कान्तिपुर एफएमको साइटमा सरकारी प्रतिबन्ध ?

अपडेट २ सरकारले प्रतिबन्ध लगाएको हैन जस्तो लाग्यो। साउदी अरबका एक पाठकले भर्खरै च्याटमा त्यहाँ पनि साइट नखुलेको जानकारी दिए। कान्तिपुरले नै झूर सर्भरमा होस्ट गरेको जस्तो छ यो साइट। (राति ९ बजे)
अपडेट १ कान्तिपुर दैनिकको अन्तिम पृष्ठमा आधा पेज ढाकिने एफएमको साइटको विज्ञापन अहिले साँझ देखेपछि शंका लाग्यो- कतै सरकारले यो साइटमाथि प्रतिबन्ध लगाएको त हैन ? www.kfm961.com टाइप गर्दा मेरो वर्ल्डलिंकको इन्टरनेटबाट अझै पनि पेज खुल्दैन। तर प्रोक्सी साइटबाट चलाएर हेर्दा भने खुल्यो। यद्यपि साइट निकै ढिला खुलिरहेको छ। प्रोक्सीबाट खुल्ने, सिधै नखुल्ने त प्रतिबन्ध लगाइएका साइटहरुमा मात्र हुने गर्थ्यो। यद्यपि, साइट होस्टिङमा खराबी भएको पनि हुनसक्छ। विदेशमा यो साइट खुल्छ कि खुल्दैन, कमेन्टमा लेख्नुस् है ! (साँझ ७ बजे)

“लञ्च”पछि पनि खुलेन कान्तिपुर एफएमको साइट
२०६२ कात्तिक ६ आइतबार
आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा कान्तिपुर एफएमले हिजो राति एफएम र टेलिभिजनमा एक साथ एक भड्‍‍किलो उत्सव लाइभ प्रसारण गरेको थियो। आरजेहरु अंगालो हाल्दै नाच्दै राति सामान लुट्न आउने सरकारलाई गिज्याइरहेका थिए। गायकगायिकाहरुले गीत गाएका थिए। अनि त्यही कार्यक्रममा एफएमका अध्यक्ष हेमराज ज्ञवालीले देशविदेशका स्रोताहरुका लागि भन्दै ल्यापटपमा बटन थिचेर कान्तिपुर एफएमको अफिसियल साइट लञ्च गरेका थिए। साइबरका बारेमा आरजेहरुको ज्ञान कतिको रहेछ भनेर त त्यति बेला नै देखियो। आरजे भन्दै थिए, कान्तिपुर एफएमको आधिकारिक साइट kfm961.com.np तर लञ्चपछिको प्रोमोमा भनियो kfm961.com मात्रै। वेब एड्रेसमा एउटा अक्षरमात्र यताउता भए पनि पेज खुल्दैन भन्ने ज्ञान नै रहेनछ उनीहरुमा। लञ्चपछि कस्तो रहेछ त साइट भनी हेरौं न भनेर हेर्दा दुवै एड्रेसमा पेज खुलेनन्। kfm961.com.np त दर्ता नै भएको रहेनछ, मर्कण्टायलको एनपी डोमेन सर्च गरी हेर्दा। kfm961.com पनि यी शब्द टाइप गरिरहँदा अपराह्न साढे १ बजेसम्म खुलेको छैन। साइट बनेकै छैन भने लञ्च गर्न किन हतार भएको हो ? कि अस्ति प्रहरीले सामान लुटेर लाँदा साइट चलाउन चाहिने कुरा पनि लुटेर लगेका हुन् ???