स्वागत छ २०६२ लाई

२०६२ वैशाख १, बिहीबार
स्वागत छ २०६२ साललाई । आजबाट नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको उपलक्ष्यमा सबैलाई शुभकामना । नयाँ वर्षमा एउटा नयाँ कुरा सुन्न पाइयो । राजा ज्ञानेन्द्रले यसै वर्षभत्र नगर क्षेत्रमा स्थानीय निकायको निर्वाचन गराउने घोषणा गरे । यो घोषणा गएराति ठीक १२ बजे नेपाल टेलिभिजनले प्रसारण गरेको थियो । चुनाव भए त ठीकै छ । प्रजातान्त्रिक प्रक्रियाको विरोध कसले पो गर्ला र । तर माओवादी समस्याको समाधान बिना चुनाव संभव छैन भन्ने कुरा त नगर क्षेत्रमा मात्र चुनाव गराउने घोषणाले नै स्पष्ट पार्छ । नगर क्षेत्रमा पनि काठमाडौंमा त उस्तो केही बाधा नपर्ला तर नेपालगञ्ज जस्तो शहरमा त माओवादीले पक्कै पनि शान्तिले चुनाव गराउन दिँदैनन् होलान् । त्यसो हो भने फेरि हिंसा प्रतिहिंसाको चक्र सुरु हुनसक्छ । फेरि हामी शान्तिप्रिय नेपाली जनताले रगतको खोलो बगेको हेर्नुपर्ने होला !
नयाँ वर्षमा अरु के-के हुन सक्ला त – मेरा पूर्वानुमानहरु
– यसअघि पनि यही वर्षभत्र चुनाव गराउने भन्ने वाक्य सुनिएको हो । त्यतिबेला चुनाव गराउन नसकेकै कारण आफैद्वारा नियुक्त प्रधानमन्त्री राजाले बर्खास्त गरे । अब आफै मन्त्रिपरिषद्का अध्यक्ष भएको बेला घोषणा भएको चुनाव हुन नसके के होला – कतै यो राजा हटेर अर्को राजा त आउने हैन –
– नेपाल हल्लै हल्लाको देश हो । गएको वर्षपनि युवराज पारसको बारेमा हल्ला अनि केटीहरुले पाइन्ट लगाउन नपाउने जस्ता हल्ला सुनियो । पहिलो हल्लाका कारण युवराज र युवराज्ञी बेला न कुबेला हनुमानढोकाको भ्रमणमा आउन बाध्य भए भने पछिल्लो हल्लाका कारण गृहमन्त्रालयले वक्तव्य निकाल्ने मात्र हैन, सूचना मन्त्रीले र्सार्वजनिक स्पष्टिकरण पनि दिँदै हिंड्नु पर्यो । यो वर्षचाहिँ कस्ता हल्लाले बजार पिट्ने हुन्, प्रतीक्षाको विषय बनेको छ ।
– सरकारी विज्ञापनमा गरिएको भेदभावपूर्ण नीतिले कतिवटा पत्रिका बन्द हुने हुन् कुन्नि ।
– बाबुराम भट्टराईलाई कारबाही गरेपछि माओवादीभित्रको अन्तरविरोध कसरी चर्किने हो वा कुन ढंगबाट त्यसलाई शान्त पारिने हो, यो पनि हेर्न लायक विषय हुनेछ ।
– माओवादीका लागि त यो वर्षचुनाव बिथोल्नै पर्ने अनि शाही सेनाका लागि चुनाव गराउनै पर्ने वर्षहुनेछ । यी दुई बन्दूकेको बीचमा जनता कसरी पिल्सिने हुन्, कुन्नि ।