प्रचण्डद्वारा बाबुराममाथि कारबाहीको पुष्टि

२०६१ चैत ३१, बुधबार
पहिला सेनाको विज्ञप्तिबाट यो समाचार आउँदा धेरैले विश्वास गरेका थिएनन् । कतिले त माअोवादीको समाचार सेनाले पठाउने भनेर खिसी गरेको पनि पाइयो । तर आज माअोवादी अध्यक्ष प्रचण्डले आफ्नै हस्ताक्षरमा जारी गर्नुभएको विज्ञप्तिले यसको पुष्टि गरेको छ ।
आज मेरो ईमेलमा आइपुगेको उक्त विज्ञप्तिमा क्रान्तिकारी पार्टीभित्र अमुक नेता वा कार्यकर्ता अनुशासनको कारबाहीमा पर्ने र र पुनर्स्थापना हुने कार्यलाई स्वाभाविक प्रक्रिया भन्दै दुश्मनले तीललाई पहाड बनाएको उल्लेख छ । तर माअोवादीका सेकेण्डम्यान कारबाहीमा पर्नु पक्कै पनि तील देखिने घटना हैन, यो त पहाड नै हो । माअोवादीको यस्तो आन्तरिक कुरा शाही सेनाले सार्वजनिक गर्नुले सेनाको गुप्तचर संयन्त्र निकै बलियो भएको प्रमाणका रुपमा लिन सकिन्छ । माअोवादी पनि एकपटक त झस्कन बाध्य भएको हुनुपर्छ यो कान्डपछि ।
प्रचण्ड बाजेको वक्तव्यका अरु बुँदा केलाउँदा उनले हालै अञ्चलाधीश र क्षेत्रीय प्रशासकको नियुक्तिलाई निरंकुश पञ्चायती भूतलाई ब्युँताउने नौटंकी भनेका छन् र त्यसविरुद्ध मोर्चावद्ध आन्दोलन गर्न भनेका छन् । रुकुमको खारामा आफ्ना सयौं लडाकू गुमाए पनि उनको भाषामा त्यो युद्धलाई नयाँ स्तरमा गरिएको विकास पो रहेछ । दोलखा आक्रमणको कुरा त्यसमा छैन । शायद मोबाइल नचलेकोले प्रचण्ड बाजेका हजूरमा खबर नपुगेको हो कि ! १० दिने नेपाल बन्द सकिएकोमा सफल पार्नेलाई धन्यवाद पनि उनले दिएका छन् र मानवाधिकार पर्यवेक्षणका लागि संयुक्त राष्ट्र संघको टोलीलाई सहयोग गर्ने प्रतिवध्दता पनि उनले जनाएका छन् ।