वासिङटन टाइम्समा बाबुराम भट्टराईको अन्तर्वार्ता

२०६२ साउन १५ शनिबार
अमेरिकाबाट प्रकाशित हुने वासिङटन टाइम्स पत्रिकाको आजको अंकमा माअ‍ोवादी नेता बाबुराम भट्टराईको अन्तर्वार्ता प्रकाशित भएको छ। वासिङटन मै रहेका दक्षिण एसियाली मामिलासम्बन्धी विश्लेषक चित्र तिवारीले १० दिनअगाडि ईमेलमार्फत् यो अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्तामा माअ‍ोवादी बहुदलीय लोकतान्त्रिक व्यवस्था अपनाउन तयार रहेकोमा विशेष जोड दिइएको छ। बाँकी
आलोचकहरुले बहुदलीय प्रणालीको पक्षमा माअ‍ोवादीले आफ्नो मेनिफेस्टो संशोधन नगरेको हुनाले तपाईँहरुको लोकतन्त्रप्रतिको प्रतिवध्दतालाई शंकाले हेरिरहेको बेला अन्तर्राष्ट्रिय समुदायलाई कसरी विश्वस्त तुल्याउनु हुन्छ भनी सोधिएको प्रश्नमा भट्टराईले भनेका छन्, हामीले बहुदलीय लोकतान्त्रिक पध्दतिप्रति समयसमयमा प्रतिवध्दता व्यक्त गर्दै आएका छौं र पार्टीले पनि यससम्बन्धी प्रस्ताव पारित गरिसकेको छ।

राजनीतिक पार्टीहरुले सशस्त्र संघर्ष छाडेर आउने पूर्वशर्तमा मात्र एकीकृत मोर्चा बन्न सक्ने बताएका छन् नि भनी सोधिएको प्रश्नको जवाफमा भट्टराईले पार्टीहरुले सशस्त्र संघर्ष त्याग्न नभई निशस्त्र व्यक्तिमाथि कुनै किसिमको भौतिक आक्रमण नगर्नमात्र भनेको र आफूहरुले त्यस्तो निर्देशन आफ्ना सेना र कार्यकर्ताहरुलाई दिइसकेको बताएका छन्।
आफ्नो आशा अनुरुप नतिजा नआए तपाईँहरुले संविधानसभाको निर्वाचनको परिणाम मान्न अस्वीकार गर्नसक्ने भनी शंका उठाउनेहरुलाई तपाईँहरु कसरी विश्वस्त पार्नुहुन्छ त भनी सोधिएको अर्को प्रश्नको जवाफमा संविधान सभाको निर्वाचनका क्रममा दुवै पक्षका सशस्त्र फौजलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नमा वार्ता गर्न हामी तयार रहेको र स्वतन्त्र र स्वच्छ निर्वाचनको परिणाम जस्तोसुकै आए पनि आफूहरुले त्यसलाई स्वीकार गर्ने प्रतिवध्दता समय समयमा दोहोर्‍याउँदै रहेको उनले बताएका छन्।

माअ‍ोवादी र दलहरुबीच संयुक्त मोर्चा बन्न सकेन भने राजासितको शान्ति वार्ता पुनः सुरु हुने कुनै संभावना देख्नुहुन्छ त भनी सोधिँदा उनले त्यस्तो संभावनालाई पूरै नकारेका छन्। संयुक्त मोर्चा बन्नेमा हामी आशावादी छौं, भट्टराईले भनेका छन्।
अन्तर्वार्तामा नेपाल भित्र र बाहिरका शक्तिहरुसित माअ‍ोवादीहरुले वार्ता गरिरहेको पनि भट्टराईले प्रष्ट पार्नुभएको छ।

अन्तर्वार्ताको पूर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहोला।