यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

१० दिन मौन रहेर गरेको ध्यान जसले मलाई जन्म र मृत्युको रहस्य सिकायो

-सन्तोष न्यौपाने/बेल्जियम-

११ वर्षअघि कान्छा काकाको ट्रक दुर्घटनामा परेको खबर आयो। काठमाडौँबाट सामान लिएर जाने क्रममा त्रिशुलीमा खसेर उहाँसहित अर्को एक जना आफन्त गायब। काकाको शव केही दिन पछि बेनिघाट नजिक खोलामा तैरिरहेको अवस्थामा फेला पर्‍यो। तर अर्को आफन्तको शव फेला परेन। परिवारले कुशको शव बनायर दाह संस्कार गरे। त्यतिबेला हाम्रो परिवार बेल्जियम जानका लागि प्रोसेस गरिरहेको थियो। कागजी प्रक्रियाको लागि ठमेलस्थित बेल्जियम कन्सुलेट आउजाउ गरिरहनु पर्थ्यो। तर काकाको देहान्तको खबरले ठूलो झट्का दियो। प्रोसेसलाई बीचमै छाडेर कपिलवस्तु घरतर्फ लाग्यौँ। बुबा बेल्जियममा हुनुहुन्थ्यो। दुःखद खबर सुनेपछि उहाँको बेचैनी बढेको र स्थिति खराब रहेको सन्देश आइरहेको थियो। त्यो घटनापछि म निकै विचलित भएँ। मनमा एउटा मात्रै प्रश्नले डेरा जमायो, ‘आखिर मान्छे जन्मँदा सबैलाई खुसी बनाएर आउँछ। तर मृत्युको बेला सबैलाई रुवाएर गइदिन्छ। आखिर किन ?’

त्यो समयसम्म म न त ज्योतिषमा विश्वास राख्थेँ न त ध्यान भन्ने कुरामा नै। त्यो घटनापछि म ज्योतिषमा आकर्षित हुन पुगेँ। मलाई जन्म र मृत्यु बारेमा जान्नु थियो। तर ज्योतिष ज्ञानले मलाई पूर्ण सन्तुस्ट पार्न सकेन। त्यसमार्फत् मैले पूर्वजन्मको फल अर्थात् कर्म, ग्रहहरुको असर बारेमा केही प्रष्ट हुने मौका पाएँ। जन्म र मृत्यु बारे खोजिरहँदा इन्टरनेटमा विपश्यना बारे पढ्न पाएँ। सुरुमा पढ्ने बितिक्कै यो ध्यान कोर्सको लागि जाने आँट आउनै सकेन। नियमहरु निकै कडा थिए, जुन पालना गर्न कठिन जस्तै देखिन्थ्यो।

विपश्यना बारे पढ्दै, खोज्दै जाँदा थप रुचि बढ्न थाल्यो। यही माइसंसारका उमेश श्रेष्ठको ब्लग पटक-पटक पढेँ। उनलाई म फेसबुक र ट्विटरमा पछ्याउँथेँ। यसै क्रममा उमेशले लुम्बिनीमा विपश्यना गरेपछिको फोटो सामाजिक सञ्जालमा राखेपछि मलाई यो कोर्स गर्नका लागि थप जाँगर आयो। घर नजिकै भएको हुनाले मैले लुम्बिनीलाई आफ्नो ध्यान कोर्सको लागि उपयुक्त ठानेँ। बेल्जियमदेखिनै कोर्सको लागि ३ महिना अगाडि अनलाइनमार्फत् दर्ता गरेर आफ्नो सिट सुरक्षित गराएँ। एक वर्ष अगाडि मेरो ३ महिने नेपाल बसाइमा ११ वर्ष अगाडिदेखिको जन्म, मन र मृत्यु बारेको रहस्य बुझ्नलाई निकै सहज तुल्याइदियो यो कोर्सले। यसले मेरो सोचाई, जन्म, मृत्यु,सांसारिक मोहलाइ हेर्ने धारणा मा यु टर्न गराएको छ।

पहिलो पटक विपश्यना ध्यान कोर्स गर्न बुद्ध जन्मभूमि लुम्बिनीको धम्म जननी पुग्दा निकै कौतूहलता छाएको थियो। बिहीबारदेखि सुरु हुने कोर्स भए पनि बुधबार नै पुग्नु पर्ने थियो। खासमा कोर्स त्यही साँझबाट सुरु हुने रहेछ। जानुअघि उमेशजीसँग आफूले त्यहाँ लैजानु पर्ने कपडा, अरु सामान लगायतको विषयमा जानकारी लिएको थिएँ, जसले सहज बनाइदियो।

बुधबार साँझ ५ बजे तिर हामीलाई १० दिने कोर्सको लागि पालना गर्नुपर्ने कठोर नियम र प्रक्रिया बताइयो। हलमा हामी ७० बेसी सहभागी थियौँ। ७० प्रतिशत जति विदेशी नागरिक थिए। सबै विपश्यना ध्यान गर्न आतुर देखिन्थे। हाम्रो कोर्सका गुरु कृष्ण राजकर्णिकार हुनुहुन्थ्यो।

बुधबार हामी सबैले मोबाइल, पर्स लगायतका आफ्ना सामानहरु त्यहाँको व्यवस्थापनलाई जिम्मा दिएका थियौँ। १० दिनसम्म आर्य मौन बसी ध्यान गर्नुपर्ने थियो। आफ्नै रुम पार्टनरसँग पनि बोल्न मनाही थियो। बोल्न त के इशाराले पनि बोल्न नपाइने, वचनबाट मात्र हैन मनबाटै मौन जसलाई आर्य मौन भनिने रहेछ। खाने बेलामा नि बोल्न पाइन्थेन। पूर्ण रुपमा मौन ध्यान अर्थात् मौन साधना।

धम्म हलमा सून्य दिनको साँझ प्रवेश गरेपछि हाम्रो मौनता सुरु भएको थियो। जुन १० दिनपछि मात्रै तोड्ने निर्देशन दिइन्थ्यो। यो क्षण निकै कठिन पनि थियो र निकै रहस्यमय पनि। यसको अनुभव शब्दले गर्न सकिन्न। तपाईँ आफैले एक पटक अनुभव गरी हेर्दा उचित हुन्छ।

बिहीबार बिहान साढे ४ बजेदेखि सुरु भएको कोर्स १० औँ दिन समाप्त भयो। कोर्स सुरु हुनुअघि मलाई लाग्यो, मेरो हरेक जिज्ञासाको समाधान यसले गर्नेछ। आ-आफ्नो सिट प्लानिङ अनुसार बस्नु पर्ने हुन्थ्यो। केटाहरुको साइड छुट्टै र केटीहरुको साइड छुट्टै। हाम्रा गुरुहरु अगाडि हुनुहुन्थ्यो। हाम्रो कोर्स ठीक समयमा सुरु भयो। सुरुका तीन दिनसम्म गरेको आनापान ध्यान विपश्यना गर्नु अगाडिको चरण थियो। यसले मलाई आफूलाई कन्ट्रोल कसरी गर्ने भन्ने सिकायो। दिनको १० घण्टासम्म निरन्तर ध्यान गर्दा असहज परिस्थिति हुनु स्वाभाविक नै हो। सुरुका दिनमा मन एकदमै बेचैन भयो। मन भित्र अनेकथरी कुराहरु आउन थाले। नकारात्मक कुराहरुको आँखाभरि झल्झली देखिन थाले, जन्मेदेखि कोर्स गर्दाको अवस्थासम्मका।

हरेक साँझ विपश्यना पुनर्जागरण गर्ने गुरु एसएन गोयन्काको रेकर्डेड प्रवचन सुनाइन्थ्यो। यसले दिनभरिको ध्यानलाई थप ऊर्जा दिन्थ्यो र विभिन्न प्रश्नको जवाफ दिन्थ्यो भने भोलि के गर्ने भन्ने बारे पनि जानकारी दिन्थ्यो।

कोर्स गर्ने क्रममा अगाडि बढ्न नसकेर मेरो रुम पार्टनर लगायत ६ जनाले बीचमै ध्यान छाडे। बाँकीले निरन्तरता दिए।

जब चौथो दिन सुरु भयो, मनमा एक प्रकारको उमंग छायो। त्यो दिनदेखि हाम्रो मुख्य विपश्यना कोर्स सुरु हुनेवाला थियो। यो दिनसम्म आइपुग्दा मैले आफ्नो मनलाई कसरी कन्ट्रोल गर्ने भन्ने सिक्न थालिसकेको थिएँ। मनलाई आफ्नो वशमा राख्नु त्यति सहज थिएन र सहज कार्य नि होइन रहेछ भन्ने बुझेँ। विपश्यना सुरु भएपछि शरीरमा अर्कै किसिमको परिवर्तन महसुस हुन् थाल्यो। अर्थात् मेरो मन भित्रको परिवर्तन। मनभित्र रहेका नकारत्मक तत्वलाई शरीरबाट बाहिर फाल्नु त्यति सरल छैन। शरीर आफैमा बटारिएको जस्तो हुने, हात आफैमा बाङ्गिएको जस्तो अनुभव हुने, आँखाले अर्कै दिशामा हेरे जस्तो हुन थाल्यो। ध्यानकै क्रममा गुरुले सबैलाई पालैपालो अगाडि बोलाएर आफ्नो अनुभव सुनाउन लगाउनु हुन्थ्यो। त्यतिबेला बोल्न पाइन्थ्यो। मैले आफ्नो पालोमा यी कुरा सुनाएँ। उहाँले यी सबै क्षणिक हुन्, त्यसलाई धेरै महत्व नदिनू भनेपछि म शरीरबाट आउने नकारात्मक तरंगहरुलाई शरीरबाट बाहिर फाल्ने प्रयासमा लागिरहेँ। ध्यान गर्दै जाँदा शरीर तरङ्ग नै तरङ्गको संयोजन रहेको बुझेँ। जे जति घटना हुन्छन्, ती सबै क्षणिक हुन् भन्ने ज्ञान व्यवहारिक रुपमा बुझ्न पाएँ।

ध्यान अवधिमा जन्मपश्चात् हाम्रो मन किन विचलित भयको छ? किन हामी आफ्नो अधिनमा राख्न सकिरहेका छैनौ? आफूभित्र खुसी किन कायम गर्न सकेका छैनौँ? मृत्यु के हो? मृत्यु हुँदा किन रुने गर्छौँ? किन मनलाई त्यो समयमा आफ्नो अधिनमा राख्न सक्दैनौँ भन्ने कुराको पूर्ण जवाफ मैले पाएँ। ध्यानसँगै गुरु गोयन्काको प्रवचनले थप सहयोग गर्‍यो।

ध्यानमार्फत् मनभित्र रहेको डाहा, लोभ,इर्ष्या जस्ता अनगिन्ती कुराहरुलाई सदाका लागि धोका बन्द गरेर राख्नु पर्ने हुन्छ जसले गर्दा खुसीले मनलाई जाग्राम बनाई राखोस्। मनलाई कुनै पनि बेला विचलित बनाइराख्नु हुँदैन। सबै क्षणिक हुन् भनेर बुझ्न सक्नुपर्दछ। कुनै वस्तु प्रति अगाध आस्था राख्नु हुँदैन जसले गर्दा उक्त वस्तु प्रतिको मोह भंग हुदा विचलित मन आफ्नो अधिन बाहिर हुने गर्दछ। सबैको भलो चिताउनु पर्दछ। मनमा समता भाव,मंगल मैत्री भाव सधैँ कायम राख्नु पर्दछ। यसो भन्दैमा कसैले गल्ती गर्‍यो भने हाँसी हाँसी बस्ने भनेको चाहीँ होइन।उसलाई गाली गरे पनि मनभित्र ऊ प्रति दया माया करुणा रहनु पर्दछ। उसको गलत कार्यलाई मात्रै गाली गर्नु पर्दछ। अर्थात् मनभित्र सधैँ मैत्री भाव रहनु पर्दछ।

यो क्रममा मैले खोजेको प्रश्नको उत्तर पाएँ। मृत्युमा हामी किन बढी भावुक हुने गर्दछौ? किन रुन्छौँ? चिच्याउँछौँ? कराउँछौँ? किनकि हामीले मनलाई आफ्नो अधिनमा राख्नु पर्दछ भन्ने पाठ सिकेनौँ। यी सबै क्षणिक हुन् र एकदिन हाम्रो आवस्था पनि यही भन्ने बुझ्न सकेनौँ। मृत्यु वरण गर्ने ब्यक्ति माथि हाम्रो आस्थाले जरो गाड्यो। जसको कारण मन क्षतविक्षत हुनपुग्यो। विपश्यनाले कुनै पनि दुःख वा सुखको क्षणमा विचलित नहुन सिकाउँछ। सबै क्षणिक हुन् भन्ने ज्ञान दिन्छ। कसै प्रति अत्याधिक आशक्ति नराख्न जोड दिन्छ। यसले गर्दा जीवन सहज सरल तरिकाले अगाडि बढ्छ। मृत्युको बेलामा पनि मन खुसी भएर बिदा लिन्छ। विपश्यनाको निचोड नै यही हो।

विपश्यनाको अन्तिम दिन मौन तोड्नु थियो। त्यो दिन सबैले आफ्नो धोको पूरा गर्ने गरेर हाँस्ने चिच्याउने गरेको देखिन्थ्यो। अर्थात् लगाम लगाएको घोडा फुके जस्तो। तर मलाई आनन्द आइरहेको थियो। बाहिरी संसारबाट पूर्ण विच्छेद थिएँ। होहल्लाको संसारमा आउँदा अर्कै दुनियामा आए जस्तो अनुभव गरायो। गुरुले विदा हुने दिनमा सकेसम्म दिनको एक-एक घण्टा ध्यानलाई निरन्तरता दिनु भनेर भन्नुभयो। मैले भ्याएसम्म गरेको छु। मन त्यति बेचैन हुँदैन। भयो भने आफूलाई कन्ट्रोल गर्छु। सामाजिक संजालमा दुःखद खबर आउँदा उनीहरुलाई व्यक्तिगत रुपमा सम्झाउने प्रयास गर्छु। उनीहरु प्रति मैत्री भाव प्रकट गर्ने प्रयास गर्छु। मलाई अहिले जन्म र मृत्यु सामान्य जस्तै लाग्छ। यी दुवै क्षणिक हुन् भन्ने हुन्छ।

मेरी २ वर्षकी छोरी छिन्। उनलाई म अगाध प्रेम गर्छु तर अत्यधिक आशक्ति राख्दिनँ। मेरो गृहस्थ जीवन चलाउन मैले गृहस्थी नियम पालना गर्नुपर्दछ। त्यसमा विपश्यनाले ठूलो सहयोग गरेको छ। म सबै घटनालाई वृहत् लिँदिन। सामान्य रुपमा हेर्छु। बढी महत्व दिन थाले मन विचलित हुन्छ भन्ने मैले बुझेको छु। अब मेरो माइलो भाइलाई विपश्यनाप्रतति इच्छा जागेको छ। मैले जानेको सूचना उसलाई दिएको छु। उसलाई त भित्र यो ध्यान गर्ने बिज अर्थात् बीऊ छ, अगाडि बढ्नु भनेको छु। अब नेपाल जाँदा लुम्बिनीमा गयर विपश्यना कोर्स गर्ने उसको लक्ष्य छ। सकभर समय मिलाएर सबैले यो कोर्स लिने प्रयास गरौँ। अरुको लागि भन्दा पनि आफ्नो लागि त्यसमा पनि आफ्नो मनको सुद्धिकरणको लागि निकै सहयोग गर्नेछ।

विपश्यनाबारे थप जान्न र कोर्सका लागि समय लिन यो वेबसाइटमा जानुस्।

विपश्यनाबारे थप ब्लगहरु
१० दिने मौन ध्यान विपश्यना : कस्तो हुँदो रहेछ त? सुन्नुस् भिडियो अनुभव

मेरो ‘मनको अपरेसन’ को एक दशक

मनको ‘अपरेसन’ का लागि टाढिँदैछु म सबैबाट

‘शिलाकी जवानी’ले सन्यासीलाई मार

अध्यात्मको आकर्षण

जीवन व्यवस्थित गर्दै विपश्यना

अनि वीरेन्द्रको विपश्यना जाने सपना यो जुनीमा अधुरै

म पनि तटस्थताको पक्षमा

गणेशमान सिंह, अक्सफोर्ड लर्नर र विपश्यना

मनको ‘अपरेसन’ का लागि टाढिँदैछु म सबैबाट

4 comments to १० दिन मौन रहेर गरेको ध्यान जसले मलाई जन्म र मृत्युको रहस्य सिकायो

  • Dev Bataju

    Great sharing, Gratitude!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Navin Banjade

    हजुर ले भनेको सहि हो . पार्वती संग को भन्दा पनि शिव ले सप्त ऋषि हरु संग यो देयाँन को बारेमा भनेको छ ११२ इन्नर र २ बाहिरी देयाँन हुन् . आगस्ता मुनि ले एसको बारेमा सारै नै मिहिनेत गरेका हुन् . सुरुमा Ali गारो नै हुन्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 3

    • Punya

      नविन जी ,
      मैले बुझे अनुसार बिज्ञान भैरव तन्त्र महादेव (भैरव) र पार्वती (भैरवी ) को सम्बाद हो जहाँ महादेव ले ११२ किसिम का ध्यान हरु सिकाएका छन् पार्वती लाइ /
      यो बिज्ञान भैरव तन्त्र रुद्रयामाला किताब को एक च्याप्टर हो / ऋषि हरु ले त्यो सम्बाद रुद्रयामाला को एउटा चप्टर मा जन हित को लागि लेखेको मात्रै हुनु पर्छ / तर वास्तविक सम्बाद त महादेव र पार्वती को हो /

      तल को लिंक हरु हेर्नुस त ..
      https://en.wikipedia.org/wiki/Vij%C3%B1%C4%81na_Bhairava_Tantra

      http://www.meditationiseasy.com/meditation-techniques/vigyan-bhairav-tantra-index-of-112-meditation-techniques/

      अथवा simply गूगल सर्च गर्नुस त ..

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Punya

    धेरै राम्रो जानकारी | तर १० दिन सम्म के के हुन्छ त विपस्स्याना मा भन्ने कुरा केहि प्रस्ट भएन … मेरो अनुभव मा तेहा ज्ञान लिने त हो नै तर त्यो भन्दा पनि बढी ध्यान सिक्ने र तेस्को अनुभव लिने हो | येही ध्यान गर्दा को १० दिन सम्म भिभिन्न अनुभव (पूर्ण निष्ठा का साथ् गर्नु भयो भने ) तथा अनुभूति हरु ले तपाई लाइ माथि लेखक ले भनेको सब कुरा अनुभव गरौछा |

    जस्तो कि: हिम्सा गर्न हुदैन भन्ने कुरा कसै को प्रबचन मा सुन्नु र येही कुरा तपाई को अन्तर्मन मा आफै पलाउनु मा ठुलो difference छ |

    प्रबचन मा सुन्दा तपाई को दिमाग ले बुझ्छ र मन लै सम्झाउन प्रयास गर्छ तर मन बाट नै आफ से आफ राम्रो कुरा हरु र विचार हरु पलाएर आउनु भन्ने कुरा ध्यान बाट हुन्छा |
    तपाई को मन भित्र बाट आफै करुणा तथा ज्ञान हरु पलाएर आउछ ध्यान बाट

    मेरो बुझाई मा यो विपश्यना ध्यान पनि बुद्ध ले गरेको ध्यान नै हो , अझ भन्ने हो भने … साब ध्यान हरु को मूल श्रोत भनेको सनातन धर्म अनुसार स्वयं महादेव हुन् , जुन “बिज्ञान भैरव तन्त्र ” मा छ , यी सब ध्यान हरु तेही बाट लियियेका छन् .. even ओशो ले पनि बिज्ञान भैरव तन्त्र अनुसरण गरेर ध्यान गर्ने गर्थे |
    हजारौ वर्ष अगि को बिज्ञान भैरव तन्त्र को मूल संस्कृत किताब त भेटिन्न होला, तैपनि पछि ओशो तथा अरु ले लेखेको किताब ले पनि धेरै कुरा सिकौछा
    बिज्ञान भैरव तन्त्र बास्तव मा महादेव र पार्वती को सम्बाद हो जहाँ महादेव ले ११२ किसिम का ध्यान महादेव ले सिकाएका छन् , … यी सब बिपस्यना ध्यान , ओशो ध्यान अथवा के के ध्यान हरु तेही बाट झिकिएका हुन् /

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)