कर्फ्यु र निषेधाज्ञा हटाइयो, मोबाइल सुचारु

अपडेट@9pm NST: मोबाइल सेटमा टावर देखाउँदैमा मोबाइल खुल्यो भनेर मख्ख परेको त के खाएर हुनु नि, मेरो प्रिपेड त अझै खुलेको छैन रहेछ। पोस्टपेडमात्रै खुलेको रहेछ। अब प्रिपेड खोल्न नानाथरिका नाटक गर्ने हुन् कि खुरुक्क खोल्ने हुन्, त्यो भने कथित “विष्णुका अवतार”लाई नै थाहा होला।

अपडेट@8pm NST: दूरसञ्चारको मोबाइल फोन सुचारु भएको छ। निजी क्षेत्रको मेरो मोबाइल र युटिएल भने अहिलेसम्म सुचारु भएको छैन।

२०६२ माघ १० सोमबार @ 7 pm NST
थानकोटमा माअ‍ोवादीहरुले आक्रमण गरेपछि माघ ३ गतेदेखि चक‌्रपथभित्र लगाइएको कर्फ्यु र शान्तिपूर्ण सभा र जुलुसमाथि लाग्दै आएको प्रतिबन्ध निषेधाज्ञा आज सोमबारदेखि हटाइएको छ। काठमाडौं र ललितपुरका प्रजिअहरुले यससम्बन्धी सूचना जारी गरेका हुन्। रत्नपार्कजस्ता प्रमुख स्थानहरुमा लाग्दै आएको निषेधाज्ञा भने कायमै छ। त्यसैगरी गिरफ्तार कयौं नेता, कार्यकर्ता र मानवअधिकारवादीहरु पनि थुनामा नै छन्। मोबाइल र वायरलेस टेलिफोन पनि खोलिएको छैन।