पद्मरत्न तुलाधर माअ‍ोवादी कमान्डर ?

२०६२ असोज २ आइतबार


भारतीय सञ्चारमाध्यमहरुले नेपालको विषयमा समाचार बनाउँदा कति हचुवाका भरमा बनाउँछन् भन्ने कुरा धेरै पटक देखिसकेको छ र भर्खरैको घटनाले त्यसलाई थप पुष्टि गर्ने काम गरेको छ। भयो के भने जी न्युजले बिहीबार र शुक्रबार गरी लगातार दुई दिनसम्म विहारको चुनावसम्बन्धी एउटा रिपोर्टमा नेपालका माअ‍ोवादीका कमान्डर प्रचण्ड भन्दै पद्मरत्न तुलाधरको तस्वीर देखायो। अ‍ोसामा बिन लादेनभन्दा बढी खोजी गरिएको व्यक्ति भनेर गफ हाँक्दै जी न्युजले धेरै अघि चुनाव प्रचारका क्रममा खिचेको रातो तारा भएको क्याप लगाएको तस्वीर (दायाँ राखिएको तस्वीर) देखाएको थियो। तुलाधरका अनुसार यसअघि भारतका तीन दैनिकले पनि प्रचण्ड भन्दै उहाँको तस्वीर छापिसकेको छ। तुलाधरले यस विषयमा भारतीय दूतावासलाई जानकारी दिएपछि दूतावासले जी न्युजलाई यसबारे स्पष्टिकरण मागेको भनी भारतीय सञ्चारमाध्यमहरुले नै लेखेका छन्।

यसअघि इन्डियन एयरलाइन्सको विमान अपहरण हुँदा पनि यसै च्यानलले गजेन्द्र ताम्राकार नामका एक नेपालीलाई अपहरणकारी भन्दै समाचार प्रसारण गरेको थियो। त्यतिबेलादेखि नै नेपालमा जी न्युज प्रतिबन्धित थियो। अहिले पनि काठमाडौंमा अधिकांश केबुल टेलिभिजनले यो च्यानल प्रसारण गर्ने गर्दैनन्। आउनुस् जी न्युजले गरेको गलत प्रचारका लागि उसलाई सचेत गराउँ यो इमेलमा विरोध पत्र पठाई [email protected]