इन्टरनेटमा फैलिँदै गएका नेपाली यौन भिडियोहरु

जय, सिड्नी(अष्ट्रेलिया)

इन्टरनेटको ब्यापक बिस्तारसँगै अहिले नेपाली समाजमा पनि ब्यक्तिगत यौन कृयाकलापका भिडियोहरु इन्टरनेटमा फैलाउने लहड फैलिएको छ। शहरी क्षेत्रमा इन्टरनेटको पहुँच घरघरमा फैलिएको छ र जसले जहाँबाट पनि यस्ता भिडियोहरु विभिन्न वेबसाइटहरुमा राख्न सक्छ्न्। यो विकृति र उद्दण्डता नै भएता पनि अब यो भेललाई कसैले अनुशासित राख्न र पकडमा लिन असम्भवप्राय: भएको छ। यो विषयले धेरै मुद्दाहरु उठ्न सक्छ जस्तो कि साइबर कानूनको कुरा, प्राइभेसीको कुरा, सामाजिक संरचना र दृष्टिकोणको कुरा, यौनको कुरामा मानिसको कौतुहलताको कुरा आदि। मैले यो विषय उठान गर्नुको कारण चाँही किन यस्तो लहड फैलिँदै छ र यसमा हाम्रो दायित्व के छ भन्ने विषयमा चर्चा गर्न मन लागेर हो।


तपाईंहरुलाई थाहा नै होला अहिले यौनजन्य विषयवस्तु हेर्ने सबभन्दा सजिलो माध्यम नै इन्टरनेट बनेको छ। मलाई आकँडा र प्रतिशतमा त जानकारी छैन तर यति चाँही भन्न सक्छु कि हामी मध्य सबैले पक्कै झुक्किएर अथवा जानाजानी यस्ता वेबसाइटहरु खोल्न पुगेका छौँ। त्यति मात्र कहाँ हो र इन्टरनेटको सहायताले कृत्रिम सम्भोग गरेर आनन्द लिनेहरुको छुट्टै वर्ग पनि छ। हुनत यस्ता प्राय: वेवसाइटहरुमा ‘वयस्कको लागि मात्र’ भनिने भए पनि त्यसको कुनै लेखाजोखा हुँदैन, झुक्किएर एउटा बच्चाले पनि खोल्न सक्ने भइसक्यो। अब यो ‘वयस्कको लागि मात्र’ भन्ने गरिएको दुनियाँमा नेपाली समाजमात्र अछुतो रहन कसरी सक्थ्यो र? अब त्यो दुनियाँमा कोही छिरोस् अथवा कोही त्यहाँबाट निस्कियोस् तर त्यो दुनियाँ फिजिएँको फिजिँयै छ।

त्यसमाथि अहिलेका प्रत्येकजसो मोबाइल फोनमा समेत भिडियो खिच्न मिल्ने सुविधा हुन्छ। कतिले आफ्नै जोडीलाई झुक्याएर पनि खिचेका छन् त कसैले आपसी सहमतिमा खिचेका छन्। कसैले आफ्नै जोडीसँग झगडा भएर अपमान गर्न पनि इन्टरनेटमा फैलाएका छन्, कसैले ठीक ठाउँमा सुरक्षित तरिकाले राख्न नसक्दा अरुले फेला पारेर पनि फैलाइदिएका छन्।

पोखरा, रानीपौवाकी एउटी मासुपसले महिला र मासु सप्लायरबीच भएको यौनसम्पर्कलाई उनीहरूले मोबाइल फोनमा कैद गरे। पाँच मिनेट लामो उक्त यौन दृश्यको भिडियो क्लिप्स ती पुरुषका साथीले सार्वजनिक गरिदिएपछि महिलालाई छिमेकीहरूले प्रहरीसमक्ष बुझाइदिए। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख रमेशकुमार भट्टराईका अनुसार पछि उनका श्रीमानले नै त्यो दृश्य आफूसँगै खिचेको बताएर उनलाई बचाए। अहिले उनी आफ्नै पेशामा फर्किएकी छन्। सहमतिमा यौनसम्पर्क राख्ने र सीडी बनाई ब्ल्याकमेलिङ गर्ने शिक्षक जीवछ यादव र साथीकी श्रीमतीसँगको यौन दृश्य कैद गर्ने एक बेलायती लाहुरेलाई नेपाली समाजमा बढ्दै गएको खुला सेक्सका प्रतिनिधिपात्रको रूपमा बुझ्न सकिन्छ। २०६२ सालमा पहिलो छुट्टी लिएर काठमाडौँ विमानस्थल र्लिएका धरानका राई थरका एक लाहुरे घर नगई काठमाडौँबाटै बेलायत फर्किए। आफ्नी प्रेमिकासँग बेलायतको एक होटलमा खिचिएको ब्लू फिल्म देशभर फैलिएको जानकारी एक साथीबाट पाएपछि उनी चार दिन काठमाडौँ बसेर उतै फर्किएका थिए। त्यसयता उनी घर आएका छैनन्। घर पठाएको कम्प्युटर बिग्रिएपछि बनाउन दिँदा उक्त फिल्म सार्वजनिक भएको हो। विभिन्न आसन र अश्लील संवादसहित साथीको श्रीमतीसँग खिचिएको उक्त फिल्म एक घण्टाभन्दा लामो छ। आफ्नै छोरीलाई अर्को पुरुषसँग लहसिएको देखेपछि युवतीका बुबाले आत्महत्याको प्रयास समेत गरेका थिए। युवती पनि त्यसयता नेपाल आएकी छैनन्। (हिमाल, वर्ष १८, अङ्क ०७ बाट)

झुक्किएर होस् वा जानाजानी होस् यस्तो सम्वेदनशील कुरा इन्टरनेटमा पुगिसकेपछि यसको फैलावटलाई कसैले रोक्न सक्दैन। त्यसैले तपाईं पनि यस्ता ब्यक्तिगत कुराहरु भिडियोमा कैद गर्दै हुनुहुन्छ भने त्योभन्दा अगाडि राम्रोसँग बिचार गर्नुहोस् कि कुनै दिन संसारभरी त्यो भिडियो फैलियो भने त्यसले तपाईंको जीवनमा कस्तो हलचल अथवा उतार-चढाव ल्याउनेछ? यदि आफ्नो ब्यक्तिगत कुरा सबैसँग बाँडौ भनेर कसैले यस्तो गर्छ भने त केही भन्न नमिल्ला।

मानिस अथाह यौन कौतूहल भएको प्राणी हो। जति बुझ्दै गयो उति बुझ्न मन लाग्ने, अझ बढी थाहा पाउन मन लाग्ने, अझ बढी हेर्न र सुन्न मन लाग्ने, अझ बढी अनुभव गर्न मन लाग्ने। आफ्नो यौन चाहनालाई आफ्नो वशमा राख्न सक्ने केही त्यागीहरुलाई छोड्ने हो भने बाँकी संसार यसरी नै चलेको छ। यो संसार भरी हुने प्राकृतिक कुरा हो भन्ने थाहा हुँदाहुँदै पनि कुनै ब्यक्तिको यौन कृयाकलाप आफ्नै आँखाले देख्दा उसको मूल्य र ऊप्रतिको श्रद्धा किन आकाशबाट सिधै पातालमा झर्छ? हाम्रो समाजको कुरा गर्दा महिलाको हकमा अझ बढी यो लागू हुन्छ। हाम्रो त्यो ब्यक्तिलाई हेर्ने दृष्‍टिकोण नै उल्टो भइदिन्छ। यदि गल्ती गरेको नै हो भने पनि के यस्तो भिडियो खिच्नु सबैभन्दा ठूलो अपराध हो? अझ गजबको कुरा त यो लाग्छ कि मानिसहरु आँफै खोजीखोजी जान्न, सुन्न र हेर्न चाहन्छन् अनि अन्त्यमा छि:छि: र दुरदुर गर्छन्। यो त खोजी खोजी गल्ती कोट्याउँदै गाली गर्ने प्रवृत्ति भएन र? यस्तो भिडियो खिच्नु अपराध हो भने यसलाई फैलाउनु अपराध हो कि होइन? यसलाई हेर्नु अपराध हो कि होइन?

मलाई लाग्छ समय र युगको परिवर्तनसँगै हामी सर्वसाधारणले यस्ता घटनालाई सामान्यरूपमा लिँदै बेवास्ता गर्नुमा नै सबको भलो छ। यो कुरा व्यबहारमा उतार्न समय लाग्छ। जसको आफ्नै भिडियो यसरी फैलिएको छ हाम्रो सामाजिक परिवेशमा शायद कोही यस्तो नहोला जसलाई आत्मग्लानी नहोस् , बाहिर देखिए पनि नदेखिए पनि। उसको लागि शायद आत्मग्लानी, पश्चाताप र अपराधबोध सबैभन्दा ठूलो सजायँ हो। आफ्नो सजायँ आँफै भोगिरहेको अवस्थामा सबैको छि:छि: र दुरदुरले कस्तो मानसिक तनाव देला? जसको परिवारमा यस्तो घटना घटेको छ उहाँहरुले त झन गाली र घृणा गर्नुको सट्टा माया र सदभाव दिनु अति आवश्यक छ, मानसिक तनावले कुनै अर्को दुर्घटना निम्त्याउनु भन्दा अगाडि नै। मैले कुनै दिन आफ्नै दिदीबहिनीको या दाजुभाइको भिडियो यसरी फैलिएको थाहा पाएँ भने त्यो दिन मैले गाली गर्नेछु कि उसको मानसिक पीडा बुझ्न खोज्नेछु त्यो दिनले मेरो कुरालाई म आफै ब्यहारमा उतार्न सकूँला कि नसकूँला देखाउनेछ तर त्यो दिन देख्न नपरेको नै राम्रो हो।

सभ्यताको विकासँगै मानिसले लुगा लगाएर लाज छोप्न सिक्यो, यौनजन्य कृयाकलाप लुकाएर गर्न थाल्यो। त्यो लुकेको नै सुन्दर देखिन्छ। खुल्दैमा र नाङ्गिदैमा विकसित हुने होइन।