अमेरिकामा नेपाली नेताहरुको बिजोग !

कार्टर सेन्टरको तत्वावधानमा अमेरिकामा द्वन्द्व समाधानको प्रशिक्षण लिन आइपुगेका नेपाली नेताहरुको बिजोग भएछ। विमलेन्द्र निधिको भिडियो क्यामरादेखि लिएर महेन्द्र लावतीको ल्यापटप लगायतका केही बहुमूल्य सामान अनि रामशरण महतको प्लेन टिकटसमेत उनीहरु चढेको गाडीको सिसा फोडी चोरी भएछ। अमेरिकास्थित ब्लगका नियमित पाठकको रिपोर्ट पढ्न भित्र आउनुस्- बाँकी

कार्टर सेन्टरको तत्वावधानमा अमेरिकामा द्वन्द्व समाधानको प्रशिक्षण लिन आइपुगेका नेपाली नेताहरुलाई लिबरल डेमोक्रेसी नेपालले बीचैमा पुनः आफ्नै खर्चले डीसीमा बास बस्न ल्याएका खिचडी समूहलाई धोकामात्र भएन, उनीहरुमध्ये डीसीको कार्यक्रमको अन्तिम दिन आइतबार साँझ कुलचन्द्र गौतमद्वारा दिइएको रात्रिभोज खाएर निस्कँदा नेपाली नेताहरु चढेको भ्यानबाट विमलेन्द्र निधिको भिडियो क्यामरादेखि लिएर महेन्द्र लावतीको ल्यापटप लगायतका केही बहुमूल्य सामान अनि रामशरण महतको प्लेन टिकट समेत उनीहरु चढेको गाडीको सिसा फोडी चोरी भयो।

त्यस्तै मिनेन्द्र डाक्टर र रामशरण डाक्टर साहेबहरुलाई मात्र डीसीका आयोजकहरुले विशेष ख्याल दिएबाट आजित भएका चक्र बास्तोला लगायतका कांग्रेस, एमाले तथा अन्य दलका नेताहरु हामी द्वन्द्वको समाधान गर्न आएको आफैं यो विदेशमा बसेका नेपालीहरुको अर्को द्वन्द्वमा फसेछौं भन्दै दिक्क मान्दै थिए। केही नलागेपछि एमालेका झलनाथ खनालले मुखै छाडेर गिरिजा गौतमलाई डीसीको कार्यक्रमका बारेमा गुनासो गर्न पुगे । त्यति मात्र हैन दिनभर डीसीमा कार्यक्रममा सहभागी गराउन उनीहरुलाई डीसीबाट झण्डै एक घण्टाभन्दा टाढा बस्ने व्यवस्था मिलाइएको थियो ।

डीसीमा नेपालीहरुद्धारा राखिएको भनिएको कार्यक्रममा झलनाथ खनालले आफूले पुरानो समयदेखि चिनेजानेका डीसीबासी नेपालीहरु कसैलाई नदेखेपछि यो तपाईंहरुले के गरेको भन्दा लिबरल डेमोक्रेसी नेपालका आयोजकहरु नतमस्तक हुँदै आफूहरुबाट गल्ती भएको कुरा स्वीकार गरेका थिए ।

उता जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनी भने बोस्टनको कार्यक्रम सकिनासाथ बेपत्ता भएका छन् ।

त्यस्तै चक्र बास्तोला पनि डीसीका कतिपय सामूहिक टोलीका कार्यक्रमबाट छड्किएर भर्खरै मात्र डीसी आइपुगेकी छोरीलाई अमेरिका सयर गराउनमा व्यस्त भए ।

टोलीमा संलग्न मानवअधिकारवादी पद्मरत्न तुलाधर भने कार्यक्रम आयोजक संस्था र टोलीका सदस्यहरुको रवैया देखेपछि टोलीलाई बीचैमा छाडेर डीसीकै एक नेवारी समुदायको एक कार्यक्रममा सहभागीका लागि बस्ने र आउँदो २७ तारिखमा नेपाल प्रस्थान गर्नेभएका छन् ।

सो समूह २४ तारिख सोमबार डीसीबाट कार्टर सेन्टरको मुख्यालय एटलान्टा प्रस्थान गरेको छ भने यिनीहरु त्यहाँबाट २६ तारिखदेखि आफ्नो आफ्ना नातागोता पहिल्याउँदै तिहार मनाउन र अमेरिकाको सयर गर्न व्यस्त रहने कार्यक्रम बनाएका छन् ।