ढुंगा काण्डमा पक्रिएकालाई यातना दिएको पुष्टि (भिडियोसहित)

२०६२ मंसिर १९ आइतबार
राजाको गाडी र युवराजको सवारीमा ढुंगा हानेको आरोपमा पक्राउ परेर काठमाडौंको तीनकुने प्रहरी चौकीमा राखिएकाहरुलाई यातना दिने काम भएको पुष्टि भएको छ। उनीहरुलाई आज मानवअधिकार आयोग, सरकारको छानबिन टोली र एमाले नेताहरुले भेटेका थिए। पक्राउ परेकाहरु मध्ये एक दर्जन त स्कूले कलेजका विद्यार्थी रहेको बताइएको छ। यससम्बन्धमा सरकारी सञ्चारमाध्यमले केही समाचार नदिए पनि काठमाडौं उपत्यकामा मात्र प्रसारण हुने कान्तिपुर र इमेज मेट्रो च्यानलले समाचार दिएका छन्। यहाँ मैले कान्तिपुर टेलिभिजनका लागि दीपक भट्टराईले तयार पारेको न्युज रिपोर्टलाई टीभी सेटबाट क्यामेराले रेकर्ड गरेर नेपालबाहिरका पाठकहरुका लागि प्रस्तुत गरेको छु। यो भिडियोलाई यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोला। लिंकमा राइट क्लिक गरेर सेभ टार्गेट एज गर्नु भए पनि हुन्छ। यही घटनालाई लिएर एमालेको केन्द्रीय कार्यालय बल्खुमा हिजो आक्रमण गर्ने धम्की दिनेहरुलाई तुरुन्त कारबाही नगरे सडकबाटै त्यसको जवाफ दिने चेतावनी एमालेले दिएको छ। यही विषयलाई लिएर आज अस्कल क्याम्पस क्षेत्रमा २ घण्टा प्रहरी-विद्यार्थी भिडन्त भयो। विद्यार्थीले ढुंगा हानेका थिए भने प्रहरीले दर्जनौं टियरग्यास।
अपडेटः यो भिडियो हेर्न समस्या भएको गुनासो आएको हुँदा मैले अर्कै ठाउँमा पनि होस्ट गरेको छु। कृपया त्यसलाई हेर्न भित्र आउनुहोला।