युवराजलाई उक्साउने को ?

२०६२ मंसिर १९ आइतबार
शुक्रबार मिनभवन नजिकै आफ्नो गाडीमा भएको ढुंगा प्रहारका विषयमा युवराजबाट सबै सुरक्षा निकायका प्रमुखहरुलाई एकै ठाउँमा राखी स्पष्टिकरण लिइबक्सेको छ। युवराजबाट त्यसरी स्पष्टिकरण लिन उक्साउने काम कसले गरेको थियो त ? यस सम्बन्धमा आज साँझ राजधानीबाट प्रकाशित हुने नेपालभाषाको सन्ध्या टाइम्सले एउटा समाचार प्रकाशित गरेको छ। समाचारको नेपाली अनुवाद पढ्न भित्र आउनुस्।

सन्ध्या टाइम्स लेख्छः

विज्ञ सूत्रहरुले बताए अनुसार शुक्रबार नयाँ बानेश्वरमा भएको काण्डपछि शुक्रबार राति नै देशभक्त संघका अध्यक्ष तथा बक्सिङ खेलाडी प्रकाश गुरुङसहितको एक समूह निर्मल निवासमा गई गुहार माग्न गएका रहेछन्। उनीहरुले नै युवराज पारसलाई उक्साउने काम गरेका थिए। उनीहरुले त्यहाँ निकै दुःखपूर्वक युवराज पारसलाई भनेछन्, ‘सरकार अब त हामीलाई सात दलले मात्र हैन, पुलिसले पनि हेप्ने भइसके। यस्तै भइरह्यो भने हाम्रो मनोबल त खत्तम नै हुने भयो।’

युवराजबाट हुकुम भएछ, ‘किन, कसरी हेपे ?’

गुरुङ मण्डलीले सुनाएछन्, ‘ सरकार, हामी शेराटन होटलबाट बाहिर आइरहेको। त्यही बेला एमालेका मानिसहरुसित हाम्रो हा हू पर्‍यो। हा हू भइरहेको बेलामा नै उपत्यकाका डीआईजी कृष्ण बस्नेत भ्यान लिएर त्यहाँ पुगे। हामीलाई देख्ने बित्तिकै भ्यानबाट तल झरे। तर हाम्रो अगाडि आएर उसले किन हा हू गरेको, गोली हान्दिउँ भनी धम्की दिए। पुलिससमेत उनीहरुपट्टी लागिसकेछन्। ‘

प्रहरीले समेत हामीलाई निकै अत्याचार गरे भनेर युवराजको कान भरेपछि अन्ततः युवराजले ‘त्यसोभए म भोलि बुझ्छु’ भनी हुकुम गरिबक्सेको थियो।

उनीहरुले उक्साएका कारण नै हिजो युवराज अति नै क्रुध्द हुँदै नक्साल प्रहरी प्रधान कार्यालय सवारी भएको थियो। त्यसअघि मौसूफ सैनिक मुख्यालय सवारी होइबक्सेको थियो। बिना स्कर्टिङ आफै गाडी चलाएका युवराजको गाडी सैनिक मुख्यालयको गेटमा ठक्कर लागेर सामान्य क्षतिसमेत भएको थियो।

त्यसपछि मौसूफको सवारी प्रहरी प्रधान कार्यालयमा भएको थियो। त्यहाँ प्रहरी महानिरीक्षक श्यामभक्त थापाका साथ प्रधानसेनापति प्यारजंग थापा पनि थिए। प्रहरी प्रधान कार्यालयमा प्रधान सेनापतिभित्र गएको यही पहिलो अवसर थियो।

त्यहाँ युवराजले सबैलाई घटना कसरी भयो, किन भयो भनी सुरक्षा प्रमुखलाई प्रश्न राखिबक्सेको थियो। प्रमुखहरुले घटनाका बारेमा स्पष्टिकरण दिए। तर मौसूफको चित्त बुझेन। मौसूफबाट हुकुम भयो, मलाई अरु कुरा थाहा छैन, यसबारे छानबिन गर्नुस्, आवश्यक कारबाही गर्नुस्। अ‍ोभर एन्ड आउट।

त्यसपछि नै प्रहरीले छानबिन आयोग गठन गरेको थियो। त्यसको आधारमा अब प्रहरी सेवामा व्यापक परिवर्तन गरिने संभावना भएको बताइएको छ।