यातायातको यात्रामा यस्तो देखियो

-परी/काठमाडौँ-

मेरो सवारी चालक अनुमति पत्रको मिति सकिएकोले नयाँ बनाउनु पर्ने भएको थियो। दिन त भर्खर आधा मात्र गएको थियो तर कार्यलय पुग्दा राजस्व बुझाउने समय सकिएकोले पहिलो दिन केही पनि काम भएन। अर्को दिन बिहानै गएर निवेदन हालेँ। निवेदन दिनको लागि पनि कति गार्‍हो! न कतै राम्रोसँग सूचना राखिएको छ। राखेकै भए पनि कुन-कुनमा हो आँखाले भेट्नै गार्‍हो। भेटिहाल्यो भने पनि अक्षरहरु केरमेट भएको। लेखापढी गर्नैको लागि बसेकाहरुको सहयोग बिना काम नै नहुने। मैले पनि एकजनालाई समाएँ, रु. २५० दिने सर्तमा।


उनैले मेरो फाराम भरिदिए। दस्तुर तिर्ने ठाउँसम्म गएर दस्तुर तिरिदिए। के के फोटोकपी गर्नु पर्ने हो सबै गरिदिए। म एउटा कुनामा बसेर रमिता हेरिरहेँ। व्यवस्थित भएको भए त्यति जाबो काम जो कसैले पनि गर्न सक्छ। धन्न तिनको कमाइ खाने बाटो भएको छ नै।

सबै काम सकिएपछी मेरा सहयोगीले एउटा रसिद थमाउँदै भनेको दिनमा आउन भने। उनलाई उनको कमाइ दिएर म पनि बाटो लागेँ।

भनेको दिनमा पुगेँ। भीडलाई छिचोल्दै झ्याल नजिकै पुगेर आफ्नो नाम भनेँ। कर्मचारीले नयाँ बनेको परिचय पत्रको बिटो हेर्दै विशेष कारणवश परिचय पत्र बन्न ढिला भएको भने।

कार्यालयले नै भनेको दिन र समयमा आउँदा पनि काम नहुँदा मलाई रिस उठ्नु स्वभाविक हो। कार्यालयभित्र जानलाई पनि प्रहरीको पहरा पार गर्नुपर्ने। एउटा जुक्ति निकालेर भित्र पनि छिरे। फाँटमा गएर आफ्नो निबेदन फाराम खोज्न लगाएँ। कसैले भेट्टाउन सकेनन्। आफैले खोजेँ, तर कतै भेटिएन।

अन्तिममा बनिसकेको परिचय पत्रको बिटो फेरि आफैले हेरेँ। ऊ क्या त, मेरो परिचय पत्र माथि नै रहेछ। भइसकेको कामलाई पनि नभएको भन्दै कर्मचारीले मेरो समय बर्बाद गरेको देख्दा अचम्म लाग्यो। कस्तो मनपरी काम ! भइसकेको कामको लागि कतिचोटी कार्यालय धाउने?

बाहिर निस्किन लाग्दा एउटा ढोकामा एउटा अर्को सूचना देखेँ। मैले भेटेको जस्तै कर्मचारीसँग वाक्क भएर कसैले त्यो सूचनामाथि आफ्नो रिस पोखेका रहेछन्। त्यसको फोटो नखिची रहन सकिनँ।

हेर्नुहोस् फोटो-