काठमाडौंमा अकल्पनीय तनाव

(EXCLUSIVE Video Footage inside)
२०६२ माघ ८, शनिबार
अपडेटः सात दलले माघ १३ गते नेपाल बन्दको अ‍ौपचारिक घोषणा गरेका छन्। आज कर्फ्यु एक घण्टा घटाएर राति १० बजेदेखि गरिएको छ।
हिजोको शान्तिपूर्ण प्रदर्शनदेखि डराएर कर्फ्यु लगाउने निरंकुश सरकारले आज जनताको शक्ति देखिरहेको छ। काठमाडौं अकल्पनीय रुपमा तनावग्रस्त छ- विशेष गरी सात दलले सभा गर्ने भनेको स्थल बसन्तपुर र त्यस वरपर। बसन्तपुरलाई सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली लागेर नियन्त्रण गर्न खोज्दा पनि असफल भइरहेको छ। त्यसैगरी न्युरोड, इन्द्रचोक, खिचापोखरी क्षेत्रहरु पनि तनावग्रस्त छन्। बसन्तपुरमा सयौं अश्रुग्यास प्रहार गर्दा पनि नियन्त्रणमा लिन सकिएको छैन। बसन्तपुरको अश्रुग्यासले जीवित देवी कुमारीको आँखामा पनि आँसु बगेको हुनुपर्छ। हामी पत्रकार लगायत सर्वसाधारणलाई त्यता जान दिइएको छैन। ठाउँठाउँमा प्रहरी-प्रदर्शनकारी भिडन्त भइरहेको छ। ६० कटिसकेका वृध्दाहरु सडकमा गणतन्त्रका नारा लगाउँदैछन्। मानवअधिकारवादी र पत्रकारहरुलाई पनि चुटिएको छ। त्यसको विरोधमा पत्रकार र मानवअधिकारवादीहरुले प्रहरीलाई घेरिरहेका छन्। टायर बालिएका छन्। ढुंगा हानेर प्रहरीलाई टाढाटाढासम्म खेदिएका छन्। म आफ्नो क्यामेराको मेमोरी कार्ड सकिएर मात्रै घर फर्केको हुँ। अझै पनि त्यहाँको स्थिति तनावपूर्ण नै छ। संयुक्त सुरक्षाफौजलाई त्यहाँको स्थिति नियन्त्रणमा लिन धौधौ भइरहेको छ। यससम्बन्धी केही EXCLUSIVE VIDEO FOOTAGE हरु राखेर म फेरि त्यहाँ जाने विचारमा छु। भिडियो हेर्न भित्र आउनुहोला।

यो भिडियो आज खिचिएका भिडियोहरु मध्ये हतारमा छानिएका केही अंशमात्र हुन्। पूर्ण अंशका लागि मेरो संसार हेर्दै गर्नुहोला।
भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला।

टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।

तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ। चेक पठाउने ठेगानाका लागि मलाई ईमेल गर्नुहोला।

आजको घटनाका बारेमा INS को समाचार

आन्दोलरत सात राजनीतिक दलले सरकारको निरंकुशताविरुद्ध निषेधित बसन्तपुर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
कर्फ्यु कारण शुत्रवार बशन्तपुरमा हुन नसकेको सभा शनिवार सरेपनि सरकारी हस्तक्षेपका वावजुत दलले बसन्तपुरमा सशस्त्र सुरक्षाकर्मीको घेरा तोड्दै सभा सम्पन्न गरेका छन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी सात दलका २ सय भन्दा बढि नेता तथा कार्यकता पक्राउ परेको नेकपा एमालेले जनाएको छ ।

झडपको क्रममा एक दर्जन भन्दा बढि प्रदशनकारी र केही प्रहरी समेत घाइते भएका छन् । चितवन कांग्रेसका नेता माधव अधिकारीको दुबै खुट्टामा गम्भिर चोट लागेकोले उनलाई उपचार्रार्थ वीर अस्पतालमा भर्ना गरिएको छ । पत्रकार सत्यराम पराजुलिको दांया हात भाँचिएको छ । प्रहरी जवान बासुदेव पोखरेलको आफ्नै लाठि प्रहारवाट दाहिने आँखामाथि गम्भिर चोट लागेको छ ।

पक्राउ पर्नेहरुमा नेपाली कांग्रेसका सह महामन्त्रि डा.रामशरण महत, कोषाध्यक्ष महन्त ठाकुर, केन्द्रिय सदस्य महेश आचार्य, नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी, छायादेवी पराजुलि, गुरुराज घिमिरे लगायतका रहेका छन् ।

त्यस्तै एमालेका स्थायि समिति सदस्य युवराज ज्ञवालि, ठाकुर गैरे, ्खिमलाल भट्टर्राई बालगोपाल उपाध्याय , प्रजातान्त्रिक कांग्रेसका केन्द्रिय सदस्य उमा अधिकारी, कृष्णकिशोर घिमिरे, मञ्जु खाँड लगायतका छन् ।

प्रदशनका सहभागि नेपाल प्राध्यापक संघका पूर्व सभापति खगेन्द्र भट्टर्राई, नविनप्रकाशजंग शाह लगायत आधा दर्जन भन्दा बढि प्राध्यापक पक्राउ परेका छन् ।

निर्धारित समय अपरान्ह २ बजे नै सात दल र्समथित केही नेता कायृकर्ता बसन्तपुर डवलिमा प्रवेश गरी सम्बोधन गरेका थिए । तर, प्रहरीले तत्कालै हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

दलका कार्यकर्ताले शुरक्षा घेरा तोड्दै पटक पटक सभास्थलमा पुगेका थिए । बसन्तपुर क्षेत्रमा सभा बिथोल्नका लागि सरकारले सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेको थियो ।

सभास्थलको डवलि भने सेनाको नियन्त्रणमा रहेको थियो ।

टेकु मार्ग, चिकंमुगल क्षेत्रमा रहेका पर््रदशनकारी र प्रहरीविच पटक पटक झडप भएको थियो । प्रहरीले प्रदशनकारीलाई तितरवितर पार्न चार दर्जन भन्दा बढि सेल टियर ग्यास प्रहार गरेको थियो । प्रहरीको अश्रृग्याँसको जवाफमा प्रदशनकारीहरुले ढुङ्गा प्रहार गरेका थिए । बसन्तपुर क्षेत्रका सडक ढुंगामय बनेको थियो ।

तर, अश्रृग्यासको प्रहार छेल्दै प्रदशनकारीहरु पटक पटक वसन्तपुर दरवार क्षेत्रमा प्रवेश गरेका थिए । बसन्तपुर दरवार शाही राजाहरुको वासस्थानको रुपमा रहेको छ । नारायणहिटी दरवारको निर्माणसम्पन्न हुनु अगाडि राजपरिवारका सदस्य सोही दरवारमा बस्ने गरेका थिए ।

शुरक्षाकर्मीहरु पुण रुपमा वसन्तपुर क्षेत्रको सुरक्षामा नै केन्द्रित भएपछि दलका नेता तथा कार्यकर्ताहरुले नयां सडक, असन, इन्द्रचोक क्षेत्रमा छापामार शैलिका प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले सो क्षेत्र पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका थिए । उनीहरुले आफ्नो प्रदर्शन साँझसम्म पनि जारी नै राखेका थिए ।

बसन्तपुरको सभा विथोलेपछि सात दलका नेताकार्यकर्ताले धर्मपथ अगाडि सिद्धिचरण चोकमा कोण सभा सम्पन्न गरेका थिए । सो सभालाई प्रजातान्त्रिक कांग्रेसका केन्द्रिय सदस्य मनमोहन भट्टर्राईले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा भट्टराइले मुलुक गणतन्त्रउन्मुख भएको बेलामा राजाले गराउन लागेको नगर निर्वाचनमा मत नहाल्न नागरिकलाई आग्रह गरेका थिए ।

मेरो संसारको सिफारिसः सहकर्मी ब्लगर केपी ढुंगानाले आफ्नो ब्लग ब्लगर नेपालमा आज न्युरोडबाट लाइभ पडकास्ट , जेलमा रहेका नेताहरुको अवस्थाका बारेमा मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको जानकारी लगायत अरु पडकास्ट गरेका छन्।