कसरी भयो धरान चर्चमा दुर्घटना

-रविना राई-

धरानको सियोन चर्चमा नौ वर्षदेखि यस्तो वार्षिक भेला हुँदै आएको छ। तर यस पटक किन यस्तो भयावह दुर्घटना भयो त ?

• यस पटक महासभा भन्दै नेपाल भरबाट र भारतबाट समेत इसाई धर्मावलम्बीहरुलाई बोलाइएको थियो।

• अतिथिहरुको संख्या धेरै थियो करिब १५ सय। तर चर्चको पाहुना घरमा भने ५० जनाभन्दा बढीलाई ठाउँ थिएन। त्यसैले अस्थायी पाल बनाइएको थियो।


• खासगरी यस्तो एक दुई तलाको पाल बनाउँदा फलाम प्रयोग गर्नुपर्ने हो। तर यहाँ बाँसको प्रयोग गरिएको थियो। पोहोर परार पनि बाँस कै प्रयोग गरिन्थ्यो।

• धरानमा केही दिनदेखि गर्मी बढेको थियो। त्यसैले तलको तलामा सुतिरहेका महिलाहरु पनि पहिलो र दोस्रो तलामा उक्लिएका थिए।

• भत्किएको पाल दुई तलाको महिला सुत्ने पाल थियो र त्यहाँ २ सय जना सुतेका थिए। भूँइतलामा सुत्ने मानिसहरु माथि उक्लिएपछि भार बढी परेको थियो।

• त्यसमाथि पानी पर्दा बाँसको खम्बा गाडिएको ठाउँ कमजोर भएको थियो।

• यसरी बढी भार र खम्बा कमजोर हुँदा करिब मध्यरातमा एकै पटक गर्ल्यामगुर्लुम्म पाल भत्कियो। भूँइतलामा सुतेका सबैजसोको अकालमा ज्यान गयो। माथि तलामा बस्नेहरु पनि एकै पटक तल झर्दा, आत्तिएकाहरुको भागदौडले कुल्चँदा मृत्यु भयो वा गम्भीर घाइते भए।

केही प्रश्नहरु
• बाँसले बनेको अस्थायी पालमा २ सय जनाको क्षमता हुन्छ ?
• माथि र तलको क्षमता कति थियो ? क्षमताभन्दा बढी मान्छेलाई किन बस्न दिइयो ?
• सुरक्षाका उपायहरु, सजगता किन अपनाइएन ?
• उचित व्यवस्थापन र सुरक्षा सजगता अपनाउन नसकिने भए क्षमताभन्दा बढी भीड किन जम्मा गरियो ?
• धार्मिक कार्यक्रम भन्दैमा दुर्घटना किन र कसरी भयो ? अनि भविष्यमा त्यस्ता घटना हुन नदिन कस्तो उपाय अपनाउनु पर्छ भन्ने विषयमा सरकारी स्तरमा छानबिन गर्नु पर्दैन ? फेरि अर्को पटक यस्तै दुर्घटना भयो भने दोषी को हुने ? (अपडेटः गृह मन्त्रालयले १५ दिनभित्र प्रतिवेदन बुझाउन सुनसरीका सिडियोको संयोजकत्वमा एउटा छानबिन टोली गठन गरेको छ। टोलीमा प्रहरी अधिकारी, जिल्ला न्यायाधिवक्ता र सहायक इन्जिनीयर सदस्य छन्। )