कान्तिपुर टेलिभिजनमा “मेरो संसार”

२०६२ असोज १५ शनिबार

केटिभीमा प्रसारण हुँदै गरेको आफ्नो दृश्य आफैले खिच्दा…..
नेपालको पहिलो ब्लग साइट युनाइटेड वी ब्लगको पहिलो वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा रहेका सञ्चारमाध्यममा कार्यरत ब्लगरहरुको भेला नयाँ बानेश्वरस्थित एउटा रेस्टुरेण्टमा भयो। कान्तिपुर टेलिभिजनले आफ्नो प्राइम टाइम न्युज बुलेटिनमा यससम्बन्धी समाचार प्रसारण गरेको थियो। समाचारका क्रममा नेपाली भाषाको पहिलो ब्लगका रुपमा मेरो संसार साइटको होमपेज टेलिभिजन स्क्रिनमा देखाइएको थियो भने मेरो बाइट (छोटो अन्तर्वार्ता) पनि प्रसारण भएको थियो। नेपालको टेलिभिजनले ब्लग सम्बन्धी समाचार प्रसारण गरेको यो पहिलो अवसर थियो। समाचारका लागि केटिभीका दुई “सेलिब्रिटी” पत्रकारहरु दीपक भट्टराई तथा क्यामेराम्यान श्याम श्रेष्ठ भेलामा सहभागी भएका थिए। भट्टराई र श्रेष्ठलाई मैले यसकारण सेलिब्रिटी पत्रकार भनेको हुँ- दीपक भट्टराई होर्डिङ बोर्ड र प्रेस विज्ञापनमा मोडलिङ गर्ने नेपालका पहिला रिपोर्टर हुन् भने श्याम श्रेष्ठ, त्यही भेलामा अरुले सुनाए अनुसार, कतिपय चलचित्रहरुमा अभिनय गरिसकेका कलाकार हुन्।

[आज बिहान बिहानै कसको अनुहार हेरेको रहेछु कुन्नि ? के दशा लागेको हो यस्तो ! यो ब्लग लेख्न झण्डै झण्डै टुंग्याइसकेको थिएँ, बत्ती ठ्याक्कै गयो। युपीएस पनि एक सेकेण्ड पनि ब्याकअप नदिने भएको छ। अहिले खोलेर हेर्छु त पूरै फाइलका एउटा पनि अक्षर काम नलाग्ने भई बिग्रेछ। अब फेरि कहाँबाट कसरी लेख्न सुरु गर्ने….सार्‍है दिक्क लागिरहेको छ। जस्तै भए पनि अब अघि लेखेको जसरी मन खुलाएर लेख्न सकिन्न। हेरौं कतिसम्म लेख्न सकिँदो रहेछ….अबेला पनि भइसक्यो अब छोटकरीमा लेखेर टुंग्याउनु पर्ला]

मेरो संसारले नेपाली सञ्चारमाध्यममा चर्चा पाएको भने यो दोस्रो अवसर हो। यसअघि राजधानी राष्ट्रिय दैनिकमा नेपालमा ब्लगिङसम्बन्धी एउटा जानकारीमूलक लेख प्रकाशित भएको थियो। यसका लेखक चाहिँ ब्लगर साथी केपी ढुंगाना थिए।

आज केटिभीमा प्रसारण भएको समाचारको एक अंशको भिडियो तलको प्लेयरमा प्ले बटन थिचेर केही बेरको प्रतीक्षापछि हेर्न सकिन्छ। वा तपाईँ यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गरी आफ्नो कम्प्युटरमा भिडियो डाउनलोड गरी पनि हेर्न सक्नुहुन्छ।

भिडियो हेर्नुस्

नयाँ बानेश्वरको रोजमेरी क्याफेमा युडब्लुबीको प्रथम वार्षिकोत्सवका अवसरमा अनअफिसियल डिनर पार्टी हुँदैछ भनी सूचनासहितको निमन्त्रणा यसका संस्थापकद्वय मध्येका एक उज्ज्वलले मेरो इनबक्समा अस्तिको दिनमा नै हालिसकेका थिए। नाममात्र सुनेका तर परिचय भने नभएका ब्लगरहरुसितको भेटघाट रमाइलै हुने आशाले म त्यहाँ गएको थिएँ।

भेलामा सबैजसो ब्लगरहरु युडब्लुबीसित सम्बन्धित थिए। केपी र बालमुकुन्द (ब्लगर नेपालका ब्लगरहरु) अनि म मात्रै त्यो हाँसको बथानमा काग बनेका थियौं। युडब्लुबीमा संलग्न भई ब्लग गर्ने सबै ब्लगर (आन्बिकालाई छाडेर) हरु कान्तिपुर प्रकाशनसित सम्वध्द भएकाले उनीहरुबीच एक-अर्कामा पहिले नै परिचय थियो तर हामी, विशेष गरी म, भने उनीहरुसित परिचित थिइनँ। नामले चिने पनि कतिलाई देखेकै थिइनँ भने कतिलाई देखेको भए पनि अ‍ौपचारिक परिचय भएको थिएन। हामीबीचको चिनजान कति थियो भन्ने कुरा त यो घटनाले पनि देखाउँछ- उज्ज्वलसित हात मिलाई म पहिले नै कार्यक्रम स्थलमा आएर बसिसकेको थिएँ। तर एकै छिनपछि मेरो मोबाइलमा घण्टी बज्छ र उही उज्ज्वलले सोध्छ, आउने हैन ? मैले “म आएर तल बसिसकेको छु” भनेर भन्दा बल्ल उनले चाल पाए। केपी र बालमुकुन्दसित भने म पहिलेदेखि नै परिचित थिएँ।

उज्ज्वलले सबैको परिचय गराएर अनौपचारिक कार्यक्रमको अ‍ौपचारिक सुरुवात गरिएको थियो। वरिष्ठताको हिसाबले कान्तिपुर दैनिकका समाचार सम्पादक गुणराज लुइँटेललाई प्रमुख अतिथि बनाइएको थियो। परिचयको राउन्ड सकिएपछि सबैले ब्लग गर्दाको आ-आफ्नो अनुभव सुनाए।

ब्लगरहरुको भेला। फोटोः युडब्लुबीबाट साभार

माघ १९ को शाही कदमपछि सेन्सरमा परेको सञ्चारमाध्यमका बीच वैकल्पिक सूचनाको स्रोत बनेर आएको थियो युडब्लुबी। भन्न अप्ठ्यारो मान्नु पर्ने कुनै कारण छैन कि युडब्लुबीबाट प्रभावित भएर नै मैले पनि ब्लग गर्न थालेको हुँ। त्यसो त ब्लग शब्दबाट म पहिले नै परिचित थिएँ। साइबर संसार डुल्ने क्रममा यदाकदा म त्यस्ता साइटहरुमा पनि छिर्थेँ। युडब्लुबी नै पनि माघ १९ अगाडि मैले कति पटक हेरको थिएँ तर म त्यहाँ हेर्न लायक केही भेट्‍‍दिन थिएँ। बरु आफूलाई बलात्कार गर्ने पुरुष कसरी खुल्लमखुल्ला हिँडिरहेको छ भनेर गुनासो गर्दै पीडा पोख्ने अमेरिकी महिलाको ब्लग मलाई रुचिकर लाग्थ्यो। त्यसरी ब्लग पढ्दा मलाई म आफू पनि ब्लगर बन्छु भन्ने सोचाइ पटक्कै थिएन।

अकस्मात् नसोचिएको माघ १९ आयो र प्रेस स्वतन्त्रतालाई टपक्क टिपेर लग्यो। फोन र इन्टरनेट अनि एफएममा समाचार बन्द गरेर हामीजस्ता सूचनाका भोकालाई दिउँसै रात पार्ने काम भयो। सञ्चारमाध्यममा कडा सेन्सरसीप लागू हुँदा युडब्लुबीले जुन साहसका साथ आफूलाई ताजा सूचनाको एकमात्र स्रोतका रुपमा आफूलाई स्थापित गर्‍यो, त्यसको प्रशंसा जति गरे पनि कमै हुन्छ। ती दिनका ब्लगहरु ऐतिहासिक थिए। इराकका सलाम पाक्सले जस्तै युडब्लुबीले पनि ती दिनका ब्लगहरुको संग्रह पुस्तकको स्वरुप निकाले एउटा दस्तावेज बन्ने थियो।

माघ १९ नआएको भए वा माघ १९ पछि युडब्लुबीले आफूलाई परिवर्तित स्वरुपमा पेश नगरेको भए मेरो संसारको जन्म हुने थियो भन्नेमा मलाई शंका लाग्छ। यद्यपि मैले ब्लग सुरु गर्दा युडब्लुबीजस्तै समाचारमूलक नभएर आफ्ना गन्थन पोख्ने ठाउँजस्तो मात्र बनाउन खोजेको थिएँ। तर समयक्रमसँगै मेरो ब्लग लोकतन्त्र र शान्तिका लागि समर्पित हुन पुगेको छ।

भेलामा अनुभव, विचार आदान-प्रदान भए। युडब्लुबीका संस्थापकद्वयले पडकास्टिङ (अडियो ब्लग) र भिडियो ब्लगिङका लागि मेरो संसारको प्रशंसा गरे। नेपालन्युजले फट्याइँ गरेर गुगलको विज्ञापन राखिरहेको मेरो संसारमा प्रकाशित ब्लगले उज्ज्वललाई पनि प्रभावित पारेको रहेछ।

ब्लगरहरुबीच एकअर्कामा सहयोग गर्ने सहमति भयो। त्यसो त यस्तो सहयोग हुँदै आएको पनि छ। सुरुका दिनमा मेरो ब्लगमा कमेन्ट गर्न नमिल्ने समस्या मैले उज्ज्वलकै सहयोगमा समाधान गरेको हुँ। ब्लगरनेपाललाई पनि ब्लग चलाउन मैले सहयोग गरेको थिएँ। ब्लगरहरुमा एकअर्कामा प्रतिस्पर्धाको हैन, सहकार्यको भावना विकास भएको अनुभव सबैले गर्ने कुरा हो। उदाहरणको लागि केपीलाई म पहिले चिन्दिनँ थिएँ। ब्लग गर्न थालेदेखि उसको र मेरो इमेलबाट परिचय भएको हो र एक दुई भेटपछि हामी नजिकका मित्रजस्ता भइसकेका छौं। [केपीले तल कमेन्ट लेखेको छः नजिकका मित्र मात्रै ? हामी असल मित्र भइसकेका छौं। ]
भेला परिचय र अनुभव साट्न उपयोगी थियो। यति हुँदाहुँदै पनि ब्लगरहरुबीच निकट भविष्यमा उठ्न सक्ने कठोर राजनीतिक कदमका बीच आफूहरुलाई सुरक्षित पार्न कुनै संयन्त्र बनाउने वा समूह गठन गर्ने कुरा भएनन्। कुनै धम्कीहरु आएको छ कि छैन भनी मैले राखेको जिज्ञासामा उज्ज्वलले “खासै छैन” भने। एकपटक सेनाले बोलाएको भन्ने कुरा के हो त भनी सोध्दा खासै केही हैन, हामीले हेरिरहेका छौं है भनी जानकारीसम्म गराएका थिए भनेर उनले बताए।

तर उज्ज्वल पनि केही हुनसक्ने आशंकाले सर्तक भने रहेछ। नेपालब्लग्स डट कम नामको नयाँ साइट त्यसैको उपज हो। हाल त्यसमा नेपालीमा गरिने ब्लग राखिने भए पनि भविष्यमा डट कम डट एनपी बन्द गराउने काम भयो भने उसले यही डोमेनबाट आफूलाई सुचारु गराउन सक्छ।

ब्लगलाई नेपाल पत्रकार महासंघका नेता पत्रकारहरुले पनि खासै ध्यान नदिएको अनुभव केपीले सुनाए। ती नेता-पत्रकारहरु तिमीहरुको अथेन्टिसिटी के भनेर प्रश्न राख्छन् रे। जबकि प्रेस स्वतन्त्रता अनि लोकतन्त्र र शान्तिका लागि अरुको त कुरा नगरौं हामी सञ्चारमाध्यममा काम गर्नेहरुद्वारा सञ्चालित ब्लगले आफ्नो ठाउँमा योगदान पक्कै दिएको छ। बदलिँदो परिस्थिति अनुसार आफूलाई अपडेट गर्न नसक्ने नेता-पत्रकारहरुको सोचाइका कारण यस्तो भएको हुनसक्छ। हामी नेपालका मिडिया ब्लगरहरुको पनि आ-आफ्नै आचारसंहिता छन्। हामी नभएको कुरा लेख्दैनौं‍, देखेको कुरालाई छाड्दैनौं। आजसम्म मिडिया ब्लगरले एउटा पनि गलत ब्लग गरेको उदाहरण छैन। किनभने उनीहरु सचेत छन्।