भिडियो ब्लगः लोकतान्त्रिक गजल

मेरो संसार अब मात्र मेरो संसार रहेन। अब यो तपाईँ हामी सबैको साझा संसार भएको छ। यसै क्रममा आज मेरो इमेलमा एउटा लोकतान्त्रिक गजल आइपुगेको छ। पहिलो पटक मलाई पाठकबाट भिडियो ब्लग प्राप्त भएको हो। हेरेँ र सुनेँ, डा. दीपक खड्काले नोभेम्बर ६ तारिखमा न्युयोर्कमा मानवअधिकारकर्मी कृष्ण पहाडीको आतिथ्यमा भएको नागरिक सभामा वाचन गर्नुभएको गजल रहेछ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। गजल पढ्न चाहनुहुन्छ र डाउनलोड नगरी सीधै भिडियो हेर्न चाहनुहुन्छ भने भित्र आउनुहोला।

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट जर्‍याकजुरुक अब
उठ्यो, उठ्यो, उठ्यो मेरो मुलुक अब

सुक्न, खाँदिन र कुहिन अस्वीकार गर्दै
हरियै साग हुने हक खोज्दैछन् गुन्द्रुक अब

गर्धन झुकेन हाम्रो नझुक्ने कारणले भने
मर्दन भो बुटको लाठीको तुजुक अब

घाउ ईन्कार गर्नेहरुलाई घाउ बकाउन
आउ छर्किदिउँ घाउमा नुनचुक अब

बाटै नभेटेका र बाटो बिराएकाहरु
आउ, आउ, सच्याउ गल्ती-भुलचुक अब

रिसाउ कि खुसाउ, अब सक्तैनौं सहन
बिसाउ, नत्र भने खोस्न आयौं बन्दुक अब

भाग्य आफ्नै, निर्णय आफ्नै, लालमोहर पनि आफ्नै
लेख्तैछौं जनता मालिक भएको तमसुक अब