निरंकुशताविरुध्द “गुगलबमवर्षा” गर्ने कि !

राजाको निरंकुश शासनविरुध्द सडकमा आन्दोलन जारी नै छ, अब हामी साइबर संसारमा पनि आन्दोलन थाल्ने हो कि ?

अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस समर्थक र विरोधीहरुले प्रख्यात सर्च इञ्जिन गुगलको सहायतामा एउटा अनौठो युध्द लडेका थिए, जसलाई गुगलबम्बिङको संज्ञा दिइएको थियो। निरंकुशताका विरुध्द हामी पनि गुगलबम्बिङ गर्ने हैन त ?


सबैभन्दा पहिला गुगलमा जानुस् र सर्च गर्नुस् miserable failure अनि परिणाममा हेर्नुस् सबैभन्दा माथिका दुई वेबसाइट। पहिलो नम्बरमा छ- अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको आधिकारिक जीवनी रहेको साइटको लिङ्क अनि दोस्रोमा रहेको छ बुसविरोधी फिल्म निर्देशक माइकल मूरको वेबसाइट। अनौठो कुरा त के हो भने, दुवै साइटमा failure शब्द कतै रहेको छैन। यस्तो कसरी भयो त ? हैन, गुगलका अधिकारीहरु वा कर्मचारीहरुको यसमा कुनै हात छैन।

बरु यसमा केही सिर्जनात्मक ब्लगरहरुको हात थियो। सुरुवात गरेका थिए जर्ज जन्सटनले सन् २००३ मा आफ्नो ब्लगमार्फत्। उनीहरुले “miserable failure” शब्दावलीलाई राष्ट्रपति जर्ज डब्लु बुसको आधिकारिक जीवनी रहेको साइटसँग लिङ्क गर्ने अभियान थालेका थिए। उनीहरुको योजना थियो सकेसम्म बढी साइटले “miserable failure” लाई बुसको साइटसँग लिङ्क गराउने। अनि त्यो शब्द कसैले सर्च गरेर हेर्दा एक नम्बरमा बुसको साइटलाई पार्ने। अन्ततः उनीहरु सफल भए। failure मात्रै टाइप गर्दा पनि बुसको पेज सबैभन्दा माथि आउँछ अहिले पनि।

तर पछि केही बुससमर्थकहरुले बुसविरोधी विचारधाराका फिल्म निर्देशक माइकल मूरलाई पनि त्यही सूचीमा पहिलो नम्बरमा पार्ने अभियान थाले। तर हालसम्म उनीहरु सफल हुन सकेका छैनन् र मूर बुसभन्दा तल अर्थात् दोस्रो नम्बरमा नै छ। (माइकल मूरले फरेनहाइट 9/11 नामको विवादास्पद वृत्तचित्र बनाएका थिए। तपाईँले त्यो वृत्तचित्र हेर्नुभयो ? मैले केहीअघि मात्रै यहाँबाट (633 mb, AVI) डाउनलोड गरी हेरेको थिएँ)

यस्तो कसरी भयो त ?

जब पेजमा ती शब्द (miserable failure) नै छैन भने सर्च गर्दा एक नम्बरमा बुसको पेज कसरी आयो त ? कसरी संभव भयो यो ?

यो संभव भयो एङ्कर टेक्स्टका कारण। एङ्कर टेक्स्ट भनेको के हो ? सामान्य भाषामा भन्ने हो भने क्लिक गर्न मिल्ने अक्षर वा अक्षरहरु नै एङ्कर टेक्स्ट हो। उदाहरणका लागि तलको लाइनमा रहेका शब्द एङ्कर टेक्स्ट हुन्

नेपाली भाषाको पहिलो ब्लग

किनभने यी अक्षरहरुमा क्लिक गर्न मिल्छ। क्लिक गर्न मिल्छको अर्थ हो यसमा कुनै लिङ्क समावेश गरिएको छ। सर्च इञ्जिनको र्‍याङ्किङमा एङ्कर टेक्स्टले ठूलो भूमिका खेल्छ। वेबसाइटको मार्केटिङ गर्नेहरुले यसैलाई ध्यानमा राखेर नयाँ रणनीति अपनाउन थालेका छन्।

हामीले के गर्ने त ?

जसरी बुसविरोधी ब्लगरहरुले अभियान चलाएर उनको वेबसाइटलाई miserable failure अथवा failure मात्रै शब्द टाइप गर्दा सर्च इञ्जिनमा एक नम्बरमा आउने बनाए, त्यसैगरी निरंकुशताका विरोधी हामीहरुले पनि निरंकुश राजा अर्थात् autocrat मात्रै वा autocrat king टाइप गर्नेबित्तिकै हाम्रा राजाको जीवनी साइट नम्बर एकमा आउने अभियान चलाउन सक्छौं। यसका लागि के गर्नु पर्ला त ?

गार्‍हो काम केही छैन, autocrat kingभन्ने शब्दलाई तपाईँको वेबसाइटमा राखी त्यसमा क्लिक गर्दा राजाको जीवनी रहेको यो साइटमा http://www.nepalhmg.gov.np/profile_king.php जाने गरी लिङ्क मिलाउनुस्। यस्तो देखिनेछ।

Autocrat King

कुनै पनि किसिमको वेबसाइट, जुन गुगलको सर्च इञ्जिनले फेला पारिसकेको छ., यो अभियानका लागि उपयुक्त हुन्छ। विशेष गरी ब्लग साइटहरु यो अभियानका लागि बढी उपयुक्त हुन्छन्। किनभने ब्लग साइटलाई सर्च इञ्जिनहरुले तुरुन्तै फेला पार्छ। यसका लागि धेरैभन्दा धेरै साइटहरुले यी शब्दलाई एङ्कर टेक्स्ट बनाएर साइट लिङ्क गर्न जरुरी छ।