थिइनँ। बीचबीचमा मेरी श्रीमती सुशीला उनीहरूका बारे थप जानकारी लिन खोज्थिन्। तर म उनलाई नेवारी भाषामा रोक्थेँ। किनभने त्यस्तो संवेदनशील अवस्थामा उनीहरूसित रोगको डरलाग्दो पक्षका बारेमा छलफल गर्नु उपयुक्त थिएन।

बिहानको अन्दाजी दस–एघार बजिसकेको थियो, लोग्नेस्वास्नी दुईटैको मुख सुकेको थियो। सायद उनीहरूले त्यस बेलासम्म खाएकै थिएनन्। सुशीलाले आफूले बोकेर ल्याएको मिनेरल वाटर उनीहरूलाई दिइन्। बिरामीले अलिकति पानीको घुट्को पिएपछि ‘ल तिमी पनि अलिकति पिऊ’ भन्दै पानीको बोतल श्रीमतीको हातमा स्नेहपूर्वक थमाइदिए। उनकी श्रीमतीले पनि तिर्खा रोक्न नसकेर पानीको बोतल आºनो मुखभन्दा एक इन्च माथि राखी घटघट पानी पिइन्। पानीको हरेक घुट्को निल्दा उनको घाँटीको कण्ठी तल–माथि चलिरहेको थियो। पानीको खूबै प्यास लागेको रहेछ उनलाई, त्यसैले स्वाद लिएर पानी पिइन्। पानी पिइसकेपछि उनले छोरालाई पानीको बोतल समाउन दिइन्।

छोराचाहिँ एकदम अलमलमा देखिन्थे। उनको दिमागमा त्यो बेला सायद कसरी डाक्टरको समय लिने, अस्पतालमा बाबुलाई कसरी भर्ना गर्ने, कति खर्च हुन्छ र कहाँ बस्ने आदि–इत्यादि कुराहरू खेलिरहेका थिए होलान्। उनलाई त्यहाँको वस्तुस्थितिको कुनै भेउ थिएन।

बाबु बिरामी, आमा अनभिज्ञ। त्यस्तो बेलामा छोराको दुर्दशा र पीडा भुक्तभोगीले मात्र अनुभव गर्न सक्छ। मैले ती छोराचाहिँको वेदना राम्ररी अनुभव गरिरहेको थिएँ। २५–३० वर्षका ती केटा र उनको परिवारको आर्थिक अवस्था र दुःखबारे मैले धेरै जानकारी लिन चाहिनँ। किनभने उनीहरूका बारेमा जति बढी थाहा भयो, उति नै बढी मलाई दुःख हुन्थ्यो। मलाई लाग्यो अब मैले यहाँ उनीहरूसित धेरै बस्नु हुँदैन, त्यसबाट मलाई पीरमाथि पीर थपिन्छ। मैले मनमनमा विचार गरेँ ‘अब जाऊँ उठेर, अब यिनीहरूलाई आङ्खनै भाग्यमा छाडिदिऊँ। तर मनले मानेन। एकचोटि मैले केटाले काखीमा च्यापिराखेको बिरामीको मेडिकल रिपोर्ट हेरेँ। रिपोर्टमा फोक्सोमा क्यान्सर भएको डाइग्नोसिस गरिएको रहेछ। स्टेज पनि चर्कै खालको देखिन्थ्यो। नेपालका डाक्टरले अब यहाँ उपचार हुँदैन भनेपछि उनीहरू दिल्लीमा आएका रहेछन्।

सुशीलाले मलाई खुसुक्क नेवारी भाषामा भनिन्, ‘यिनीहरूले बिहानदेखि केही खाएका छैनन् जस्तो छ। क्यान्टिनमा गएर म केही खाने कुराहरू किनेर ल्याउँछु।’ म्ौले सुशीलालाई अलि बढी नै खाना किनेर ल्याऊ भनी पठाएँ। एकैछिनमा उनी केही पराठा, आलुचप र पाउरोटीहरू लिएर आइन्। छोराचाहिँले लाज मानेर भने, ‘होइन हजुर, अलि–अलि खाना त हामीले पनि ल्याएका छौँ, किन दुःख गर्नुभएको?’

‘होइन–होइन, केको दुःख ! तपाईँहरूलाई कहाँ खाना किन्ने भनेर थाहा छैन नि ! लिनुस्, खानुस्’ भन्दै सुशीलाले खानाको पोको बिरामीका अगाडि राखिदिइन्। बिरामीले मसिनो सास हाँङ्खतै सानो स्वरले स्वास्नीलाई हेरेर भने, ‘तिमीलाई भोक लाग्यो होला, ल तिमी खाऊ। हिजो राति पनि तिमीले केही खाइनौ !’ तर पेटमा भोकको आगो दन्किरहे पनि आºनो बिरामी लोग्नेलाई नखुवाई उनले खान चाहिनन्। पोकाबाट एउटा पराठा निकाल्दै पहिले उनले आºनो लोग्नेलाई दिइन्। उनीहरूको त्यो अपार माया–पिरती देखेर सुशीला र मैले अलिकति खुसी र अलिकति दुःख मानेर एक–अर्कालाई हेर्‍यौँ।

नदीको तीरमा माया गरी बस्न्ो चखेवा–चखेवीहरूको जस्तो उनीहरूको मायाप्रीतिको त्यस्तो मार्मिक दृश्यलाई हामीले धेरै बेर हेर्न सकेनौँ। मेरो छाती अलि फुलेर आयो, अलि गह्रौँ भएर आयो। त्यो बेला सुशीला झन् आत्तिएकी जस्तो लाग्यो। उनले आºना आँखाको आँसु रोक्न सकिनन्, अनि खुरुक्क उठेर अन्तै गइन्। ती बिरामी मान्छेले सुकेको मुखबाट थुक निलेर लामो सास तान्दै, ‘खै हजुर, मानिसको जिन्दगीमा के–के दुःख आउँदो रहेछ’ भने। अनि आºनो छोराको काँधमा हात राखेर ‘यो बिचरोलाई हामीले कति दुःख दिने, हामी दुवैजना अनपढ छौँ, केही थाहा छैन, अब यो एकजनाले मात्र के–के गर्ने हो’ भन्दै सुस्केरा हाली मनको बह पोखे।

त्यो बेला उनका छोराको मनमा अब के गर्ने, कसो गर्ने भन्ने अनेक प्रश्नले पिरोलिरहेको हुँदो हो, त्यसैले बाबुका ती मार्मिक शब्दहरूले उनलाई केही असर पारेनन्। उनलाई त्यस बेला पीर मान्ने फुर्सद पनि थिएन। उनी त त्यो बेला कहाँ बस्ने, कसरी डाक्टरको समय लिने आदि अन्यँेल्’पूर्ण अवस्था र व्यवस्थामा अल्भि्करहेका थिए। केटाको अवस्था देखेर मैले हाम्रो दिल्लीस्थित ट्राभल एजेन्सीमा काम गर्ने एउटा केटालाई मोबाइलमा फोन गरेर उनका लागि डाक्टरको बउउयष्लत्कभलत लिने व्यवस्था गरिदिएँ र उनीहरूलाई धन्धा नमान्न ढाडस दिएँ। त्यसपछि केटालाई अस्पतालसँगैको एउटा सानो लजमा पहिले बस्न जान, पछि मात्र बाबुलाई अस्पतालमा जचाउन सल्लाह दिएँ।

मैले र सुशीलाले उनीहरूसित धेरै बेर कुरा गरिरहन सकेनौँ। मलाई डर पनि लाग्यो उनीहरूका बारेमा अरू थप जानकारी लिएँ भने म उनीहरूलाई सहयोग दिन सकौँला कि नसकौँला भनेर। खास गरी बिरामीको अवस्था निराशाजनक स्थितिमा पुग्यो भने कहिलेकाहीँ जतिसुकै सहयोग गर्न चाहेर पनि गर्न सकिँदैन, झन् म त आफैँ बिरामी। त्यसैले एकैछिन कुरा गरेर उनीहरूसित बिदावारी भई म र सुशीला अस्पतालको कोठामा फर्कियौँ।

क्यान्सरसम्बन्धी यस्ता दुःखद कुराहरू सम्भि्कँदा कहिलेकाहीँ मनमा रिस पनि उठ्छ, खास गरी जब निको नै नहुने बिरामीहरूलाई नेपालबाट डाक्टरले विदेशमा उपचार गर्न पठाएको पाउँदा। विपन्न परिवारका यस्ता निको नहुने terminal cancer patientहरूलाई नेपालमै भएका क्यान्सर अस्पतालहरूमा किन पठाइँदैन? किन दिल्लीसम्म पठाइन्छ? नेपाल अर्बुद रोग निवारण संस्था र भरतपुर क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य हँुदा म त्यहाँका सम्बन्धित डाक्टरहरूलाई सधैँ आग्रह गर्थे‘, ‘बिरामीको रोग निको हुँदैन भने कृपया बिरामी र बिरामीका परिवारलाई झुलाउने र झुक्याउने काम नगरौँ। उनीहरूले थाम्नै नसक्ने आर्थिक र मनोवैज्ञानिक बोझ दिएर झूटो आशा न्ादेखाऔँ। कुनै घरमा कसैलाई क्यान्सर रोग लाग्यो भने त्यो घरमा एकजना मात्र बिरामी हुँदैन, परिवारका सबै सदस्यहरू नै मानसिक र आर्थिक रूपले ग्रस्त हुन्छन्। कहिलेकाहीँ यस्ता विवेकहीन हेलचेक्य्राइँकँ कारणबाट कतिपय बिरामीहरूको उपचार गराउँदा–गराउँदै भएभरको सम्पत्ति बेच्नुपर्ने हुन्छ र अन्तमा बिरामी एकजना मात्र होइन, सम्पूर्ण परिवार नै आर्थिक रूपले सङ्कटग्रस्त हुन्छ। त्यस्तो दुःखद अवस्थामा हामीले मन मारेर भए पनि कठोर तर व्यावहारिक बाटो अपनाउनुपर्छ। कडा रोगबाट अन्तिम अवस्थामा पुग्न लागेका terminal cancer patientहरूलाई महँगा–महँगा केमोथेरापी दिएर बिरामी र उसको परिवारको पैसा बर्बाद गराउनुको सट्टा सस्तो जडिबुटी र अन्य प्रशोधित परम्परागत औषधि दिएर बिरामीलाई आशा जाग्ने खालका धार्मिक र आध्यात्मिक कामहरू गर्न–गराउन लगाउनुपर्छ। यसो गर्दा बिरामीको मन पनि शान्त हुन्छ र तिनका परिवारको आर्थिक अवस्था पनि बिग्रँदैन।’

नेपालबाट प्रशस्त बिरामीहरू राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गर्न पुग्छन्, कोही निको हुने खालका त कोही निको नहुने खालका। हाम्रंा गाउँघरमा क्यान्सर रोग पत्ता लगाउने चेतना र प्रविधि नभएका कारणबाट बिरामीहरू रोगले धेरै च्यापिसकेपछि मात्रै डाक्टरकहाँ जँचाउन जान्छन्। यसमा बिरामी र उसको परिवारलाई दोष दिन पनि मिल्दैन। किनभने यो रोग पहिले दुख्तैदुख्तैन। रोगले नराम्ररी च्यापेपछि मात्र अन्य लक्ष्’णहरू देखापर्छन्। अनि डाक्टरकहाँ देखाउन जाँदा धेरै ढीलो भइसकेको हुन्छ।

राजीव गान्धी क्यान्सर अस्पतालमा बचाउन सकिने थुप्रै बिरामीहरू पनि पुग्छन्। खास गरी पेटमा क्यान्सर लागेका साना–साना बच्चाहरूलाई त्यहाँ लगिँदो रहेछ। त्यो बेला नेपालबाट झन्डै चारजना बच्चाहरूलाई क्यान्सरको उपचार गराउन त्यहाँ लगिएको थियो। साना–साना बच्चाहरूलाई पेटको क्यान्सर हुँदो रहेछ। नेपालमा अहिले पनि त्यसको उपचारमा खास कुनै उपलब्धि हासिल हुन सकेको छैन। एउटा बच्चा बिरामी भयो भने तीन–चार महिनासम्म आमाबाबु दुवैले उसको उपचारका लागि दिल्लीसम्म पुग्नुपर्छ। म कल्पना पनि गर्न सक्तिनँ उनीहरू त्यो दुःख कसरी सहन्छन्। तर मान्छे बडो बलवान् हुँदो रहेछ। जस्तोसुकै दुःख पनि मानिसले सहन सक्छ। घरका सबै

काम छोडेर बिरामी बच्चाको उपचार गर्न तीन–चार महिनासम्म अस्पतालमै बसिरहँदा उनीहरूलाई शारीरिक, आर्थिक र मनोवैज्ञानिक सङ्कट कति पर्छ, सजिलै अनुमान गर्न सकिन्छ। राजीव गान्धी क्यान्सर अस्पतालको कमन रूममा बच्चालाई खाटमा सुताइँदो रहेछ अनि खाटमुनि कहिले आमा त कहिले बाबु आलोपालो गरेर सुत्ने गर्दा रहेछन्। दिनभरिचाहिँ बच्चालाई बोकेर अस्पतालको कोठाबाहिरको लबीमा ओहोरदोहोर गरिरहँदा रहेछन्। बच्चाहरूलाई खेलाउन भनेर राखिएको एउटा सानो कोठा रहेछ। त्यहाँ दुई–चारवटा खेलौनाहरू राखिएका रहेछन्।

मैले डा. रावलको सहयोगबाट अस्पतालका अध्यक्ष र केही सञ्चालकहरूसित कुरा गरेर बच्चा खेल्ने कोठामा रङ्गरोगन गरी अलि रमाइला तस्बिरहरू राखिदिन अनुरोध गरेँ। आफ्ना तर्फबाट पनि मैले त्यहाँ एउटा डीभीडी र थुप्रै कार्टुन–फिल्महरू किनेर बच्चाहरूलाई फिल्म देखाउने व्यवस्थाका लागि ट्रस्टसित अनुरोध गरेँ। दुई दिनमै व्यवस्थापन पक्ष्’ले मेरो अनुरोधलाई स्वीकार्‍यो र पछि त्यो कोठा बच्चालाई रमाइलो गर्ने ठाउँ भयो। मलाई धेरै खुसी लाग्यो, किनभने त्यो ठाउँ बच्चाहरू मात्र होइन, अभिभावकहरू पनि जम्मा हुने ठाउँ भयो।

१५ दिनपछि म अस्पताल छाडेर डेरामा पुगेँ। त्यहाँ मेरा पी. ए. ले कुरियरबाट पठाएको मेलब्याग पाएँ। त्यसमा केही समयअघि मलाई क्यान्सर रोग लागेको विषयमा मैले लेखेको लेखका पाठक–प्रतिक्रियाहरू थिए। ‘कान्तिपुर’ पत्रिकामा छापिएको पाठक–प्रतिक्रियाको एउटा प्रतिलिपि पनि पठाइएको थियो। त्यसमा एकजना पाठकले क्यान्सरसम्बन्धी मेरो लेखप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्दै ‘कर्ण शाक्यलाई त कस्तो क्यान्सर पनि फापेको !’ भन्ने लेखेका थिए। पढेर खूब चित्त दुख्यो। किन मानिस सभ्यताको सीमा नाघेर आफ्नो कलम र शब्दलाई अस्त्र बनाई अरूको मन दुखाउने काम गर्छ? किन गोलीले प्वाल पार्न नसक्ने मुटुलाई बोलीले घोचेर परपीडक बन्न खोज्छ? कस्तो मनोविज्ञानले त्यहाँ काम गरेको हुन्छ? मैले अझै बु‰न सकेको छैन।

तर मेरो लेखको प्रकाशनपश्चात् आएका अन्य पाठक–प्रतिक्रियाहरू र अभिव्यक्तिहरू नकारात्मक थिएनन्। कैयौँ पाठकहरूले सकारात्मक र भावपूर्ण प्रतिक्रियाहरू पठाएर नेपाली मानवीय मनको उज्यालो पक्षलाई दर्शाएका थिए। मलाई प्रोस्टेटमा क्यान्सर लागेको कुरा थाहा पाएपछि मजस्ता थुप्रै पीडितहरूले मसँग सम्पर्क गरे। उनीहरूलाई पनि आशा जाग्यो र यसबारे छलफल गर्न अगाडि सरे। प्रोस्टेटको क्यान्सरका सन्दर्भमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका मेरा थुप्रै डाक्टर साथीहरूले मलाई अनेक व्यावहारिक, प्रतिकारात्मक एवम् उपचारात्मक सुझावहरू दिए। ती सुझावहरू म अन्य प्रोस्टेटका क्यान्सरपीडितहरूलाई पनि सुनाउने गर्छु।

तीस वर्षपहिले अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीमा अध्ययनरत एउटी साथी जीन टिज स्वयम्भू र पशुपतिका बाँदरको अध्ययन गर्न नेपाल आएकी थिइन्। पछि उनले सोही विश्वविद्यालयबाट क्यान्सर रोग निको पार्ने विभिन्न खाद्यपदार्थबारे धेरै अनुसन्धान गरिन्। अहिले उनी यस विषयकै ठूलो ज्ञाता भइसकेकी छन्। कताकताबाट मेरा बारे खबर पाएपछि उनले मलाई ढाडस दिँदै प्रोस्टेटमा क्यान्सर लागेर पनि मानिस २०–३० वर्ष बाँच्न सक्छ र आत्मबल बलियो भयो भने तिमी यो रोगलाई जित्न सक्छौ भन्ने आशयको पत्र लेखेर पठाइन्। डा. टिजले भनेजस्तै मैले आफ्नो आत्मबललाई बलियो पारेँ।

मलाई जीन टिजले समय–समयमा योगासन गर्नू, हरियो सागपात धेरै खानू, दिनमा एकचोटि अनारको रस पिउनू, गोलभेडा धेरै खानू, रातो वाइन पिउनू, भटमासको दूधबाट बनेको तोफू खानू, प्रोस्टेटको क्यान्सर रोक्न यसले धेरै मद्दत गर्छ भनेकी थिइन्। उनले भनेजस्तै म अहिले गरिरहेको छु। एक वर्षसम्म हरेक तीन–तीन महिनामा मैले आफ्नो रगत जाँच गराउनुपर्छ र एक वर्षपछि हरेक वर्ष पाँच वर्षसम्म रगत जँचाउनुपर्छ। पाँच वर्षपछि रगतमा PSA भएन भने क्यान्सर निको भएको सम्भि्कइन्छ।

मैले प्रोस्टेटको शल्यक्रिया गरेको वर्षदिन हुन लागिसक्यो। हरेक तीन–तीन महिनामा म रगत जँचाउँछु। भगवान्को कृपा र आमाबाबुको आशीर्वादले मेरो रगतमा अहिले PSA निर्मूल भइसकेको छ। डाक्टर रावलले खुसी भएर भनेका थिए, ‘यो सबै तिम्रो आत्मबलको कारणले हो। औषधिले त ५० प्रतिशत मात्र काम गर्छ, अर्को ५० प्रतिशत आत्मबलले।’

हुन त क्यान्सर मानव–जीवनको एउटा डरलाग्दो पक्ष मानिन्छ, तथापि निरन्तर भइरहेको वैज्ञानिक प्रविधिको नवीनतम आविष्कारबाट क्यान्सरजस्तो डरलाग्दो अभिशाप एक दिन न एक दिन अवश्य उन्मूलन हुनेछ। जीन टिज र डा. रावलजस्ता वैज्ञानिकहरूको क्रियाशील खोजले मानव–जीवनमा सधैँ आशा र विश्वास जगाउनेछ।

29 comments to MySansar Exclusive: खोज (भाग २)

  • Hom Nath Adhikari

    सोच पढ्दा आसबादी र उत्साहित भएको थिए यो लेख पढेर अत्यन्तै भाबुक बन्न पुगेको छु तथापि कर्ण साक्य को आत्मबल लाइ सम्झेर खुसि लागेको छ …

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 2

  • subedi latika

    यो लेख पढेर मेरो मन छोयो आफुलाई पिडा हुदाहुदै पनि आफु जस्तो अर्को रोगीलाई सहनाभूति दिन सक्ने उहाको खुबीलाई मानैपर्छ. जिन्दगिको यात्रा निकै छोटो हुदा हुदा पनि हरेक प्राणीलाई अझ धेरै बाच्ने चाहना हुन्छ , तर मानिसको बाच्ने समय माथिनै तोकेर आएको हुन्छा तेसैले कसैले चाहेर पनि समय भन्दा धेरै र थोरै बाच्ने उसको हातमा हुदैन .तर आफ्नो समयलाई भने खेर जान दिनु हुदैन ढिलो होस् या चाडो एकदिन त जाने पर्छ यी कुरामा रुमलिने हो भने मानिस कहिले पनि अगाडी बढन सक्दैन . त्यो कुरालाई लेखकले बुझाउन खोज्नु भएको भान हुन्छ ..
    .

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • jitu

    नेपाली समाजको लागि कर्ण शाक्यले दियको योगदान अविस्मरणीय रहेनछ. यसै गरि समाज लाई सचेत गराई जीवन जिउने आधार बताई दिनु हुनेछ . लेख को लागि लेखक र सालोक्य जी लाई धन्यवाद .

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 2

  • Im proudly excited from this article.And deeply respected to the auther Mr. Karna Shakya.
    God bless you…….
    DB Yakkha
    Korea

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • suraz

    फेरी दोहोर्याउदै पढ्दै छु,

    खुसि को सिमा नै छैन.

    हार्दिक धन्यवाद मेरोसंसार अनि कर्ण दाइँलाई

    सुरज

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 2

  • Dirgha KC

    अति शरल भाषामा मर्म इश्पर्शी लेख लेख्ने कर्ण शाक्य जी लाई मेरो सलाम. लाखौ लाखको आसिर्बाद ले तपाई १०० यौ वर्षा बच्नुहुनेछ.

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 2

  • Mohan Bhandari (Scotland)

    मेरो आमा स्तन क्यान्सर बाट २ वर्ष पहिले बित्नु भयको हुदा क्यान्सर को बिरामी लाई देख्ने, सुन्ने र पदने बितिकै आफ्नो आमा लाई सम्झने गर्दछु र आखा रसायर आउछ. बिशेस गरि नेपाल मा स्तन क्यान्सर सम्बन्धि केहि गर्ने सोचाई बुन्दै छु. ब्कर्ण शाक्य ज्यु राम्रो मान्छे लाग्यो तर यत्रो समय सम्म उहा बारे अनभिज्ञ रहेछु. उहा प्रति मन मा यक प्रकारको सम्मान जागेर आयो र यो लेखमा बारम्बार प्रयोग भैरहेको सब्द “आङ्खना” बारे थाहा हुने सकेन.

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1

    • ram ghaju

      आफ्नै, आफ्ना, आफ्नी हुनु पर्नेमा “आङ्खना” “आङ्खनी” भाको हो. टाईप मिस्टेक

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • dhan

    अलि समिक्छात्मक बन्दा खेरि लेखको अघिल्लो भाग चाहिने भन्दा बढी तन्किए जस्तो लाग्यो. अमेरिका बैंकक र पैसाको कुराले धनाड्य बर्गको प्रतिनिधि भएको छनक दिन्छ. बिचको भाग खास गरि अस्पतालमा भेटेको नेपाली बुढा बुढीको बर्णन कारुणिक र मन छुने खालको छ. लेखमा उहाको जीवन भोगाईमा मानबिय सम्बेदना घोलिएको अनुभब प्रसस्त गर्न सकिन्छ र जानकारीमुलक पनि. मेरो बुझाई लेखेको हुँ. साथीहरुको फरक धारणा पनि हुन सक्छ है.

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 3

  • bhakta

    लेखक भनेका साहित्य फाटका कूक हुन् , पाठक बर्गलाई एक पटक चखाएर पल्के भने खोजी खोजी पढी दिन्छन पाठकले/ अब कर्ण शाक्य ज्यु ले मोज ,भोज , घोच ,कोच , खोच जे लेखे पनि चल्छ /कृष्ण धाराबासी ले पनि यस्तै यस्तै हुन् लेख्ने बढी भय जस्तो लाग्या छैन! शुभकामना छ होटलका तला थप्या जस्तै साहित्यलाइ पनि उचाल्नुस , गर्ने भनेको सक्नेले हो यो संसारमा…….

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 5

  • arun

    कर्ण जी
    ति दिबंगत तपाइंको आफन्त प्रिय जनहरु असोभाबिक निधन प्रति गहिरो दुख ब्यक्त गर्दै उहाँहरुको को आत्मा को चिर सान्ति का लागि म इस्वोर संग प्रार्थना गर्दछु / तेस्तो दुखद घडी को बेला, म तपाईं र अरु बाकि परिवार को अवस्था कस्तो रह्यो होला भन्ने , म कल्पना सम्म पनि गर्न सक्दिन र तपाइंले देखाउनु भएको सहस र धैरता को सधैं कदर गरिरहने छु / तेस्तो समय भोग्नु भएको व्यक्ति केहि अन्तरालमा तपाईं आफु पनि तेही रोग को अवस्था मा पर्न लेख्नु त झनै मन र चित्त थामी नसक्नु पिडा हो यो जो कोहीलाई, म तपाईंको साहास को सराहाना गर्दछु / तपाइंको स्वास्थ लाभ को कामना गर्दै दिर्घ जीवन प्राप्ति को लागि म सधैं इस्वोर संग प्रार्थना गरिरहने छु /

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 2

  • brandon

    सत्यताको अनुभव र शिक्षा को लेख एकदम राम्रो लग्यो . यस्तो लेखले अरु लाइ पनि जिउने संजीवनी दिनु भयकोमा धेरै राम्रो कदम भएको जस्तो लाग्यो. दिर्घायुको कामना र भबिष्य पनि यस्तै यस्तै संजीवनी बाध्न सकुन .
    ब्रान्दन, अमेरिका

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 2

  • Badri Poudel

    सोच पढी सकेको थिय, खोज पढ्न पायको मा अति खुसि छु, कर्ण शाक्य जी तपाई हाम्रो लागि ११० बर्ष बाच्नु पर्छ /अरु के भनौ /खोज प्रकाशन गरेको मा माइसंसार अनि सालोक्य जी लगायत टिमलाई मुरी मुरी धन्यवाद छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 2

  • देवेन्द्र कार्की

    हृदयस्पर्शी सरल भाषामा लेखिएको लेख| पड्दै जादा धेरै पटक आखा रसाए|कर्ण शाक्यको यो कदमलाई सलाम! तपाई जस्ता सच्चा दिलवाला १०० वर्षा बाची रहनुस, मेरो शुभकामना!

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 3

    • aditya khanal

      while going through the book, rather than letting your tears flow why did you not make resolution to do something for the family and the society???

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • घरिघरि यो माई संसार जस्तो वेवसाइड मा जावो व्यक्तिको
    मनगठन्ते कुरो राखेर सम्पादकजीले आफ्नो लोकप्रीयता किन घटाएको
    होला ! लेखमा खासै केचाहि होलार, भनेर मन व्दुविदा बनाउदै पढियो
    तर मैले सोचेको भन्दा ठिक उल्टोक र्हिदय स्पर्शी,शन्देस मूलककक
    र चेतनामूलक हरेक नेपाली मनहरूले पढनै पर्ने यो पुस्तक । त्यसैले
    कुशल लेखक श्रष्टाकर्ण शाक्य ज्यूलाई हार्दिक वधाई सहित
    हवाँको सुस्वास्थ्य रदार्घायूको कामना गर्दछु ।

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 6

  • रिदयस्पर्सी कस्तो सलल बगेको लेख , कर्ण शाक्य सच्चा मानबिय दिल भएका मानिश rahechan . सलाम कर्ण शाक्य लै.

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 4

  • sandip sharma

    कर्ण शाक्य जी को लेखाई हृदयस्पर्शी छ/ उहाँको व्यक्तित्व र सोच अनुकरणीय छ/ यस्तै सय-पचास मान्छेहरु राजनीति लगायत सबै क्षेत्रको शिखरमा बसी हाम्रो समाजलाई हाँक्ने हो भने नेपाल कति सुन्दर हुन्थ्यो होला/

    भगबानको आशिर्बाद र नेपालीहरुको सद्भावले उहाँको दिर्घायु होस्/

    सन्दिप शर्मा
    टोकियो

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 3

  • Navin Banjade

    नविन बन्जाडे , बेलायत
    कति मन छुने र आखा रसाउने सब्द हरु छन् , हजुर को सोच पढेको थीय सारै नै मन छोयको थीयो र मन मा नेपाल को डोल्पा र अरु धेरै ठाउँ घुम्ने ईच्छा जागेको छ यसको लागि धन्यबाद छ . केयान्सर को क्षेत्र मा हजुर को योगदान ले धेरै लाई राहत मिलेको देख्दा र तपाइको सोच ले धेरै मान्छेको सोच मा परिबर्तन लेआयको मा हदै सम्मको खुसि मिलेको छ .र झट्ट हेर्दा आफ्नो बारेमा धेरै छ तर हरेक कुरा सचेत मुलक र सचेत पुर्बक छन् ……साथी हरु यो पुस्तक कहाँ किन्न पाउछ जानकारी दिनु भयमा मा धन्यवाद दिरहने थीय banjade2@yahoo.com

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 2

  • सत्य लेख्न गाह्रो हुन्छ, त्यो पनि अाफ्नै विषयमा । नेपाली भाषाका शालीन पाठकहरू प्रसस्त हुनुहुन्छ, यसले ती धेरै पाठकहरूलाइ लाभावान्भित गर्नेछ । कर्ण शाक्य जी ले गरेको यो प्रयास मलाइ शाहसिक लाग्यो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 3

  • जति पढ्यो उती धेरै पढु पढु लाग्ने खालको कस्तो राम्रो सरल भाषामा लेख्नु भएको रहेछ् कर्ण शाक्य ज्यु ले । कति भावुक अनि हृदयनै छुने खालको किताब लेख्नु भएछ। तपाईं जस्तो ब्यक्ति हाम्रो लागि १०० बर्ष सम्म बाच्नुहोस् यहि छ हाम्रो शुभकामना। I wish I could buy your books but I am sure it’s not available in Middle East. Your books are so touchy and informative.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 45 Thumb down 4

  • Bishwaraj

    धेरै गहकीलो, पीडादयक, सच्चा अनुभव अनी राम्रो मन छुने लेख- सबैले पढ्नै पर्ने- तर अहिलेका नानी केटा केटीहरुलाई येस्तो लेखहरु पढ्ने टाइम छैन, फेसबुकमा कम्मेन्ट गर्न अनी लाइक गर्नमा बीजी-

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 4

  • श्याम,झापा

    लेख मा सरल भाषा को प्रयोगले लेख एकदम गहकिलो छ ,यहाँ क्यान्सर को बारेमा एकदम सरल शब्द मा बर्णन गर्नुबहेकोमा लेखकको पुस्तक ले पक्का पनि राम्रो isthaan पाउने कुरामा दुइ मत छैन/मेरो आमा पनि २ बर्ष पहिला गल ब्ल्लादर क्यान्सर बाट मृत्यु बहेको थियो,यो रोग भनेको यति महँगो उपचार बिदि छ कि यहाँ लेख्ने शब्द छैन

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3

  • मन तामांग

    कर्ण शाक्यजी,
    तपाइको लेख अति शिक्षामुलक छ| तपाई हाम्रो हृदयमा अनन्तसम्म बाँचीरहनु हुनेछ|
    Thank you so much, sir, for sharing your valuable experience with us. Indeed, you have been an exemplary citizen but more so a true human being in real sense.
    कुनै अपार शक्ति कतै छ भने उनैले तपाईलाई सुस्वास्थ्य र लामो आयु दिऊन भन्ने प्रार्थना गर्दछु|

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 3

  • Arjun Thapa

    धेरै राम्रो लेख पीडादायक अनुभव अनि सिच्छामुलक लेख
    सबै ले पद्नु पर्ने
    बधाई छ लेखक अनि प्रकासक महोदय लाई

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 4

  • nigam nh usa

    मलाइ नेपाली हुनुमा गर्व लाग्ने एउटा
    कारण हो कर्ण शाक्य!
    जसको सोचले बदल्दियो मेरो सोच,
    जसको खोज ले पुर्याईदिन्छ गंत्यब,
    जसको हिर्दयमा शिव बिराजमान छन
    जो सधै अमर हुने छन हाम्रा अनि भावी
    सन्ततिका मानस पटल मा !!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 49 Thumb down 8

  • […] ‘खोज’को अंश खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ। तेस्रो भाग यहाँ। चौथो भाग यहाँ। […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • […] हुँदैछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ चौथो भाग यहाँ पाँचौँ […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • […] सक्नुहुनेछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ यसो भए कसो होला? -कर्ण […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0