सभासद् खोज्दै दुई दिनसम्म

देवेन्द्र पौडेल / पोखरा

हुनत सुविधा नपाएको भए जे जस्तो गरिन्थ्यो होला तर कुनै कुरा सजिलै हुन्छ भने अप्ठ्यारो बाटो कसले समाउँछ र ?

यस्तै सिलसिलामा काठमाडौँ गएको थिए मेरो स्थायी घर खोटाङ्ग जिल्ला हो तर परिस्थिति र पढाइको सिलसिलामा म खोटाङ्गबाट काठमाडौँ हुँदै पोखरासम्म आइपुगेको छु। बी. ए. तेश्रो वर्षको रिजल्ट पनि आइसक्यो। अब लगभग ब्याचलरसम्मको पढाइ पनि सकिसक्यो। सानोतिनो जागीर पनि खान्छु तर त्यो जागीरले खासै सहज होला जस्तो पनि छैन। त्यसैले ३ दिनको विदा मिलाएर काठमाडौँ तिर मन भौँतारिदै हिँडेको थिए। खास उद्देश्य त केही थिएन तर विदेश गएर केही पैसा कमाउनु पर्ला भनेर पासपोर्ट बनाइराखे राम्रो अवसर आएदेखि ट्राई गरौला भनेर मनस्थिति बनाएको थिएँ।

विदा पनि छोटो थियो, प्राइभेट जागीर, हाकिमले ३ दिन भित्र जसरी भएपनि आइपुग्नु भन्ने ठाडो आदेश दिएका थिए। जाँदाखेरी एक दिन बितिहाल्छ। बाँकी २ दिनमा त काम सकिहाल्छु भनेर बिहानै माइक्रो चढेर काठमाडौँतिर हान्निएँ। ५ घण्टाको यात्रापछि काठमाडौँ कलंकीमा ओर्लिएर सिधै सीडीओ कार्यालयतिर म हान्निएँ। मेरो पहिलो काम पासपोर्ट बनाउने थियो। त्यसैले कोही नातापाताकोमा नगई म सीधै त्यता लागेँ। काठमाडौँको भीडभाड छिचोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेँ र सोधेँ के छ त बाहिरी जिल्लाको नागरिकले काठमाडौँबाट पासपोर्ट बनाउने सुविधा भनेर ? त्यहाँका कर्मचारीले जवाफ दिए १४ वटा दुर्गम जिल्लाको पासपोर्ट काठमाडौँबाट बन्दो रहेछ। तर सभासदलाई हस्ताक्षर गराउनु पर्ने अनिवार्य व्यवस्था राखेको रहेछ। अब पर्‍यो फसाद। नेता त भोट माग्न आउँदा पो ब्वाँसा जस्ता हुन्छन् चुनाव जितिसकेपछि त सिंह भैहाल्छन् नि। अनि म त्यहाँबाट खाली फर्म लिएर सभासद खोज्न बाहिर निस्किएँ। खोटाङ्गतिरको एकजना नेताकोमा पुगेर सोधेको सभासद कता छन् त भन्दा सबै संविधान सुझाव संकलन गर्न गाउँ गएका छन् भन्ने पत्ता लाग्यो। हुन पनि हो रहेछ संविधान लेख्‍न भनेर अख्तियारी दिएर हामीले राजधानी पठाएका सभासद्लाइ काठमाडौँ बस्न पट्यार लाग्यो भनेर नेपाल सरकारले गाउँको सफा हावा खान भनेर गाउँ पठाएको रहेछ। सँधै राजनीतिक किचलो जीत र हारको राजनीतीले तँ ठूलो कि म ठूलो भन्दै पावर भिडाउँदै संविधान लेखनको गोरेटो खन्ने काम पनि हुन सकेको छैन। बेकारमा सभासद्लाई हाई काढ्दै संविधान सभाभित्र बस्न लगाउन भन्दा गाउँ पठाउन राम्रो लागेर होला यसो गरेको ठीकै छ भने जस्तो लाग्यो। सुझाव संकलन त् के गरे थाहा छैन तर सभासदहरु गाउँमा सुकिला लुगा लगाएर कार्यकर्ता अघिपछि लगाएर नमस्ते खाँदै लोकल कुखुरा र रक्सीमा मस्त छन भन्ने हल्का खबर पाएको थिएँ। भगवान जानुन्।

खोज्दाखोज्दै प्रायः सभासद् सबै काठमाडौँ बाहिर भएको थाहा भयो अनि अलिक पावर भिडाउनु पर्‍‍यो को छ त काठमाडौँमा भनेर एकजना पत्रकार मामा केदार बाँस्कोटालाई लिएर भोलिपल्ट नेपाली काँग्रेसका सभासद प्रदीप गिरीकोमा पुगियो। अग्रिम निर्देशन उनको होला एकजना तराई मूलको जस्तो देखिने उनका कामदारले उहाँ हुनुहुन्न भन्ने जानकारी गरे। एकछिनपछि अर्का नेपाली मूलका दाइ आए उनले मामा केदार बाँस्कोटा लाई चिनेका रहेछन्। उनी पनि राजनीतिक पीडीत रहेछन्। उनी प्रदिप गिरी कैमा बस्दा रहेछन, उनले हामीलाई भित्रै बस्न अनुरोध गरे र भने दाइ भित्रै हुनुहुन्छ। प्रदिप गिरी भेटन जाने क्रममा हामी बीच बाटोमा कुरा भएको थियो- प्रदिप गिरी धेरै राम्रो मान्छे, बौद्धिक मान्छे, असल मान्छे। कहिलेकाहीँ त यस्ता मान्छेलाई पनि भेट्न पाइँदो रहेछ भन्दै खुसी हुँदै म गएको थिएँ। नेताहरुको बोली र व्यवहारमा फरक हुन्छ भन्थे। सत्य रहेछ। भोट माग्न घर-घर आउँदा त म त ज्यानसम्म दिन्छु भन्थे। भुस्याहा कुकुर जस्तै मुन्टो निहुर्‍याएर नमस्ते गर्दै हिँड्थे। चुनाव जितेपछि त सिंह जस्ता पो हुँदा रहेछन् नेताहरु। उनको व्यवहारबाट प्रष्ट भैहाल्यो। गेष्टरुममा हामी बसिरहेका थियौँ। पातलो सुती ड्रेस (तराई ड्रेस) मा बर्को ओढेर प्रदिप गिरी को हो भन्दै भित्र पस्नु भयो र सोध्नुभयो किन आउनु भएको हो ? बोली अलिक ठाडो पारामा र अलिक रिसाएको मुद्रामा उहाँ प्रस्तुत हुनुभएको थियो। “सायद उहाँलाई जनता घरमा आएर समस्या राखेको मन पर्दैन थियो होला “। मन्त्री, सभासद हुँदा त उहाँ सरकारी मान्छे हो जस्तो हामीलाइ लाग्छ, होइन र ?
हामीले बुझाएको करले उहाँहरुले तलब भत्ता खाइरहनु भएको छ। अनि मैले जवाफ दिएँ पासपोर्ट बनाउन आएको सभासदको हस्ताक्षर चाहिँदो रहेछ। सबै सभासद गाउँ गएका रहेछन् तपाईँ यहाँ भएको थाहा पाएर आएको, मेरो अनुरोध पूरा हुन नपाउँदै उहाँले ठाडै अस्वीकार गर्नुभयो- म सक्दिनँ, गर्दिनँ। म मेरा आफन्तको त गर्दिनँ तपाईँहरुको म कसरी गर्छु ? अनि मैले जवाफ दिएँ-तपाईँ त देशको जिम्मेवार मान्छे। तपाईँ कसरी यसो भनिरहनु भएको छ?
उहाँले आफन्त र ममा तुलना गरिहाल्नु भयो। साँच्चिकै नेता हो भने आफन्त र जनतामा तुलना गर्न कतिको सुहाउँछ ? आखिर उनको मुखमा माड लगाइदिने त जनता हुन् कि आफन्त ? दुनिया जनताले हो कि आफन्तले ? प्रदिप गिरी जीलाई यो प्रश्न मेरो तर्फबाट। प्रदिप जी आजको यो ठाउँमा प्रदिप गिरीलाई पुर्‍याएको त जनताले हो ? यो तपाईँले बिर्सनु हुँदैन।
अनि मैले भनेँ- तपाईँ त देशको जिम्मेवार ब्यक्ति। तपाईँले हस्ताक्षर गर्दा मेरो काम बन्छ। म पनि यो देशको जनता हुँ नि। मैले जागीर देऊ भनेर धर्ना कसेको त होइन नि। खान देऊ भनेको त होइन नि ? तपाईँ मन्त्री सांसद हुँदा जनता त हामी नै हो नि ? भन्दा उहाँले मलाई ठाडै बाहिर जानुस् भन्दै यस्तो सानो काम लिएर म कहाँ आउने हो भन्दै झर्किनु भो। त्यसपछि हामीबीच केही बेर दोहोरो झड्काझड्की कुरा भयो।

प्रदिप गिरीः मलाई किन टेन्सन दिन आएको ?
मः मैले के टेन्सन दिएँ र तपाईँलाई ?
प्रदिप गिरीः आधा घण्टादेखि कुरेर बसेपछि टेन्सन नदिए के दिएको त ?
मः सभासदको नाताले म तपाईँसँग आएको, प्रदिप गिरी भनेर म आएको होइन। काम गर्नै पर्छ भन्ने केही छैन। म पनि खरो प्रस्तुत भएँ।
प्रदिप गिरीः म तपाईँलाई चिन्दिन।
मः नेपाली नागरिकता छ मेरो पनि। म इण्डियन त होइन नि।
प्रदिप गिरीः म गर्दै गर्दिनँ।
मः ठीकै छ, कर पनि लगाउँदिन तपाँईलाई भन्दै हामी बाहिर निस्कियौँ। अनि उनको त्यो व्यवहार देखेर दिक्दारिँदै यस्ता मान्छे मन्त्री सांसद हुँदा देश र जनताको काम कसरी गर्लान् र देश उँभो लाग्छ भन्दै हामी कुरा गर्दै सिनामंगलको बाटो ततायौँ।

हो, प्रदिप गिरी बौध्दिक मान्छे हो। पत्रपत्रिकामा लेख पढन पाइन्छ। तर उनमा उनको बौद्धिकताभित्र घमण्ड रहेछ। बौद्धिकता र घमण्ड उनको त्यहाँ प्रष्टियो। मौलाएको घमण्ड कति रहेछ भन्ने प्रत्यक्ष देखियो। त्यसपछि धिक्कार सोझा जनता भन्दै घर फर्किएर केही समय थकाई मारेपछि फ्रेस हुनुपर्‍यो भनेर बाहिर निस्किएँ। त्यस समय विद्यार्थी राजनीतिको चहलपहलका साथै त्यसै दिन चुनाव पनि थियो। म डिल्लीबजारबाट पुतलिसडक हुँदै जाँदै थिएँ। पुतलिसडक चोक पुग्ने बेलामा म रिटायर्ड लाइफ जस्तै हातमा प्लास्टिकको झोला बोकेर माओवादी विद्रोही नेता मातृका यादव हिँड्दै गरेको भेट्दा आएर समस्या राखेँ। हुनत मैले उहाँसँग कुनै आशा राखेको थिइनँ। किनकि उहाँले सबै पदबाट राजीनामा दिइसक्नु भएको मलाई थाहा थियो। तर पनि कसैलाई भनेर सहयोग गनुहोला क्रान्तिकारी मान्छे हो जनताको मर्का बुझ्लान् र कसैलाई भनिदेलान् भनेर आशा गरेको थिएँ। तर उल्टो भयो। उहाँले पनि फरक्क मुण्टो फर्काइहाल्नु भयो र भन्नुभयो- भाइ मैले त पदबाट राजीनामा दिइसकेँ। म यसमा केही गर्न सक्दिनँ भन्दै अगाडि बढ्नु भयो। त्यो दिनको समय यसै गयो। भोलिपल्ट फेरि दोश्रो प्रयास गरियो। म पोखरा बस्दा माओवादीलाई चुनावमा सहयोग गरेका नाताले मैले कास्कीका सभासद करणलाई फोन गरेँ। उहाँ पनि पोखरा नै जानु भएको रहेछ। तर उहाँ त्यसै दिन १२ बजे फर्किनु हुने जानकारी पाइयो फोनमा। उहाँले मलाई काठमाडौँ आएपछि त म ब्यस्त छु पाँच बजेसम्म मिटिङ्ग छ। मिटिङ्ग सकेपछि म तपाईँलाई कल गर्छु भनेर तर्किनु भयो। अनि परेन फसाद जुन वादका नेता भए पनि जनता ठग्न भने माहिर हुदाँ रहेछन् नेताहरु। समय दिनको तीन बजिसकेको थियो। अब त्यो दिन केही काम गर्न सकिँदैन थियो। अनि म दिक्दारिँदै थिएँ। केही समयपछि मामा केदारको फोन आयो उहाँले भन्नु भयो काम हुन्छ तर बेलुकीसम्म। अनि मैले हुन्छ भनेँ र कुरा भयो नेपाली काँग्रेस काठमाडौँका सभासद नवीन्द्रराज जोशीले घर मै बोलाउनुभा रहेछ र हामी ठूलो आशा लिँदै उहाँलाई फेरि फोन गर्‍यौँ। त्यसपछि उहाँले हामीलाई इमेज च्यानलमा बोलाउनु भयो उहाँको त्यो दिन इमेज च्यानलमा अन्तरवार्ता रहेछ। आखिर उहाँले हाम्रो समस्या बुझेर त्यहीँ बोलाएर हस्ताक्षर गरिदिनु भयो र भोलिपल्ट मेरो काम भयो।