मेरो संसारलाई सहयोग गर्नुस्

२०६२ भदौ ३० बिहीबार
ब्लग अझै पनि केही नेपाली पाठकहरुका लागि नौलो विषय भइरहेको छ। वास्तवमा ब्लगमा पाठक र लेखकको नजिकको सम्बन्ध हुन्छ। त्यसैले यो लोकप्रिय बन्दै गएको हो। ब्लग सूचना दिने निजी प्रयास हो। त्यसैले यसलाई लाखौंको लगानी भएको अन्य समाचार पत्रिका, साइटसित तुलना गर्न मिल्दैन। तर पनि विश्वका केही ब्लग साइटहरुदेखि चलेका भनिएका वेबसाइटहरु इर्ष्या गर्छन्। नेपालमा त्यस्तो भइसकेको त छैन, तर बिना सेन्सर, बिना कसैको दबाब जे देख्यो, त्यही लेख्ने ब्लग साइटहरु लोकप्रिय भइरहेका छन्। विदेशमा ब्लगिङलाई नै पेशा बनाएका व्यावसायिक ब्लगरहरु पनि थुप्रै छन्। उनीहरु पाठकबाट आफ्नो खर्च उठाउँछन्। नेपालमा त्यतिसम्मको कल्पना हामी गरिनहालौं तर पछिल्ला केही ब्लगहरुमा मैले आफ्नो क्यामेरामा मेमोरी कार्ड नभएर समस्या भइरहेको उल्लेख गरेपछि केही पाठकले प्रतिक्रिया लेखी र केहीले इमेलमा सम्पर्क गरी सहयोग गर्ने प्रतिवध्दता देखाएकोले म उत्साहित भएको छु। त्यसैले मैले आजदेखि 512 MB को SD Memory Card खरिद गर्न $ 100 (7000 नेरु) तपाईँहरुसित संकलन गर्ने अभियान सुरु गरेको छु। बाँकी

$1 (रु ७०) का हिसाबले १०० जना पाठकले सहयोग गर्न सक्नुभयो भने मेरो उद्देश्य पूरा हुनेछ। सहयोग संकलनका लागि मैले अमेरिकामा भएका एक हितैषीको सहयोगमा Paypal को बटन राखेको छु। वा सजिलोका लागि तपाईँ मेरो ठेगानामा हुलाकबाट पनि खामभित्र आफूले सकेको सहयोग राशी कागजले बेरेर नदेखिने गरी पठाउन सक्नुहुन्छ। कुनै व्यक्ति वा समूहले कार्ड नै खरिद गरी मेरो ठेगानामा पठाइदिनसक्नु भयो भने झन सजिलो हुने थियो। किनकि काठमाडौंको बजारमा भन्दा बाहिर पक्कै यो सस्तो पर्नेछ। पत्राचार गर्ने ठेगानाका लागि मेरो इमेल सालोक्य@जीमेल डट कममा इमेल गर्नुहोला। सहयोग राशी उपलब्ध गराउनेहरुको नाम उहाँहरुले चाहनु भएमा यसै ब्लगमा प्रकाशित गरिनेछ। कति सहयोग राशी जम्मा भयो भने सूचना दायाँ छेउको लिंकमा २४-२४ घण्टामा अपडेट गरिनेछ।

इन्टरनेटबाट सहयोग माग्नेहरुको पनि ठूलै जमात रहेको छ। यसलाई साइबर बेगिङ वा ई प्यानह्यान्डलिङ भनिने रहेछ। उदाहरणका लागि बेलायतकी केरिन नामकी यी महिलाले यो वेबसाइटमार्फत् सहयोग मागरे आफ्नो हजारौं डलर ऋण तिरिन्। अनि यी युवतीले भने यो वेबसाइटबाट चन्दा उठाएर आफ्नो स्तनलाई आकर्षक बनाउने अपरेसन गरिछिन्। यस्ता अरु पनि थुप्रै साइटहरु छन्। जसका बारेमा म यहाँ पछि अपडेट गर्दै गर्नेछु।

विदेशमा यस्तो चलन भए पनि नेपालका लागि भने यो बिल्कुलै नयाँ विषय हो। ब्लगका लागि पाठकहरुले इन्टरनेटबाट सहयोग गरेर ब्लगरका लागि आवश्यक उपकरण जुटाइदिएको नयाँ इतिहास यसबाट बन्न सक्नेछ। हेरौं, हामी कति सफल हुन्छौं……