माअ‍ोवादीद्वारा थानकोटमा आक्रमण

२०६२ माघ १, शनिबार
अपडेट (1251 am NST) भित्र भिडियो अपलोड गरिएको छ। थानकोटमा ११ र दधिकोटमा ३ प्रहरीको मृत्यु भएको भनिएको छ। माअ‍ोवादीको आधिकारिक साइटले कृष्णसेन अनलाइनले भने दधिकोटमा १० प्रहरीको मृत्यु भएको दावी गरेको छ। दुवै द्वन्द्वरत पक्ष प्रोपागण्डामा व्यस्त छन्। त्यसैले स्वतन्त्र पुष्टि नभएसम्म उनीहरुको दावीको अर्थ रहँदैन।

अपडेट (930pm NST) थानकोटमा एक प्रहरी निरीक्षकसहित ११ जना प्रहरीको मृत्यु भएको पुष्टि भएको छ। थानकोट र दधिकोटबाहेक काठमाडौंका बौध्द, कीर्तिपुर, ललितपुरमा पनि शृङ्खलावध्द विस्फोट भएको समाचार छ। लोडसेडिङका कारण बत्ती निभेको बेला रेकर्ड गरिएको यो अर्को पडकास्ट सुन्नुस्।

अपडेट (715 NST) थानकोटमा कम्तीमा ६ जना प्रहरीको मृत्यु भएको घटनास्थलमा रहेका कान्तिपुर टेलिभिजनका संवाददाता दीपक भट्टराईले जनाएका छन्। अडियो सुन्नुस्।

ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने भन्ने नयाँ रणनीति बोकेका माअ‍ोवादीहरुले आज घाँटीमा आक्रमण गरेका छन्। तुलसी गिरीले ढाड भाँचिसक्यो भनेका माअ‍ोवादीहरुले काठमाडौँ प्रवेश गर्ने प्रमुख नाका थानकोटस्थित प्रहरी चौकीमा अहिले साँझ आक्रमण गरेका छन्। ईकान्तिपुरका अनुसार माअ‍ोवादीहरुले चेकपोस्टमा आक्रमण गर्नुअगाडि बम विस्फोट गराएका थिए। नेपालन्युजका अनुसार प्रहरीतर्फ केही हताहती भएको छ। नेपालन्युजले भक्तपुरको दधिकोटमा पनि माअ‍ोवादीहरुले अहिले साँझ आक्रमण गरेको जनाएको छ।

नेपाल वन र केटिभीको भिडियो खिचेको थिएँ तर पछि हेर्दा नेपाल वनको सबै बिग्रिएछ। त्यसैले केटिभीको मात्रै छोटो क्लिप राखेको छु।


मार्ने र मर्ने खेल फेरि सुरु भएको छ। थानकोट प्रहरी चौकीमा खटिएका प्रहरीहरुले आफूलाई दुर्गम ठाउँमा खटाइएका प्रहरीजस्तो असुरक्षित ठानेका थिएनन् होला। तर बिचराहरुले खाना खाँदाखाँदै प्राण त्याग्नु परेको छ। बिचरा एक ट्राफिक प्रहरी पनि मारिएका छन्। उता, स्याङ्जामा पनि १० माअ‍ोवादी भिडन्तमा मारिएको शाही नेपाली सेनाले जनाएको छ।

मर्ने र मार्ने कुरालाई जसरी भए पनि रोक्नुपर्थ्यो। तर अहँ, झन् द्वन्द्व बढाउने काम भइरहेको छ। शान्तिभन्दा पनि चुनावको रट लगाइएको छ। त्यस्तो चुनाव जसले द्वन्द्वमात्रै बढाइरहेको छ।