नाम चाहियो रे !

२०६२ कात्तिक ९, बुधबार
नाममा के छ र ? भनी सेक्सपियरले जति नै फलाके पनि मान्छेलाई नाम नभई हुन्न क्या रे। नामको महत्त्व त ठूलो पो छ त। मान्छेलाई मात्र हैन सबैथोकलाई नामको आवश्यकता हुन्छ। पार्टीलाई त नामको आवश्यकता हुने नै भयो। दरबारनिकट भनेर चिनिने तर हालका दिनमा दरबारकै सरकारको चर्को विरोध गर्दै हिँड्ने अनि मन्त्रिमण्डल पुनर्गठन भएमा आफू पनि मन्त्री बन्न सक्ने कुरा खुल्लमखुल्ला बताउँदै हिँड्ने केशरबहादुर विष्टले पनि नयाँ पार्टी गठन गर्दैछन्। त्यसका लागि नाम खाँचो परेर उनले आजको कान्तिपुर दैनिकमा विज्ञापन छपाएका रहेछन्। हाल उनको समूहको नाम राष्ट्रिय समस्या समाधानका लागि समान विचार रहेको छ। मलाई अचम्म लाग्यो, पार्टीको नामसमेत आफै जुराउन नसक्नेले कसरी त्यत्रो राष्ट्रिय समस्याको समाधान गर्लान् त खै ? जे होस्, पत्रिकामा विज्ञापन छपाएर दलको न्वारन गर्ने रेकर्ड भने उनले नै बनाउलान् जस्तो छ। तपाईँसित पनि नाम छ भने सुझाव दिइहाल्ने कि ? तर उत्कृष्ट नाम पठाउनेलाई पुरस्कारको व्यवस्था भने रहेनछ नि फेरि।