सद्दामलाई चिठ्ठी “मेरो देशमा पनि निरंकुश सालिक खस्नेछ”


ए सद्दाम !
त्यहाँ तिम्रो देशमा जस्तै
अचेल मेरो देशमा पनि
एक थुप्रो हिटलरहरु
मानिसको सानो मुटु होइन
विशाल कुरुक्षेत्र जित्न लागि परेका छन् ।
सायद यी युद्वान्धहरुले
आस्थाको विशाल आकाशमा
युद्वको ताज जित्ने योद्वा भन्दा
प्रेमको प्रसाद बाँडने पूजारी
धेरै-धेरै माथि उठेको देखेका छैनन् ।
त्यहाँ तिम्रो देशमा
विश्वासको मस्जिद घाइते भएको जस्तै
अचेल मेरो देशमा पनि
दिन प्रतिदिन
निर्दोष जनतासँगै मानवता चोटग्रस्त छ र
ती बेकसूर मस्जिदहरुभित्र
पवित्र कुरान जले जस्तै
यहाँ संविधान डढ्दै छ ।

अनि तिम्रो जनताको जस्तै आँसु
हाम्रो खोला-नालाहरुमा बग्दैछ र
तेलका अबोध कुवाहरु जस्तै
हाम्रा हिमालहरु जल्दै छन् ।
हो, अचेल मेरो देशमा पनि
हतियारको लहलहाउँदो खेती हुँदैछ र
भोका जनताहरु अन्यौल भविष्यको काँधमा
रक्त पिपासु बन्दूकहरु बोक्दै
अन्धो भगवानको विरुद्घ
रगत पोखिएको सडकहरुमा,
बारुदको गन्धले निस्सासिएका गल्लीहरुमा र
नाराले थर्किएका चोकहरुमा
भोक हड्तालको घोषणा गदै छन् ।

ए सद्दाम !
मैले सुनेको छु कि
तिमी जेल परिसरमा आउने
चराहरुको हूललाई खुबै माया गर्छौ रे !
बल्ल, तिमीले मारेको लाखौं जनताको रगत
तिम्रा दुई आँखाहरुबाट आँसुको थोपा-थोपा झर्दै होला ।
यो पनि सुनेको छु कि
दशकौंसम्म बन्दूक उठाएका तिम्रा हातहरु
अचेल जेलमा कविता कोर्दै छन् रे !
सायद अब तिमीले
बन्दूक होइन कलमको तागत बुझेको जस्तो छ ।
हो, मलाई थाहा छ
एउटा सानो कलमले
एउटा नौलो युगको पाइलाहरुका निम्ति
एउटा बाटो कोर्न सक्छ र
हिटलरहरुको लागि चिहान पनि खन्न सक्छ ।


ए सद्दाम !
मानवता विरुद्वको अपराधमा
तिमीले अल्लाहको डर मानेनौ
तर अहिले दिनमा पाँच पटक प्रार्थना गर्छौ रे !
तिमी इतिहासको कथाहरुमा
प्रमाण हुने छौ कि
सत्ताको ताकतमा अन्धो शासक
एक दिन आफै पनि
टुक्रिएर खस्छ जीवनका पानाहरुमा
किनकि मानिसको एक मुठी सास
अल्लाहको लिला हो ।
अहिले मेरो मन-मस्तिष्कमा
विश्वासको एउटा ठूलो पहाड उभिएको छ कि
मेरो देशमा पनि एक दिन
यी युद्वान्धहरुले तानाशाहीको मुकुट खोलेर
पूजारीको पीताम्बर वस्त्र धारण गरी
आफ्नो विगत प्रति धुरु-धुरु रुने छन् ।
अनि त्यहाँ इराकमा
तिम्रो हठी मूर्ति ढले झैं नै
यहाँ मेरो देशमा पनि
एउटा निरंकुश सालिक खस्ने छ ।

चन्द्रसिं गुरुङ
गोरखा, हाल साउदी अरब

[मैले जीवनमा कहिले पनि कविता लेख्ने प्रयास गरिनँ, न अरुका कविता पढ्न रुचि नै लाग्थ्यो। लोकतान्त्रिक कवितामा मात्र मेरो रुचि अहिले आएर बढेको हो। यो कविता मलाई ईमेलमार्फत् मेरो संसारमा प्रकाशनार्थ प्राप्त भएको हो। केही दिन यत्तिकै रह्यो। अनि आज बल्ल राखेको हुँ]