राजाको ललितपुर भ्रमणमा यस्तो पनि भयो…

२०६२ असोज ७ शुक्रबार
राजाको हिजोको ललितपुर भ्रमणका क्रममा देखिएका केही रमाइला केही नरमाइला कुराहरुलाई यस ब्लगमा समेट्ने कोशिश मैले गरेको छु।
– बिहानैदेखि भ्रमणका कारण ललितपुर ठप्प थियो। सुरक्षा कडा थियो अनि सवारी साधन चलाउने अनुमति थिएन।

– भ्रमणमा सुरक्षा व्यवस्था मिलाउन कि किन हो, उपत्यकाका अधिकांश स्थानमा ल्यान्डलाइन टेलिफोनमा डायल टोनसमेत नआउने र मोबाइल वन वे भएको थियो। बाँकी

-१० बजेर ४० मिनेट जाँदा थापाथली पुल पार गरेर ललितपुरको सीमामा पुग्नेबित्तिकै राजा आफैले चलाउँदै आएको गाडीबाट अ‍ोर्ली पैदल सवारी भए। राजासितै रानी पनि पैदल सवारी भए।

– राजा झन्डै ६ घण्टा पैदल सवारी भएका भए पनि रानी भने जहाँ जहाँ जान्छौ तिमी, म पाइला बनी पछ्याइरहन्छु…भनी चाँदनी शाहद्वारा रचित कवितामा जस्तो केही बेर पछि लागेर सर्वसाधारणसित भलाकुसारी गरेका भए पनि पछि कारमै सवार भएका थिए। ठूलो ज्यान, थाकिन्छ नि ! रानी साढे दुई घण्टामात्रै पैदल सवारी भएका थिए।

– टेलिभिजनमा हेर्दा जता हेरे पनि ठूलो भीड र हाम्रो राजा हाम्रो देश….को नारा सुनिन्छ। तर वास्तवमा त्यहाँ त्यस्ता नारा लगाउनेहरु १०-१५ जनाको समूहमात्रै थियो। राजा जताजता गए, उनीहरु त्यतात्यता लाग्थे नारा घन्काउन। उपस्थित ठूलो जनसमुदायले भने नारा लगाएको देखिएन। केही अपवादको कुरा छाडेर।

– नाराबाजी गर्नेहरुमा जड्याहाहरु पनि थिए। उनीहरुलाई केही बेर त नारा लगाउन दिइयो तर पछि आर्मीले धपाए।

-राजा आइपुग्नु भन्दा एक घण्टाअगाडि पाटन संयुक्त क्याम्पसका विद्यार्थीहरुले कालो झन्डा पनि देखाएका थिए। उनीहरुले नाराबाजी पनि गरेका थिए। तर कसैलाई पक्राउ भने गरिएन।

-साढे दुई बजेतिर मंगलबजारमा रानीको गाडी अकस्मात् हुँइक्याएर लगियो। एकछिन त त्राहीत्राही मच्चियो- के भयो, के भयो भनी। मूत्रत्यागको लागि हतार भएको हो कि भन्ने कुरा पनि सुनियो।

– राजा सर्वसाधारणसित भलाकुसारीमा नै व्यस्त थिए। रानी भने अघि कार हुँइक्याएदेखि त्यहाँ देखिएनन्। झन्डै दुई घण्टाको रेस्टपछि बल्ल रानी राजा अञ्चल प्रशासकको कार्यालय जावलाखेलमा पुग्नलाग्दा दर्शन पाइयो।