फिजीमा पनि छ नेपाली गाउँ

मन्दिरा कार्की भट्टराई

करिब एक शताब्दी पहिले बेलायतीहरूले इन्डियाबाट कामदारहरू फिजी भन्ने देशमा लैजाँदा पश्चिम नेपालतिरबाट पनि केही नेपालीहरू परेका रहेछन्। सायद कतिपय नेपालीहरू इन्डियामा काम गर्दागर्दै पत्तै नपाइ उतैबाट स्थानान्तरणको सिलसिलामा पानी जहाज चढेर एकैचोटी इन्डियाबाट फिजी पुगेका पनि हुन सक्छन्। धेरै पाठकहरूलाई थाहा भएकै कुरा हो, फिजी एउटा सानो टापू हो र यो अष्ट्रेलिया र न्यूजिल्यान्डको नजिक पर्छ। यो देशमा अत्यधिक भारतीयहरू आप्रवासीको रुपमा अझै बसोबास गर्दै आइरहेका छन्। तिनै भारतीयहरू जस्तै केही नेपाली आप्रवासीहरू पनि त्यहाँ रहेको कुरा थाहा पाउँदा म स्वयं छक्क परेँ।

फोटोमा देखिएका बाबु र नानीको नाम ‘अखिल’ र ‘आश्रीता’ हो। यिनीहरूको आमा पट्टीका बाबु, बाजेहरू नेपालीमूलका हुन्। हाल आफ्ना बाबु, आमा आशीप्रसाद र ऋतिकाका साथ पपुवा न्यूगिनी भन्ने देशमा रहेका यी नानीबाबुहरू साहै प्यारा छन्। यिनीहरूकी आमाले अझै पनि आफूलाई नेपाली मूलकी भन्न रूचाउँछिन् र आफ्नो पुस्तौनी कथा बिर्सेका छैनन्। कोही कुनै साथीभाइ पपुवा न्यूगिनीबाट नेपाल आउने जाने थाहा पाएमा तुरुन्तै नेपालको पहिचान हुने चिनो (कोसेली) मगाउन पछि पर्दिनन्।

हामी करिब एक वर्ष पहिले स-परिवार जागीरको सिलसिलामा पपुवा न्यूगिनी आइपुगेका हौं। हामी हाल यस देशको राजधानी पोर्ट मोर्सवीमा रहेका छौं जहाँ केही नेपालीहरू स-परिवार र केही युवाहरू एकल रुपमा बसोबास गर्दै आएका छन्। हामी यहाँ आएको केही समयपछि यी नानी/बाबुका बाजे तेज सिंहसँग अकस्मात भेट भएपछि थाहा भयो मान्छेलाई आफ्नो उदगमको समेत कति महत्व हुन्छ भनेर।

उहाँका अनुसार फिजीमा एउटा सानो गाउँ त नेपाली गाउँ नै छ रे, नाम चैँ “हिलिम्बु”। मेरो विचारमा ‘हेलम्बु’ शब्द अपभ्रंश हुदै “हिलिम्बु” बन्न पुगेको पनि हुनसक्छ। पहिले पहिले त करीब ८-१० हजार नै थिए रे नेपाली मूलका मान्छेहरू। अब त विस्तारै विस्तारै पढे लेखेकाहरू फिजी छोडेर अष्ट्रेलिया, न्यूजिल्याण्ड तिर सर्दै छन् रे। उहाँसँगको भेटपछि थाहा भयो- यसरी ३-४ पुस्ता पहिले फिजीमा ल्याइएका नेपालीहरूको नेपालसँग प्रायः कुनै प्रत्यक्ष सम्बन्ध छैन।

वास्तवमा त्यसरी धेरै वर्ष पहिले लगिएका नेपालीहरूसँग कुनै कागजी प्रमाणपत्र थिएन जसले गर्दा उनका पछिका सन्ततिलाई हामी नेपालको कुन भागबाट आयौँ होला भनेर थाहा होस्। आज हामी सजिलै अनुमान गर्न सक्छौ – जुनबेला ती नेपालीहरू लगिए, स्वय‍ उनीहरूलाई पनि नेपालको सम्पूर्ण भौगोलिक अवस्थाको ज्ञान थिएन होला। कालान्तरमा उनीहरूले आफ्ना सन्तानहरूलाई आफूहरू नेपालबाट ल्याइएका भन्ने बाहेक नेपालको खास कुन क्षेत्रबाट भन्ने कुराको जानकारी पनि दिन नसक्ने अवश्थामा पुगे। तर्सथ जब हामीले तेज अंकलसँग विस्तारमा उहाँहरूको पुर्खाहरूको बारेमा कुरा गर्‍यौं, सोधपुछ गर्‍यौं – उहाँले आफ्नो माटो र नातापातासँगको सम्बन्ध पूर्ण विच्छेद भएकोमा ठूलो दुःख मनाउ गर्नुभयो। दुर्भाग्यवश आफ्ना बाजेहरूसँग कुनै लिखित प्रमाण नहुँदा आफ्नो उदगम स्थलसँग सम्पूर्ण बेखबर रहे पनि हाल कुनै नेपाली देख्दैमा उहाँहरू सबैलाई आफ्नै दाजु-भाइ जत्तिकै माया र व्यवहार गर्न पछि पर्नुहुन्न। उतिबेला आर्थिक अभाव र प्रविधिको विकास पनि नभइसकेकोले उहाँहरू कोही पनि चाहेर पनि नेपाल जान सक्नुभएन। अब चाँही पैसा भएपनि , हवाई यातायातको सुविधा भए पनि आफ्नो नाता सम्बन्धको विच्छेदको कारणले कहाँ कसलाई खोज्ने भन्ने पिरलोमा हुनुहुन्छ। कहाँ जाने – को आफ्नो नाता होला – कसलाई आफ्नो भन्दै जाने – कसरी आफ्नो पुर्खाको गाउँ भेट्ने – यी नै समस्याले गर्दा उहाँहरू चाहेर पनि केही गर्न नसक्ने अवस्थामा हुनुहुन्छ।

केही समय अगाडिसम्म फिजीमा नेपाली सेनाहरू विभिन्न समयमा विभिन्न प्रयोजनको लागि जाने गर्थे रे। त्यसरी नेपाली सेनाहरू जाँदा ती नेपाली गाउँबस्तीमा पनि जाने गर्थे रे। उनीहरूले आफूसँग लगेका नेपाली गीतहरू बजाएर नाचगान गर्ने गर्थे रे। त्यसरी गाउँघरमा बस्दा खसी काटेर पुरी, सेलरोटी बनाएर भोज गर्ने र नेपाली परम्पराको र सस्कृतिको चिनो/कोसेली, खुकुरी उपहार दिने गर्थे रे। केही समय अगाडिसम्म त्यसरी नेपालीहरूको आवत जावत भइरहँदा उनीहरूले नेपाली भाषा र परम्परा जोगाइ नै रहेका रहेछन्। तर अब विस्तारै नेपाली बोल्न जान्नेहरू घट्दैछन् रे।

यसरी फिजीमा बसोबास गरिरहेका नेपालीहरूको कथा सुन्दा आफ्नो उदगम स्थलको महत्व र यसको माया कति हुँदो रहेछ भन्ने कुरा अनुभव भयो। उहाँका अनुसार सबै नेपाली मूलका मानिसहरूले नेपालको असाध्यै माया गर्छन् रे, सँधै नेपालको विषयमा जान्न सुन्न उत्सुक हुन्छन् रे। सबभन्दा रमाइलो र अचम्म त त्यतिबेला लाग्यो जब हामीले थाहा पायौं – अझै पनि धेरै नेपाली परिवारमा सेल रोटी पाक्छ रे, दशैँ तिहारको रमझम हुन्छ रे। त्यति मात्र कहाँ हो र, नेपालीहरूले गुन्द्रुक पनि बनाउँछन् रे। जे होस् तेज अंकलसँगको भेटपछि हामीले पनि अनुभव गर्न पायौं – पुस्तौँदेखि आफ्नो उदगम थलो छोडेर सात समुन्द्र पारी बसोबास गर्ने नेपाली मूलका मानिसहरूलाई पनि कति माया हुँदो रहेछ नेपालको भनेर।