पत्रकारको सम्पत्ति स्रोत खोज्न मिल्ने कि नमिल्ने ?

मधु लम्साल

‘पत्रकार’ भन्ने बित्तिकै धेरैको बुझाइ उनीहरु हरेक क्षेत्रमा जाने बुझेको व्यक्ति हुन् भन्ने परेको हुन्छ। त्यसमाथि पनि हरेक किसिमका खबर पत्रकारले नै पहिला पाउँछन् भन्ने उनीहरुको बुझाइ वास्तवमा गलत होइन। यही कारणले पत्रकारलाई धेरैले महत्व दिएका हुन्छन्। तर, स्वयम् पत्रकारहरुले भने अरुको बुझाइमा आफूलाई कसरी प्रस्तुत गरिरहेका हुन्छन्, त्यो भने धेरैले चाल पाइसकेका छैनन्।

हुनत पेशागत संघ/संगठन हुनैपर्छ। पेशागत हकहित एवम् सुरक्षाका लागि सबै पत्रकार एउटै छातामुनि आउनु लोकतान्त्रिक पद्धतिको मुख्य सूत्र नै हो। तर, यसो भन्दैमा आफ्नै पेशामाथि प्रश्नचिह्न खडा गराउने सहकर्मी या सहधर्मीका विवादास्पद कार्यकलापमाथि कुनै खबरदारी नगर्ने, उनीहरुबाट जस्तासुकै विवादास्पद एवम् पेशालाई नै धुमिल पार्ने खालका गतिविधि हुँदा समेत थाहा नपाएझैँ गरी चुप लागेर बस्नुका साथै उल्टो पत्रकारको मुखुण्डो भिरेर हिँड्ने त्यही विवादास्पद व्यक्तिलाई केही अप्ठ्यारो परेको खण्डमा उसकै स्वार्थअनुसार संघ/संगठन प्रयोगमा आउनु, उसकै संरक्षणका लागि विज्ञप्ति जारी गर्नु गराउनुजस्ता कामकारवाही कति जायज हो ? त्यो आजका दिनमा पत्रकारिता क्षेत्रमा आवद्ध सबैले बुझ्नु मात्रै होइन, उठाउनै पर्ने विषय बनेको छ।

हतियारधारी आपराधिक मनोवृत्तिको व्यक्ति र हतियारधारी नै भए पनि जिम्मेदार अर्थात् त्यही क्षेत्रको व्यक्तिबीच कत्रो फरक हुन्छ ? त्यस्तै, पत्रकारिता क्षेत्रमा पनि आजका दिनमा त्यस्तै अवस्था आउन लागेजस्तो देखिन्छ। पत्रकारिता नै नबुझेका र नजानेका केही व्यक्तिहरुले पत्रिकालाई हात्तीको देखाउने दाँत बनाउँदै आएका कारण पछिल्ला दिनमा सिंगो पत्रकारिता क्षेत्र नै हतियार बोकेका अपराधिक मनोवृतिको व्यक्तिजस्तै ठान्नु पर्ने स्थिति आइपरेको छ। किनकि, त्यस्तै खाले प्रवृतिका व्यक्तिहरुको संख्या पत्रकारिता क्षेत्रमा दिनानुदिन बढ्दो छ।

पत्रिकालाई प्रयोगमा ल्याएर धेरै किसिमका अपराध या गलत काममा लाग्नेहरु राजधानीमा मात्रै होइनन्, देशैभरी छन्। धेरैले सिंहदरवार छिरेर मन्त्री र सचिव भेट्नकै लागि पत्रकार पासको दुरुपयोग गरिरहेका छन्। तर, कयौं पत्रकारले पेशागत जिम्मेवारी पूरा गर्ने क्रममा ज्यान गुमाएका छन् भने कतिपय अंगभंग र कतिले डर, धम्कीकै कारण विस्थापित जिवन बिताउन बाध्य छन्। उनीहरु आफ्नो पेशा समेत त्यागेर बाध्यतावश अन्यत्रै अर्कै क्षेत्रतर्फ लाग्न विवश छन्। कहीँ आफूअनुकूल नलेखेकै कारण अज्ञात या आपराधिक मनोवृत्तिका व्यक्ति या समूहबाट पत्रकारले ‘थ्रेट’ सहनु परेको छ भने कहीँ कतै असल नियतका पत्रकारले समेत सत्य/तथ्य लेख्दा विभिन्न आरोप सहेर पनि बस्नु परेको घट्ना प्रशस्तै छन्। अझै भन्ने हो भने कतिपयले त पत्रकारलाई थाहा दिएर या नदिएर अथवा विवश तुल्याएर पनि आफू अनुकुल प्रयोग गर्ने गरेका जस्ता घट्नाहरु पनि बारम्बार सुन्नमा आइरहन्छन्।

यहाँ उठान गर्न खोजिएको विषयवस्तु थोरै बेग्लै छ, सबैलाई सतर्क र सजग तुल्याउने भूमिकामा आफूलाई सक्रिय तुल्याउनु पर्ने पत्रकारिता जगत आज आफै किन अशुद्ध र विवादित बन्नेतर्फ लम्किरहेको छ। केही दिन यता पत्रकारिता क्षेत्रका खराबीहरुलाई लिएर सार्वजनिक रुपमै चर्चा परिचर्चा हुन थालेका छन्। केही पत्रकारले आफ्नो पेशाको बचाउका लागि सार्वजनिक रुपमै बहस चलाउन थालेको पाइएको छ। त्यसलाई कसैले सुधारको संकेत भनेका छन् भने पत्रकारितालाई कमाइ खाने धन्दा बनाएकाहरुले ‘आफ्नै खुट्टामा बञ्चरो हानेको’ टिप्पणी पनि गर्न थालेका छन्।

यसै सिलसिलामा पत्रकारका लागि विगत एक दशकदेखि ‘समाचार कारखाना’ बन्दै आएका पत्रकार ऋषि धमलासहित अन्य दुई पत्रकारसहित चारजना यतिबेला हातहतियार तथा खरखजाना मुद्दामा थुनामा छन्। करिब दुई महिनादेखि थुनामा परेका हरेक क्षेत्रसँग परिचित पत्रकार धमलामाथि प्रहरीले लगाएको आरोप स्पष्ट भए पनि त्यसलाई मान्न न त आरोपित धमला नै तयार छन्, न पत्रकारहरु नै। तर, सर्वसाधारण भने यस प्रकरणलाई समेत जोडेर पत्रकारले जे पनि गर्न हुने, उनीहरुलाई जसो गर्दा पनि छुट दिइनु पर्ने भन्न थालेका छन्। यसो भन्नु पर्ने अवस्था कहाँबाट कसरी र किन सिर्जना भयो ? यो पत्रकारले नै खोजी गर्नुपर्ने विषय होइन र ?

हुनत धमलाको प्रसंगलाई यहाँनेर अलग राखेर पत्रकारको आवरणमा विभिन्न धन्दामा सक्रिय रहेका केही अनुहारका दैनिकीलाई सामान्यरुपमा जान्न बुझ्न खोज्ने हो भने पत्रकारिता क्षेत्रलाई प्रयोग गरेर गरिने विभिन्नखाले अज्ञात धन्दाले कहालीलाग्दो अवस्थाको संकेत गर्दछ। हिजोसम्म एक छाक खानका लागि समेत ‘जदौ’ गर्ने, पढाइ, लेखाइ र बुझाइ शून्यसरी भएका पत्रकार रुपधारीहरु आज एकाएक चिल्ला गाडीमा गुड्ने, शानदार बंगलामा बस्ने उनीहरुको हैसियत एकाएक कसरी बदलियो ? छोटो समयमा आफूलाई आर्थिक रुपमा सम्पन्न मात्रै होइन, जीवन नै कायापलट गराउने थुप्रै पत्रकार रुपधारीको नाम लिन सकिन्छ र ती नाम आफूलाई पत्रकारिता क्षेत्रमा सक्रिय तुल्याउने प्रायः धेरैको नजरमा छाएको हुनु पर्दछ।

एउटा सरकारी कार्यालयको खरिदार, मुखिया तथा पियनको समेत आवश्यकता परेको खण्डमा सम्पत्तिको स्रोत खोज्ने काम हुन्छ, उनीहरुमाथि कारवाही भएका घट्ना पनि थुप्रै छन्। तर, पत्रकारको चाहिँ किन खोजिन्न सम्पत्तिको स्रोत ? ‘अनुचित लाभ’ जसले लिए या दिए पनि त्यो आर्थिक अपराध होइन र ? पत्रकारिता मै सक्रिय कोही पत्रकार जुत्ताको तलुवा खिइने गरी दिनभर हिँड्दा र उसका औलामा कलमका डोब देखिँदा समेत उनीहरुलाई आफ्नो दैनिकी टार्नसमेत हम्मेहम्मे परिरहेको हुन्छ। ती पत्रकारका परिवारका आवश्यकता र उचित इच्छा/आकंक्षालाई सम्झौता गर्न विवश पारिन्छ। त्यसको विकल्प पनि छैन तर, तिनै पत्रकारलाई प्रयोगमा लिएर कसैले भने पत्रकारिताकै आवरणमा आफूलाई सुविधाभोगी जीवनशैलीमा रमाउन सफल भएका छन्। जसले पत्रकारिताको धर्मलाई पूर्णरुपमा निर्वाह मात्रै होइन, हरेक कोणबाट पालना गरिरहेको छ, उसलै पत्रकारिताको आवरणमा गर्नु नगर्नु गरेर हिँड्ने व्यक्तिलाई मालिक मान्नु परेको छ, उसैको आदेशमा चल्नु परेको तितो सत्यलाई बिर्सन मिल्दैन। यहाँ पत्रकारको आवरणमा हिँड्ने धेरै पत्रकार छन्, उनीहरु मध्ये थुप्रैबाट गलत धन्दा भइरहेको छ पत्रकार र पत्रकारिताका नाममा। बूढी मरी भनेर होइन, काल पल्क्यो भनेर चिन्ता गरिनु पर्नेमा एउटा कुनै पनि व्यक्ति पत्रकारको कुरा नगरौं, पत्रकारको सिंगो छाता संगठन नेपाल पत्रकार महासंघ र पत्रकारिता क्षेत्रसँग सम्वन्धित अन्य विभिन्न संघसंस्था र निकायले समेत त्यस्तो विकृति रोक्नेतर्फ पहल गरेको देखिन्न। यसले भविष्यका कुनै पनि दिनमा पत्रकारिता क्षेत्रमा ठूलै दुर्घटनाको संकेत गर्दछ। किनकि, नाम नै किन किटान गर्नु पर्‍यो र ? केही पत्रकार कै नेताहरु पनि कसैको आदेशमा दश-पाँच बजाउन सहमत भए, आफू र आफ्नो नाम ठाउँठाउँमा प्रयोग भएको चाल पाएपछि मात्रै उनीहरुले चेतेका घट्नाहरु पनि धेरै पत्रकारले थाहा नपाएका होइनन्।

यसै प्रसङमा अलिकति थप्न मन लागेको विषय केही दिन अघि माओवादी नेतासमेत रहेका अर्थमन्त्री डा. बाबुराम भट्टराईले सम्पत्तिको स्रोत प्रकरण अघि सारेपछि केही काला व्यापारी, तस्कर, माफियाहरुको सात्तो उड्यो, अन्य धेरै पेशाधारीसँग पनि सम्पत्तिको स्रोत मागियो। जसमा डाक्टर इन्जिनियर र वकिलसमेत परेका थिए। तर, त्यो सूचिमा पत्रकार किन परेनन् ? यदि त्यो दायरामा पत्रकारलाई पनि ल्याएको भए धन कमाउन र सम्पत्ति जोड्न नसकेका पत्रकारलाई चिन्ताको विषय नै रहेन तर, पत्रकार र पत्रिकाको आवरणमा मनग्यै कमाउनेहरुको निन्द्रा र भोक त लुटिन्थ्यो !