राजा र प्रचण्ड दुवै आ-आफ्नै अडानमा

२०६१ वैशाख ५, सोमबार

विश्वप्रसिध्द टाइम म्यागेजिनले फेरि नेपालको बारेमा एउटा विशेष लेख प्रकाशित गर्ने भएको छ । टाइमले राजा ज्ञानेन्द्र र माअोवादी नेता प्रचण्ड दुवैको विशेष अन्तर्वार्ता लिएको छ । टाइमले हिजो विश्वका प्रमुख संचार माध्यमहरुलाई उक्त अन्तर्वार्ताका केही अंश उपलब्ध गराएको छ । अन्तर्वार्तामा दुवै नेताले आफैले युध्द जित्ने दावी गरेका छन् । दुवै आफैले जनताको मन जित्ने दावी पनि गर्छन् । बाँकी

राजा ज्ञानेन्द्रसितको अन्तर्वार्ता टाइमले नारायणहिटी राजदरबारमा र प्रचण्डसितको अन्तर्वार्ता इमेलमार्फत् लिइएको बताएको छ । राजाले अन्तर्वार्तामा माअोवादीलाई जित्न जनताको ह्रदय जित्न आफ्नो सरकार अग्रसर हुने बताएका छन् । उनले राष्ट्रले आतंकवादलाई अस्वीकार गरेको बताउँदै आतंकवादलाई परास्त गर्न सेनाले आवश्यकता अनुसार शक्ति प्रयोग गर्ने, सहकार्य गर्ने र सहयोग गर्ने जस्ता सबै विकल्प प्रयोग गर्ने बताएका छन् । कानुनी शासन मान्ने कसैले पनि डराउनु पर्दैन, कानुन नमान्नेहरुले पीडाबोध गर्नेछन्, अन्तर्वार्तामा राजाले बताएका छन् ।
माअोवादी नेता प्रचण्डले पनि सेनालाई राजधानीमा मात्र सीमित पारेको दावी गर्दै आफूहरु उनीहरुको कथित जनयुध्दको रणनैतिक प्रत्याक्रमणको अन्तिम चरणमा पुगेको बताएका छन् । उनले गफ हाँकेका छन्, हामीले शाही सेनालाई प्रतिकारको स्थितिमा राखी राजधानी, जिल्ला सदरमुकाम र ब्यारेकमा सीमित राखेका छौं । टाइमले प्रचण्डको नाममा अन्तर्वार्ता दिने प्रचण्ड नै हुन् भनी स्वतन्त्र पुष्टि हुन नसकेको बताउँदै तर कतिपय वरिष्ठ माअोवादी नेताहरुले भने त्यो आधिकारिक नै रहेको बताएको प्रष्ट पारेको छ ।
राजाले सैनिक र आर्थिक सहायता कटौती गर्ने मित्रराष्ट्रहरुको घोषणाबाट दुःखी भएको प्रष्ट पार्दै प्रजातान्त्रिक शक्तिहरुविरुद्ध ती सहयोग प्रयोग हुनसक्ने मित्रराष्ट्रहरुको चिन्ता वास्तविकताभन्दा पर रहेको बताएका छन् ।
राजाले पहिले नै टुक्रा भइसकेको कुरालाई बिग्रिएको भन्न नमिल्ने बताउँदै सबै सर्वसाधारण नागरिक राजनीतिक पार्टीसित दिक्क भएको तथ्य पनि उल्लेख गरेका छन् ।
टाइम म्यागेजिनको वेबसाइटमा यी हरफ लेखिँदासम्म यो अन्तर्वार्ताका अंश प्रकाशित छैन । तर एएफपीले यस सम्बन्धमा लेखेको समाचारलाई भने यहाँ हेर्न सकिन्छ